पुस २५, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दरमा बढ्ने अपेक्षा गरिएको छ ।
सन् २०२१ को अन्तिम तीन महीनामा कम्पनीले १३८ खर्ब वन मुनाफा गर्ने अपेक्षा गरिएको छ । मुनाफाको यो आकार गतवर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले धेरै हुने छ । यो चार वर्षयता चौथो त्रैमासको उच्च मुनाफा पनि हुनेछ ।
सर्भर मेमोरी चिपको उच्च माग र चिप करार म्यानुफ्याक्चरिङ व्यवसायमा उच्च मुनाफाका कारण मुनाफा बढ्ने कम्पनीले बताएको छ ।
पीसी र विद्युतीय सामग्रीको कीर्तिमानी मागका कारण कम्पनीको मुनाफा बढ्ने क्रममा रहेको प्रविधि विश्लेषक साम रेनोल्डको भनाइ छ । मुद्राको विनिमय दरमा आइरहेको उतारचढावले पनि कम्पनीलाई लाभ मिलेको उनी बताउँछन् ।
यद्यपि, गत त्रैमासमा अपेक्षित मुनाफा यसअघि अनुमान गरिएको भन्दा चाहीं कम हुनेछ । डिसेम्बर त्रैमासमा कम्पनीको मुनाफा १५२ खर्ब वन रहने विश्लेषकहरुको अनुमान थियो ।एजेन्सी