वीरगञ्ज (अस) । शेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले तोकेको सीमाले शेयरबजार नराम्ररी प्रभावित हुने चेतावनी लगानीकर्ताले दिएका छन् । वित्तीय संस्थाबाट शेयर धितो राखेर लिइने ऋणमा राष्ट्र बैंकले १२ करोड रुपैयाँको सीमा निर्धारण गरेपछि त्यसको प्रत्यक्ष प्रभाव शेयरबजारमा देखिइसकेको उनीहरूले बताए ।
राष्ट्र बैंकको नीतिमा शेयरबजार धराशयी बनाउने बदनियत देखिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का क्यापिटल मार्केट समिति संयोजक नवनीत अग्रवालको आरोप छ । ‘शुरूमा एक व्यक्तिका लागि १२ करोडको सीमा तोकियो । पछि एक परिवारले १२ करोडभन्दा बढी कर्जा लिन नपाउने भनियो, अग्रवालले आर्थिक अभियानसित भने, ‘त्यो पनि एउटा बैंकबाट ४ करोडभन्दा बढी लिन मिल्दैन ।’
राष्ट्र बैंकले शेयरबजारप्रति पूर्वाग्रही सोच राखेर नीति ल्याएको बुझाइ संयोजक अग्रवालको छ । शेयर कर्जामा सीमा तोकिएलगत्तै बजार घट्दोक्रममा गएको र यो भर्खरै गति लिन थालेको बजारका लागि दुःखद् भएको वीरगञ्ज उद्योग वाणिज्य संघ क्यापिटल तथा शेयर मार्केट समितिका संयोजक मुर्ली जलानले बताए ।
राष्ट्र बैंकले बजारलाई कस्ने नीति ल्याएयता शेयर बजार १० प्रतिशतले घटिसकेको संयोजक जलानले बताए । ‘३३ सय अंकमा पुगिसकेको बजार ३ हजारभन्दा तल झरिसकेको छ । मौद्रिक नीतिले साना लगानीकर्तालाई प्रोत्साहनको बहानामा बजारलाई नै अस्तव्यस्त बनाउने काम गर्यो,’ उनले भने ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा एक व्यक्ति वा फर्मले शेयर धितोमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने उल्लेख गरेको थियो । यसमा परिवारका सदस्यमा ऋण दायित्व बाँड्न सकिने अपेक्षा लगानीकर्ताको थियो । एकीकृत निर्देशनमार्पmत राष्ट्र बैंकले यसलाई एउटै परिवार, कम्पनी वा संस्थाको सीमामा समेटेपछि लगानीकर्ता समस्यामा परेको संयोजक जलान बताउँछन् ।
राष्ट्र बैंकले तोकेभन्दा बढी कर्जा लिएका ऋणीलाई १ वर्षभित्र सीमाभित्र आउन भनिएको छ । वित्तीय संस्थाहरूले लगानीकर्तालाई ताकेता बढाउन थालिसकेको लगानीकर्ता बताउँछन् । यो व्यवस्थाले लगानीकर्तालाई थप दबाब पर्ने र त्यसको प्रत्यक्ष असर पनि शेयरबजारमै देखिने दाबी जलानको छ । करीब कुल गार्हस्थ्य उत्पादनसरहको आकारमा पुगिसकेको शेयरबजारलाई प्रभाव पार्ने नीति लिँदा राष्ट्र बैंकको नेतृत्व संवेदनशील हुनुपर्ने आग्रह वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको छ ।
ठूला लगानीकर्तामा देखिएको असंगति समाधान गर्न लिइएको नीतिका कारण साना लगानीकर्ताले नोक्सानी बेहोर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष गुप्ताले राष्ट्र बैंकले यसको उचित समाधान निकाल्नुपर्ने माग पनि गरे । सीमित व्यक्तिले वित्तीय स्रोतको बढी प्रयोग गरेकाले सीमा तोक्नु परेको तर्क राष्ट्र बैंकको नेतृत्वले गर्दै आएको छ । तर, शेयर धितो कर्जामा रकमको सीमा तोकिनु नै गतल भएको दाबी प्रदेश संयोजक अग्रवालको छ । ‘नियन्त्रण गर्न चाहेको हो भने शेयर धितो मूल्यांकनको कर्जा सीमालाई ७० प्रतिशतबाट घटाएर कम पनि गर्न सकिन्थ्यो । १२ करोड रुपैयाँभन्दा बढीको करोबार नै गर्न पाइँदैन भन्नु सरासर गलत नीति हो,’ उनले भने ।