काठमाडौं । यो साता चार कारोबार दिन धितोपत्र दोस्रो बजार सञ्चालन भएको थियो । एक दिन सार्वजनिक बिदाका कारण चार कारोबार दिन मात्र खुलेको दोस्रो बजार चार कारोबार दिन नै घटेको छ । पहिलो कारोबार दिन २७ दशमलव २१ अंक, दोस्रो दिन १ दशमलव ७६ अंक, तेस्रो दिन ६ दशमलव ४६ अंक र चौथो दिन २० दशमलव ७६ अंक बजार घटेको हो ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ६२ दशमलव शून्य ३ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ५६ दशमलव २ अंक अर्थात् २ दशमलव ७३ प्रतिशत घटेर २ हजार ५ दशमलव ८३ विन्दुमा झरेको हो । यो साता धितोपत्र दोस्रो बजार मापक महत्त्वपूर्ण परिसूचकहरू गत साताको तुलनामा घटेका छन् । नेप्से परिसूचकसँगै यो साता गत साताको तुलनामा सेन्सेटिभ इन्डेक्स २ दशमलव ४४ प्रतिशत घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्कलाई आधार मान्दा यो साता गत साताभन्दा कारोबार रकम ३९ दशमलव ७१ प्रतिशत कम भएको छ । गत साता २० अर्ब ४६ करोड १६ लाख रुपैयाँभन्दा बढीको ५ करोड ६६ लाख १४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँभन्दा बढीको ३ करोड ५९ लाख ७४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
गत साताभन्दा यो साता कारोबार रकम ८ अर्ब १२ करोड ४५ लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता २ करोड ६ लाख ४० हजारभन्दा कम भएको हो ।
औसतमा गत साता ४ अर्ब ९ करोड २३ लाख रुपैयाँभन्दा बढीको १ करोड १३ लाख २२ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ३ अर्ब ८ करोड ४२ लाख रुपैयाँभन्दा बढीको ८९ लाख ९३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । औसतमा गत साताभन्दा यो साता कारोबार रकम १ अर्ब ८० लाख रुपैयाँभन्दा कम र कारोबार कित्ता २३ लाख २९ हजारभन्दा कम भएको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकम कम हुँदा लगानीकर्ता सस्तो मूल्यमा धितोपत्र कारोबार गर्न नचाहेको बुझ्न सकिन्छ । यतिबेला धितोपत्र दोस्रो बजार यसरी घट्न नपर्ने तर्क जानकारहरूले गरेका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता हुनु, ब्याजदर कम हुनु र शेयर धितो कर्जा प्रवाह पनि बढ्दै जानु धितोपत्र दोस्रो बजारका लागि सकारात्मक रहेको तर्क जानकारहरूको छ ।
निरन्तर बजार घटेको साता लगानीकर्ताहरूले ८८ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी गुमाएका छन् । गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साताको अन्तिम कारोबार दिन कायम भएको कुल पूँजीकरणलाई आधार मान्दा २ दशमलव ७३ प्रतिशत घटेको देखिन्छ ।
गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४१ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३१ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी कायम भएको छ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै समूहको परिसूचक घट्यो
यो साता उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने ४ दशमलव शून्य ६ प्रतिशत बढेको छ । यो साता गत साताभन्दा जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव १८ प्रतिशत घटेको छ ।
त्यस्तै निर्जीवन बीमाको ३ दशमलव ६९ प्रतिशत, होटल तथा पर्यटनको ३ दशमलव ५२ प्रतिशत, लगानीको ३ दशमलव ३८ प्रतिशत, जीवन बीमाको ३ दशमलव शून्य ९ प्रतिशत, विकास बैंकको २ दशमलव ९२ प्रतिशत, व्यापारिकको २ दशमलव ८१ प्रतिशत, लघुवित्तको २ दशमलव ५८ प्रतिशत, बैंकिङको २ दशमलव ३१ प्रतिशत, अनयको २ दशमलव शून्य १ प्रतिशत, वित्तको १ दशमलव ९२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६१ प्रतिशत परिसूचक घटेको छ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।