विदेशस्थित कूटनीतिक नियोगहरूले निर्यात प्रवद्र्धनमा कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने विषयमा नेपालमा प्रशासनिक, प्राज्ञिक र व्यावसायिक जगत्मा धेरै अभ्यास र विमर्शहरू सम्पन्न भइसकेका छन् । यिनै बौद्धिक विमर्शहरू, आर्थिक कूटनीतिमा प्रचलित अन्तरराष्ट्रिय अभ्यास, द्रुतगतिका निर्यात प्रवर्द्धनमा सफल देशहरूले अंगीकार गरेका व्यापार कूटनीति तथा नेपाल व्यवसायीहरूसँगको निरन्तरको बहुआयामिक अन्तरक्रिया समेतलाई दृष्टिगत गर्दा विदेशस्थित नेपाली कूटनीतिक नियोगका कार्यहरूलाई तीन वर्गमा विभाजित गर्न सकिन्छ ।
निर्यात व्यापारमा छोटो समयमा चामत्कारिक उपलब्धि प्राप्त गर्ने देशहरूले व्यापार इन्टेलिजेन्समा गरेको लगानी तथा तिनका कूटनीतिक नियोगमा कार्यरत जनशक्तिको दक्षता, समर्पण, निष्ठा र निरन्तरताको मुख्य भूमिका रहेको देखिन्छ ।
व्यापार इन्टेलिजेन्ससम्बन्धी कार्यहरू
नियोजित, परिवर्तित र स्थानीय जनशक्तिको अधिकतम परिचालन गरी सम्बद्ध बजारका बारेमा अप्रकाशित, प्रक्षिप्त र अप्रचारित तथ्यहरूको व्यवस्थित संकलन, संश्लेषण, विश्लेषण गरी प्राप्त निष्कर्षहरूलाई प्रकाशित तथ्यांक, सूचना तथा प्रतिपादित सिद्धान्त र मान्यतासँग एकाकार गरी समयबद्ध रूपमा व्यापार सम्भावनाहरूको निक्र्यौल गर्नुलाई समग्रमा व्यापार इन्टेलिजेन्स भनिन्छ । यी क्रियाकलापको अर्थपूर्ण सञ्चालनबाट कूटनीतिक नियोग कार्यरत देशमा सम्बद्ध वस्तु तथा सेवाको यथार्थ वस्तुस्थितिको पहिचान हुने, व्यापार सम्भावनाको व्यावहारिक प्रस्ताव तयार हुने, व्यापार सञ्चालन गर्दा अपनाउनुपर्ने मोडालिटी विकास हुने र दुवै पक्षले जित्ने जयजय रणनीतिको परिस्थिति सृजना हुन जान्छ । स्थानीय प्रभावशाली क्रेता, वस्तुको मूल्य, उपभोक्ताको रुचि, प्रतिस्पर्धीहरूको रणनीति, आवश्यक नीति नियमहरू, सरकार र स्थानीय स्वार्थसमूहका सोच आदिको पहिचान हुन गई धरातलमा आधारित देशगत र वस्तुगत निर्यात रणनीति तर्जुमा हुने हुँदा कूटनीतिक नियोगको यस इन्टेलिजेन्ससम्बन्धी भूमिका सर्वाधिक महत्त्व राख्छ । निर्यात व्यापारमा छोटो समयमा चामत्कारिक उपलब्धि प्राप्त गर्ने देशहरूले व्यापार इन्टेलिजेन्समा गरेको लगानी तथा तिनका कूटनीतिक नियोगमा कार्यरत जनशक्तिको दक्षता, समर्पण, निष्ठा र निरन्तरताको मुख्य भूमिका रहेको देखिन्छ । नेपालले पनि निर्यात व्यापारलाई नयाँ उचाइमा पुर्याउने हो भने व्यापार इन्टेलिजेन्समा लगानी वृद्धि गर्नुका साथै कार्यरत जनशक्तिको व्यापार इन्टेलिजेन्सजन्य क्षमता अभिवृद्धिमा विशेष ध्यान जानु आवश्यक देखिन्छ । यसका लागि वर्तमान साधारणज्ञ अवधारणामा आधारित परराष्ट्र सेवालाई विशेषज्ञमुखी सेवाका रूपमा विविधीकरण गर्नु जरुरी छ । व्यापार सम्बद्ध इन्टेलिजेन्सलाई सञ्चालन गर्न सक्ने विशेषज्ञतायुक्त अनुसन्धानमुखी परराष्ट्र सेवा आजको आवश्यकता पनि हो ।
समन्वयसम्बन्धी कार्यहरू
विदेशस्थित नेपाली कूटनीतिक नियोगले बढी सक्रिय हुनुपर्ने अर्को महत्त्वपूर्ण क्षेत्र आफ्ना स्टेशनमा नेपाली व्यवसायका निर्यात व्यापार सम्बद्ध क्रियाकलापहरूको सहजताका लागि गरिने समन्वयसम्बन्धी कार्यहरू पर्छन् । कार्यरत क्षेत्रमा आयोजना हुने व्यापार मेलामा नेपाली निर्यातकर्ताको सहभागितासम्बन्धी प्रक्रियागत सहजतासम्बन्धी कार्यहरू, बीटुबी मिटिङको आयोजना, व्यावसायिक भेटघाटको व्यवस्था, कार्यरत क्षेत्रका सम्बद्ध सरकारी निकायहरू, निजीक्षेत्रका प्रतिनिधिमूलक संघसंस्था तथा क्रेताहरूसँग भेटघाटको व्यवस्था तथा भन्सार र करलगायत प्रक्रियागत असहजताको समाधानमा कूटनीतिक नियोगको समन्वयले अति महत्त्व राख्छ ।
यस्तै गरी निजीक्षेत्र, प्राज्ञिक क्षेत्र तथा सम्बद्ध सरकारी निकायहरूबाट गरिने बजारसम्बन्धी अध्ययन अनुसन्धान कार्यमा विदेशस्थित नेपाली कूटनीतिक नियोगको समन्वय अति महŒवपूर्ण हुन्छ । अध्ययन अनुसन्धानका अनुसन्धानकर्ताको बसाइ अवधि कम खर्चिलो र व्यवधानमुक्त बनाउन तथा आवश्यक तथ्यांक, सूचनामा पहुँच सहज बनाउन तथा महŒवपूर्ण भेटघाट एवम् अन्तरक्रियाजस्ता विषयमा नेपाली कूटनीतिक नियोगको समन्वयले अति महत्त्वपूर्ण हुन जान्छ ।
नेपालस्थित विदेशी कूटनीतिक नियोगहरूले यस्ता समन्वयका कार्यहरू कसरी र कुन मोडालिटीमा सञ्चालन गरिरहेका हुन्छन् भन्ने विषयमा नेपालको परराष्ट्र मन्त्रालय अझ बढी परिचित छ । यी अभ्यासलाई हाम्रा कूटनीतिक नियोगले आफू कार्यरत क्षेत्रमा हुबहु लागू गर्ने प्रथाको थालनी गर्नु अझ व्यावहारिक छ । यस सम्बन्धमा के गर्ने र कसो गर्ने भनेर थप प्राज्ञिक र बौद्धिक बहसको आवश्यकता देखिँदैन । यस्ता समन्वयात्मक कार्यहरूले नेपाली निर्यातकहरूको समय, लागत र चिन्ता कम हुन गई निर्यात प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्ने निश्चित छ ।
पैरवीसम्बन्धी कार्यहरू
निर्यात प्रवर्द्धनमा कूटनीतिक नियोगको तेस्रो भूमिकामा पैरवीसम्बन्धी कार्यहरू पर्छन् । यस भूमिका रही विदेशस्थित कूटनीतिक नियोगहरूले सर्वप्रथम आफ्ना वस्तु तथा सेवाहरूले सम्बद्ध देशमा विशेष सुविधाका लागि पैरवी गर्ने गरिन्छ । दोस्रो, आफ्ना वस्तु तथा सेवाहरूले अरू देशका आयातमा पाउने सरहको सुविधा नपाउँदाको अवस्थामा अरू समान आफ्ना उत्पादनहरूले पनि सोही प्रकारको छूट पाउनुपर्छ भनी पैरवी गर्ने गरिन्छ । तेस्रो, छूट सुविधाहरू पाइरहेका वस्तु तथा सेवाहरूले त्यस्ता छूट र सुविधा कायम नरहने अवस्था आएमा या आउने सम्भावना देखिएका सो अवस्था आउन नदिन पनि विशेष महत्त्वका साथ पैरवी गर्ने गरिन्छ । यस्ता पैरवीहरू गर्दा सम्भव भएका सबै मञ्चको उपयोग गरिन्छ । आफ्ना देशका शुभेच्छुकहरूको समूह, स्वार्थ समूह, प्राज्ञिक समूह, राजनीतिक दलहरू, नागरिक समाज, उद्योग व्यापारसम्बद्ध प्रतिनिधिमूलक संघसंस्था, सञ्चारजगत्को बृहत् उपयोग गरी यस्ता पैरवीहरू सञ्चालन गरिन्छन् । यस्ता छूट सुविधाहरू प्राप्तिका लागि सन्धि सम्झौताका लागि पनि निरन्तर पैरवी गर्ने गरिन्छ । यस विषयमा तथ्यपरक रूपमा देशको उपस्थिति जति बलियो हुन्छ देशका उत्पादनहरूले सम्बद्ध देशमा विशेष छूट सुविधाहरू प्राप्त गर्ने गर्छन् । तथ्यांकको आधार, सूचनाको आड, ज्ञानको बल तथा इन्टेलिजेन्सको सहायताबाट प्राप्त हुने बुद्धिमत्तामा टेकी गरिने यस्ता पैरवीहरू प्रभावकारी हुुनुपर्छ । यस्ता पैरवीहरूको सफलताको पछाडि आप्mनो मुलुकका साथै सम्बद्ध मुलुकको पनि हित हुने तथ्यलाई विश्वसनीय तर्कहरू तथा इमानदारीपूर्वक प्रयासहरूको सबैभन्दा ठूलो हात रहन्छ । त्यसैले दुवै पक्ष (आप्mनो देश र कार्यरत देशलाई समेत अधिकतम लाभ हुने) ले जित्ने गरी यस्ता पैरवीहरू सञ्चालन गर्ने गरिन्छ । कूटनीतिज्ञमा हुनेपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण पनि यही हो । हाम्रो आर्थिक तथा सामरिक उपस्थितिलाई दृष्टिगत गर्दा नेपालजस्तो मुलुकका कूटनीतिज्ञहरूले आफ्ना वस्तुहरूको विशेष सुविधाका लागि अपनाउनुपर्ने सक्रियताको शैलीको उपयुुक्त र निर्विकल्प मोडल पनि यही हो ।
उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै हाम्रा कूटनीतिक नियोगहरूले पनि नेपाली उत्पादनहरूलाई आप्mनो स्टेशन रहेको देशमा विशेष सुविधा प्राप्त गर्न, अरूले प्राप्त गरेसरह समान सुविधा प्राप्त गर्न र वर्तमान समयमा प्राप्त सुविधाहरू कायम राख्न विशेष पैरवी गर्नुपर्छ । यी सबै क्षेत्रमा सफलता हात पार्न यी विशेष सुविधाबाट दुवै पक्षलाई अधिकतम लाभ हुन्छ भन्ने प्रत्याभूति दिलाउनुपर्छ । यो प्रत्याभूति दिन सक्ने कला, शीप, दक्षता, ज्ञान, इमानदारी, तर्क र तथ्यहरूबाट हाम्रा कूटनीतिक नियोगहरू सुसज्जित हुनुपर्छ ।
यसरी माथि दिएका तीनओटा स्वभावजन्य कार्यहरूमा हाम्रा कूटनीतिक नियोगहरू क्रियाशील हुनुपर्छ । यत्ति मात्र गर्न सकेको खण्डमा बजार पहिचान, बजार प्रवेश र बजारमा टिक्न नेपाली उत्पादनलाई धेरै सहज हुने देखिन्छ ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।