विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई परिचालन गर्न नसक्नाले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको समस्या समाधान गर्न नसकिएको श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले बताएका छन् । राजधानीमा बुधवार अयोजित ‘लैंगिक हिंसाविरुद्ध सक्रियताको अन्तरराष्ट्रिय अभियान’ कार्यक्रममा बोल्दै उनले कामदारको समस्या समाधानका लागि विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने पनि बताए । उनले भने, ‘नेपाली कामदार रोजगारीका लागि जाने देशसँग अनिवार्य श्रम सम्झौता गर्न आवश्यक छ ।’ नेपाल सरकारले रोजगारीमा जान खुला गरेका १ सय ८ देशमध्ये ५ देशसँग मात्र श्रम सम्झौता गरेको छ । तीेमध्ये दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स र बहराइनसँग श्रम सम्झौता नै भएको छ भने जापानसँग औद्योगिक प्रतिष्ठानस्तरीय सम्झौता मात्र भएको छ ।
वर्ष ६, अंक ७९, बिहीवार, २२ मङ्सिर, २०६७