काठमाडौं । बैंक, वित्तीय संस्थामा तरलता बढेपछि ट्रेजरी बिल्स, अन्तरबैंक कारोबारलगायत अल्पकालीन ब्याजदर घट्न थालेको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नभएपछि बैंकहरूको लगानी ऋणपत्रमा केन्द्रित हुँदा टे«जरी बिल्सको ब्याजदर ५ प्रतिशतभन्दा तल ओर्लेको छ । यस्तै अन्तरबैंक कारोबारको ब्याजदर पनि मौद्रिक नीतिको लक्ष्यभन्दा तल आएको छ ।
नेपाल राष्ट्र बैंकले सोमवार बोलकबोल गराएको टे«जरी बिल्समा न्यूनतम ४ दशमलव ७३ प्रतिशत ब्याजदर कायम भएको छ । यो चालू आर्थिक वर्ष (आव) मा कायम भएको सबैभन्दा कम ब्याजदर हो । दुई साताअघि टे«जरी बिल्सको ब्याजदर ४ दशमलव २९ प्रतिशतसम्म ओर्लेको थियो । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता खिचेपछि गत साता ५ प्रतिशतभन्दा माथि पुगेको ब्याजदर फेरि घटेको हो ।
सोमवार राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब, ९१ दिनको ७ अर्ब ७५ करोड, १८२ दिनको ५ अर्ब र ३६४ दिनको ८ अर्ब ९१ करोड ६ लाख ५५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल्सका लागि बोलकबोल आ≈वान गरेको थियो । त्यसमा २८ दिन अवधिको ट्रेजरीमा ४ दशमलव २३ प्रतिशत, ९१ दिनमा ६ दशमलव शून्य ५ प्रतिशत, १८२ दिनमा ६ दशमलव ७१ प्रतिशत र ३६४ दिनमा ७ दशमलव शून्य ४ प्रतिशत औसत ब्याजदर कायम भएको छ ।
यसअघि गतसाता २८ दिन अवधिको ट्रेजरीमा ५ दशमलव ६१ प्रतिशत, ९१ दिनमा ६ दशमलव ८ प्रतिशत, १८२ दिनमा ६ दशमलव ८९ प्रतिशत र ३६४ दिनमा ७ दशमलव १९ प्रतिशत ब्याजदर कायम भएको थियो ।
ट्रेजरी बिल्स १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक अल्पकालीन अवधिको स्रोत जुटाउन यो विक्री गरिन्छ । बैंकहरूसँग तरलताको अवस्था सहज भए पनि ऋण लगानी नभएपछि उनीहरूले ब्याजदर घटाएर भए पनि टे«जरी बिल्स खरीद गरेका हुन् । चालू आवको शुरूमा ट्रेजरी बिल्सको औसत ब्याजदर १२ प्रतिशत नाघेको थियो । गत माघमा घटेर ५ प्रतिशतको हाराहारीमा झरे पनि फेरि बढेर ८ प्रतिशत पुगेको थियो ।
पछिल्लो समय बैंकहरूमा तरलताको अवस्था सहज भए पनि कर्जा विस्तार गर्न सकेका छैनन् । यसले गर्दा उनीहरू सरकारी ऋणपत्रलगायत अल्पकालीन लगानीमा केन्द्रित छन् ।
राष्ट्र बैंकका अनुसार शनिवारसम्म बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३ दशमलव ५५ प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने भएकाले उनीहरूसँग साढे ३ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने क्षमता छ । उच्च ब्याजदर र आर्थिक गतिविधिमा कमी आउँदा कर्जाको माग भने छैन ।
शनिवारसम्म बैंकहरूमा ५६ खर्ब ८ अर्ब निक्षेप संकलन हुँदा कर्जा लगानी ४८ खर्ब ६२ अर्ब पुगेको छ । बैंकहरूमा तरलता उच्च भएपछि शनिवार अन्तरबैंक ब्याजदर पनि ३ दशमलव शून्य १ प्रतिशतमा ओर्लेको छ । अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि राष्ट्र बैंकले रिर्भस रिपो जारी गर्नुपर्ने भएको छ ।
दुई साताअघि अन्तरबैंक कारोबारको ब्याजदर २ प्रतिशतमा झरेपछि राष्ट्र बैंकले रिर्भस रिपोमार्फत २३ अर्ब रुपैयाँ बजारबाट उठाएको थियो । त्यसपछि बढेर ५ प्रतिशतभन्दा माथि पुगेको ब्याजदर फेरि घटेर ३ प्रतिशत कायम भएको हो ।
मौद्रिक नीतिमा अन्तरबैंक कारोबारको औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी विन्दुले तलमाथि भएमा रिपो/रिभर्स रिपो जारी गर्ने व्यवस्था छ । राष्ट्र बैंकले यसअघि असार ७ र १० गते जारी गरेको २३ अर्ब २० करोडको रिभर्स रिपो परिपक्व भइसकेको छ ।