एकै दिन ४० अर्ब तरलता प्रशोचन तयारी

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलवार एकै दिन बजारबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । अधिक तरलताका कारण अन्तरबैंक ब्याजदर न्यून बिन्दुमा झरेपछि केन्द्रीय बैंकले हालसम्मकै धेरै रकमको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो । यसअघि अघिल्लो मंगलवार, बुधवार र बिहीवार गरी राष्ट्र बैंकले ६६ अर्ब रुपैयाँभन्दा बढी रकम बजारबाट उठाएको थियो । त्यसपछि औसत अन्तरबैंक ब्याजदर शुक्रवार बढेर ३ दशमलव शून्य २ प्रतिशत पुग्यो । तर, आइतवार पुन: घटेर २ दशमलव ९९ प्रतिशत कायम भएपछि राष्ट्र बैंकले मंगलवार तरलता प्रशोचन गर्न लागेको हो ।  ब्याजदर कोरिडोरको प्रावधानअनुसार औसत अन्तरबैंक ब्याजदर न्यूनतम ३ प्रतिशत कायम गर्नुपर्छ । तर, चालू आर्थिक वर्षमा बैंकहरूको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह हुन नसकेपछि अधिक तरलता देखिँदै आएको छ । फलस्वरूप केन्द्रीय बैंकलाई अन्तरबैंक ब्याजदरलाई कोरिडोरभित्र राख्न सकस परिरहेको छ । अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि राष्ट्र बैंकले मङ्सिरयता निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ । बिहीवारसम्ममा राष्ट्र बैंकले ४ खर्ब ६८ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।  राष्ट्र बैंकका अनुसार शनिवारसम्ममा बैंक, वित्तीय संस्थाहरूले कुल ६१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । शनिवार बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव ३० प्रतिशत कायम भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म यस्तो अनुपात कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार उनीहरूसँग थप ६ खर्बभन्दा बढी कर्जा विस्तार गर्न सक्ने क्षमता छ ।  चालू आवमा बैंकहरूले ३ खर्ब ७० अर्ब निक्षेप संकलन गर्दा २ खर्ब ३ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । बैंकहरूले ब्याजदर घटाए पनि कर्जा प्रवाह बढ्न सकेको छैन ।  बैंकहरूमा अधिक तरलतापछि ट्रेजरी बिल्सलगायत अल्पकालीन ब्याजदर पनि घटिरहेको छ । बुधवार राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरको टेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेको थियो । त्यसमा १८२ दिन अवधिको ट्रेजरीको ३ दशमलव ५३ प्रतिशत र ३६४ दिन अवधिको ४ दशमलव शून्य ७ प्रतिशत ब्याजदर कायम भएको छ । अघिल्लो साता ३६४ दिन अवधिको ट्रेजरी बिल्सको औसत ब्याजदर ४ दशमलव १८ प्रतिशत कायम भएको थियो ।