अल्पकालीन ब्याजदर सामान्य घट्यो

काठमाडौं। बैंक, वित्तीय संस्थाको अल्पकालीन ब्याजदरमा सामान्य गिरावट आएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा बढ्न नसकेपछि टे्रजरी बिल्स र अन्तरबैंक दर घटेको हो ।  सोमवार २० अर्ब ४ करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिल्स नवीकरणमा ब्याजदर घटेको छ । राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिनको ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनको ७ अर्ब रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँ गरी कुल २० अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेको छ । सोमध्ये सबै ट्रेजरीको डिस्काउन्ट रेट गत साताको तुलनामा घटेको छ । उक्त बोलकबोलबाट २८ दिनकोमा ६ दशमलव १२३१, ९१ दिनकोमा ६ दशमलव १६३५, १८२ दिनकोमा ६ दशमलव ४०९४ र ३६४ दिनकोमा ६ दशमलव ४३३१ प्रतिशत औसत ब्याजदर कायम भएको छ । यसअघि भदौ १२ गते जारी भएको २८ दिन अवधिको ट्रेजरीमा ६ दशमलव २०८४ प्रतिशत ब्याजदर कायम भएको थियो । यस्तै भदौ ५ गते निष्कासन भएको ३६४ दिन अवधिको टे्रजरीमा ६ दशमलव ४३९३ प्रतिशत ब्याजदर कायम भएको थियो । साउन ३० गते जारी भएको १२८ दिन अवधिको टे्रजरीको औसत ब्याजदर पनि ६ दशमलव ४८७६ प्रतिशत नै कायम भएको थियो । यसैगरी बैंकहरूबीचको कारोबारमा लाग्ने अन्तरबैंक ब्याजदर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार आइतवार अन्तरबैंक ब्याजदर ६ दशमलव ३१ प्रतिशत कायम भएको छ । अघिल्लो दिन अन्तरबैंक ब्याजदर ६ दशमलव ३५ प्रतिशत थियो । टे्रजरी बिल्स र अन्तरबैंक ब्याजदरलाई बजारको अल्पकालीन ब्याजदरका रूपमा लिइन्छ । यो ब्याजदर बढ्दा बैंकमा तरलता कम भएको र कम हुँदा तरलताको अवस्था सहज भएको बुझिन्छ । यो साताको पहिलो दिन आइतवार बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । वाणिज्य बैंकहरूको निक्षेप ४ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ६१ अर्ब कायम हुँदा विकास बैंक र फाइनान्स कम्पनीको निक्षेप भने ६ खर्ब ७३ अर्बमा स्थिर छ । यसैगरी आइतवार बैंकहरूको कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँले वृद्धि भई ४८ खर्ब ८२ अर्ब पुगेको छ । बैंकहरूको कर्जा निक्षेप अनुपात पनि सामान्य घटेर ८३ दशमलव ६२ प्रतिशत कायम भएको छ ।

सम्बन्धित सामग्री

सरकारी ढुकुटीमा रकम घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकमा रहेको सरकारी ढुकुटीबाट असोजमा १७ अर्ब निक्षेप घटेको छ । सरकारको राजस्व आम्दानी तथा आन्तरिक ऋणको तुलनामा खर्च बढेपछि सरकारी ढुकुटीको रकम घटेको हो ।  राष्ट्र बैंकले प्रकाशित गरेको मासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा सरकारी ढुकुटीमा १ खर्ब ४८ अर्ब ३७ करोड रुपैयाँ छ । गत असार मसान्तमा ४५ अर्ब ११ करोड रुपैयाँ सरकारी निक्षेप रहेकोमा साउन मसान्तमा बढेर १ खर्ब ९३ अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो । त्यसपछि भने सरकारको निक्षेप क्रमश: घट्दै गएको देखिएको छ ।  कोभिड–१९ महामारीको प्रभाव र विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीका कारण आर्थिक गतिविधिमा कमी आएर राजस्व संकलन घटेपछि सरकारी ढुकुटीको रकम पनि घटेको थियो । यसले गर्दा सरकारले चालू आर्थिक वर्ष (आव) मा साउनदेखि नै आन्तरिक ऋण उठाउन शुरू गरेको थियो ।  यसैगरी बैंक, वित्तीय संस्थामा तरलता उच्च हुँदा अल्पकालीन ब्याजदर घटेपछि सरकारले सस्तोमा आन्तरिक ऋण उठाउन कार्यतालिका नै संशोधन गरेको थियो । चालू आवको असोजसम्म सरकारले विकास ऋणपत्रबाट ९२ अर्ब ३१ करोड र ट्रेजरी बिल्सबाट ५ अर्ब गरी कुल ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । सरकारले चालू आवमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।  चालू आवको असोजसम्ममा सरकारले २ खर्ब ३४ अर्ब ७७ करोड रुपैयाँ राजस्व उठाएको छ । यो चालू वर्षको लक्ष्यको १४ दशमलव ८७ प्रतिशत हो । यसमध्ये कर राजस्व २ खर्ब १४ अर्ब र गैरकर राजस्व २० अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।  यसैगरी चालू आवको असोजसम्म सरकारको खर्च ३ खर्ब ५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । त्यसमा साधारण खर्च २ खर्ब २८ अर्ब र पूँजीगत खर्च २६ अर्ब १८ करोड रुपैयाँ छ ।  गत आव २०७९/८० को असोजसम्ममा सरकारले २ खर्ब ८ अर्ब ५८ करोड रुपैयाँ राजस्व उठाएको थियो । उक्त अवधिमा सरकारको खर्च २ खर्ब ७८ अर्ब १६ करोड थियो । त्यसमध्ये साधारणमा २ खर्ब २३ अर्ब, पूँजीगतमा १९ अर्ब ६८ करोड र वित्तीय व्यवस्थातर्फ ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको महालेखाको तथ्यांकमा उल्लेख छ ।  असोजमा राष्ट्र बैंकमा रहेको बैंक, वित्तीय संस्थाको निक्षेप पनि घटेको छ । गत भदौसम्ममा बैंकहरूको निक्षेप २ खर्ब ६८ अर्ब १९ करोड रुपैयाँ रहेकोमा असोजमा घटेर २ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ ।  दशैंका लागि बैंक, वित्तीय संस्थाबाट पैसा झिक्नेको चाप बढ्दा बैंकहरूको राष्ट्र बैंकमा रहेको निक्षेप घटेको हो । दशैंमा मात्र बैंकिङ प्रणालीबाट ७६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  यसैगरी असोज मसान्तमा चलनचल्तीमा रहेको नगद ६ खर्ब ५८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । असारमा चलनचल्तीमा रहेको नगद ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ थियो ।  दशैंमा कारोबार वृद्धि हुँदा कात्तिक ९ गतेसम्ममा चलनचल्तीमा रहेको नगद बढेर ६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ ।