काठमाडौं । माघ महीनामा धितोपत्र दोस्रो बजार पुस महीनाको तुलनामा घटे पनि सरकारको आम्दानी भने बढेको छ । सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट माघ महीनामा मात्र ९७ करोड २० लाख ३ हजार ७७३ रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको हो । पुस महीनामा सरकारले ७४ करोड ३९ लाख १३ हजार
२२९ रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको थियो । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको तथ्यांकलाई आधार मान्दा पुस महीनाको तुलनामा माघ महीनामा सरकारले २२ करोड ८० लाख ९० हजार ५४३ रुपैयाँ बढी पूँजीगत लाभकर संकलन गरेको हो ।
सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले पछिल्लो महीना धितोपत्र बजारबाट सरकारले संकलन गर्ने कर रकम बढ्दो क्रममा रहेको बताएका छन् । चालू आर्थिक वर्षको पहिलो महीना साउनमा ४० करोड ८ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको सरकारले त्यसपछिका महीना त्योेभन्दा कम पूँजीगत लाभकर संकलन गरेकोमा पुसदेखि साउन महीनायताकै बढी लाभकर संकलन भएको सूचना अधिकारी न्यौपाने बताउँछन् । मङ्सिरमा भने सरकारले ३० करोड ५३ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेका तथ्यांकसमेत न्यौपानेले उपलब्ध गराएका छन् । उनका अनुसार पुसको तुलनामा माघमा दीर्घकालीन लगानीकर्ताबाट संकलन हुने कर रकममा ९७ लाख ४२ हजार रुपैयाँले कमी आएको छ । पुसमा १७ करोड २८ लाख रुपैयाँभन्दा बढी दीर्घकालीन लगानीकर्ताबाट लाभकर संकलन भएकोमा माघमा १६ करोड ३१ लाख रुपैयाँभन्दा बढी मात्र भएको जानकारी न्यौपानेले दिएका छन् ।
माघमा अल्पकालीन लगानीकर्ताबाट सबैभन्दा बढी पूँजीगत लाभकर सकलन भएको न्यौपानेको भनाइ छ । पुसमा ५२ करोड ४४ लाख रुपैयाँभन्दा बढी अल्पकालीन लगानीकर्ताबाट लाभकर संकलन भएकोमा माघमा २१ करोड ६९ लाख रुपैैयाँभन्दा बढीले वृद्धि भई ७४ करोड १३ लाख ८७ हजार संकलन भएको न्यौपानेले बताएका छन् । उनका अनुसार माघमा संस्थागत लगानीकर्ताबाट ६ करोड ७४ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । पुसमा संस्थागत लगानीकर्ताबाट ४ करोड ६५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएकोमा माघमा २ करोड ९ लाख रुपैयाँले बढेको छ ।
माघ महीनामा सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट नाफा कमाएबापत संकलन गरेको करको तथ्यांकलाई हेर्दा बजार घटे पनि लगानीकर्ताले नाफामै धितोपत्र कारोबार गरेको देखिन्छ । पुस महीनाको अन्तिम कारोबार दिन २ हजार १२० दशमलव ६२ बिन्दुमा रहेको नेप्से परिसूचक माघ महीनाको अन्तिम कारोबार दिन २ हजार १०१ दशमलव १६ बिन्दुमा झरेको छ ।
सिगंटी हाइड्रो इनर्जीले फागुन २ देखि १ करोड ४५ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरिसकेको छ । पुस १९ सम्म कायम शेयरधनीले सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । सिंगटीको हकप्रद शेयर निष्कासन बन्द हुने मिति फागुन २२ गते रहेको छ ।
त्यस्तै रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्कासन गर्दै छ । माघ २१ सम्म कायम शेयरधनीले रिडीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर चैत ८ गतेसम्म विक्रीमा रहनेछ ।
अंकको हिसाबमा पुसको तुलनामा माघमा नेप्से परिसूचक १९ दशमलव ४६ अंक घटेको देखिन्छ । माघ महीनामा देखिएको नेप्सेको उतारचढावलाई हेर्दा दैनिक कारोबारमा न्यूनतम २ हजार ५३ बिन्दुसम्म झरेको र २ हजार १७८ बिन्दुसम्म पुगेको समेत देखिन्छ ।
अल्पकालीन लगानीकर्ताबाट बढी पूँजीगत लाभकर संकलन भएको तथ्यांकलाई आधार मान्दा भने छोटो समयमै नाफा बुक गरी लगानीकर्ता कारोबारमा सहमागी भएको अनुमान भने लगाउन सकिन्छ ।
अनुभवी लगानीकर्ता डम्बरुवल्लभ घिमिरेले बजारको आकार बढ्दै जाँदा दीर्घकालीन लगानीकर्ता भने घट्दै गएको बताउँछन् । बजारको दिगो विकासका लागि दीर्घकालीन लगानी महत्त्वपूर्ण हुने भएकाले क्षणिक लाभलाई हेरेर कारोबार नगर्न सबैमा अनुरोध गरेका छन् । लाखौं नेपालीको लगानी रहेको बजारको दिगोपनका लागि दीर्घकालीन लगानीमा जोड दिन आग्रह गर्दै उनले अल्पकालीन कारोबारले दीर्घकालीन उपलब्धि प्राप्त नहुने बताएका छन् ।
धितोपत्र बजारका लगानीकर्ताले नाफामा धितोपत्र कारोबार गरेको खण्डमा सरकारलाई १० प्रतिशतसम्म कर बुझाउनुपर्ने हुन्छ । सरकारले पूँजीगत लाभकर शीर्षकमा धितोपत्र बजारका संस्थागत लगानीकर्ताबाट १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताबाट न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ दशमलव ५ प्रतिशतसम्म कर संकलन गर्ने गरेको छ । व्यक्तिगत लगानीकर्तालाई दुई प्रकारमा विभाजन गरी पूँजीगत लाभकर संकलन हुँदै आएको छ । एक वर्षभन्दा बढी शेयर कायम गर्ने लगानीकर्तालाई दीर्घकालीन र १ वर्षभन्दा कम शेयर कायम गर्ने लगानीकर्तालाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गर्दै सरकारले अल्कालीन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो । नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था रहेको हो ।