काठमाडौं । फागुनमा धितोपत्रको दोस्रो बजारबाट संकलन हुने पूँजीगत लाभकर अघिल्लो महीनाको तुलनामा ५३ करोड १० लाख रुपैयाँभन्दा धेरैले घटेको तथ्यांक धितोपत्र कारोबारको राफसाफकर्ता कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको छ । फागुनमा सरकारले धितोपत्र बजारबाट ४४ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । माघमा यो शीर्षकमा ९७ करोड २० लाख ३ हजार रुपैयाँभन्दा धेरै संकलन भएको थियो । माघमा अघिल्लो महीनाको तुलनामा झन्डै २३ करोड रुपैयाँले बढेको लाभकर संकलन फागुनमा घटेको हो ।
सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेका अनुसार पछिल्लो ३ महीनाको तथ्यांक तुलना गर्दा फागुनको लाभकर सबैभन्दा कम छ । माघ मसान्तको तुलनामा फागुन मसान्तमा धितोपत्र बजारको समग्र कारोबार मापक नेप्से ७ दशमलव ५६ अंकले माथि पुगेको देखिन्छ । माघ मसान्तमा २ हजार १०१ दशमलव १६ बिन्दुमा रहेको नेप्से फागुन मसान्तमा २ हजार १०८ दशमलव ७२ विन्दुमा पुगेको थियो । फागुनमा नेप्से अधिकतम २ हजार १२४ दशमलव शून्य ८ बिन्दुसम्म पुगेको देखिन्छ ।
फागुनमा माघको तुलनामा संस्थागत लगानीकर्ताबाट संकलन हुने कर बढेको सीडीएससीका सूचना अधिकारी न्यौपानेको भनाइ छ । उनका अनुसार माघमा संस्थागत लगानीकर्ताबाट ६ करोड ७४ लाख ५८ हजार रुपैयाँभन्दा धरै पूँजीगत लाभकर संकलन भएकोमा फागुनमा ७ करोड ३० लाख ३० हजार रुपैयाँभन्दा धेरै संकलन भएको छ । माघको तुलनामा फागुनमा संस्थागत लगानीकर्ताबाट ५५ लाख ७१ हजार रुपैयाँभन्दा धेरै कर संकलन भएको छ । धितोपत्रको दोस्रो बजारमा नाफामा कारोबार गरेको खण्डमा संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।
व्यक्तिगत लगानीकर्ताको हकमा १ वर्षभन्दा कम र बढी अवधि धितोपत्र कायम गरेको आधारमा कर संकलन हुन्छ । व्यक्तिगत लगानीकर्तालाई दुई प्रकारमा विभाजन गरी पूँजीगत लाभकर संकलन हुँदै आएको छ । एक वर्षभन्दा बढी समय धितोपत्र राखेर बेच्नेलाई दीर्घकालीन र १ वर्षभन्दा कम राखेर बेच्नेलाई अल्पकालीन लगानीकर्ताका रूपमा विभाजन गरी सरकारले अल्पकालीनलाई ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनलाई ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको हो । नाफा कमाएको खण्डमा भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्छ ।
फागुनको पूँजीगत लाभकर संकलन तथ्यांक हेर्दा अल्पकालीन लगानीकर्ताबाट २५ करोड १० लाख ७९ हजार रुपैयाँभन्दा धेरै र दीर्घकालीन लगानीकर्ताबाट ११ करोड ६८ लाख १२ हजार रुपैयाँभन्दा बढी कर संकलन भएको देखिन्छ । माघको तुलनामा फागुनमा अल्पकालीन लगानीकर्ताबाट करीब ४९ करोड ३ लाख रुपैयाँ कम र दीर्घकालीनबाट करीब ४ करोड ६३ लाख ४५ हजार रुपैयाँ कम पूँजीगत लाभकर संकलन भएको सीडीएससीको भनाइ छ । माघमा अल्पकालीन लगानीकर्ताबाट ७४ करोड १३ लाख ८७ हजार रुपैयाँभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट १६ करोड ३१ लाख ५७ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । धितोपत्रको दोस्रो बजारमा पछिल्लो समय अल्पकालीन लगानीकर्ताको हाबी भइरहेको अवस्थामा पूँजीगत लाभकरसमेत अल्पकालीनलगानीकर्ताबाट सबैभन्दा बढी संकलन भएको अवस्था छ ।