असोज ६, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीे (एचआईडिसीएल) ले ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर बिहीवारदेखि लिलामीमा विक्री गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । यस लिलामी शेयरमा जो कोही व्यक्ति,संस्था वा कम्पनीले आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।
इच्छुक आवेदकले असोज १४ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
त्यसैगरी आवेदकले बोलपत्र पेश गर्दा संस्थापकतर्फको न्यूनतम १ करोड कित्ता र सर्वसाधारण तर्फको न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुने हद नलाग्ने पनि कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
आवेदकले ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर,जनकपुर,बीरगञ्ज,हेटौडा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै बैंकको पोखरा,बुटवल,बागलुङ,नेपालगञ्ज,सुर्खेत,घोराही,धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी शेयरमा आवेदन दिन सकिनेछ ।
कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको शेयर लिलामीमा ल्याएको हो ।