काठमाडौं (अस) । उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्य चौकी पुनर्निर्माण तथा एक थान एम्बुलेन्स खरिदका लागि १५ लाख बराबरको रकम उपलब्ध गराएको छ ।
त्रियुगा नगरपालिका–५ स्थित स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको साँचो त्रियुगाका मेयर बलदेव चौधरीलाई हस्तान्तरण गरे । उक्त अवसरमा सीईओ क्षेत्रीले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी आपतकालीन अवस्थामा यस क्षेत्रका वासिन्दाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी एम्बुलेन्स सेवा उपलब्ध गराउन उदयपुर सिमेन्ट उद्योगको आग्रहलाई स्वीकारेर एम्बुलेन्स खरिदमा सहयोग गरिएको बताए ।