पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर विक्री गर्ने क्रम बढेको देखिएको छ भने कतिपय संस्थापक शेयरधनीहरू विक्री गर्ने प्रावधान कठिन भएकाले शेयर विक्री गर्न नपाएको गुनासो गरिरहेका छन् । कुनै बेला निकै आकर्षक मानिने बैंकको शेयर अहिले यसरी धमाधम विक्री गरेर बाहिर निक्लनु खोज्नुको कारण स्पष्ट देखिएको छैन । यद्यपि अहिले बैंक तथा वित्तीय संस्थाहरूमाथि भइरहेको आक्रमण र घट्दो मुनाफाका कारण यसप्रति विकर्षण बढिरहेको अनुमान गर्न सकिन्छ ।
निकै पारदर्शी मानिएका यस्ता कम्पनीको संस्थापक शेयर विक्रीले कम्पनीमा खासै असर त नपर्ला तर बैंक तथा वित्तीय संस्थाप्रतिको अविश्वासका कारण यसो भएको हो भने त्यसले पछि ठूलो समस्या निम्तिन सक्छ भन्नेमा सम्बद्धको ध्यान जानु आवश्यक छ ।
बैंकहरूको संस्थापक शेयर विक्री गर्न निकै झमेला छ । पहिलो त अहिले संस्थापक शेयर खरीद गर्न चाहने व्यक्तिको संख्या कम छ । त्यही भएर संस्थापक शेयरको मूल्य सर्वसाधारणको शेयरको दाँजोमा निकै कम छ । अर्को, संस्थापक शेयर खरीद गर्न करचुक्ता प्रमाणपत्र आदि चाहिन्छ । त्यस्तै संस्थापक शेयर सीधै दोस्रो बजारमा विक्री गर्न पाइँदैन । यसका लागि बैंकले साबिकको अन्य संस्थापकलाई नै शेयर खरीद गर्न ३५ दिने सूचना जारी गर्छ । संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारणलाई विक्री गर्न सूचना निकालिन्छ । त्यसपछि मात्रै यसको खरीदविक्री सम्भव हुन्छ । बैंकमा संस्थापक शेयरधनीहरू अहिले शेयर बेचेर बाहिरिन खोजे पनि खरीदकर्ता नपाइएको गुनासो गर्छन् ।
आर्थिक संकटका कारण कारोबार मिलान गर्न केही व्यक्तिले शेयर बेचेको हुन सक्छ । यसो हो भने यसलाई समस्या मान्नुपर्ने देखिँदैन । तर, शेयरधनीहरूको भनाइमा भने ठूला लगानीकर्तासमेत संस्थापक शेयर बेच्न तयार छन् । यसो हुनुको कारण अहिले भइरहेको बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण नै हो भन्ने देखिन्छ । लघुवित्त वित्तीय संस्थाको हकमा भने नियामकीय निर्देशनका कारण संस्थापक शेयरको विक्री भएको देखिन्छ ।
विगतमा बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल उच्च थियो । त्यसमाथि पनि यिनीहरूको कारोबार निकै पारदर्शी छ । कुनकुन क्षेत्रमा लगानी छ, खराब कर्जा कति छ, मुनाफा कति छ, आदि सबै विवरण त्रैमासिक रूपमा सार्वजनिक गर्ने भएकाले लगानीकर्ता कम्पनीप्रति विश्वस्त हुन्छन् । अहिले पनि बैंकले सबै जानकारी दिन्छ । तर, अहिले बैंक तथा वित्तीय संस्थाले निकै नाफा कमाएको भनी प्रचारबाजी गरिएको छ । यद्यपि बैंकहरूको औसत प्रतिफल १२ प्रतिशत मात्रै रहेको देखिन्छ । अर्थात् बैंकले भन्दा बढी मुनाफा गरिरहेका क्षेत्र अरू छन् । तैपनि बैंकले नाफा बढी कमाएको भन्दै यसको निकै विरोध भइरहेको छ ।
बैंक तथा वित्तीय संस्थामा निजीक्षेत्रको लगानी छ । तर, निजीक्षेत्रको प्रतिनिधिमूलक भनिने कतिपय संस्था नै बैंकको विरोधमा आन्दोलनरत छन् । विधि र प्रक्रियाबाट काम गरिरहेका पारदर्शी संस्थामा निजीक्षेत्र नै विगत ५–६ महीनादेखि आन्दोलन गरिरहेको अवस्थामा यसका लगानीकर्ता पछि हट्नु अन्यथा होइन । त्यसमाथि पनि अहिले बैंकहरूले लिएको ब्याजदर निकै चर्को भनी घटाउन चौतर्फी दबाब छ । बजारमुखी अर्थतन्त्रमा बजारकै उपकरण प्रयोग गरी ब्याजदरलाई अपेक्षित सीमामा राख्न सकिन्छ तर अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म ब्याजदर घटाउने कुरा बताइरहेका छन् । बजारमा पैसाको आपूर्ति बढाउने उपायको खोजीमा भने सरकारको चासो छैन । यस्तोमा लगानीकर्ता आत्तिनु अन्यथा होइन ।
यसमाथि पनि अहिले बैंकहरूको खराब कर्जा बढिरहेको छ । नियामक नेपाल राष्ट्र बैंकले विभिन्न प्रावधान राखेर कर्जा विस्तार र मुनाफा वितरणमा अंकुश लगाइरहेको छ । यसले पनि संस्थापक शेयरधनी प्रभावित हुनु स्वाभाविक हो । मुुलुकको आर्थिक गतिविधिमा कमी आएकाले उद्योगव्यवसाय प्रभावित भएका छन् । चर्को ब्याजदर खेप्न नसकेर ऋणीहरू जायजेथा बेचेर भए पनि ऋणबाट उम्कन खोजिरहेको अवस्था पनि छ । यसले पनि बैंकहरूको संस्थापक शेयर विक्री बढेको हुन सक्छ । जेहोस्, निकै पारदर्शी मानिएका यस्ता कम्पनीको संस्थापक शेयर विक्रीले कम्पनीमा खासै असर त नपर्ला तर बैंक तथा वित्तीय संस्थाप्रतिको अविश्वासका कारण यसो भएको हो भने त्यसले पछि ठूलो समस्या निम्तिन सक्छ भन्नेमा सम्बद्धको ध्यान जानु आवश्यक छ ।