वित्तीय ज्यादती बढ्यो : नर बहादुर थापा, सरकारले एकोहोरो राजस्व मात्र संकलन गर्दा बैंकको पैसा पनि गयो : मनोज ज्ञवाली

नेपाली बैंकिङ क्षेत्रमा अहिले तरलता (ऋण लगानी योग्य रकम) को अभाव छ । झण्डै ६ महीना वित्तिसक्दा पनि तरलता अभावको समस्या समाधान हुन सकेको छैन । नेपाली बैंकिङ क्षेत्रमा बारम्बार यस्तो समस्या किन आइरहन्छ । यस समास्याको अल्पकालीन तथा दिर्घकालीन समाधानका लागि के कस्ता उपाय छन् त ? प्रस्तुत छ, यसै बिषयमा केन्द्रीत रहेर नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नर बहादुर थापा र नविल बैंकका महाप्रवन्धक मनोज ज्ञवालीसँग न्यू बिजनेश एज तथा आर्थिक अभियान दैनिकका प्रधानसम्पादक मदन लम्सालले गरेको कुराकानीको अंश : पहिलो प्रश्न, नविल बैंकका महाप्रवन्धक मनोज ज्ञवाली सरलाई, के अहिले बैंकहरु ऋण दिन नसक्ने अवस्थामा पुगेका हुन् ? मनोज ज्ञवाली :  बैंकहरुमा अहिले पैसा छ । तर, ऋण दिन सक्ने अवस्था भने छैन । किनभने राष्ट्र बैंकको नयाँ निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले असार मसान्तभित्र सीडी रेसियोलाई ९० प्रतिशत भित्र कायम राख्नुपर्ने छ । तर, अहिले नै सीडी रेसियो ९० दशमलम ५४ प्रतिशत छ । केही समय अघि यो अझैमाथि थियो । यसरी सिडी रेसियो तोकिएकोभन्दा माथि गएको अवस्थामा बैंकहरुलाई थप कर्जा प्रवाह गर्न अप्ठ्यारो भएको हो । २७ ओटा वाणिज्य बैंकमध्ये अहिले लगभग २२/ २३ ओटा बैंकको सीडी रेसियो तोकिएकोभन्दा माथि छ, जसलाई असार मसान्तभित्र ९० प्रतिशतभन्दा तल ल्याउनुपर्ने छ । त्यसैले कर्जा प्रवाहमा केही कठिनाइ भएको हो ।  यो अवस्था कसरी आयो ?  मनोज ज्ञवाली : चालू आवको शुरुवातसँगै बन्दाबन्दी खुकुलो भयो । फलस्वरुप बन्दाबन्दीकै कारण लामो समयसम्म प्रभावित अर्थतन्त्र चलायमान हुन थाल्यो । विगत एक/ डेढ वर्षदेखि संकुचनमा रहेको अर्थतन्त्र चलायमान हुँदा व्यवसायिक गतिविधि बढ्यो । फलस्वरुप आयात पनि ह्वात्तै बढ्यो, किनकी, हाम्रो  आयात बेस अर्थतन्त्र हो । तर, आयात बढेको अवस्थामा विप्रेषण भने आउन सकेन । बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढ्दो छ । तर, उनीहरुबाट आउने विप्रेषण साढे ७ प्रतिशतभन्दा बढीले घटेको छ । आयातको पैसा सेटेलमेन्ट हुँदा रेमिट्यान्सबाट नै सेटल हुने हो । तर, आयात बढेको अवस्थामा रेमिट्यान्स घट्दा विदेशी मुद्रा सञ्चितीमा असर पुग्यो ।  यसरी आर्थिक गतिविधि बढ्दा बैकिङ क्षेत्रबाट असारयता ४५० अर्ब कर्जा प्रवाह भएको छ । तर, निक्षेप संकलन भने ६०/ ७० अर्ब मात्र भयो । यसरी कर्जा प्रवाह र निक्षेप संकलनमा ठूलो ग्याप हुँदा पनि यस्तो समस्या आएको हो ।  यस्तै, चालू आवमा पर्याप्त मात्रामा सरकारी खर्च हुन सकेको छैन । एकातिर सरकारले राजस्व संकलन गरिरहेकै छ । त्यहीमार्फत पनि बैैंकिङ क्षेत्रको पैसा सरकारी खातामा गएको छ । तर, सरकारले खर्च भने गर्न सकेको छैन । सरकारले लक्ष्यको ३८ प्रतिशतभन्दा बढी राजस्व संकलन गर्दा पूँजीगत खर्च भने १० प्रतिशत पनि पुगेको छैन । त्यसमाथि राष्ट्र बैंकले ८५ प्रतिशतको सीसीडी रेसियोलाई खारेज गरेर ९० प्रतिशतको सीडी रेसियो लागू गर्यो । त्यो लागू गर्दा बैंकिङ क्षेत्रमा भएको ऋणयोग्य रकम १२४ अर्बले घट्यो । यस्तै, बैंकहरुले विदेशी मुद्राको निक्षेप अर्काे बैंकमा राखेर कृत्रिम डिपोजिट क्रिएसन गरेको थिए । त्यसमा राष्ट्र बैंकले कडाई गर्यो, जुन ठिक पनि हो । तर, त्यसले गर्दा करीब ८० अर्बको हाराहारीमा ऋणयोग्य रकम घट्यो । राष्ट्र बैंकको परिपत्रको कारण ऋणयोग्य रकम २०० अर्ब जति घट्नु, सरकारको ट्रेजरीमा पैसा जम्मा हुनुु, विदेशीने कामदार बढेपनि रेमिट्यान्सको प्रबाह घट्नुले यस्तो समस्या भएको हो ।  नर बहादुर थापा सर, मनोज ज्ञवाली जीले भनेको कुरामा थप केही छ कि ?  नर बहादुर थापा :  विश्लेषण त त्यही नै हो । तर, पछिल्लो समयमा नेपाली बैंकिङ क्षेत्रमा वित्तीय ज्यादती भएकोे छ । गर्नु पर्नेभन्दा पनि बढी काम भएपछि यस्तो भएको हो । म्याक्रोइकोनोमी म्यानेजमेन्टको धारणाबाट हेर्दा सबैभन्दा पहिले नोमिनल जीडीपी ग्रोथ १५/ १६ प्रतिशतको हाराहारी अनुमान गरिन्थ्यो । यद्यपि, गत वर्ष जीडीपी ९ प्रतिशतले नोमिनल ग्रोथ भएको थियो ।  अहिले वित्तीय क्षेत्र अलिकति बढी विस्तार भइराखेको छ । यसमा रेमिट्यान्सलाई आधार मान्दा २० प्रतिशतको ग्रोथ रेट वित्तीय क्षेत्रले धान्न सक्छ । सोहीअनुसार राष्ट्र बैैंक, योजना आयोग र अर्थ मन्त्रालयले म्याक्रोइकोनोमी म्यानेजमेन्ट गर्दा नोमिनल जीडीपी १५ प्रतिशत र वित्तीय क्षेत्र २० प्रतिशतले ग्रोथ हुँदा ठूलो संकट आउँदैन । त्यो भएपछि हामीले तरलता, ब्याजदरमा हुने असन्तुलन र स्ट्रेस भोग्नु पर्दैन ।  अहिल कोरोना कहर समान्य हुँदै गएपछि बैंक तथा वित्तीय र निजी क्षेत्रले आक्रामक ढंगले व्यवसाय बढाएका छन् । जुन आवश्यक पनि हो । रोजगारी दिने, उत्पादन बढाउने र अर्थतन्त्रलाई अलिकति चलायमान बनाउनको लागि यो आवश्यक छ । तर, बढी पनि भएको जस्तो मेरो विश्लेषण छ । अहिले बैंकहरुको कर्जा वृद्धिदर ३३ प्रतिशतसम्म पुगेको छ । यसलाई कम गर्नुपर्ने देखिन्छ । राष्ट्र बैंकले पनि त्यसलाई १९ प्रतिशतसम्म झार्नु भनेको छ । त्यति गर्न सकियो भने ब्यालेन्स अफ पेमेन्टलाई सन्तुलनमा राख्न सकिन्छ । साथै, विदेशी मुद्रा सञ्चितीलाई पनि कायम गर्न सकिन्छ । तर, बढी कर्जा विस्तार भयो भने विदेशी विनिमय सञ्चित, ब्यालेन्स अफ पेमेन्टमा असर पर्न सक्छ, जुन नेपाली अर्थतन्त्रले धान्न सक्दैन । यही आधारमा यस्तो व्यवस्था गरिएको हो । तर, यस मामलामा राष्ट्र बैंक पनि अलिकति चुकेको देखिन्छ । कर्जा वृद्धिदर १९ प्रतिशतमा कायम गर्नुभने पनि ३३ प्रतिशतसम्म पुगेको छ । यसमा राष्ट्र बैंकले केही नियन्त्रण गर्नुपर्ने थियो ।  यहाँले वित्तीय ज्यादती भन्ने शब्द प्रयोग गर्नुभयो । यसमा अल्ली स्पष्ट पार्नु न ?  नर बहादुर थापा : पहिले वित्तीय ज्यादतीलाई अर्काे ढंगले हेरिन्थ्यो । सरकार तथा राष्ट्र बैंकबाट हुने पोलिसी इन्टर भेन्सनलाई वित्तीय ज्यादती भनिन्थ्यो । सीआरआर उच्च राख्ने, एसएलआर धेरैमाथि राख्ने तथा बैंक तथा वित्तीय संस्थालाई काम नै नदिने ज्यादती विगतमा भए । सरकारलाई नै सहयोग गर्ने मौद्रिक नीति आउने थिए । पछिल्लो समयमा भने यो निजी क्षेत्र, बैंकहरुबाट पनि एक्सेसिभ रिस्क टेकिङ्को कुराहरु हुन थालेको छ । त्यसलाई नै वित्तीय ज्यादती भनिएको हो ।  तरलता अभावका कारण अहिले बैंकको ब्याजदर बढेको छ । पहिला यस्तै समस्या आउँदा ब्याजदर १४/ १५ प्रतिशतसम्म पुगेको थियो । तर, अहिले त्यो स्थानमा ब्याजदर पुगेको छैन । तर, पनि बैंकहरुले गाली खानुपर्ने किन ? साथै, यसको असर कस्तो छ ?  नर बहादुर थापा :   ब्याजदर बढ्दा पक्कै पनि निजी क्षेत्र तथा व्यवसायी प्रभावित हुन्छन् । २ वर्ष कोरोना महामारीका कारण व्यवसाय प्रभावित भए । अहिले कोरोना साम्य हुँदै गएको छ । अहिले  रिकभरीको समयमा ब्याज बढ्दा निजी क्षेत्रमा  केही समस्या पर्छ नै । त्यसैले नीति निर्माता, राष्ट्र बैंक तथा सरकारले पनि यस्तो अवस्थामा ब्याजदर अत्यधिक रुपमा नबढोस् भन्ने चाहन्छन् । तर, सन्तुलनकारी तत्वहरु त हुन्छन् नै । त्यसमा ब्याजदर पनि एउटा सन्तुलनकारी तत्व हो । जसले माग र वितरणलगायतका पक्षलाई सन्तुलनमा ल्याउने काम गर्छ । समग्रमा अब नीति निर्माताले माग र आपूर्ती बीच कसरी सन्तुलन मिलाउने भनेर काम गर्नुपर्छ । साथै, ब्याजदरले पनि सरकार, राष्ट्र र बजारलाई सहयोग पुर्‍याउनुपर्छ । यस्तै, ब्याजदरको हकमा बजारलाई नै सबै कुरा छोडिदिंदा सरकार, नीति निर्माता राष्ट्र बैंकबाट निजी क्षेत्रलाई सहयोग नभएको जस्तो पनि हुन्छ । त्यसैले मौद्रिक नीतिमार्फत ब्याजदर सन्तुलनकारी लेभलमा हुन सक्छ ।  अबको प्रश्न मनोज सरलाई, वित्तीय पहुँच बढी महत्वपूर्ण बिषय हो । तर, अहिले कसैले बढी ब्याज तिर्दा पनि पैसा नपाउने, कसैले कम ब्याजमै ऋण पाउने अवस्था छ नि ? यस्तो खास किन ?  मनोज ज्ञवाली : पहिला त म नर बहादुर सरको कुरामा केही स्पष्ट पार्न चाहन्छु । बैंकहरुले बढी क्रेडिट ग्रोथ लिए भन्ने जुन आरोप छ । त्यसमा म प्रतिप्रश्न गर्न चाहन्छु । जुन समय पूर्णरुपमा बन्दाबन्दी थियो, त्यसबेला कर्जाको वृद्धिदर २७ प्रतिशतले थियो । त्यसबेला यस बिषयमा कसैलाई चासो देखाएनन् । त्यसवेला हामी पनि चुपचाप नै बस्यौं । अहिले  व्यापारधन्दा भइरहेको बेलामा कर्जा प्रवाह बढ्यो भनेर टिप्पणी गर्नु किन ? हामी त फाइनान्सियल इन्टरमेडिसियन हो । डिमान्ड गरेको ठाउँमा हामीले सप्लाई गर्ने हो । बैंकहरुले जथाभावी कर्जा प्रवाह गरेभन्दा पनि बजारले डिमान्ड गर्यो  र हामीले त्यसमा सक्दो सहयोग गरेको हो । तर त्यो गर्दैगर्दा रेस्पोन्सिबल हुनुपर्ने थियो कि थिएन भन्ने बिषयमा  म ओनरसिप लिन्छु । हो, हामीसँग स्रोत नै थिएन भने डिक्लाइमेन्ट हेर्नुपर्ने थियो । तर, कर्जा प्रवाह नै गरेको बिषयमा बैंकहरुलाई आरोप लगाउनुको अर्थ छैन ।  सम्बन्धित प्रश्नमा जाँदाखेरी हामी यस बिषयमा गम्भिरनै छौं । बढी नै ब्याज तिरेर पनि कर्जा नपाउने अवस्था  छ । यसमा अलिकति वित्तीय पहुँचको बिषय पनि जोडिएला । तर,  सीडी रेसियो ९० प्रतिशतभन्दा माथि हुँदा यस्तो भएको हो । राष्ट्र बैंकले पनि असारसम्म यो कायम गर्न भनेको छ । त्यसलाई चेक एन्ड व्यालेन्स गर्न कर्जा प्रवाहमा कठिनाइ भएको हो ।  तरलताको समस्या कति समयसम्म रहला ?  नर बहादुर थापा : यसका लागि राष्ट्र बैंकले नीतिगत पहलकदमी लिइसकेको छ । त्यसको नतिजा २/ ३ महीनामा देखिन्छ जस्तो लाग्छ । अर्काे महीनासम्म यही स्थिति होला । त्यसपछि आयात केही व्यवस्थित भएपछि तरलतामाथिको दवाव कम हुनसक्छ जस्तो लाग्छ । तर, आयातमा नियन्त्रण गर्न खोज्दा बैंकमा भएको तरलता कतै रियल स्टेट तथा शेयर बजारमा आवश्यकताभन्दा बढी जाने त होइन भन्ने डर पनि छ । यसतर्फ सबै चनाखो हुनुपर्छ । यसलाई नियन्त्रणमा राख्न सकेमा तरलतामा त्यति समस्या नहोला । समग्रमा तरलताको अभाव सम्बन्धि समस्यालाई समाधान गर्न अब बहुवित्तीय उपकरण तथा टुल्स प्रयोग गर्ने गरि जानुपर्छ । २००८ पछि आएका जुन क्राइसेस छन्, त्यसमा प्रयोग भएका वित्तीय उपकरणहरु प्रयोगमा ल्याउनुपर्ने देखिन्छ । जस्तै, एलटीबी रेसियो, क्यास मार्जिनजस्ता उपकरणहरु प्रयोग गर्दै लैजानुपर्ने देखिन्छ ।  यस्तै, ब्याजदरलाई सधैं रिप्रेस राख्नु हुँदैन । साथै, सरकारले विदेशी सहयोग पनि परिचालन गर्नुपर्ने देखिन्छ । बजेटमा भनिएअनुसार ६० अर्ब अनुदान र ३०० अर्ब ऋण ल्याउने भनिएको छ । त्यसबापत आएका पैसालाई परिचालन गरेमा पनि केही सहज हुने थियो । कतिपय बिषयमा राष्ट्र बैंक र सरकार मिलेर पनि काम गर्नुपर्ने हुन्छ । सरकारले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउँने व्यवस्था गर्दा केहि सहज भएको अवस्था छ । यस्तै, अन्य सहकार्य पनि गर्नुपर्छ । यस्तै, तत्काल नकारात्मक प्रतिक्रिया आउने नीति पनि ल्याउन हुँदैन ।  यही प्रश्न मनोज जीलाई पनि, तरलता अभावको समस्या समाधान गर्न के विकल्प देख्नु भएको छ ? मनोज ज्ञवाली : नर बहादुर सरले यसको दिर्घकालीन समाधानको उपाय दिनुभयो । म तत्काल गर्नुपर्नेतर्फ लाग्छु । यसमा राष्ट्र बैंकले केही कामहरु गरिसकेको अवस्था पनि छ । आयातमा कडाई गरिएको छ । कर्जाको सदुपयोगिता बढाउनको लागि गाइड लाइननै बनाउने तयारी राष्ट्र बैंकबाट भएको  छ ।  यस्तै, यो बेला  स्वयम बैंकहरु पनि संयमित हुन आवश्यक छ । यो बेला इकोनोमीको मेजर रिक्वायरमेन्ट तथा उत्पादनशिल क्षेत्रमा लगानी गर्ने,  तथा बिजनेश ग्रोथ तथा नाफाको लक्ष्य केही समय होल्ड गरेर अर्थतन्त्रलाई बचाउनतर्फ बैंकहरु पनि अगाडि बढ्न आवश्यक छ । साथै, नियामक निकाय तथा सरकारले पनि केही करेक्टिभ मेजर्स, सटटर्म मेजर्सहरु ल्याउन आवश्यक छ ।  मुख्यतः सरकारले खर्च गर्नुपर्छ । .अहिले सरकारले एकोहोरो राजस्व मात्र संकलन गरको छ । अब सरकारले खर्च गर्यो भने तरलतामा सहज हन्छ ।  नर बहादुर सर, विदेशी सहायतामा बन्ने आयोजनाको खर्च सोधभर्ना गर्दा पनि तरलता प्रवाह हुन सक्थ्यो कि ? अहिले विदेशी सहायताबाट पैसा आएको छ कि छैन ? अहिलेको अवस्था के हो ?  नर बहादुर थापा : यसमा दुई ओटा कुराहरु हुन्छ । पहिलो कुरा, एउटा ताकेता हो । ताकेता नभएसम्म पैसा आउँन गाह्रो हुन्छ । अर्काे, विदेशी सहायतामा बन्ने आयोजनाको वर्षेनी पैसा आउने पनि हुन्छ । प्रत्येक वर्ष जति खर्च हुन्छ, दातृनिकायले त्यो अनुसारको रकम दिने हो । तसर्थ, विवेशबाट पैसा आउँन पनि त्यस्तो आयोजनाहरुको काम तिव्र हुन आवश्यक छ  । राष्ट्र बैंकले अहिले तरलता अभाव भएको अवस्थामा आफुसँग भएको नोट बजारमा पठाएर वा नयाँ नोट नै छापेर बजारमा सर्कुलेसन गर्दा कत्तिको उपयुक्त हुन्छ ?  नर बहादुर थापा : यो एकदम गलत उपाय हो । यसले वित्तीय क्षेत्रमा उल्टै ठूलो नोक्सानी हुन्छ । नयाँ नोट छाप्दा विदेशी विनियम सञ्चितिमा झन खति पुग्छ । राष्ट्र बैंकले पैसा छाप्नासाथ विदेशी विनिमय सञ्चिती घट्छ । यो आत्मघाती कदम हो ।  तर, विश्वमा अमेरिका जस्तो मुलुकले यस्तो गरेका छन् नि ?  नर बहादुर थापा :  अमेरिका आफैंमा आर्थिक रुपमा बलियो देश हो । त्यसमाथि उसको मुद्रा अन्य देशले सञ्चितिमा राख्छन् । तसर्थ, उसलाई यस्तो कदमले खासै असर गर्दैन । ननकन्भटेवल मुद्रा भएका मुलकले यस्तो गर्न हुँदैन । हामीलाई जिम्वावे देश बन्नु छैन । यो त झन संकट निम्ताउने उपाय हो ।  मनोज सर, नेपाली बैंकिङ क्षेत्रमा छोटो समयकै अन्तरालमा तरलता बढी हुने र कम हुने भइरहन्छ । यस्तो किन भइरहन्छ र समाधानको उपाय के छ ?  मनोज ज्ञवाली : यसमा मुख्यतः हाम्रो अर्थतन्त्रको आकारको कुरा आउँछ । पहिलो कुरा त हाम्रो अर्थतन्त्रको आकार नै सानो छ । अहिले बैंकिङ क्षेत्रमा ४८ खर्बमाथि निक्षेप छ भने ४६ खर्ब कर्जा प्रवाह भएको छ । हाम्रो सानो साइज भएको हुनाले २/ ४ अर्ब तलमाथि हुँदा पनि हामीलाई हम्मेहम्मे परिहाल्छ । २०० अर्ब बजारबाट तानिने वित्तिकै तरलता भएन भनेर भाग्न खोज्छौं । अनि बजारमा कर्जाको माग भएन र निक्षेप बढ्यो भने पनि आत्तिनुपर्ने अवस्था पनि छ । त्यसैले यस्तो भएको हो ।  हामीसँग निक्षेप पनि कम अवधिको भए । सहज भएको बेला ५/ ६ वर्षको निक्षेप लिएर बस्न पनि सकिएको छैन । कल निक्षेपमा, बचत खातामा हुने पैसा लगेर १५/ २० वर्षको अवधिका लागि विभिन्न आयोजनामा कर्जा प्रवाह गर्न परेको छ । त्यसमाथि म्याचुरीटी नै मिसम्याच छ । त्यस कारण यो चीजमा बैंकर्सहरुको होराइज नपुगेको हो कि भन्ने छ । तर, बेसिक समस्या भनेको साइज सानो भएर नै हो । नेपालमा तरलता उतारचढावकै कारण ब्याजदर पनि तलमाथि हुने गरेको छ । ब्याजदर स्थिरताका लागि केही उपाय छन् कि ?  नर बहादुर थापा :   ब्याजदर स्थिरता भन्ने त हुँदैन । योत चलयमान भइराख्नुपर्छ । ब्याजदर तलमाथि हुनु आवश्यक पनि छ ।  तर, एक्सिसिभ रुपले निकै भोलाटाइल भयो भने समस्या हुन्छ । यसैले वित्तीय मापदण्ड सही किसिमको हुनुपर्यो । त्यसको कार्यान्वयन हुनुपर्यो । हाम्रोमा बासल थ्री पूर्णरुपमा लागू भएको छैन । सीडी रेसियोका ठाउँमा लिक्विडिटी कभरेज रेसियो जस्ता उपकरणहरु प्रयोग गर्न पाएको राम्रो हुने थियो ।  बैंकहरुको व्यवसाय बढाउने चाहना त हुन्छ नै । कपितय बैंकहरुले यति व्यवसाय बढाए कि, क्यापिटल एडेक्वेसी नै बिर्सिदिए । अहिले कतिपय बैंकहरुलाई साधारण सभा गर्न पनि गाह्रो हुने अवस्था आइरहेको छ । यस प्रकारको ज्यादतिमा भने जान भएन । तर, समयअनुसारका उपयुक्त किसिमको वित्तीय मापदण्ड लागू गर्दै जानुपर्छ । ब्याजदर अलिकति तलमाथि हुनुलाई अन्यथा लिनुहुँदैन । यो त करेक्सनको उपाय पनि हो ।  ब्याजदर स्थिरताको लागि ऋणपत्र पनि एउटा उपकरण हुन सक्छ किन ? नर बहादुर थापा : डिवेञ्चर क्यापिटल मार्केटको इन्स्युमेन्ट हो । यसलाई क्यापिटल मार्केट डेभलपमेन्टको हिसावले लिनुपर्छ । तर, वाणिज्य बैंकले सँधै क्यापिटल मार्केटको औजार विकास गर्नुपर्छ भन्ने छैन । यद्यपि, राष्ट्र बैंकले चुक्तापूँजीकोे २५ प्रतिशत बराबरको डिवेञ्चर जारी गर्न भनेको छ । त्यो बिषय वित्तीय क्षेत्र विकास रणनीतिको हो । यो छुट्टै किसिमको बहस हो जस्तो लाग्छ ।  यद्यपि, तरलता अभावको समाधानमा डिवेञ्चरले पनि केही सहयोग गर्छ कि ?    नर बहादुर थापा : नेपालमा बासल थ्रीमा कार्यान्वयन गरेर लिक्विडिटी कभरेज रेसियो, नेटस्टेवल फन्डिङ रेसियो लागू गरियो भने बैंक आफैले डिवेञ्चर इस्यु गर्न थाल्छन् । वास्तवमा अहिले कराएर हुनेवाला त केही छैन । तर, बासल थ्रीमा गएको भए यो सम्भव हुने थियो । तर, राष्ट्र बैंकले त्यता नगएर पेड अप क्यापिटल, कोर क्यापिटलको २५ प्रतिशत बराबरको डिवेञ्चर जारी गर्नुपर्ने भनेको छ । यही प्रश्न मनोज जीलाई, डिवेञ्चरबाट तरलता अभावको समाधान गर्न सकिन्छ कि सकिदैंन ?  मनोज ज्ञवाली : त्यसो होइन । अहिले हामी जुन समस्याको कुरा गर्दै छौं, त्यो डिपोजीटको हो । राष्ट्र बैंकको सर्कुलर कस्तो छ भन्दा, हामीले डिवेञ्चर जारी गर्दाको बखत नै त्यसलाई स्रोतको रुपमा मानेर जाने हो भने त्यसबाट ऋणयोग्य रकम क्रिएट हन्छ । तर, क्यापिटल इन्स्ट्रुमेन्ट मानेपछि त्यस्तो पाइदैंन । त्यसकारण यो समाधान भने होइन । यो त समाधान नभएर समस्या हो भन्छु, म त ।  अहिले २ अर्बको डिवेञ्चर इस्यु गर्दा निक्षेपमा भएको पैसा नै त्यति जाने डर हुन्छ । तसर्थ, यो समाधान नै होइन । तर, ब्याजदरलाई स्थिर राख्न निजी क्षेत्रबाट नै डिवेञ्चर इस्यु भए सहज हुन सक्छ । अहिले निजी क्षेत्रले इक्विटी वा बैंक ऋणबाट लगानी गर्दै आएका छन् । अब उनीहरुले पनि डिवेञ्चरमार्फत लगानी जुटाउनुपर्छ ।  नर बहादुर सर, तरलताको समस्या हुने वित्तिकै बैंकहरुले ब्याज बढाइदिन्छन् । यसले गर्दा बैंकहरुको आलोचना पनि हुन्छ । यसलाई कसरी हेर्नु भएको छ ?  नरबहादुर थापा : यो त अन्तिम उपाय नै हो । वित्तीय क्षेत्रमा सन्तुलन  ल्याउने उपाय भनेको नै ब्याजदर हो । कर्जाको माग अत्यधिक भएपछि त्यसको प्रेसर कम गर्न ब्याजदर बढाउनु पर्छ । यो एउटा समाधानको उपाय हो । तर, पुरानो ऋणीहरुलाई यसले कुनै पनि असर गर्नु भने हुदैन । मनोज सर, तरलताको समस्या भएता पनि बैंकहरुको नाफा त राम्रै बढेको छ नि ? के भन्नु हुन्छ यसमा ?  मनोज ज्ञवाली : यसमा आम मानिसको बुझाई कम भयो । बैंकहरुको चुक्तापूँजी नै न्यूनतम १० अर्ब छ । विभिन्न रिजर्भको पैसा गरेर उनीहरुसँग २०/ ३० अर्ब लगानी छ । त्यति पैसा लगानी गरेर ३/ ४ अर्ब नाफा कमाउनु त त्यति सन्तोष जनक होइन । अहिले बैंकिङ क्षेत्रको औषत रिर्टन साढे १२ प्रतिशत पनि छैन । त्यसमाथि हामी पूर्णरुपमा पारदर्शी छौं  । सरकारलाई ३० प्रतिशत कर तिर्छाैं । यो अवस्थामा हामीले कमाएको नाफामा आँखा लगाउनु हुँदैन । कसैले १० करोड लगानी गरेर ५० करोडको सम्पत्ति जोडेको छ । उसको ब्यालेन्स सिट पनि देखिंदैन । कर पनि तिरेको हुँदैन । उसले कमाएको नाफामा गुनासो नगर्ने तर, बैंकको नाफामा आँखा लगाउनु त्यति स्वभाविक भएन ।  अन्य क्षेत्र नाफा नकमाए पनि बैंकिङ क्षेत्र डुब्नु हुँदैन । किनकी, हामीले पब्लिकको पैसा परिचालन गर्ने हो । यदि, बैंक साच्चै डुब्यो भने पब्लिकको बैंकप्रतिको विश्वास हराउँछ । तसर्थ, पब्लिकको पैसाको सुरक्षा गर्न पनि बैंकहरुले नाफा गर्न आवश्यक छ ।  बैंकले पैसा चाहिएको बेला दिंदैन, नचाइएको बेला भने आफैं आएर लैजा भनेर उद्योग व्यापारी/ उद्योगीहरुले टिप्पणी गर्छन् । समग्रमा बैंकको सर्भिसको बिषयमा आलोचना भइरहन्छ । यसमा बैंकहरुको भनाई के हो ?  मनोज ज्ञवाली : यस्तो होइन, यसमा म प्रतिप्रश्न गर्न चाहन्छु । अहिले उनीहरुले जुन रुपमा पैसा कमाएका छन्, त्यो वित्तीय क्षेत्रकै कारण हो । त्यसमाथि हामीले ३ करोड ९७ लाख बचत खाताबाट पैसा जम्मा गरेर १७ लाख जना व्यक्तिलाई मात्रा कर्जा दिएका छौं । संख्याको हिसावमा जुन निकै कम हो । गाउँ - गाउँमा कर्जा सेवा पुगेको छैन । सीमित क्षेत्र वा सीमित व्यक्तिमा कर्जा प्रवाह भएको छ । जुन समूह बैंकको सेवाबाट लाभान्वित भएका छन्, उनीहरुले नै यस्तो भन्न सुहाउँदैन ।  नर बहादुर सर, बैंकहरुले कमाएको नाफा कत्तिको उचित हो ?  नर बहादुर थापा : बैंकहरुले नाफा कमाउनु पर्छ तर, रिजीनेवल । मुलुकको अर्थतन्त्रको वृद्धि १२/ १३ प्रतिशत बढ्छ भने बैंकको नाफामा पनि सोही अनुपातमा नै हुनुपर्छ । त्योभन्दा बढी भयो भने कतै न कतै असर परेको हुन्छ । समग्रमा बैंकहरुले नाफा कमाउनु पर्छ । तर, अत्यधिक रिस्क लिएर नाफा कमाउनेतर्फ लाग्न हुँदैन । सोही रिस्क कम गर्न नै बैंक तथा वित्तीय संस्थालाई ३० प्रतिशत कर लगाइएको हो । यो अन्तरराष्ट्रिय अभ्यास नै हो ।

सम्बन्धित सामग्री

गाउँमा सायद पहिरो गयो कि...

‘हररात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि...’ भारतको हिमाञ्चलमा बाढी र पहिरोका कारण ५५ जनाभन्दा बढीले ज्यान गुमाएको समाचार पढेपछि मकवानपुरका राजन बलले मंगलबार सामाजिक सञ्जालमा गायक दीप श्रेष्ठको गीतको अंश उद्धृत गर्दै लेखेका छन्, ‘पहिरोको समाचार ...

एमाले संसद्को स्वीकारोक्तिः ‘३३ किलो सुन कहाँ गयो थाहा भएन’

काठमाडौं, १० साउन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले २०७४ साल माघ ९ विमानस्थलबाट भित्रिएको ३३ किलो सुन कहाँ गयो भन्ने आजसम्म थाहा नभएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणमा तत्तकालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा दोषी पक्राउ परेर जेलमा भएपनि आजसम्म सुन कहाँ गयो थाहा […]

लाज गयो कता

आफ्नो मात्रै दाइजो ठान्ने ताज गयो कता सानो भाइले उछिट्याउँदा आज गयो कता।। मौका पर्दा जन्मथात बिर्सि छिनाझपट गर्ने सिकार समाइ एक्लै लुछ्ने बाज गयो कता।। तिनकै थियो हालीमुहाली मिलीभगत समेत जीवनभर लगाए लगानी ब्याज गयो कता।। अरुको नाम साटिसटाइ थिति आउँछ भने घोक्रो फुलाइ ढ्वाङ फुक्दा काज गयो कता।। सेतो पार्थे दौरा सुरुवाल चाल […]

बाल्यकालसँगै गयो दशैं र तिहारको रौनक

तिहारले छपक्कै छोपेको छ। बजारमा झिलीमिली बत्ती, फूल, मर-मसला किन्ने र बेच्नेको घुइँचो छ। बिहान सबेरैदेखि झमक्क रात पर्दासम्म तिहारको रमझमले बजारलाई धपक्कै बालेको छ। तर पनि बाल्यकालमा जस्तो तिहारको रौनक कही कतै देखिँदैन।बाल्यकालको दशैं र तिहार उमेरसँगै ढल्किएर गयो‚ कहिल्यै नफर्कने गरी। बाल्यकालले आफूसँगै दशैं र तिहारको रौनक पनि लिएर गयो। वैशाख महिना लाग्नासाथ दशैं र तिहार आउने दिन पात्रो पल्टाएर हेरिन्थ्यो। वर्षमा एकपटक बजार जान पाउने, नयाँ लुगा लाउन पाउने, पिङ र देउसी भैलो खेल्न पाउने

चरित्र गयो सर्वस्व गयो तर राजनीतिमा त सबै सराबर भयो

भनिन्छ‚ सम्पत्ति गयो केही गएन, स्वास्थ्य गयो केही गयो, चरित्र गयो सर्वस्व गयो। यसको तात्पर्य हो‚ सम्पत्ति गए कमाउँदा हुन्छ। त्यसैले यो चिन्ताको विषय होइन। स्वास्थ्य गए जीवन कमजोर, अपांग र अशक्त हुन्छ किनकि स्वस्थ रहनु नै जीवन हो। स्वास्थ्य गयो भने केही जान्छ। त्यसैले चिन्ता गर्नु र त्यसलाई जोगाइराख्न आवश्यक प्रबन्ध गर्नैपर्छ।चरित्र जाँदा न धन न स्वास्थ्य जान्छ तर त्यसैलाई सर्वस्व गयो भन्दा आश्चर्य लाग्नसक्छ तर चरित्र गएपछि पत्यार जान्छ, विश्वास हराउँछ, बदनामी हुन्छ। योग्यता

जून गयो उता

कालो छोप्ने सेतो चुन गयो उता निदारमा लाग्या दाग धुन गयो उता।। बाली बिमाख पार्दा गोठमा बाँधिए आफ्ना मात्रै बस्तु फुन गयो उता।। काँधमा बोकी बोकी माथि पुर्‍यायो छाला काँध खिएको गुन गयो उता।। खाँदा पनि टेरेनन् किन होला कुन्नी ढिका ढिका चपाएको नुन गयो उता।। लोभ छैन मानको सेवा गर्छु भन्यो केको लोभले गोडा […]

गयो, गयो… आयो, आयो, गयो… सांसद पद पनि के हो यस्तो !

२०७२ सालको भूकम्पपछि लामो समयसम्म हामी गयो, गयो, आयो, आयो…आयो गयो, आयो गयोमा अल्झिएका थियौँ। अहिले त्यसरी जमिन नहल्लिए पनि राजनीति हल्लने काम जारी छ। एमाले र माओवादी नामको दुई वटा पार्टी मिलेर नेकपा बनेको थियो। त्यही नेकपा भित्र झगडा हुँदा ठूलै भूकम्प गयो। सर्वोच्च अदालतले पार्टी नै छुट्याइदियो। त्यसपछि अझसम्म परकम्पनहरु आउने क्रम जारी… Continue reading

दाजुको कुटाइबाट भाइको ज्यान गयो

उदयपुर । उदयपुरमा दाजुको कुटाईबाट भाइको ज्यान गएको छ । सामान्य घरासयी बिवादमा दाजु पुलकित चौधरीको कुटाईबाट त्रियुगा नगरपालिका– ९ चौकीबारीका खुसीलाल चौधरीको ज्यान गएको हो । सामान्य कारणले दाजुभाइ बीच बिवाद हुँदा पुलकितले भाइलाई हातपात गरेका थिए । दाजुको कुटपिटबाट घाईते खुसीलालको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा खुसीलालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले […] The post दाजुको कुटाइबाट भाइको ज्यान गयो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

बुधबारको पानीले काठमाडौंका धेरै ठाउँमा गयो बिजुली

बुधबार राति काठमाडौं उपत्यकाका अधिकांश ठाउँ बिजुली गयो। तीमध्ये केही ठाउँमा राति नै बत्ती आयो, केहीमा बिहीबार बिहानसम्म पनि आएको छैन।

नारायणहिटी अगाडिबाट ओलीको नारा– देश चुनावतर्फ गयो गयो, सबै फैसला चुनावले गर्छ’

प्रधानमन्त्री एवं नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई पंगु बनाएर देशमा अस्थिरता फैलाउन खोजेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् । अब सबै कुराको फैसला चुनावले गर्ने उनले बताए । काम गर्न नदिइएपछि संसद् विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर प्रधानमन्त्री ओलीले गरे । ‘देश अब चुनावतर्फ गयो गयो, म भन्न चाहन्छु, चुनावले सबै कुराको फैसला गर्छ,’ शुक्रवार काठमाडौंका दरबार मार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने । प्रधानमन्त्री ओलीले काम गर्ने स्थिति नभएपछि जनताको बीचमा जानु प...