पर्यटन लयमा आउने आशा

सन् २०१९को अन्त्यबाट चीनमा फैलिएको कोभिड–१९ का कारण पर्यटक आगमनमा प्रायः शून्य थियो जुन त्यस यताकै सबैभन्दा कम पर्यटक आगमन दर हो । विगतमा चीनबाट नेपाल भ्रमण गर्ने पर्यटकको आगमन सख्या दोस्रो स्थानमा रहेको थियो । तर पछिल्लो समय कोभिड–१९ कारण चीनले पर्यटन गतिविधि कम भएपछि नेपालमा पर्यटनक आगमनमा अमेरिका दोस्रो स्थानमा उक्लिएको थियो । […]

सम्बन्धित सामग्री

विदेशी मुद्रा कमाउने पर्यटनमा बेवास्ता : निजीक्षेत्रकै पहलमा चलिरहेछ पर्यटन

केही समय पहिले विश्व पर्यटन दिवस–२०२३ ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि मनाइयो । कार्यक्रममा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही र पर्यटन क्षेत्रमा विविध ढंगले योगदान गर्ने संस्थालाई आठ विधा छुट्ट्याई सम्मान गरिएको थियो । बढी विदेशी मुद्रा आर्जन गरेकामा सरकारले एयरलाइन्स कम्पनीमा वायुसेवा निगमलाई सम्मान गर्‍यो । निगमले १ वर्षमा ८ करोड ४५ लाख ९ हजार अमेरिकी डलर आर्जन गरेको थियो । होटेल तथा रिसोर्टअन्तर्गत एभरेस्ट हस्पिटालिटी एन्ड रिसोर्टलाई सम्मान गर्‍यो । उसले ५० लाख ४१ हजार अमेरिकी डलर आर्जन गरेको थियो । पर्वतारोहण र ट्रेकिङतर्फ सेभेन समिट ट्रेकिङ कम्पनीले ४३ लाख २२ हजार अमेरिकी डलर आर्जन गरेको थियो । ट्राभल तथा टुर्सतर्फ सीता वल्र्ड ट्राभल नेपालले ३३ लाख ६१ हजार अमेरिकी डलर आर्जन गरेको हुँदा सम्मान गरिएको थियो । त्यसैतर्फ साहसिक खेलतर्फ पोखरा अल्ट्रा लाइटले सबैभन्दा बढी ४४ हजार अमेरिकी डलर आर्जन गर्न सफल भएको थियो । यसरी विदेशी मुद्रा बढी आर्जन गर्ने पर्यटनका विविध क्षेत्रलाई सम्मान गर्नु राम्रो काम हो । तर, यस्तो पुरस्कारले मात्रै व्यवसायीलाई सहयोग पुग्दैन । विदेशी मुद्रा आर्जन गर्ने अन्य उद्योगले निर्यातबापत अनुदान पाउँदा पर्यटन क्षेत्रलाई चाहिँ किन अनुदान नदिने ? जुन क्षेत्रमा बढी सम्भावना छ त्यही क्षेत्रलाई चाहिँ किन उपेक्षा ?  विश्व बैंकका अनुसार पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ६ दशमलव ७ प्रतिशत टेवा पुर्‍याएको छ । कुल रोजगारीको ६ दशमलव ७ प्रतिशत अंश ओगटेको छ । पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन गर्न र रोजगारी सृजना गरी गरीबी निवारणमा समेत सहयोग पुर्‍याउँदै आएको छ । तर, यही क्षेत्रका लागि सरकारले कम बजेट छुट्ट्याएको छ । सरकारले आव २०८०/८१ मा ११ अर्ब ९६ करोड रूपैयाँ विनियोजन गरेको छ । सरकारले गत आव २०७९/८० मा ९ अर्ब ३८ करोड रूपैयाँ छुट्ट्याएको थियो । त्यसैले सरकारको नीति पर्यटन व्यवसायीहरूका लागि राम्रो देखिँदैन । त्यसमाथि डलर ल्याउनका लागि सरकारले कुनै सुविधा नै दिएको छैन । जुन क्षेत्रले बढी विदेशी मुद्रा आर्जन गर्छ त्यसलाई बढी सुविधा दिनुपर्ने हो । यसो गर्दा बढी प्रोत्साहन मिल्छ र व्यवसायी उत्साहित हुन्छन् । तर, नेपालमा त्यसको ठीक उल्टो छ । जसले बढी विदेशी मुद्रा ल्याउँछ, उसले नै बढी राजस्व तिर्नुपर्छ । उसैलाई प्रोत्साहन कम दिइन्छ । पर्यटन क्षेत्र रोजगारी सृजना गर्ने, विदेशी मुद्रा आर्जन गराउने र खर्चको वातावरण निर्माण गराउने काम गर्छ । जब पर्यटकीय चहलपहल बढ्छ त्यसबाट सबै क्षेत्र लाभान्वित हुन्छन् । पर्यटनलाई प्रोत्साहन गर्न कर छूट दिनुपर्छ र निर्यात उद्योगले सरह अनुदान पनि पाउनुपर्छ । ट्राभल र टुर क्षेत्रले मूल्यअभिवृद्ध कर छूटको माग गरे पनि सरकारले सुनेको छैन । नेपाली व्यवसायीहरू मारमा परिरहेका बेला सरकारले फेरि राजस्व तिराउन लाग्यो भने व्यवसाय नै बन्द गरेर पलायन हुनुपर्ने अवस्था आउन सक्छ ।  जुन क्षेत्रले बढी विदेशी मुद्रा आर्जन गर्छ त्यसलाई बढी सुविधा दिनुपर्ने हो । यसो गर्दा बढी प्रोत्साहन मिल्छ र व्यवसायी उत्साहित हुन्छन् । तर, नेपालमा त्यसको ठीक उल्टो छ । जसले बढी विदेशी मुद्रा ल्याउँछ, उसले नै बढी राजस्व तिर्नुपर्छ । उसैलाई प्रोत्साहन कम दिइन्छ ।  सरकारले निजीक्षेत्रसँग नीति निर्माणको क्षेत्रमा दोहोरो सहकार्य नै गर्दैन । अहिले त धेरै डलर आयो कि डराउनुपर्ने अवस्थासमेत छ । के कस्तो नीति लिँदा निजीक्षेत्रले सहज अनुभव गर्छ र काम गर्छ भन्नेमा भन्दा निजीक्षेत्र भनेका ठग हुन् भन्ने मानसिकता सरकारी अधिकारीमा पाइन्छ । निजीक्षेत्रले कतिपय ठाउँमा बदमासी गरेको पनि पाइन्छ । त्यो बदमासी रोक्न र कारबाही गर्न सरकारलाई अधिकार छ । तर, एकाध व्यक्ति खराब देखिए भन्दैमा सबै निजीक्षेत्रलाई नराम्रो दृष्टिले हेर्नु हुँदैन । यदि निजीक्षेत्रप्रति नकारात्मक सोच राख्ने हो भने सबै क्षेत्रमा सरकारले लगानी गरोस् न त, सक्छ ? सरकारसँग त्यो क्षमता र हिम्मत छ ? आफ्नो जिम्मामा रहेका केही सेवाक्षेत्रमा कत्तिको विकृति छ र मनलाग्दी छ अनि जनतालाई कति सास्ती दिएका छन् भन्ने कुराबाट नै सरकारको क्षमता सजिलै आँक्न सकिन्छ । निजीक्षेत्रलाई अर्थतन्त्रको संवाहक पनि भन्ने, करचाहिँ सकेसम्म लिने तर तिनलाई काम गर्न सहज वातावरण बनाउन र प्रोत्साहन गर्नचाहिँ पछि हट्ने ? यो सरासर राज्यको बेइमानी हो । पर्यटन क्षेत्र यही बेइमानीको सिकार भइरहेको छ । निजीक्षेत्रले लगानी गरेर सकी नसकी पर्यटन प्रवर्द्धन गरेर पर्यटक ल्याउँदा उल्टो विमानस्थल कर, विलासिता कर आदि भनेर खुट्टा बाँध्ने काम भइरहेको छ । पर्यटन क्षेत्रले यसलाई उद्योगको मान्यता दिन र सोहीअनुसार सुविधा दिन माग गरेको दशक नाघिसक्यो तर सरकार कानमा तेल हालेर बसेको छ । कोरोनाबाट थलिएको पर्यटन बिस्तारै लयमा फर्कने संकेत देखिएको छ । अक्टोबर महीनामा पर्यटन आगमन निकै उत्साहजनक देखिएको छ । यसले यस वर्ष पर्यटक आगमनको संख्या १० लाख नाघ्ने सम्भावना देखिएको छ । यो भनेको कोरोनाकाल अघिको संख्या हो । तर, यसमा सरकारी पहल भने शून्य छ भन्दा पनि हुन्छ । पर्यटनमा मन्त्री फेरिएपिच्छे नयाँनयाँ कार्यक्रम घोषणा हुने गरेको छ । कहिले आन्तरिक पर्यटन बढाउने भन्दै पर्यटन बिदाको घोषणा भयो त कहिले पर्यटन दशक । तर, ती कुनै पनि कार्यान्वयन भएन भन्दा हुन्छ । अहिले पनि भ्रमण दशकको कार्यक्रम फिर्ता लिइएको छैन तर त्यो कसरी मनाउने, केके लक्ष्य राख्ने, केकस्ता नीति लिने र केकस्तो पूर्वाधार बनाउने भन्ने कुरामा खासै छलफल र गृहकार्य भएको देखिँदैन । नेपालमा हतारमा कार्यक्रमको घोषणा गर्ने, त्यो पत्रपत्रिकामा छापिने तर कार्यान्वयन भने नहुने परिपाटी नै छ भन्दा हुन्छ । यसो गर्दा निजीक्षेत्र अलमलमा पर्छ । सरकारले कुनै नीति लियो भने त्यसैअनुरूप निजीक्षेत्रले लगानी बढाउने हो । पर्यटनमा सम्भावना देखेर नै अहिले होटेल पूर्वाधारमा निकै ठूलो लगानी भएको छ । अहिले पर्यटन क्षेत्र पूर्णरूपमा पुरानै लयमा आएको भान हुन्छ । पदयात्रा मार्ग र होटेलहरू अहिले भरिभराउ देखिएका छन् । यसबाट पर्यटन व्यवसायी निकै उत्साहित देखिएका छन् । तर, अहिले देखिएको पर्यटन आगमनमा सरकारी नीतिले कति काम गरेको छ र निजीक्षेत्रको पहलले कति काम गरेको छ भन्ने स्पष्ट छैन । यद्यपि सरकारको काम खासै देखिएको छैन । त्यसैले यसको जस पनि निजीक्षेत्रले नै पाउँछ ।  पर्यटन व्यवसायलाई गति दिन सबैभन्दा तगारो अहिले सडक बनेको छ । पोखरा पुग्ने सडकको दुर्दशा भनेर साध्य छैन । सडक विस्तार भइरहेको छ तर त्यो निकै सुस्त गतिमा छ । यही कारण पर्यटकले धेरै समय सडकमा बिताउनुपर्ने भएको छ । सडकमा समय बिताउन पर्यटक आउने होइनन् । व्यस्त कार्यतालिका लिएर आउने पर्यटक छिटो आफ्नो गन्तव्यमा पुग्ने र जुन उद्देश्यले आएको हो त्यसमै रमाउने चाहना राख्छन् । पदयात्राका लागि आएको पर्यटकले बाटोमै समय बिताउन पर्‍यो भने उसले आफ्नो साथीलाई यो समस्या पक्कै भन्छ । यस्तो समस्या थाहा पाएपछि पर्यटकले अर्कै गन्तव्य रोज्नु स्वाभाविकै हो । सडक सञ्जालको विस्तारमा नेपाल अन्य देशभन्दा निकै कमजोर देखिन्छ । यसमा सुधार नगरी पर्यटनबाट नेपालले अपेक्षित लाभ लिन सक्दैन । अनौपचारिक क्षेत्रलाई निरुत्साहित गरी औपचारिक व्यवसायलाई प्रोत्साहित गर्ने र बजारमा अझ बढी प्रतिस्पर्धी हुने कुरामा राज्यले सहयोग गर्ने हो भने पर्यटनमार्फत हुने विदेशी मुद्राको आम्दानी बढ्दै जान्छ । नेपालमा पर्यटन पूर्वाधारमा निजीक्षेत्रको लगानी बढेको छ । चारतारे र पाँचतारे होटेलको संख्या बढ्दो छ । यस्ता होटेलको संख्या बढ्नु भनेको खर्चालु पर्यटक आउनु हो । अन्य पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आवश्यक देखिएको छ । खासगरी नेपालको प्राकृतिक बनोट नै पर्यटक आकर्षित गर्ने मुख्य आधार भएकाले यस क्षेत्रमा सुरक्षा र सेवा बढाउन सक्नुपर्छ । पर्यटकले यहाँको पर्यावरणीय क्षतिप्रति असन्तोष व्यक्त गरेका छन् । प्रकृतिको नजिक पुग्न आएका पर्यटकलाई अव्यवस्थित निर्माणले पिरोलेको छ । खासगरी पदमार्गमा बनेका धूले सडकप्रति उनीहरूको निकै ठूलो गुनासो रहेको छ । त्यसो हुँदा यसको मौलिकता संरक्षण गर्ने, वातावरण विनाश हुन नदिने गरी पर्यटकीय गतिविधि अघि बढाउन आवश्यक देखिन्छ ।  पछिल्लो समय बढी भीडभाड हुने स्थानमा पर्यटनका लागि नजाने भन्ने अभियान पनि चलेको छ । त्यो अभियानमा नेपालको सगरमाथाको पनि नाम जोडिएको छ । त्यसैले बढी भीडभाड बढाउनुभन्दा त्यसको कीर्तिमानी महत्त्व कायम राख्ने गरी हिमाल आरोहणको अनुमति दिइनुपर्छ । विभिन्न उचाइका हिमालको सफल आरोहण गर्नेलाई सरकारले केही चिनो दिने र तिनको नाम अभिलेखमा राखी सम्मान गर्ने परिपाटी पनि बसाल्नु जरुरी छ । यसरी नेपालको पर्यटनलाई पर्यावरणमा क्षति नपुग्ने गरी सञ्चालन गर्न सरकारले पर्याप्त अध्ययन र लगानी गर्नु आवश्यक छ । व्यवसायीले नीतिगत निर्णय गर्न सक्दैनन् । ठूला पूर्वाधारमा लगानी गर्न पनि सक्दैनन् । सरकारले यस्ता क्षेत्रमा आफै लगानी गर्ने वा विदेशी लगानीकर्ता ल्याउन पहल गर्ने काम गर्न सक्छ । मुख्य कुरा पर्यटन व्यवसायलाई प्रोत्साहन गर्न यस क्षेत्रले सृजना गरेको रोजगारी, प्राप्त गरेको वैदेशिक मुद्रा, सरकारलाई तिरेको कर आदि हेरेर पनि सरकारले यसमा छूट, अनुदान दिने र आवश्यक नीतिगत निर्णय गरिदिने नीति लिनुपर्छ । पर्यटन व्यवसायीसँग छलफल गरी खासखास समस्याका गाँठा फुकाउन पहल गर्नुपर्छ । पर्यटक यति बढे भनेर गजक्क पर्नुभन्दा लक्ष्य र नीतिसहित आगामी बाटो तय गर्नुपर्छ । अन्यथा पर्यटन क्षेत्रमा अहिले देखिएको आशा फेरि निराशामा बदलिन सक्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

नयाँ वर्ष : आर्थिक क्षेत्रमा नयाँ आशा

नयाँ वर्षको पूर्वसन्ध्यामा आर्थिक क्षेत्र सुधारका सन्दर्भमा सकारात्मक सूचकहरू बाहिर आएका छन् । कोरोना महामारीयता निरन्तर अत्यासमा रहेको आर्थिक क्षेत्रलाई पछिल्ला सूचकहरूले केही हदसम्म आशावादी बनाएका त छन् तर त्यसको प्रत्याभूतिका लागि सरोकारका पक्षले पर्याप्त गृहकार्य गर्नुपर्ने छ । कर्जामा उच्च दरको ब्याज अर्थतन्त्रको मुख्य समस्या बनिरहेको अवस्थामा नेपाल बैंकर्स संघले यो वैशाख महीनाका लागि मुद्दती निक्षेपमा ९ दशमलव ९९ प्रतिशतभन्दा बढी ब्याज नदिने निर्णय गरेको छ । यो विगत डेढ वर्षयताकै न्यून ब्याजदर भएको समाचार आर्थिक अभियान दैनिकले प्रकाशित गरेको छ । प्रधानमन्त्रीलगायत अर्थतन्त्रसँग सीधा सरोकार राख्ने अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका नेतृत्वबाट पनि अर्थतन्त्रको अवस्था सुधारका लागि प्रयत्न भइरहेका प्रतिबद्धतापूर्ण अभिव्यक्तिहरू आउनु सकारात्मक छ । कोरोना महामारी उत्कर्षमा रहेका बेला उद्योग व्यापार क्षेत्र ठप्प भयो, त्यसबेला कर्जाको माग नै भएन । बैंकहरूले आधारदरभन्दा पनि तल झरेर ७/८ प्रतिशतमा ऋण दिएका थिए । त्यतिबेला लिएको ऋणमा अहिले ब्याज दोब्बर पुगिसकेको छ । यसबीचमा बजारमा मन्दीको अवस्था आउँदा माग भने एक चौथाइमा झरेको छ । एकातिर ब्याजदर दोब्बर वृद्धि हुनु र अर्कातिर माग खस्किनुले उद्यम व्यापारलाई दोहोरो मार पारेको छ । उत्पादन र खपतसँगै रोजगारी पनि खोसिएको छ । प्रत्येकजसो उद्योग प्रतिष्ठानले कामदार कर्मचारी कटौती गरेका छन् । ब्याजदर कम भएका बेला आएका योजना अहिले सबैभन्दा बढी चेपुवामा छन् । यस्तो अवस्थामा ब्याजदर एकल अंकमा झार्नु सकारात्मक भए पनि संकटको डिलमा पुगिसकेको अर्थतन्त्रलाई लयमा ल्याउन पर्याप्त भने होइन । अहिले कर्जामा ब्याजदर १४/१५ प्रतिशत पुगेको छ । बचतमा एकल अंकमा ब्याज झरे पनि कर्जामा यो अवस्था आउन सम्भव छैन । अहिले बचतको ब्याजदरलाई प्राविधिक रूपमा एकल अंक भनिए पनि यो करीब दोहोरो अंक नै हो । यसबाट कर्जामा १ प्रतिशत बिन्दुले ब्याज घट्ने अनुमान गरिएको छ । यसो हो भने कर्जाको ब्याज १३/१४ प्रतिशतबाट तल झर्ने अवस्था अहिले पनि छैन । कर्जामा एकल अंकको ब्याजदर हुनुपर्ने माग निजीक्षेत्रको छ । यसका लागि त बैंकहरूको आधारदर नै ६/७ प्रतिशतको हाराहारीमा सीमित हुनुपर्छ । यसका लागि बचतमा कति ब्याज दिनु पर्ला ? १२ प्रतिशतबाट उकालो लागेको बचतको ब्याज करीब १० प्रतिशतको हाराहारीमा ल्याउनु सकारात्मक संकेत प्रयास हो, तर यो कर्जामा एकल अंकको ब्याजदरका लागि पर्याप्त हुन सक्दैन । तरलता अभाव समाधानकै लागि सरकारले गत कात्तिकदेखि चालू पूँजी कर्जा मार्गदर्शन २०७९ कार्यान्वयनमा ल्यायो । यसको उद्देश्य ठीक भए पनि संकटमा समयमा उद्योग व्यापारलाई संकटमा हाल्ने काम बढी भएको निजीक्षेत्रको तर्क पनि अव्यावहारिक छैन । नियामक निकाय नेपाल राष्ट्र बैंक र कर्जा दिने वाणिज्य बैंकहरूले शुरूमै यसमा कडाइ गरेको भए अहिले यो अवस्था नै आउने थिएन । बैंकमा लगानीयोग्य रकम पर्याप्त भए/नभए त्यसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजमा देखिन्छ । सरकारको पूँजीगत खर्चको यसमा महत्त्वपूर्ण भूमिका रहन्छ । पूँजीगत खर्चको प्रभावकारितामा पनि तरलताको सहजता निर्भर हुने गरेको छ । तर, हामीकहाँ पूँजीगत खर्चको अभ्यास दयनीय छ । चालू आर्थिक वर्षको ९ महीना सकिइसक्दा सरकारको पूँजीगत बजेटको खर्चको अवस्था उत्साहजनक छैन । ३ खर्ब ८० अर्ब रुपैयाँ यस्तो बजेट रहेकोमा अहिलेसम्म २७ प्रतिशतको हाराहारीमा मात्रै खर्च भएको तथ्यांक छ । अहिलेसम्म १ खर्ब २ अर्ब रुपैयाँ खर्च गरेको सरकारले अबको ३ महीनामा २ खर्ब ७७ अर्ब बजेट सिध्याउनुपर्ने अवस्था छ । सरकारसँग पूँजीगत बजेट नै नभएका कारण खर्च हुन नसकेको त होइन भन्ने आशंका पनि अस्वाभाविक होइन । साधारण खर्च चलाउनै दाताको मुख ताक्ने अवस्थामा विकास बजेटको उपलब्धतामा ढुक्क हुन पनि सकिँदैन । अर्को, यदि रकम रहेछ र खर्च गरिएछ नै भने पनि वर्षको अन्तिममा बजेट सक्नकै लागि हुने खर्चको उपादेयताभन्दा अनियमितता बढी नै हुने निश्चित छ । वर्षको अन्तिममा हुने असारे विकास यही विकृतिका कारण बदनाम छ । सरकारले यसबीचमा विकास निर्माणका नयाँ योजनाभन्दा पनि पुरानै योजनाको विस्तार र व्यवस्थापनमा बढी स्रोत खर्चिएको पनि छ । यसमा गौरवको नाम दिएर वर्षौंदेखि अलपत्र योजनादेखि नेता कार्यकर्ता खुशी पार्न तयार पारिएका उपक्रमहरू छन् । यसबीचमा नेपाल राष्ट्र बैंकले देशको आर्थिक गतिविधिसम्बन्धमा तयार पारेको पछिल्लो अध्ययन प्रतिवेदनले अर्थतन्त्रका मुख्य सूचकहरूमा सुधार देखाएको छ । विदेशी मुद्रा सञ्चिति बितेको २ वर्षयताकै उच्च रहेको देखिन्छ । २०७७ फागुनमा १३ खर्ब ९० अर्ब रहेकोमा २०७९ फागुन अन्त्यमा यो १४ खर्ब १ अर्ब रहेको देखिन्छ । यसले ९ दशमलव ४ महीनाको वस्तु तथा सेवा आयात धान्न सकिने राष्ट्र बैंकको तथ्यांक छ । कुनै बेला यो ६/७ महीनामा झरेपछि सरकारले आयात प्रतिबन्धको उपाय अपनाएको थियो । अहिले सबै खालका आयात प्रतिबन्ध हटाइए पनि बजारले गति लिन भने सकेको छैन । बैंकको उच्च ब्याजदरलाई यसको मूल कारण भनिएको छ । एक वर्षअघि फागुनमा १ खर्ब ५८ अर्ब रुपैयाँ घाटामा रहेको शोधनान्तर यो वर्षको फागुनमा १ खर्ब ४८ अर्ब बचतमा देखिन्छ । फागुनमा वैदेशिक रोजगारीबाट आउने विप्रेषण २५ दशमलव ३ प्रतिशतले बढेर ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । फागुनमा मूल्यवृद्धि पनि केही घटेको विवरण आएको छ । फागुनमा मूल्यवृद्धि ७ दशमलव ४४ प्रतिशतमा झरेको तथ्यांक राष्ट्र बैंकको छ । आयको प्रमुख आधार मानिएको पर्यटन क्षेत्रमा पनि सुधारका संकेतहरू देखा परेका छन् । कोरोना महामारीयता थलिएको पर्यटनमा आशाको सञ्चार भएको छ । पर्यटकको आगमनमात्र नभएर होटेल, हवाई यातायातका पूर्वाधार र यसको सुरक्षाको पक्षमा लगानी बढ्नु सकारात्मक काम हो । यो पनि कटु सत्य हो कि, अहिले पनि अर्थतन्त्रको मुख्य सरोकार भनिएको उद्योग व्यापार चरम सकसमा छ । उत्पादन र माग खुम्चिएर २५ प्रतिशतको हाराहारीमा झरेको छ । राजस्व संकलन सरकारी लक्ष्यको ४० प्रतिशतको हाराहारीमा छ । आयातमा आधारित आपूर्ति व्यवस्था र अधिकतर आयातमै आधारित राजस्व स्रोत हुनुका कारण यसको प्रभाव सरकारी ढुकुटीमा पर्ने नै भयो । सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीले विकास साझेदारहरूसँग साधारण खर्च चलाउने प्रयोजनका रकमका लागि छलफल गरेका विवरणहरू सञ्चारमाध्यममा आएका छन् । यस्तो तथ्यबीच सरकारले जतिसुकै सुधारको दाबी गरे पनि साधारण खर्च चलाउनसमेत दाता गुहार्ने अवस्थाले यथार्थलाई संकेत गरेकै छ । यसबीचमा प्रधानमन्त्रीलगायत अर्थतन्त्रसँग सीधा सरोकार राख्ने अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका नेतृत्वबाट पनि अर्थतन्त्रको अवस्था सुधारका लागि प्रयत्न भइरहेका प्रतिबद्धतापूर्ण अभिव्यक्तिहरू आउनु सकारात्मक छ । यसको व्यावहारिक रूपान्तरण भने पर्खाइको विषय बनेको छ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

लयमा फर्किंदै तनहुँको पर्यटन

दमौली । कोरोनाका कारण सुस्ताएको तनहुँको पर्यटन पुनः पुरानै स्थितिमा आउन थालेको छ । लामो समयसम्म कोरोना संक्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले विस्तारै गति लिन थालेको हो । कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालकाले जिल्लाका पर्यटकीय स्थानमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसबाट व्यवसायी पनि आशावादी हुुन थालेका छन् । अहिलेको याममा बिहानको सूर्याेदयसँगै कुहिराले ढाकिएको दृश्य हेर्न आन्तरिक पर्यटक व्यास नगरपालिका–५ मानुङकोट उक्लिन थालेका देखिन्छन् । पछिल्लो केही दिनयता दैनिक सयौंको संख्यामा पर्यटक मानुङकोट पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । गतवर्षदेखि मानुङकोटमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको हो । गतवर्षको कात्तिकमा एकै दिन १० हजारभन्दा बढी पर्यटक यहाँ आइपुगेका थिए । मानुङकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि गत वर्षदेखि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमाल अवलोकन गर्न सकिन्छ । साथै दमौली बजारलगायत आसपासका क्षेत्र पनि छर्लंग देखिन्छ । मानुङकोट जाने बाटो कालोपत्रसमेत हुन थालेकोे छ । केही ठाउँमा कालोपत्र भइसकेको छ भने केही ठाउँमा गर्न बाँकी छ । जिल्लाको अर्काे पर्यटकीय नगरी बन्दीपुरमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ । दसैं बिदापछि आन्तरिक पर्यटकको चहलपहल बढेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । कोरोनाका कारण २ वर्षदेखि पर्यटक ठप्प भएको बन्दीपुरमा अहिले आन्तरिक पर्यटक वृद्धि भएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए । सुस्ताएको यहाँका होटल व्यवसायीमा अहिले आशा पलाएको उनले बताए । ‘२ वर्ष यहाँको व्यवसाय ठप्प रह्यो, अहिले पर्यटकको चहलपहलले आशा जगाएको छ,’ सचिव पौडेलले भने, ‘यो क्रम निरन्तर रहे व्यवसायीलाई राहत हुन्छ ।’ होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले स्वदेशी पाहुनाको आगमन बढेसँगै व्यवसायीमा आशा जगाएको बताए । अधिकांशले कोरोनाविरुद्धको खोप लगाएका कारण पनि घुम्न निस्किएका हुन सक्ने उनको भनाइ थियो । बन्दीपुरका होटल व्यवसायीले छूट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार पर्यटकलाई आकर्षित गर्न छूट प्याकेज ल्याउने तयारी छ । यहाँ होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालित छ ।   यसैगरी म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रूखमाथि निर्माण गरिएको घरमा पनि पर्यटकको चहलपहल बढेको छ । यहाँ दैनिक १०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिए । भिमाद नगरपालिका–९ मोहोरियास्थित अग्लो ढुंगामा पनि आन्तरिक पर्यटकको चहलपहल बढिरहेको छ । अग्लो ढुंगा सिँगारेर उद्यान बनाइएपछि यस ठाउँ आन्तरिक पर्यटकको रोजाइमा परेको स्थानीयवासी शिवकुमार आलेले बताए । रासस

पर्यटनमा आशा : होटेलले माग्न थाले कर्मचारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुँदै गएको र पर्यटन क्षेत्रमा झीनो सुधार देखिन थालेकाले काठमाडौं उपत्यकासँगै मोफसलका होटेल तथा रिसोर्टहरूले कर्मचारी माग गर्न शुरू गरेका छन् । खासगरी काठमाडौं उपत्यका बाहिरका होटेलहरूले कर्मचारी माग गर्न थालेका हुन् । बन्दाबन्दी तथा निषेधाज्ञाको अवस्थामा न्यूनतम कर्मचारीहरू राखेर र चक्रीय प्रणालीमा श्रमिक राखी काम गर्दै आएको होटेल क्षेत्रले अहिले कर्मचारीहरू माग्न थालेका हुन् । काठमाडौंको हायात रिजेन्सी होटेल, ¥याडिसन होटेल कालिमाटीजस्ता होटेलले कर्मचारी माग गरेका छन् । हायात रिजेन्सी काठमाडौंले इभेन्ट सर्भिस म्यानेजरदेखि इन्डियन सेफसम्मका कर्मचारी माग गरेको छ । सुनसान रहेको ठमेलका होटेलले पनि कर्मचारी माग गरेका छन् । काठमाडौंको ठमेलमा अवस्थित तीनतारे मस्र्याङ्दी होटेलले पनि कर्मचारीको विज्ञापन खुलाएको छ । काठमाडौंकै होटेल क्राउन इम्पेरियल, याक एन्ड यति होटेल पनि कर्मचारी माग गरेका छन् । यसरी कर्मचारीहरू माग गर्नेमा मोफसलका होटेलहरू बढी छन् । सिद्धार्थ हस्पिटालिटी ग्रूपले कर्मचारी माग गरेको छ । होटेल सिद्धार्थले नेपालगञ्जका लागि कर्मचारी माग गरेको हो । लामो समयसम्म हिँडडुल गर्न नपाएका मानिस घुमघामका लागि निक्लन थालेकाले अहिले आन्तरिक पर्यटन लयमा छ । यसले गर्दा पोखरा, चितवन, तराई भेगका होटेलहरूले कर्मचारी माग गरिरहेका छन् । बुटबलको ड्रिम इन्टरनेशनल होटेलले धेरै संख्यामा कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । होटेलले ६५ जना कर्मचारी माग गरेकोे छ । उपत्यका नजिकको गन्तव्य धुलिखेलको आगन्तुक रिसोर्टले पनि कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । नयाँ होटेलहरूले कर्मचारी माग गरिरहेको होटेल व्यवसायीहरू बताउँछन् । कोरोना भाइरस संक्रमणको घट्दो अवस्था छ र अनअराइभल भिसाका कारण पर्यटन क्षेत्रमा सुधार देखिएको छ । आन्तरिक पर्यटनका गतिविधि पनि बढेको छ । त्यसैले गर्दा मोफसलमा कर्मचारी माग गरिएको होटेल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । उनले बन्दाबन्दी र निषेधाज्ञापछि होटेलहरूमा कर्मचारी तथा श्रमिक कति फर्किए भन्ने विषयमा तिहारपछि अध्ययन गरिने जानकारी दिए । बन्दाबन्दी र नाकाबन्दीमा ५ देखि १० प्रतिशत मात्रै कर्मचारी राखेर होटेल खुला गरेका होटेलहरूले कर्मचारीहरू पुनः राख्न थालेका छन् । पर्यटकको वृद्धि देखिएको हुँदा व्यवसायमा हौसला बढेको उनी बताउँछन् । अहिले पुरानै नेटवर्क, एजेन्सीहरूमार्फत नेपाल घुम्ने पर्यटकका विषयमा जानकारी लिइएको भन्दै उनले अहिले विश्व पर्यटनमै प्रतिस्पर्धा देखिने बताए । ‘अन्य देशहरूलाई पनि पर्यटकहरू चाहिएको छ’, उनले भने, ‘प्रतिस्पर्धाका बीच पनि हामीले राम्रो प्रतिक्रिया पाइरहेका छौं । तयारी पनि सोहीअनुसार गरिएको छ ।’ नेपालमा आउने पर्यटकलाई कोभिडबाट कसरी सुरक्षा गर्ने नै मुख्य पक्ष रहेको भन्दै उनले अबको मार्केटिङ रणनीति फरक ल्याउने बताए । एकैपटक पर्यटक आउँछन् भन्ने अवस्था नभए पनि आन्तरिक पर्यटकलाई नै लक्षित गरेर तिहारपछि प्याकेज तथा अन्य कार्यक्रमहरूको तयारी गर्ने व्यवसायी बताउँछन् । २०२२ को शुरुआतीदेखि नै अहिलको अवस्थामा क्रमिक सुधार हुने पर्यटन व्यवसायीहरूको आशा छ ।

पर्यटनमा आशा

कोरोना संक्रमण भित्रिन नदिन सरकारले डेढ वर्षदेखि पर्यटक आगमनमा विभिन्न किसिमले लगाएको बन्देज हटाएको छ । यसबाट तत्कालै पर्यटक आगमन ठूलो संख्यामा वृद्धि त नहोला तर जोखिमकै बीच नेपाल आउन चाहने पर्यटक भने आउन सक्नेछन् । पर्यटन व्यवसायीले राख्दै आएको माग पूरा भएकाले सरकारको निर्णयको उनीहरूले स्वागत गरेका छन् । यतिले मात्रै पर्यटक आगमन बढाउन सक्ला त ? अहिले विश्वभरि नै अत्यधिक छूटमा पर्यटनका प्याकेज ल्याइरहेको छ । त्यही रणनीतिअनुसार नेपालले पनि पर्यटनको बजार खोज्नु उपयुक्त हुन्छ । अहिले पर्यटनको विश्वबजार सबैजसो खुलिसकेको अवस्था छ । विभिन्न पर्यटकीय गन्तव्यहरूमा पर्यटकको भीड देखिएको पनि पाइन्छ । तर, बाह्य पर्यटक भने कमै देखिएका छन् । त्यसैले विभिन्न देशले अहिले पर्यटन व्यवसायलाई गति दिन आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्ने नीति लिएका छन् र त्यसको कार्यान्वयनले सकारात्मक परिणाम दिएको पनि पाइएको छ । यद्यपि विश्व पर्यटन बजार पूर्णरूपमा पुरानै लयमा फर्किन अझै २/३ वर्ष लाग्ने प्रक्षेपण सम्बद्ध संस्थाहरूले गरिरहेका छन् । यस्तोमा नेपालले पर्यटक आगमन खुला गरेर विश्व पर्यटन बजारमा सकारात्मक सन्देश दिन त खोजेको छ । तर, उनीहरूलाई आकर्षित गर्नेगरी प्रचारप्रसार तथा प्रडक्ट ल्याउन तथा सुरक्षित छ भन्ने सन्देश दिन भने ठोस कदम चालिएको पाइँदैन । यसअघि बाह्य मुलुकबाट आउने पर्यटकका लागि क्वारेन्टाइनको अनिवार्य व्यवस्था थियो । साथै, उनीहरूलाई अनअराइभल भिसा पनि उपलब्ध थिएन । १ हप्ताजति नेपाल घुम्ने योजना बनाउने पर्यटकलाई त्यति नै दिन क्वारेन्टाइनमा बस्न परेपछि नेपाल आउने अर्थै रहेन । त्यसमा पनि क्वारेन्टाइन अवधिमा पूरै कोठामा थुनिएर बस्नुपर्ने र उसले कुनै पनि पर्यटकीय गतिविधिमा सहभागी हुन नसक्ने भएपछि उनीहरू नेपाल आउने कुरै भएन । यद्यपि हिमाल आरोहणका लागि पनि केही पर्यटक नआएका होइनन् । नया“ व्यवस्थाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका तथा ७२ घण्टे पीसीआर रिपोर्टबाट कोरोना नेगेटिभ देखिएका पर्यटकले विमानस्थलमै भिसा प्रक्रिया पूरा गर्न सक्ने र त्यही“बाटै पर्यटकीय गन्तव्यमा जान सक्ने बनाएको छ । यसरी व्यवसायीको माग पूरा भएको छ । तर, पर्यटकलाई ल्याउन पर्यटन व्यवसायीले नया“ ढंग, प्रडक्ट र रणनीति तय नगरेर पुरानै तरीकालाई निरन्तरता दिए यो नया“ व्यवस्थाले पनि पर्यटक नआउन सक्छन् । नेपालले पर्यटकहरूका लागि आगमन खुला गरे पनि नेपालको पर्यटनको स्रोत बजार भएका मुलुकले नेपाललाई रेड जोन अर्थात् कोरोनाको जोखिम उच्च रहेको क्षेत्रमा राखिरहेका छन् । अहिले संक्रमितको संख्या निकै घटेको भए पनि रेड जोनमा राखिएपछि ती देशबाट नेपाल आउन त्यति सहज हुँदैन । ती देशमा सबैजसो नागरिकले भ्याक्सिन लगाइसकेका छन् तैपनि जोखिम उत्तिकै रहेकाले उनीहरूले आफ्ना नागरिकलाई नेपालमा जान पक्कै पनि सल्लाह नदेलान् । यस्तो बेला कूटनीतिक क्षेत्रको काम महत्त्वपूर्ण हुन्छ । नेपालको कूटनीतिक क्षेत्रले नेपाल पर्यटकका लागि सुरक्षित छ, खोप र स्वास्थ्य मापदण्ड पालना सही ढंगले भएको छ भनेर विश्वास दिलाउन पहल गर्नुपर्ने हुन्छ । तर, त्यस्तो भएको देखि“दैन । कूटनीतिक क्षेत्रले सही ढंगले ती देशमा सकारात्मक सन्देश लान सकेको भए नेपालमा खोप अभियान व्यापक नभएको अवस्थामा पनि पर्यटक आउन सक्छन् । तर, नेपाल सुरक्षित छ भन्ने सन्देश दिन कूटनीतिक क्षेत्र सफल भएको देखिँदैन । पर्यटनको स्रोत बजारमा नियमित उडान शुरू हुन थालेका छन् । ती ठाउँमा सरकार, नेपाल पर्यटन बोर्ड तथा व्यवसायीले प्रचारको काम थाल्नुपर्छ । तत्कालै पर्यटक नआए पनि छूटका साथ रिजर्भेशन गराउन थाल्नु उपयुक्त हुन सक्छ । अहिले विश्वभरि नै अत्यधिक छूटमा पर्यटनका प्याकेज ल्याइरहेको अवस्था छ । त्यही रणनीति अनुसार नेपालले पनि पर्यटनको बजार खोज्नु उपयुक्त हुन्छ । भ्याक्सिन नलगाएका पर्यटकले पनि क्वारेन्टाइनका बेलामा गर्न सक्ने केही प्रडक्ट ल्याउनुपर्छ । त्यस्तै भीडभाड नहुने पदयात्राजस्ता विभिन्न प्याकेजमा बढी केन्द्रित हुनुपर्छ । अन्य देशमा नहुने खालको पर्यटकीय गतिविधिमा केन्द्रित रहेर प्याकेज ल्याउँदा पर्यटक आगमन बढ्न सक्छ । साथै, स्तरीय पर्यटक ल्याउन यो नयाँ अवसर पनि बन्न सक्छ ।

आन्तरिक पर्यटककै भरथेग

सन् २०२० मा २० लाख पर्यटक ल्याउने तयारीका साथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा जुटेको नेपालका लागि कोरोना भाइरस (कोभिड–१९) पर्यटन व्यवसायका लागि ठूलै समस्या बनेर आयो । कोरोना भाइरस संक्रमणका कारण बाह्य पर्यटक आगमन ठप्पप्रायः हुँदा पर्यटन क्षेत्र नराम्रोसँग पछाडि धकेलियो । नेपालमा पर्यटक आगमन ८० प्रतिशत र विदेशी मुद्रा आर्जनसमेत ७१ प्रतिशतले कमी आयो । पर्यटन क्षेत्र ‘बाउन्स ब्याक’ हुन सन् २०२५ सम्म पर्खनुपर्ने देखिन्छ । कोभिडविरुद्धको खोप, आन्तरिक पर्यटकको रुचि, छिटफुट रूपमा आएका विदेशी पर्यटक आशाका संकेत हुन् । हस्पिटालिटी क्षेत्र, एयरलाइन्स कम्पनीहरूले ल्याएका विशेष प्याकेज तथा छूटले नेपालमै भ्रमण संस्कृति स्थापित गर्दै छ भने प्रतिस्पर्धी पर्यटन बजारले आन्तरिक पर्यटकलाई सस्तो तथा सुलभमा सेवा दिएर यसलाई आकर्षित गर्दै छ ।  अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रमा आर्थिक पुनरुत्थानमा सहयोगी हुने किसिमले सकारात्मक संकेतहरू देखिन थालेका छन् । कोभिडविरुद्धको खोप लगाए पनि कोरोना संक्रमण हुने त्रास कायमै रहेको छ । तैपनि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध भएको, व्यवसायीले पनि खोप लगाइसकेको र अन्य मुलुकहरूमा पनि खोप लगाउनेको संख्या बढ्दो क्रममा रहेको हुँदा अबको पर्यटकीय सिजनमा विदेशी पर्यटक आउन सक्ने सम्भावना भने नकार्न सकिँदैन । नेपालमा पर्यटकहरू पर्वतारोहण, दृश्यावलोकन, साहसिक खेल आदिका लागि बढी आउने गर्छन् । यसमध्ये बिदामा घुमफिर गर्ने र धार्मिक पर्यटकले जोखिम लिन नचाहने भएकाले उनीहरू आउने सम्भावना कम हुन्छ । तर, साहसिक पर्यटनका लागि भने पर्यटक आउने गरेका छन् । यो सम्भावना अझ सहज देखिन्छ । सन् २०२१ को वसन्त सिजनमा पनि नेपालमा बन्दाबन्दी थियो । तर, पनि पर्वतारोहणका लागि विभिन्न देशबाट पर्यटक आएका थिए । सन् २०२० मा पर्वतारोहणका लागि आउने पर्यटकको संख्या शून्य थियो । पर्यटन विभागको तथ्यांकअनुसार कोभिडकै बीचमा यो वर्षको सिजनमा ४५९ जना पर्यटकले सगरमाथा आरोहण गरेका थिए । त्यसमध्ये सबैभन्दा धेरै नेदरल्याण्ड्सबाट २८३ जनाले सगरमाथाको आरोहण गरेका थिए । अमेरिकाबाट ३२ जनाले सगरमाथा आरोहण गरेका थिए । यस्तै छिमेकी देश चीनबाट २४ र भारतबाट २० जना पर्वतारोही आएका थिए ।  नेपालको पर्यटन क्षेत्रको ठूलो पूँजी पर्वतारोहण हो, जसले केन्द्रदेखि ग्रामीण क्षेत्रसम्म आर्थिक गतिविधिहरू हुन पाउँछ । बहराइनका राजकुमारहरू विमान चार्टर्ड नै गरेर नेपालको हिमाल आरोहण गर्न आउँदा पर्वतारोहणमा आशा देखियो । यसले नेपाल घुम्न आउने कि नआउने भनी ‘पर्ख र हेर’को अवस्थामा रहेका विदेशी पर्यटकका लागि सकारात्मक सन्देश दिएको छ । ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ जना मात्रै विदेशी पर्यटक नेपाल घुम्न आएको देखिन्छ । सन् २०१९ को तुलनामा यो ८० प्रतिशतले कमी हो । पर्यटन क्षेत्रबाट उक्त वर्ष रू. २५ अर्ब आर्जन भएको देखिन्छ । पर्यटकको औसत बसाइ भने विगत वर्षभन्दा बढेको देखिन्छ । औसतमा १२÷१३ दिनको बसाइ हुने पर्यटकको अवधि १५ दिन पुगेको छ भने प्रतिपर्यटक खर्च पनि बढेर दैनिक ६५ अमेरिकी डलर पुगेको छ ।  कोरोनाकालमा पर्यटकको खर्च र बसाइ बढेको छ भने पर्वतारोहणका लागि आउने पर्यटकको संख्यामा पनि सुधार देखिएको छ । यसले थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा आउने आशा पलाउन थालेको छ । खोप र कोरोना संक्रमण दरमा केही कमी आउँदा खुकुलो बनाउँदै लगिएको निषेधाज्ञाले आन्तरिक पर्यटनमा पनि सुधार ल्याएको छ । काठमाडौं उपत्यका वरपरका र देशका विभिन्न पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बाक्लो हुन थालेको छ ।  साप्ताहिक बिदामा काठमाडौं नजिकका नगरकोट, धुलिखेलदेखि चितवनको सौरहा, कास्कीको पोखरा जस्ता प्रसिद्ध गन्तव्यहरू आन्तरिक पर्यटकले भरिन थालेका छन् । पाँचतारे होटेल, रेस्टुराँ सञ्चालन गरेर भए पनि व्यवसायी सञ्चालन खर्च जुटाउन लागिपरेका छन् । नेपालीको पहुँच पनि तारे होटेलसम्म पुग्न थालेको छ । आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिने पर्यटन क्षेत्र प्रभावित हुँदा विदेशी मुद्रा आर्जनमा समेत कमी आएको छ । विदेश भ्रमणमा  जाने नेपालीहरू पनि अहिले यहीँका पर्यटकीय गन्तव्यका राम्रो स्रोत भएका छन् । पहिलो आफ्नै देश घुम्नुपर्छ भन्ने मान्यता विस्तारै स्थापित हुँदै आएको छ । खासगरी आन्तरिक पर्यटकले पर्यटनलाई ठूलो भरथेग गरेको छ । बिदा हुनासाथ विदेशका पर्यटकीय क्षेत्रहरू रोज्ने र रोजाइमा पर्ने ग्राहकहरू माउन्टेन भ्यू तथा अन्य गन्तव्य खोजेर जान थालेका छन् । आन्तरिक भ्रमणको संस्कृति स्थापित गर्न निजीक्षेत्रका वायुसेवा कम्पनी तथा हेलिकोप्टर कम्पनीका साथै पर्र्यटकीय गन्तव्य मानिने क्षेत्रका होटेलले आकर्षक प्याकेज ल्याएर थप मलजल गरे ।  काठमाडौंमा रहेका पाँचतारे होटेलदेखि उपत्यका वरपर रहेका होटेल तथा रिसोर्टहरूले पनि विभिन्न छूट दिँदै आन्तरिक पर्यटकलाई आकर्षित गर्ने प्रयास जारी राखेका छन् । तैपनि सन् २०१९ कै अवस्थामा आउन नेपाललाई समय लाग्न सक्छ । विदेशी पर्यटकमाथि आश्रित रहेको पर्यटन क्षेत्र उनीहरूको कम उपस्थितिले अहिले शिथिल छ । कोरोना कहर नै चुनौती बन्दै आएका बेला पर्यटन क्षेत्र पुनः लयमा फर्काउन धैर्य र नेपालमै भएका आन्तरिक पर्यटकलाई घुम्नलाई प्रेरित गर्नुको विकल्प छैन । सरकारले चालू आर्थिक वर्ष २०७८÷७९ को बजेटमा ल्याएको कार्यक्रम कार्यान्वयन गर्न सके निजामती, संस्थान तथा सार्वजनिक निकायको ठूलो हिस्सा आन्तरिक पर्यटकको रूपमा देशभर घुम्न सक्छन् । सरकारले बजेट वक्तव्यमा ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान, प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने घोषणा गरेको छ । निजीक्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गर्ने कार्यक्रम छ । सरकारले घोषणा गरेका यस्ता कार्यक्रम छिटो कार्यान्वयनमा ल्याउन सके मात्रै पनि आर्थिक गतिविधि चलायमान बनाउन सकिने आधार तय हुन्छन् । तर, कागजमा मात्रै उल्लेख गरेर न त पर्यटकीय गतिविधि बढ्छन् न त, आर्थिक पुनरुत्थानमा पर्यटनले योगदान दिन सक्छ । त्यसैले सरकारले नै घोषणा गरेका कार्यक्रमहरू समयमै कार्यान्वयनमा ल्याई लय समात्न थालेको पर्यटन क्षेत्रलाई ऊर्जा दिन जरुरी छ ।

लयमा नफर्किंदै व्यवसाय बन्द हुने चिन्ता

महेन्द्रनगर । कोरोनाको दोस्रो लहरको संक्रमणपछि व्यवसाय लय फर्किंदै गरेकोमा पुनः तेस्रो लहरको त्रासले कञ्चनपुरका व्यवसायी चिन्तित बनेका छन् । उद्योग व्यवसाय पूर्ववत् अवस्थामा फर्किन नपाउँदै तेस्रो लहरको संकेतले व्यवसायीमा चिन्ता थपेको हो । कोरोना संक्रमणका कारण व्यवसाय धराशयी बनेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए । उनका अनुसार पहिलो र दोस्रो लहरको कोरोना संक्रमणले जिल्लाको आर्थिक क्षेत्र नराम्ररी थलिएको छ । लामो समयसम्म गरिएको निषेधाज्ञाले ठप्पप्रायः भएको व्यवसाय लयमा फर्किन सकेको छैन । कोरोनाको दोस्रो लहरको संक्रमणपछि व्यवसाय सञ्चालन हुन थाले पनि तेस्रो लहरको जोखिमले झनै चिन्ता बढाएको मल्लले बताए । ‘कोरोना संक्रमण कम हुन थालेपछि व्यवसाय सुचारु हुन थालेका थिए,’ उनले भने, ‘विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहर आउने भनिसकेका छन्, लकडाउनमा पनि कडाइ हुन थालेको छ, यसले आम व्यवसायी थप संकटमा पर्ने देखिएको छ ।’ कोरोनाले थलिएका व्यवसायको पुनरुत्थानका लागि सरकारबाट अपेक्षाकृत रूपमा नीति तथा कार्याक्रम आउन नसकेको अध्यक्ष मल्लको गुनासो छ । सरकारले व्यवसायीका लागि सहुलियत ब्याजदरमा ऋण, विगतमा लिएको ऋणको ब्याज छूट तथा किस्ताको समयावधि थप लगायत सुविधा दिनुपर्ने उनले बताए । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले कोरोना संक्रमणको मुख्य चेपेटामा होटेल र पर्यटन व्यवसाय परेको बताए । कोरोना संक्रमणका बेला गरिएको लकडाउन तथा निषेधाज्ञाले थलिएको व्यवसाय लयमा फर्किन लाग्दा पुनः बन्द गर्नुपर्ने चिन्ता थपिएको उनको गुनासो छ । ‘लकडाउनले थलिएको व्यवसाय शुरू हुन लागेको छ, अहिले व्यवसायीले सञ्चालन खर्च जेनतेन उठाइरहेका छन्,’ उनले भने, ‘कोरोनाको तेस्रो लहर आउने भनिएको छ, यसको नियन्त्रणका लागि भन्दै लकडाउन, निषेधाज्ञा लगाइँदा व्यवसाय पुनः ठप्प हुने चिन्ता छ ।’ होटल व्यवसायी महासंघका पर्यटन सचिव प्रमानन्द भण्डारीले कोरोनाका कारण व्यवसाय थला परेको बताए । कोरोनाको दोस्रो लहरपछि सञ्चालन हुन लागेका व्यवसायलाई तेस्रो लहरको जाखिमले थप समस्या पार्ने उनको भनाइ छ । ‘पहिलो लहरपछि व्यवसाय पुनर्जीवित हुने आशा थियो, दोस्रो लहरले व्यवसाय नै धराशयी बनाएको छ,’ उनले भने, ‘तेस्रो लहर पनि छिट्टै आउने भनिएको छ । फेरि लकडाउन भयो भने व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउन सक्छ ।’   १० प्रतिशत सवारीसाधन मात्र सञ्चालन कोरोना संक्रमणको दोस्रो लहरपछि खुलेको सार्वजनिक यातायातका साधानले यात्रु पाउन सकेका छैनन् । संक्रमणको जाखिमका कारण यात्रुको आवतजावत कम भएपछि सार्वजनिक सवारीसाधनले छोटो तथा लामो दूरीका यात्रु पाउन नसकेका हुन् । महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तले कोरोना महामारीको प्रत्यक्ष असर यातायात व्यवसायीलाई परेको बताए । उनका अनुसार पहिलो र दोस्रो लहरको संक्रमणका बेला जारी गरिएको लकडाउन तथा निषेधाज्ञाले व्यवसाय ठप्प हुँदा व्यवसायी मारमा परेका छन् । पछिल्लो समय सरकारले सार्वजनिक सवारीसाधन चलाउन दिने निर्णयसँगै यातायात सञ्चालनमा आए पनि यात्रु नै नभएको उनले बताए । उनका अनुसार अहिले महाकाली यातायात प्रालिका १० प्रतिशत मात्रै सवारीसाधन चलेका छन् । यातायात नचल्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएकाले सरकारले न्यूनतम ब्याजमा ऋण उपलब्ध गराउनुपने उनको भनाइ छ । ‘लामो समयदेखि थन्किएका सवारीसाधनमा खिया लाग्न थालेको छ, मर्मत नगरी चलाउन सकिने अवस्था छैन,’ उनले भने, ‘बैंकको किस्ता तिर्न पनि मुश्किल भइरहेको छ ।’

लयमा नफर्किदैं व्यवसाय फेरी बन्द हुने चिन्ता

भदौ १, महेन्द्रनगर । कोरोनाको दोस्रो लहरको संक्रमणपछि तंग्रिन नपाउँदै तेस्रो लहरको त्रासका कारण व्यावसायीहरु चिन्तित बनेका छन् ।  दोस्रो चरणको कोरोना संक्रमणपछि पुनर्जीवित हुन लागेका व्यावसायीहरुमा तेस्रो लहरको जोखिमले चिन्तित बनाएको छ । पहिलेको अवस्थामा फर्किन नपाउँदै तेस्रो लहरको कोरोना संक्रमणले व्यावसायीमा चिन्ता थपेको हो  ।  कोरोना संक्रमणका कारण व्यवसाय धरासायी बनेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लले बताए । उनका अनुसार पहिलो र दोस्रो चरणको कोरोना संक्रमणले जिल्लाको अर्थतन्त्र धरासायी बनेको छ ।  लामो समय सम्म गरिएको निषेधाज्ञाले व्यवसाय ठप्प भएपछि व्यवसायलयमा फर्किन समस्या भएको छ । दोस्रो लहरको संक्रमणपछि व्यवसाय शुरु हुन थाले पनि तेस्रो लहरको जोखिमले झनै चिन्ता बढाएको मल्लले बताए । ‘कोरोना संक्रमण कम हुन थालेपछि व्यवसाय सुचारु हुन थालेका थिए,’ अध्यक्ष मल्लले भने, ‘सरकारले नै कोरोना संक्रमणको तेस्रो लहर आउने भनि सकेको छ, लकडाउनमा पनि कडाई हुन थालेको छ, यसले आमव्यावसायीलाई फेरी चिन्तित बनाएको छ ।’ कोरोनाले थलिएका व्यवसायका लागि तीन तहका सरकारबाट अपेक्षाकृत रुपमा सरकारी नीति तथा कार्याक्रम आउन नसकेको अध्यक्ष मल्लको गुनासो छ  । सरकारले व्यवसायीका लागि सहुलियत व्याज दरमा ऋण, विगतमा लिएको ऋणको व्याज छूट तथा किस्ताको समयावधी थप लगायतका सुविधाहरु दिनुपर्ने उनको माग छ ।  होटल व्यवसायि संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले कोरोना संक्रमणको मुख्य चेपेटामा होटेल र पर्यटन व्यवसाय परेको बताए । उनले कोरोना संक्रमणका बेला गरिएको लकडाउन तथा निषेधाज्ञाले थलिएको व्यवसाय बल्ल शुरु हुनै लाग्दा फेरि बन्द गर्नुपर्ने चिन्ता थपिएको बताए ।  ‘लकडाउनले थलिएको  व्यवसाय फेरी शुरु हुन लागेको छ, अहिले व्यवसायीले सञ्चालन खर्च जेनतेन उठाइरहेका छन्,’  अध्यक्ष भट्टले भने, ‘फेरी तेस्रो लहर आउने हल्ला छ, यसले फेरी पूर्ण लकडाउन हुनेसक्ने चिन्ता थपेको  छ ।’ त्यस्तै होटल व्यवसायी महासंघका पर्यटन सचिव प्रमानन्द भण्डारीले कोरोनाका कारण व्यवसाय धरासायी बनेको बताए । उनले कोरोनाको दोस्रो लहरपछि सञ्चालन हुन लागेका व्यवसायलाई तेस्रो लहरको जाखिमले समस्यापार्ने बताए । ‘पहिलो लहरपछि व्यवसाय पुर्नजीवितहुने आशा थियो, दोस्रो लहरले व्यवसाय नै धरासायि बनाएको छ,’ उनले भने, ‘तेस्रो लहरको संक्रमण पनि फैलिने हल्ला छ, फेरी लकडाउन भयो भने व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउन सक्छ ।’   यात्रु नपाउँदा १० प्रतिशत सवारी साधन मात्रै चले  कोरोना संक्रमणको दोस्रो लहरपछि खुलेको सार्वजनिक यातायातले यात्रु पाउन सकेको छैन । संक्रमणको जाखिमका कारण यात्रुको आवतजावत कम भएपछि सार्वजनिक यातायातका साधनले छोटो तथा लामो दूरीका यात्रु पाउन समस्या भएको हो ।  महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तले कोरोना महामारीको प्रत्यक्ष असर यातायात व्यावसायीलाई परेको बताए । उनका अनुसार पहिलो र दोस्रो लहरको संक्रमणका बेला जारी गरिएको लकडाउन तथा निषेधाज्ञाले व्यवसाय पूर्ण रुपमा ठप्प हुँदा व्यवसायि धरासायी भएका छन् । पछिल्लो समय सरकारले सार्वजनिक सवारीका साधन चलाउन दिने निणर्य गरेपछि यातायात व्यवसायीले यात्रु नपाएको उनले बताए । उनका अनुसार अहिले महाकाली यातायात प्रालीका १० प्रतिशत मात्रै सवारी साधन चलेका छन् । तेस्रो लहरको संक्रमण पनि आउने हल्लाले फेरी व्यवासायीलाई चिन्तित बनाएको उनले बताए । यातायात नचल्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएकाले सरकारले न्यूनतम ब्याजमा ऋण उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । लामो समयदेखि थन्किएका सवारी साधनमा खिया लाग्न थालेको छ । मर्मत नगरी चलाउन सकिने अवस्था छैन । बैंकको किस्ता तिर्न पनि त्यस्तै समस्या भइरहेको उनले बताए ।

कहिले उठ्ला पोखराको पर्यटन ?

साउन २७, कास्की । पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ ।  राजधानी काठमाडौंपछि उल्लेख्य संख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ ।  पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक देखिन्छन् न त नेपाली नागरिकहरुको हुल भेटिन्छ । कोभिड १९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करीब ४० प्रतिशत पोखरा गन्तव्यमा पुग्छन् । यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा छन् भने पर्यटन क्षेत्रका मजदूरको रोजगारी जोखिममा परेको छ ।  बन्दाबन्दीपछि पोखराको पर्यटन बिस्तारै लयमा फर्कने तर्खरमा थियो व्यवसायीले आन्तरिक प्रवर्द्धनात्मक गतिविधि बढाए । मर्दी हिमाल पदयात्रा, धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवर्द्धनका कार्यक्रम गरिएको थियो ।  कोरोनाको दोस्रो लहरले यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेका छन् । कोभिडको दोस्रो लहरपछि पलाएको आशा पनि पुनः तेस्रो लहरको पूर्वसंकेतले पर्यटन क्षेत्रलाई त्रसित तुल्याएको छ । डलरे पर्यटक नहुँदा विदेशी मुद्रा आर्जनको आधारसमेत खुम्चिएको छ । पदयात्रा पर्यटनको ‘ट्रान्जिट प्वाइन्ट’ पोखरामा आन्तरिक पर्यटकले ५० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । पर्यटनका लागि खोपको सुनिश्चितता पर्यटनलाई पुनः चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै संघीय सरकारसँग खोपको सुनिश्चितताको माग गरिरहेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा कोरोनाविरुद्धको खोपको व्यवस्थाका लागि अभियान शुरु गरिएको छ ।  परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरूलाई पहिलो चरणमा होटेल तथा रेष्टुरेन्टसहितका मजदुर एवम् व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन सकिए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने बताए । पर्यटन व्यवसायी, मजदूर र कर्मचारीलाई खोपको सुनिश्चितता गराउन सकिए अहिले सुस्ताएको पर्यटनको दीर्घकालीन रुपमा सकारात्मक सन्देश जाने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेलले बताए । पोखराको प्रतिष्ठित होटेल बाराहीका सञ्चालक पौडेलले कोभिड कहरले पोखराको पर्यटन उठ्नै नसक्ने गरी थला परेको भन्दै पर्यटनलाई चलायमान बनाउन खोपको सुनिश्चिततासँगै राज्यका तर्फबाट थप आर्थिक सहुलियतका प्याकेज आवश्यक भएको औँल्याए । ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था व्यवसायी र मजदुरलाई मिलाइनुपर्छ, सरकारको मौद्रिक नीति तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कसरी पर्यटनलाई उकास्ने भन्ने रणनीतिक कार्यक्रम सम्बोधन गर्न जरुरी छ,’ बोर्ड सदस्य पौडेलले भने । रासस

कोरोनाको कारण सुस्तायो हिमाली जिल्ला मनाङको पर्यटन व्यवसाय

जेठ २२, मनाङ । गण्डकी प्रदेशकै पर्यटन प्रवर्द्धनको मुख्य आधार मानिएको हिमाली जिल्ला मनाङको पर्यटन क्षेत्र कोरोनाका कारण सुस्ताएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय गुल्जार हुने यहाँ कोरोना कहरले पुनः सुनसान बनेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले गत वर्षको फागुनदेखि धराशायी बनेको यहाँको पर्यटन क्षेत्र कोरोना कहर मत्थर हुँदै जाँदा बिस्तारै लयमा आउने क्रममा थियो । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरको महामारी शुरु भएसँगै गत वैशाख १० गतेदेखि पुनः यहाँको पर्यटन क्षेत्र सुस्ताएको हो ।  देशभरका मुख्य शहरमा कोरोना संक्रमित बढेसँगै वैशाखदेखि लकडाउन शुरु भयो । देशभर कोरोना महामारी बढेसँगै कोरोना रोकथाम तथा नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग थोरङ्ला भञ्ज्याङ, तिलिचो ताल जस्ता महत्वपूर्ण गन्तव्य आन्तारिक तथा बाह्य पर्यटकका लागि बन्द गर्ने निर्णय गरियो । यस्तै समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएपछि प्रशासनले वैशाख महीनादेखि यहाँका शहर गुमनाम छन् । वर्षेनि ६० हजार विदेशी पर्यटक र करीब तीन लाखको संख्यामा आन्तरिक पर्यटक भित्रिने जिल्लामा नयाँ भेरियन्टको कोरोना प्रभावले सुनसान भएको होटेल व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए । वर्षेनि हिउँदयामको जाडो मौसमपछि गुल्जार हुने मनाङ कोरोना कहरका कारण प्रतिकुल असर पुर्‍याएको उनले बताए । कोरोनाको पहिलो लहरपछि आशा जगाएको यस पर्यटन क्षेत्रमा दोस्रो लहरले पर्यटकीय क्षेत्रलाई ठूलो क्षति पुगेको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्रको वार्षिक तथ्यांकअनुसार जिल्लामा बर्षेनि मार्चदेखि जुलाईसम्म प्रत्येक महीना सात हजारदेखि १४ हजारसम्म विदेशी पर्यटक आउने गर्थे । चैतदेखि हजारौँ आन्तरिक पर्यटक विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल जानका लागि यहाँ आउने गर्छन् । यस वर्ष कोरोना कहरका कारण बन्द हुँदा पर्यटकीय गन्तव्य सुनसान छन् । कोरोनाको दोस्रो भेरियन्ट अघि देशका ठूला शहरदेखि मोटरसाइकल र चारपांग्रे सवारी साधान लमजुङ सदरमुकाम बेँसीशहरदेखि लाम लाग्ने गर्दथे ।  कोरोना महामारीको पहिलो लहरले थलिएको मनाङको पर्यटन व्यवसायमा केही आशा जगाए पनि कोरोनाको दोस्रो लहरले पुनः यहाँका पर्यटन व्यवसायीमा थप पीडा थपिदिएको चामे गाउँपालिकास्थित हिमालयन होटेल सञ्चालक सीता गुरुङ बताउँछन् । बर्खायामको वसन्त ऋतुसँगै अनुकूल खुल्ला मौसममा पनि कोरोना कहरले प्रताडित बनाएको यहाँको पर्यटनमा व्यवसायीसमेत कोरोना त्रासमा छन् । यहाँको प्रमुख पर्यटकीय गन्तव्य तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, मनासलु क्षेत्र, चामेको तातोपानी कुण्ड, सिङ्गर ताल, गङ्गापूर्ण ताल, काङ्ला पासलगायत हिमाल आरोहणमा आउने बाह्य तथा आन्तरिक पर्यटक मनाङ भित्रिएका छैनन् ।  अहिले जिल्लामा झण्डै एक हजारभन्दा बढी होटेल तथा रेष्टुरेन्ट पूर्णरुपमा बन्द अवस्थामा छन् । कोरोनाले सिर्जना गरेको लकडाउनले यो जिल्ला सुनसान बनेको पर्यटन व्यवसायीको भनाइ छ । कोरोनाका कारण पहिलो पटक जिल्लामा ज्यान गएपछि यहाँका मानिस त्रसित बनेका छन् । रासस