आन्तरिक पर्यटककै भरथेग

सन् २०२० मा २० लाख पर्यटक ल्याउने तयारीका साथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा जुटेको नेपालका लागि कोरोना भाइरस (कोभिड–१९) पर्यटन व्यवसायका लागि ठूलै समस्या बनेर आयो । कोरोना भाइरस संक्रमणका कारण बाह्य पर्यटक आगमन ठप्पप्रायः हुँदा पर्यटन क्षेत्र नराम्रोसँग पछाडि धकेलियो । नेपालमा पर्यटक आगमन ८० प्रतिशत र विदेशी मुद्रा आर्जनसमेत ७१ प्रतिशतले कमी आयो । पर्यटन क्षेत्र ‘बाउन्स ब्याक’ हुन सन् २०२५ सम्म पर्खनुपर्ने देखिन्छ । कोभिडविरुद्धको खोप, आन्तरिक पर्यटकको रुचि, छिटफुट रूपमा आएका विदेशी पर्यटक आशाका संकेत हुन् । हस्पिटालिटी क्षेत्र, एयरलाइन्स कम्पनीहरूले ल्याएका विशेष प्याकेज तथा छूटले नेपालमै भ्रमण संस्कृति स्थापित गर्दै छ भने प्रतिस्पर्धी पर्यटन बजारले आन्तरिक पर्यटकलाई सस्तो तथा सुलभमा सेवा दिएर यसलाई आकर्षित गर्दै छ ।  अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रमा आर्थिक पुनरुत्थानमा सहयोगी हुने किसिमले सकारात्मक संकेतहरू देखिन थालेका छन् । कोभिडविरुद्धको खोप लगाए पनि कोरोना संक्रमण हुने त्रास कायमै रहेको छ । तैपनि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध भएको, व्यवसायीले पनि खोप लगाइसकेको र अन्य मुलुकहरूमा पनि खोप लगाउनेको संख्या बढ्दो क्रममा रहेको हुँदा अबको पर्यटकीय सिजनमा विदेशी पर्यटक आउन सक्ने सम्भावना भने नकार्न सकिँदैन । नेपालमा पर्यटकहरू पर्वतारोहण, दृश्यावलोकन, साहसिक खेल आदिका लागि बढी आउने गर्छन् । यसमध्ये बिदामा घुमफिर गर्ने र धार्मिक पर्यटकले जोखिम लिन नचाहने भएकाले उनीहरू आउने सम्भावना कम हुन्छ । तर, साहसिक पर्यटनका लागि भने पर्यटक आउने गरेका छन् । यो सम्भावना अझ सहज देखिन्छ । सन् २०२१ को वसन्त सिजनमा पनि नेपालमा बन्दाबन्दी थियो । तर, पनि पर्वतारोहणका लागि विभिन्न देशबाट पर्यटक आएका थिए । सन् २०२० मा पर्वतारोहणका लागि आउने पर्यटकको संख्या शून्य थियो । पर्यटन विभागको तथ्यांकअनुसार कोभिडकै बीचमा यो वर्षको सिजनमा ४५९ जना पर्यटकले सगरमाथा आरोहण गरेका थिए । त्यसमध्ये सबैभन्दा धेरै नेदरल्याण्ड्सबाट २८३ जनाले सगरमाथाको आरोहण गरेका थिए । अमेरिकाबाट ३२ जनाले सगरमाथा आरोहण गरेका थिए । यस्तै छिमेकी देश चीनबाट २४ र भारतबाट २० जना पर्वतारोही आएका थिए ।  नेपालको पर्यटन क्षेत्रको ठूलो पूँजी पर्वतारोहण हो, जसले केन्द्रदेखि ग्रामीण क्षेत्रसम्म आर्थिक गतिविधिहरू हुन पाउँछ । बहराइनका राजकुमारहरू विमान चार्टर्ड नै गरेर नेपालको हिमाल आरोहण गर्न आउँदा पर्वतारोहणमा आशा देखियो । यसले नेपाल घुम्न आउने कि नआउने भनी ‘पर्ख र हेर’को अवस्थामा रहेका विदेशी पर्यटकका लागि सकारात्मक सन्देश दिएको छ । ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ जना मात्रै विदेशी पर्यटक नेपाल घुम्न आएको देखिन्छ । सन् २०१९ को तुलनामा यो ८० प्रतिशतले कमी हो । पर्यटन क्षेत्रबाट उक्त वर्ष रू. २५ अर्ब आर्जन भएको देखिन्छ । पर्यटकको औसत बसाइ भने विगत वर्षभन्दा बढेको देखिन्छ । औसतमा १२÷१३ दिनको बसाइ हुने पर्यटकको अवधि १५ दिन पुगेको छ भने प्रतिपर्यटक खर्च पनि बढेर दैनिक ६५ अमेरिकी डलर पुगेको छ ।  कोरोनाकालमा पर्यटकको खर्च र बसाइ बढेको छ भने पर्वतारोहणका लागि आउने पर्यटकको संख्यामा पनि सुधार देखिएको छ । यसले थलिएको पर्यटन क्षेत्र विस्तारै लयमा आउने आशा पलाउन थालेको छ । खोप र कोरोना संक्रमण दरमा केही कमी आउँदा खुकुलो बनाउँदै लगिएको निषेधाज्ञाले आन्तरिक पर्यटनमा पनि सुधार ल्याएको छ । काठमाडौं उपत्यका वरपरका र देशका विभिन्न पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बाक्लो हुन थालेको छ ।  साप्ताहिक बिदामा काठमाडौं नजिकका नगरकोट, धुलिखेलदेखि चितवनको सौरहा, कास्कीको पोखरा जस्ता प्रसिद्ध गन्तव्यहरू आन्तरिक पर्यटकले भरिन थालेका छन् । पाँचतारे होटेल, रेस्टुराँ सञ्चालन गरेर भए पनि व्यवसायी सञ्चालन खर्च जुटाउन लागिपरेका छन् । नेपालीको पहुँच पनि तारे होटेलसम्म पुग्न थालेको छ । आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिने पर्यटन क्षेत्र प्रभावित हुँदा विदेशी मुद्रा आर्जनमा समेत कमी आएको छ । विदेश भ्रमणमा  जाने नेपालीहरू पनि अहिले यहीँका पर्यटकीय गन्तव्यका राम्रो स्रोत भएका छन् । पहिलो आफ्नै देश घुम्नुपर्छ भन्ने मान्यता विस्तारै स्थापित हुँदै आएको छ । खासगरी आन्तरिक पर्यटकले पर्यटनलाई ठूलो भरथेग गरेको छ । बिदा हुनासाथ विदेशका पर्यटकीय क्षेत्रहरू रोज्ने र रोजाइमा पर्ने ग्राहकहरू माउन्टेन भ्यू तथा अन्य गन्तव्य खोजेर जान थालेका छन् । आन्तरिक भ्रमणको संस्कृति स्थापित गर्न निजीक्षेत्रका वायुसेवा कम्पनी तथा हेलिकोप्टर कम्पनीका साथै पर्र्यटकीय गन्तव्य मानिने क्षेत्रका होटेलले आकर्षक प्याकेज ल्याएर थप मलजल गरे ।  काठमाडौंमा रहेका पाँचतारे होटेलदेखि उपत्यका वरपर रहेका होटेल तथा रिसोर्टहरूले पनि विभिन्न छूट दिँदै आन्तरिक पर्यटकलाई आकर्षित गर्ने प्रयास जारी राखेका छन् । तैपनि सन् २०१९ कै अवस्थामा आउन नेपाललाई समय लाग्न सक्छ । विदेशी पर्यटकमाथि आश्रित रहेको पर्यटन क्षेत्र उनीहरूको कम उपस्थितिले अहिले शिथिल छ । कोरोना कहर नै चुनौती बन्दै आएका बेला पर्यटन क्षेत्र पुनः लयमा फर्काउन धैर्य र नेपालमै भएका आन्तरिक पर्यटकलाई घुम्नलाई प्रेरित गर्नुको विकल्प छैन । सरकारले चालू आर्थिक वर्ष २०७८÷७९ को बजेटमा ल्याएको कार्यक्रम कार्यान्वयन गर्न सके निजामती, संस्थान तथा सार्वजनिक निकायको ठूलो हिस्सा आन्तरिक पर्यटकको रूपमा देशभर घुम्न सक्छन् । सरकारले बजेट वक्तव्यमा ‘आन्तरिक पर्यटन प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान, प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने घोषणा गरेको छ । निजीक्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गर्ने कार्यक्रम छ । सरकारले घोषणा गरेका यस्ता कार्यक्रम छिटो कार्यान्वयनमा ल्याउन सके मात्रै पनि आर्थिक गतिविधि चलायमान बनाउन सकिने आधार तय हुन्छन् । तर, कागजमा मात्रै उल्लेख गरेर न त पर्यटकीय गतिविधि बढ्छन् न त, आर्थिक पुनरुत्थानमा पर्यटनले योगदान दिन सक्छ । त्यसैले सरकारले नै घोषणा गरेका कार्यक्रमहरू समयमै कार्यान्वयनमा ल्याई लय समात्न थालेको पर्यटन क्षेत्रलाई ऊर्जा दिन जरुरी छ ।

सम्बन्धित सामग्री

दूधे दहमा रमाउँदै आन्तरिक पर्यटक

सिमकोट – चार हजार पाँच सय मिटर अग्लो स्थानमा रहेको दूधे दहमा घुम्न जाने आन्तरिक पर्यटक रमाउने आएका छन्। मोसम खुल्दै जानु र दह छेउछाउ रहेको हिउँ पग्लेपछि आन्तरिक पर्यटक र स्थानीय घुम्न जान सुरु गरिएको हो। मुगुसँग सिमाना जोडिएको चंखेली गाउँपालिका– ३ को मिमी गाउँको लेकमा पर्ने दूधे दह सुन्दर पर्यटकीय स्थलका रुपमा रहेको […]

नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक

काठमाडौँ,१७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय नारच्याङ झरनामा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस

पुनहिलमा फोटो खिचाउँदै आन्तरिक पर्यटक

बेनी, ५ चैत । अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीरः कमल खत्री÷रासस

गुराँससँग रमाउँदै आन्तरिक पर्यटक

म्याग्दी, २३ फागुन । म्याग्दीको अन्नपूर्ण क्षेत्रमा ढकमक्क फुलेको लाली गुराँस र गुराँससँगै आन्तरिक पर्यटक । तस्वीरः ध्रुवसागर शर्मा÷रासस

हिमपात रमाउँदै आन्तरिक पर्यटक (फोटोफिचर)

बैतडी, १४ माघ । बैतडीको मुस्याचौर क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक । तस्वीरः विनोदसिंह विष्ट÷रासस

स्काइ साइक्लिङ गर्दै आन्तरिक पर्यटक

पोखरा, १२ पुस: बागलुङ बलेवामा द क्लिफ प्रालिको रिसोर्ट परिसरमा सञ्चालनमा आएको विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ गर्दै आन्तरिक पर्यटक ।-तस्वीर : जमुना वर्षा शर्मा, रासस

रुप्से झरनामा आन्तरिक पर्यटक

बेनी, १३ कात्तिक: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने यो झरनामा पर्यटकको आगमन बढेको छ । तस्वीर : कमल खत्री-रासस

लामो पुलमा आन्तरिक पर्यटक

बागलुङ–पर्वत जोड्ने विश्वकै लामो (५६७ मि.) झोलुङ्गे पुल वारपार गर्दै आन्तरिक पर्यटक । तस्वीर : रामबहादुर थापा/रासस, बागलुङ

सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढ्दै

देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।...

बेलढुङ्गामा आन्तरिक पर्यटक

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जास्थित पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटक । तस्वीर : रासस