दमौली । कोरोनाका कारण सुस्ताएको तनहुँको पर्यटन पुनः पुरानै स्थितिमा आउन थालेको छ । लामो समयसम्म कोरोना संक्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले विस्तारै गति लिन थालेको हो । कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालकाले जिल्लाका पर्यटकीय स्थानमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसबाट व्यवसायी पनि आशावादी हुुन थालेका छन् ।
अहिलेको याममा बिहानको सूर्याेदयसँगै कुहिराले ढाकिएको दृश्य हेर्न आन्तरिक पर्यटक व्यास नगरपालिका–५ मानुङकोट उक्लिन थालेका देखिन्छन् । पछिल्लो केही दिनयता दैनिक सयौंको संख्यामा पर्यटक मानुङकोट पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
गतवर्षदेखि मानुङकोटमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको हो । गतवर्षको कात्तिकमा एकै दिन १० हजारभन्दा बढी पर्यटक यहाँ आइपुगेका थिए । मानुङकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि गत वर्षदेखि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् ।
यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमाल अवलोकन गर्न सकिन्छ । साथै दमौली बजारलगायत आसपासका क्षेत्र पनि छर्लंग देखिन्छ । मानुङकोट जाने बाटो कालोपत्रसमेत हुन थालेकोे छ । केही ठाउँमा कालोपत्र भइसकेको छ भने केही ठाउँमा गर्न बाँकी छ ।
जिल्लाको अर्काे पर्यटकीय नगरी बन्दीपुरमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ । दसैं बिदापछि आन्तरिक पर्यटकको चहलपहल बढेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । कोरोनाका कारण २ वर्षदेखि पर्यटक ठप्प भएको बन्दीपुरमा अहिले आन्तरिक पर्यटक वृद्धि भएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए ।
सुस्ताएको यहाँका होटल व्यवसायीमा अहिले आशा पलाएको उनले बताए । ‘२ वर्ष यहाँको व्यवसाय ठप्प रह्यो, अहिले पर्यटकको चहलपहलले आशा जगाएको छ,’ सचिव पौडेलले भने, ‘यो क्रम निरन्तर रहे व्यवसायीलाई राहत हुन्छ ।’
होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले स्वदेशी पाहुनाको आगमन बढेसँगै व्यवसायीमा आशा जगाएको बताए । अधिकांशले कोरोनाविरुद्धको खोप लगाएका कारण पनि घुम्न निस्किएका हुन सक्ने उनको भनाइ थियो ।
बन्दीपुरका होटल व्यवसायीले छूट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार पर्यटकलाई आकर्षित गर्न छूट प्याकेज ल्याउने तयारी छ । यहाँ होटल संघसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालित छ ।
यसैगरी म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रूखमाथि निर्माण गरिएको घरमा पनि पर्यटकको चहलपहल बढेको छ । यहाँ दैनिक १०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिए ।
भिमाद नगरपालिका–९ मोहोरियास्थित अग्लो ढुंगामा पनि आन्तरिक पर्यटकको चहलपहल बढिरहेको छ । अग्लो ढुंगा सिँगारेर उद्यान बनाइएपछि यस ठाउँ आन्तरिक पर्यटकको रोजाइमा परेको स्थानीयवासी शिवकुमार आलेले बताए । रासस