कोरोना संक्रमण भित्रिन नदिन सरकारले डेढ वर्षदेखि पर्यटक आगमनमा विभिन्न किसिमले लगाएको बन्देज हटाएको छ । यसबाट तत्कालै पर्यटक आगमन ठूलो संख्यामा वृद्धि त नहोला तर जोखिमकै बीच नेपाल आउन चाहने पर्यटक भने आउन सक्नेछन् । पर्यटन व्यवसायीले राख्दै आएको माग पूरा भएकाले सरकारको निर्णयको उनीहरूले स्वागत गरेका छन् । यतिले मात्रै पर्यटक आगमन बढाउन सक्ला त ?
अहिले विश्वभरि नै अत्यधिक छूटमा पर्यटनका प्याकेज ल्याइरहेको छ । त्यही रणनीतिअनुसार नेपालले पनि पर्यटनको बजार खोज्नु उपयुक्त हुन्छ ।
अहिले पर्यटनको विश्वबजार सबैजसो खुलिसकेको अवस्था छ । विभिन्न पर्यटकीय गन्तव्यहरूमा पर्यटकको भीड देखिएको पनि पाइन्छ । तर, बाह्य पर्यटक भने कमै देखिएका छन् । त्यसैले विभिन्न देशले अहिले पर्यटन व्यवसायलाई गति दिन आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्ने नीति लिएका छन् र त्यसको कार्यान्वयनले सकारात्मक परिणाम दिएको पनि पाइएको छ । यद्यपि विश्व पर्यटन बजार पूर्णरूपमा पुरानै लयमा फर्किन अझै २/३ वर्ष लाग्ने प्रक्षेपण सम्बद्ध संस्थाहरूले गरिरहेका छन् । यस्तोमा नेपालले पर्यटक आगमन खुला गरेर विश्व पर्यटन बजारमा सकारात्मक सन्देश दिन त खोजेको छ । तर, उनीहरूलाई आकर्षित गर्नेगरी प्रचारप्रसार तथा प्रडक्ट ल्याउन तथा सुरक्षित छ भन्ने सन्देश दिन भने ठोस कदम चालिएको पाइँदैन ।
यसअघि बाह्य मुलुकबाट आउने पर्यटकका लागि क्वारेन्टाइनको अनिवार्य व्यवस्था थियो । साथै, उनीहरूलाई अनअराइभल भिसा पनि उपलब्ध थिएन । १ हप्ताजति नेपाल घुम्ने योजना बनाउने पर्यटकलाई त्यति नै दिन क्वारेन्टाइनमा बस्न परेपछि नेपाल आउने अर्थै रहेन । त्यसमा पनि क्वारेन्टाइन अवधिमा पूरै कोठामा थुनिएर बस्नुपर्ने र उसले कुनै पनि पर्यटकीय गतिविधिमा सहभागी हुन नसक्ने भएपछि उनीहरू नेपाल आउने कुरै भएन । यद्यपि हिमाल आरोहणका लागि पनि केही पर्यटक नआएका होइनन् । नया“ व्यवस्थाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका तथा ७२ घण्टे पीसीआर रिपोर्टबाट कोरोना नेगेटिभ देखिएका पर्यटकले विमानस्थलमै भिसा प्रक्रिया पूरा गर्न सक्ने र त्यही“बाटै पर्यटकीय गन्तव्यमा जान सक्ने बनाएको छ । यसरी व्यवसायीको माग पूरा भएको छ । तर, पर्यटकलाई ल्याउन पर्यटन व्यवसायीले नया“ ढंग, प्रडक्ट र रणनीति तय नगरेर पुरानै तरीकालाई निरन्तरता दिए यो नया“ व्यवस्थाले पनि पर्यटक नआउन सक्छन् ।
नेपालले पर्यटकहरूका लागि आगमन खुला गरे पनि नेपालको पर्यटनको स्रोत बजार भएका मुलुकले नेपाललाई रेड जोन अर्थात् कोरोनाको जोखिम उच्च रहेको क्षेत्रमा राखिरहेका छन् । अहिले संक्रमितको संख्या निकै घटेको भए पनि रेड जोनमा राखिएपछि ती देशबाट नेपाल आउन त्यति सहज हुँदैन । ती देशमा सबैजसो नागरिकले भ्याक्सिन लगाइसकेका छन् तैपनि जोखिम उत्तिकै रहेकाले उनीहरूले आफ्ना नागरिकलाई नेपालमा जान पक्कै पनि सल्लाह नदेलान् । यस्तो बेला कूटनीतिक क्षेत्रको काम महत्त्वपूर्ण हुन्छ । नेपालको कूटनीतिक क्षेत्रले नेपाल पर्यटकका लागि सुरक्षित छ, खोप र स्वास्थ्य मापदण्ड पालना सही ढंगले भएको छ भनेर विश्वास दिलाउन पहल गर्नुपर्ने हुन्छ । तर, त्यस्तो भएको देखि“दैन । कूटनीतिक क्षेत्रले सही ढंगले ती देशमा सकारात्मक सन्देश लान सकेको भए नेपालमा खोप अभियान व्यापक नभएको अवस्थामा पनि पर्यटक आउन सक्छन् । तर, नेपाल सुरक्षित छ भन्ने सन्देश दिन कूटनीतिक क्षेत्र सफल भएको देखिँदैन ।
पर्यटनको स्रोत बजारमा नियमित उडान शुरू हुन थालेका छन् । ती ठाउँमा सरकार, नेपाल पर्यटन बोर्ड तथा व्यवसायीले प्रचारको काम थाल्नुपर्छ । तत्कालै पर्यटक नआए पनि छूटका साथ रिजर्भेशन गराउन थाल्नु उपयुक्त हुन सक्छ । अहिले विश्वभरि नै अत्यधिक छूटमा पर्यटनका प्याकेज ल्याइरहेको अवस्था छ । त्यही रणनीति अनुसार नेपालले पनि पर्यटनको बजार खोज्नु उपयुक्त हुन्छ । भ्याक्सिन नलगाएका पर्यटकले पनि क्वारेन्टाइनका बेलामा गर्न सक्ने केही प्रडक्ट ल्याउनुपर्छ । त्यस्तै भीडभाड नहुने पदयात्राजस्ता विभिन्न प्याकेजमा बढी केन्द्रित हुनुपर्छ । अन्य देशमा नहुने खालको पर्यटकीय गतिविधिमा केन्द्रित रहेर प्याकेज ल्याउँदा पर्यटक आगमन बढ्न सक्छ । साथै, स्तरीय पर्यटक ल्याउन यो नयाँ अवसर पनि बन्न सक्छ ।