नेपालको उत्तर–दक्षिण जोड्नका लागि निर्माण गर्ने भनिएकोमध्ये एउटा प्रमुख राजमार्ग कर्णाली करिडोरको ट्र्याक खोल्न बीसौं वर्ष लाग्ने भौतिक योजना मन्त्रालयका सचिवले बताएका छन् । यसले नेपालको पूर्वाधार निर्माणको गति कति सुस्त छ भन्ने कुरा त देखाउँछ नै, विदेशी सहयोगविना नेपालमा पूर्वाधार निर्माण हुनै पो नसक्ने हो कि भन्ने पनि महसुस गराएको छ ।
अर्कातिर, देश संघीयतामा जाने पक्कापक्की भएका बेला एउटा सडकको ट्र्याक खोल्नका लागि बीसौं वर्ष लाग्ने, आफ्नो स्रोत परिचालन गर्न नसक्ने र सधैं केन्द्र वा दाताको मुख ताकिरहनुपर्ने कर्णालीलगायतका क्षेत्रमा बन्ने राज्य भोलि कसरी आत्मनिर्भर हुन सक्लान् भन्ने प्रश्न पनि उठेको छ । अहिले राजनीतिक दलहरू संघीयतासम्बन्धी गरमागरम बहसमा जुटेरहेका छन् । यस्तो अवस्थामा उनीहरूले के बिर्सन हुँदैन भने संघीयता भनेको राजनीतिक नभएर विशुद्ध आर्थिक विषय हो, भोलिको देशको आर्थिक विकास यसैमा निर्भर गर्नेछ ।
त्यसैले संघीयतामा जाने हो भने निश्चित क्षेत्रमा अन्तरनिहित सामथ्र्यका आधारमा मात्रै राज्यहरूको निर्माण गर्नुपर्छ । कुनै व्यक्तिको सनकका आधारमा, कसैको स्वार्थ र केही समू्हको दबाबका आधारमा राज्य पुन:संरचनाजस्तो काम गरियो भने त्यसले भविष्यमा विकासमा क्षेत्रीय असन्तुलनलाई अझ बढाएर त लैजानेछ नै, देश नै विखण्डन हुने, अनन्तकालसम्म द्वन्द्वमा फस्ने सम्भावना पनि हुन्छ ।
(सम्पादकीयबाट)
वर्ष ६, अंक २१९, बुधवार, १३ वैशाख, २०६९