शेयर बजार र राजनीतिक व्यवस्थाको निकटतम सम्बन्ध रहेको हुन्छ । अहिले मुलुकको राजनीतिक अवस्था एकदमै बिग्रँदो अवस्थामा छ । यसकारण शेयर बजार पनि घट्यो । चार वर्ष लगातार बढ्दो अवस्थामा रहेका शेयर बजार अलिअलि घट्नु स्वाभाविकै पनि हो । मलाई लाग्छ यो बजार अझै घट्छ । हामीले शेयर बजारलाई खालि नेप्से परिसूचकको आधारमात्रै मूल्यांकन गरेर हेर्नु हुँदैन । यसलाई हेर्ने उपयुक्त दृष्टिकोण बजार पूँजीकरण हो । नेप्से ११ सय अंकभन्दा माथि हुँदा शेयर पूँजीकरण रू. ६ सय अर्बको थियो । अहिले ४१९ को नेप्से हुँदा बजार पूँजीकरण रू. ३ सय २५ अर्बको छ । बजार पूँजीकरण र नेप्से परिसूचकलाई हेर्ने हो भने बजार पूँजीकरणको लाभ प्रस्टिँदैन । त्यसकारण शेयर बजार घट्ने भनेको सामान्य प्रक्रिया हो । राजनीतिक परिस्थिति सहज भएमा बजार सहज बन्छ । मुलुुुकमा यही वातावरण रहेको खण्डमा शेयरमा अझ कमी आउँछ । यसमा अचम्म मान्नुपर्दैन । रू. ३ सय २५ अर्बको बजारमा १ प्रतिशतले पनि शेयर बेच्न खोजे भने झन्डै रू. ३ करोडको शेयर बजारमा आउनेछ । १ प्रतिशत शेयर विक्री गर्दासमेत अहिले किन्ने वातावरण छैन भने नेप्से त ओरालो लाग्छ नै । त्यतिबेलाको बजार अस्वाभाविक रूपमा बढेको हो । वास्तवमा नेपाल टेलिकमको शेयर सूचीकृत हुँदा नै धेरै चलखेल भएको हो जस्तो लाग्छ ।
(दुर्गाप्रसाद उप्रेतीसँगको शेयरवार्ताबाट)
वर्ष ५, अंक ३६, २०६७, वैशाख २७–जेठ २