ब्याजदर घट्ने भएपछि लगानीकर्ता उत्साहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन गर्न सक्ने सुविधा दिएपछि शेयर बजारमा सकारात्मक सुधारको संकेत देखिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै मासिकरूपमा ब्याजदर रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको थियो । पछिल्लो तीन महिनाको आधारदर अनुसार मासिकरुपमा कर्जाको ब्याजदर […]

सम्बन्धित सामग्री

बढ्ला लगानीकर्ताको मनोबल ?

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बारम्बार दाबी गरे पनि लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । अर्थमन्त्रीमात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहालले समेत अर्थतन्त्रप्रति बढी नकारात्मक टिप्पणी भएकाले समस्या भएको टिप्पणी गरेको समाचार आएकै हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मासिक आर्थिक विवरणमा अर्थतन्त्रको बाह्य सूचक निकै सकारात्मक बन्दै गएको उल्लेख गर्ने गरिएको छ । तर, निजीक्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले गराएको सर्वेक्षणले भने लगानीकर्ताको मनोबल उठ्न नसकेको र औद्योगिक उत्पादन सुस्ताएको देखाएको थियो । त्यतिमात्र होइन, ब्याजदर बढी भएको भनी एकल अंकमा ब्याजदर झार्न आन्दोलन नै गरिरहेका व्यवसायीको माग सम्बोधन हुने गरी ब्याजदर तल ओर्लेको छ । यस्तोमा कर्जाको उपभोग बढ्नुपर्ने हो । तर, बैंकहरूले लगानी गर्न नसक्दा अत्यधिक तरलता थुप्रिरहेको छ र नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गरिरहेको छ । यसले लगानीकर्ताको मनोबल बढ्न नसकेको कुरालाई नै स्पष्ट पार्छ । पछिल्ला समाचारले भने लगानीकर्ताको मनोबल बढ्न थालेको हो कि भन्ने पनि देखिन थालेको छ । शेयरबजार बिस्तारै उकालो लाग्दै छ । शेयरको भोल्युम, परिसूचक र रकमसमेत बढ्न थालेको छ । त्यस्तै पुस महीनामा घरजग्गा कारोबार पनि बढेको मालपोत कार्यालयको तथ्यांकले देखाएको छ । तर, बैंकहरूले लगानी ठूलो परिमाणमा बढाउन सकेका छैनन् । अर्थात् कर्जाको माग बढ्न सकेको छैन । आयातमाथि कुनै प्रतिबन्ध नरहँदा पनि यसको वृद्धि विगतमा जस्तो छैन । मुलुकमा नै उत्पादन बढेर आयात बढ्न नसकेको हो भने त्यो निकै राम्रो मानिन्थ्यो । उद्योगीहरूको भनाइमा उनीहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको तथ्यांकले व्यापार समूहको वृद्धिदर ऋणात्मक रहेको देखाएको छ । केही क्षेत्रको वृद्धिदर गत आवको सोही अवधिको दाँजोमा कम वृद्धि भएको छ भने केही वस्तुको वृद्धिदर बढेको छ । समग्रमा यसले पनि उत्पादक र उपभोक्ता दुवैको मनोबल बढ्न नसकेको नै देखाउँछ । देशको आर्थिक वृद्धिदरमा धानको उत्पादनले ठूलो प्रभाव पार्ने गरेको छ । अर्थात् धानको उत्पादन राम्रो हुँदा कुल गार्हस्थ्य उत्पादन पनि राम्रोसँग बढ्ने गरेको छ, धानको उत्पादन घट्दा वृद्धिदर कम हुने गरेको छ । सरकारले यस वर्ष धानको उत्पादन बढेर ५७ लाख मेट्रिक टन पुगेको बताएको छ भने निजीक्षेत्रले यो तथ्यांकमाथि प्रश्न उठाएको छ । सम्बद्ध ठाउँमा गएर धान उत्पादनको तथ्यांक नलिई अन्य जिल्लाको दाँजोमा आफ्नो जिल्लाको प्रगति राम्रो देखाउन धान बढी फलेको तथ्यांक टिपाउने गरेको आशंका छ । त्यसरी तथ्यांकलाई बिगार्दा त्यसले कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर नै प्रभावित भएको देखिन्छ । त्यसैले यस्तो तथ्यांकलाई टेकेर गरिने प्रक्षेपणले लगानीकर्ता र उपभोक्ताको मनोबल झनै घटाउन सक्छ ।  सरकारको काम यस्तो मनोबल उकास्ने खालको कार्यक्रम ल्याउनु हो । वितरणमा रमाउने र त्यसकै आधारमा सरकारको प्रशंसा गर्ने सर्वसाधारणको मनोवृत्तिले पनि सरकार मनोबल उकास्ने खालका कार्यक्रम ल्याउन सकेको छैन । मनोबल उकास्न सरकारी खर्चमा कटौती गर्नुपर्ने हुन्छ । अनुत्पादक खर्च कटौती गर्नु भनेको यस्तै वितरणका कार्यक्रमको बजेट कटौती गर्नु हो । कुनै पनि सरकारले यस्तो रकम कटौती गर्न सक्ने देखिँदैन ।  सरकारले विकास निर्माण क्षेत्रको काम फटाफट अघि बढाउने र आयोजनाहरूको काम तीव्र गतिमा गराउने हो भने सकारात्मक सन्देश प्रवाह गर्छ । निर्माण क्षेत्र धेरैले रोजगारी पाउने मात्र होइन, सीमान्त वर्गका नागरिकले बढी काम गर्ने क्षेत्र पनि हो । यस क्षेत्रलाई गतिशील बनाउँदा देशको समग्र अर्थतन्त्रलाई गति दिन्छ । निर्माण सामग्रीदेखि उपभोग्य वस्तुसम्मको माग यसले बढाउँछ । त्यसैले लगानीकर्ताको मनोबल बढाउन सरकारले पूर्वाधार निर्माणको कामलाई तीव्र पार्नु आवश्यक छ । राष्ट्रिय गौरवका आयोजनाहरू समयमा पूरा हुन सके भने त्यसले आर्थिक वृद्धिदरमा मात्र सकारात्मक प्रभाव पार्ने होइन, औद्योगिक क्षेत्रदेखि उपभोक्ता वर्गसम्मको मनोबल बढाउँछ ।  सरकारको ढुकुटीमा रकम बढेको बढ्यै छ । यद्यपि सरकारले आमदानीभन्दा बढी खर्च गरिरहेको छ । यो खर्च पूँजीगत नभएर चालू भएकाले चिन्ता थपिएको छ । सरकारले अनावश्यक खर्च कटौती गर्ने भनेर जनतालाई उत्साहित पारे पनि खर्च घटेको छैन बरु बढेको छ ।  सरकार प्रतिबद्ध भएर हरेक क्षेत्रमा सुधार ल्याउन जब इमानदार पहल गर्छ तब परिणाम नआए पनि जनताको मनोबल उच्च हुन थाल्छ । त्यसैले मनोबल बढाउन सरकारले केही साहसिक निर्णय लिनु जरुरी छ । एउटै आयोजनाको उद्घाटन पटकपटक गर्ने नेतृत्वको सोच हेर्दा पनि जनतामा निराशा छाउँछ । यस्तो झीनामसिना कुरामा समेत सरकार गम्भीर बन्न सक्नुपर्छ । अनिमात्र जनता, उद्योगी र व्यापारीको मनोबल बढ्न थाल्छ । मनोबल बढ्न थालेको प्रारम्भिक संकेत त मिलेको छ तर त्यसमा सरकारको भूमिका खासै देखिएको छैन । जनताले अनुभूत गर्नेगरी सरकारले काम गर्नु जरुरी देखिएको छ ।

यो साता करीब २ प्रतिशत बढ्यो धितोपत्र बजार, २५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । यो साता बजारले उकालो यात्रा तय गरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ४९ दशमलव २८ विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिन २ हजार ८८ दशमलव ९९ विन्दुमा पुगेर बन्द भएको हो । सातामा १ दशमलव ९४ प्रतिशत अर्थात ३९ दशमलव ७१ अंकले बजार उकालो लागेको हो ।  यो साता पाँच कारोबार दिनमा तीन दिन बजार बढेको छ भने दुई दिन घटेको छ । पहिलो कारोबार दिन २६ दशमलव ३६ अंक घटेको बजार दोस्रो दिन ३६ दशमलव ५७ अंक, तेस्रो दिन २० दशमलव ६२ अंक, चौथो दिन ९ दशमलव ५० अंक र पाँचौं दिन शून्य दशमलव ६२ अंक घटेको हो । निरन्तर तीन दिन बढेको बजार अन्तिम दिन भने नाफा बुक गर्नेबाट प्रभावित बनेको देखिन्छ । केही समयदेखि गति लिन खोजेको बजारले यतिबेला भने ब्याजदर घट्ने संकेत पाएको छ । लगानीयोग्य पूँजी वित्तीय प्रणालीमा पर्याप्त भएको अवस्थामा ब्याजदर घट्ने भएसँगै लगानीकर्ता उत्साहित बनेका छन् । बजारले थप गति लिन अल्पकालीन लगानीकर्ताको हाबी कम हुनुपर्ने बुझाई ब्रोकरहरूको छ ।  यो साता कारोबार रकम पनि अघिल्लो साताभन्दा ७ अर्ब ३१ करोड ८९ लाख रुपैयाँले बढेको छ । गत साता १८ अर्ब १५ करोड ८६ लाख रुपैयाँभन्दा बढीको ४ करोड ९६ लाख ३० हजार कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २५ अर्ब ४७ करोड ७५ लाख रुपैयाँभन्दा बढीको ८ करोड २५ लाख ३७ हजार कित्ता धितोपत्र कारोबार भएको हो । यो साता कारोबार कित्ता पनि ३ करोड २८ लाख ७ हजारले बढेको हो । औसतमा कारोबार रकम ५५ करोड ५८ लाख रुपैयाँले बढेको छ भने कारोबार कित्ता ४० लाख ९९ हजारले बढी भएको छ । बढेको बजारमा कुल पूँजीकरण पनि ९७ अर्ब ६५ करोड रुपैयाँ बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ८३ अर्ब ४१ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ८१ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । अन्य समूहसँगै १० समूहगत परिसूचक बढे समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक बढेको यो साता समूहगत परिसूचकहरू भने १० ओटा मात्र बढेका छन् । गत साताको तुलनामा यो साता निर्जीवन बीमा समूहको शून्य दशमलव ३२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४६ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५८ प्रतिशत परिसूचक घटेको छ । यो साता अन्य समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव शून्य ९ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंकको ४ दशमलव ८५ प्रतिशत, जलविद्युतको ४ दशमलव ५० प्रतिशत, वित्तको ३ दशमलव ७९ प्रतिशत, लघुवित्तको ३ दशमलव ७४ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ११ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८४ प्रतिशत, बैंकिङको शून्य दशमलव ४५ प्रतिशत, लगानीको शून्य दशमलव ३५ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव १७ प्रतिशत परिसूचक बढेको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

लघुवित्तको प्रतिफलदर घट्दो

काठमाडौं। लगानीकर्ताका लागि आकर्षक मानिएको लघुवित्त वित्तीय संस्थामा पूँजीको तुलनामा पाउने प्रतिफल खुम्चिन थालेको छ । कोभिड–१९ महामारी, रूस–युक्रेन युद्धलगायतको प्रभावले आर्थिक गतिविधिमा कमी आउँदा लघुवित्तको नाफा घटिरहेको छ । ब्याजदर, सेवाशुल्क लगायतमा सीमा तोक्ने नेपाल राष्ट्र बैंकको कदमले पनि लघुवित्तको आम्दानी घटाउनै बल पुर्‍याएको छ । पछिल्लो समयमा ऋण असुलीसमेत कमजोर भई खराब कर्जा बढेपछि लघुवित्तहरूको पूँजीमा प्रतिफल (रिटर्न अन इक्विटी–आरओई) घट्दै गएको हो ।  राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष (आव) २०७१/७२ मा लघुवित्त संस्थाहरुको औसत आरओई ६१ दशमलव ८ प्रतिशत थियो । आव २०७९/८० को चैतमा आइपुग्दा घटेर ५ दशमलव २० प्रतिशत कायम भयो । कोभिड–१९ को प्रभावका कारण २०७६/७७ मा पूँजीको प्रतिफलदर घटे पनि त्यसपछि बढेको थियो । गत आवमा भने आर्थिक गतिविधिमा आएको कमी र लघुवित्तको ऋण नतिर्ने आन्दोलनका कारण खराब ऋण उच्च भएपछि लगानीकर्ताको प्रतिफल घटेको हो ।   आव २०७१/७२ मा ६१ दशमलव ८ प्रतिशत   आव २०७९/८० चैतमा ५ दशमलव २० प्रतिशत लघुवित्तका समस्या र समाधानबारे अध्ययन गर्न गठित समितिले पनि उच्च नाफाका कारण लघुवित्तमा लगानीकर्ता उत्साहित भएको र पछिल्लो समयमा प्रतिफलदर घट्दै गएको औंल्याएको छ । समितिका अनुसार २०७२ देखि २०८० सम्म वाणिज्य बैंकहरूको पूँजीको प्रतिफल औसत १० दशमलव ३० प्रतिशत कायम हुँदा लघुवित्तमा ३० प्रतिशतभन्दा माथि थियो । उक्त प्रतिफलका कारण लगानीकर्ता लघुवित्तमा बढी उत्साहित भएका थिए ।  २०७९ चैतमा आइपुग्दा २० ओटा संस्थाको पूँजीको प्रतिफल ऋणात्मक रहनुले संस्थाहरूको वित्तीय अवस्था बिग्रँदै गएको देखिने समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।  बैंक, वित्तीय संस्थाको पहुँचबाहिरका विपन्न वर्गलाई वित्तीय सेवा पुर्‍याउन लघुवित्त शुरू गरिएको थियो । यी संस्थाले ग्राहकसँग चर्को ब्याज लिएको गुनासो बढेसँगै राष्ट्र बैंकले २०७६ सालदेखि ब्याजदरमा सीमा तोक्न थालेको हो । शुरूमा अधिकतम १८ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेकोमा २०७८ देखि ब्याजदरको सीमा १५ प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले यिनीहरूले लिने सेवा शुल्कमा समेत १ दशमलव ५ प्रतिशतको सीमा निर्धारण गरेको छ ।  लघुवित्त सञ्चालकहरुले भने ब्याजदरको सीमा हटाएर आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडर ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था माग गरिरहेका छन् । अध्ययन समितिले पनि बैंक, वित्तीय संस्थामा जस्तै आधारदर लागू गर्न सिफारिश गरेको छ ।  राष्ट्र बैंकबाट अनुमति लिएका लघुवित्त संस्थाको संख्या २०७५ चैतमा हालसम्मकै उच्च ९१ ओटासम्म पुगेको थियो । राष्ट्र बैंकले मर्जर र प्राप्तिमा जोड दिएसँगै २०७९ चैतमा लघुवित्तको संख्या ६३ मा झरेको छ । आव २०७०/७१ देखि २०७८/७९ सम्म लघुवित्तको निष्क्रिय कर्जा कुल कर्जाको ३ प्रतिशतभन्दा कम रहेकोमा २०७९ चैत मसान्तमा ७ दशमलव ४३ प्रतिशत पुगेको छ । अध्ययन समितिले प्रतिफल कमजोर भएमा लघुवित्त वित्तीय संस्था दिगो हुन नसक्ने भन्दै लाभांश वितरणमा १५ प्रतिशतको सीमा तोकेर ब्याजदरको सीमा हटाई स्प्रेडदर लागू गर्न सुझाव दिएको छ ।

२९ खर्बभन्दा तल झर्‍यो कुल बजार पूँजीकरण, कारोबार रकम पनि घट्दो

काठमाडौं । धितोपत्र दोस्रो बजार गत साता पनि घटेको छ । केहि सातादेखि बजार निरन्तर घट्दो क्रममा रहेको छ । अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक ५८ दशमलव १४ अंकले घटेको हो । गत साता चार कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र बढेको छ । गत साता एक दिन सार्वजनिक विदा परेकाले चार कारोबार दिन मात्र बजार खुलेको हो । पहिलो कारोबार दिन २९ दशमलव ८१ अंकले घटेको नेप्से दोस्रो कारोबार दिन ७ दशमलव शून्य ४ अंक बढेको थियो । तेस्रो कारोबार दिन ६ दशमलव ४५ अंकले घटेको नेप्से चौथो कारोबार दिन २८ दशमलव ९२ अंकले घटेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ९० दशमलव ५९ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन १ हजार ९३२ दशमलव ४५ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको जानकारी ब्रोकरहरूले दिएका छन् । यतिबेला एक दर्जनभन्दा बढी नयाँ ब्रोकरहरू धितोपत्र बजारमा प्रवेश गरिसकेको अवस्था छ । नयाँ ब्रोकरले बजारको माहोल केहि तताईरहेको भएपनि आम लगानीकर्ता भने तरलता बढेसँगै ब्याजदर घट्ने आशामा रहेको देखिन्छ । तरलता बढ्दा ब्याजदर घट्नुपर्ने मान्यता लगानीकर्ता ताराप्रसाद फुल्लेलको छ । यतिबेला बजारमा तरलता प्रयाप्त हुँदा पनि कर्जा लिन सक्ने अवस्था चर्को व्याजदरले गर्दा नभएकाले बजारमा लगानी घट्दै गएको भनाई फुल्लेलको छ । अहिले बजार १ हजार ९०० विन्दु नजिक आईसकेको अवस्थामा ब्याजदर घटे लगानीकर्ता केहि उत्साहित बन्ने अपेक्षा उनले गरेका छन् । लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेसँगै बजार सुस्त बनेको हो । नेप्से परिसूचकसँगै गत साता ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १० दशमलव १३ अंक घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ३८१ दशमलव ७१ विन्दुमा रहेको सेक्सेटिभ इन्डेक्स गत साताको अन्तिम कारोबार दिन ३७१ दशमलव ५८ विन्दुमा झरेको हो । कारोबार रकम गत साता चार कारोबार दिनमा ४ अर्ब २३ करोड रूपैयाँभन्दा बढी रहेको छ । अघिल्लो साता चार कारोबार दिनमा ४ अर्ब २४ करोड रूपैयाँभन्दा बढीको भएको थियो । अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम १ करोड २९ लाख रूपैयाँभन्दा बढीले घटेको हो । कारोबार कित्ता भने अघिल्लो साता १ करोड ५३ लाखभन्दा बढी भएकोमा गत साता १ करोड ३७ लाखभन्दा बढी कित्ता भएको हो । अघिल्लो साताभन्दा गत साता १६ लाख ४० हजार ३५३ कित्ता कम धितोपत्र कारोबार भएको हो । औषतमा अघिल्लो साता १ अर्ब ६ करोड रूपैयाँभन्दा बढीको ३८ लाख ४३ हजार ९८८ कित्ता धितोपत्र कारोबार भएकोमा गत साता १ अर्ब ५ करोड रूपैयाँभन्दा बढीको ३४ लाख ३३ हजार ८९९ कित्ता धितोपत्र कारोबार भएको हो । अघिल्लो साताभन्दा गत साता औसतमा ३२ लाख रूपैयाँभन्दा बढीको ४ लाख १० हजार ८८ कित्ता कम धितोपत्र कारोबार भएको हो । घटेको बजारमा गत साता लगानीकर्ताको सम्पत्ति कुल बजार पूँजीकरण ८७ अर्ब ४ करोड रूपैयाँभन्दा बढीले घटेको छ । कुल बजार पूँजीकरण अघिल्लो साताको अन्तिम कारोबार दिन २९ खर्ब ७९ अर्ब ९८ करोड रूपैयाँभन्दा बढी रहेकोमा गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ९२ अर्ब ९३ करोड रूपैयाँभन्दा बढी कायम भएको हो ।

गभर्नरको बर्खास्तीकै माग गर्ने लगानीकर्ता निलम्बनबाट पनि भएनन् उत्साहित

चैत २८, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ४४ दशमलव ६४ अंक अर्थात् १ दशमलव ८१ प्रतिशत घटेको छ । नेप्से परिसूचक २ हजार ४१९ दशमलव ७१ विन्दुमा झरेको हो ।  वाणिज्य बैंकले वैशाख महीनाको लागि ब्याजदर नबढाउने समहति गरेसँगै सोमवार बजार खुलेको ५ मिनेटमा ४० अंक बढेर २ हजार ५०७ विन्दुसम्म पुगेको थियो । यसोत बजार बढेको बेलामा ट्रेडर हावी भएका छन् । सोही कारण बजार घटेको हो । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजरदर वृद्धिले शेयर बजारलाई नराम्रोसँग असार परेको छ ।  अर्थमन्त्री जनार्दन शर्माले  गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गरेपछि शेयर लगानीकर्ता उत्साहित भएका भनिएता पनि सोमवारको बजारमा त्यस्तो देखिएन । समग्र देशको अर्थतन्त्र नै विग्रदो अवस्थामा रहेको भन्दै टिकाटिप्पणी हुन थालेसँगै लगानीकर्ताको मनोबल घट्दै गएको देखिन्छ ।   अब वैशाख लागेसँगै सूचीकृत कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्न शुरु गर्नेछन्, बैंकहरुले वैशाखका लागि ब्याजदर नबढाउने घोषणा गरेका छन् । यी कारणले गर्दा पनि अब बजार विस्तारै लयमा फर्कने अनुमान लगाउन सकिन्छ ।  कारोबारमा आएका २३३ धितोपत्रको ५० लाख ९५ हजार ३४ कित्ता शेयरको ४० हजार ५०७ पटकमा रू. २ अर्ब २६ करोड ७ लाख ६ हजार ६२ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २३३ धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत र जाल्पा सामुदायिक लघुवित्तको ९ दशलमव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७० र जाल्पा सामुदायिक लघुवित्तको रू. ४९१ दशमलव १० पुगेको छ । सोमवार सबैभन्दा बढी इमर्जिङ नेपालको शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशलमव ९८ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १ मा झरेको छ ।  त्यसैगरी दोस्रोमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत घटेर रू. १ हजार ३८० कायम भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री नेपाल लाइफ  इन्स्योरेन्सको रू. १६ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रू. ७ करोड २१ लाख बराबरको भएको हो ।

११ हप्तापछि बुधवार बजार घट्ने रेकर्ड ब्रेक

काठमाडौं । सन् २०२२ लागेपछि हरेक बुधवार बजार घट्दै आएको थियो । तर, यो बुधवार उक्त रेकर्ड ब्रेक भएको छ । यसअघिका ११ ओटा बुधवार लगातार घटेको धितोपत्र बजारको सूचक नेप्से यो बुधवार ४० दशमलव ६८ अंकले बढेपछि रेकर्ड ब्रेक भएको हो । पछिल्लो समय लगातार पाँच कारोबार दिन घटेको नेप्से परिसूचक बुधवार १ दशमलव ६१ प्रतिशतले बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा पुगेको छ । ‘नयाँ अंग्रेजी वर्ष लागेसँगै प्रत्येक बुधवार बजार घटेको रेकर्डले पछिल्लो समय लगानीकर्तामा बुधवार बजार घट्छ भन्ने मनोविज्ञान विकास भएको थियो,’ एक जना लगानीकर्ता दुर्गा तिवारीले भनिन्, ‘उक्त रेकर्ड ब्रेक भएसँगै लगानीकर्तामा बुधवारको कारोबारका विषयमा रहेको अनुमान गलत प्रमाणित भएको छ ।’ धितोपत्रको दोस्रो बजारको उतारचढाव लगानीकर्ताको मनोविज्ञानमा समेत भर पर्ने भएकाले आगामी दिनमा बुधवार बजार घट्छ भन्ने मान्यता अन्त्य हुने विश्वास उनको छ । पछिल्लो समय निरन्तर पाँच कारोबार दिन घटेको बजार बुधवार लगानीकर्ता सस्तोमा शेयर उठाउन सक्रिय हुँदा ‘बाउन्स ब्याक’ भएको तिवारीको भनाइ छ । सरकारको पूँजीगत खर्च बढ्दै जाँदा बजारमा तरलता सहज हुने विश्वाससहित लगानीकर्ता बजारप्रति सकारात्मक बनेको उनी बताउँछिन् । अहिलेको बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य निकै तल आइसकेकाले लगानीकर्ता सस्तोमा शेयर किन्न उत्साहित देखिएको उनको बुझाइ छ । वित्तीय क्षेत्रमा लगानीयोग्य पूँजीको अभाव र ब्याजदर वृद्धिले धितोपत्र बजार प्रभावित बनेको भन्दै उनले यो समस्या समाधान गर्न सरोकारवाला निकायलाई आग्रहसमेत गरिन् । अर्का लगानीकर्ता नयन बाँस्तोलाले पनि बुधवार बजार घट्ने प्रवृत्तिमा ब्रेक लाग्दा लगानीकर्तामा सकारात्मक प्रभाव परेको बताए । लामो समय बुधवारको बजार निरन्तर घटेकै कारण लगानीकर्ताको मनोविज्ञानमा परेको असर भोलीका दिनमा समाप्त हुनेमा उनी आशावादी छन् । पछिल्लो समय पूँजीबजारका लगानीकर्ता सामाजिक सञ्जालमा आएका अभिव्यक्तिबाट पनि प्रभावित हुने गरेकाले बजारसम्बद्ध पक्षले सामाजिक सञ्जालमा लेख्दा ध्यान दिनुपर्ने उनले बताए । चुनावी माहोल बन्दै जाँदा वित्तीय प्रणालीमा तरलता थपिने आशले बजारलाई सकारात्मक बनाउने विश्वास उनको छ । बुधवार पाँच कारोबार दिनपछि बढेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य एकै दिन ५९ अर्ब ४१ करोड रुपैयाँले बढेको छ । मंगलवार ३५ खर्ब ८६ अर्ब रहेको कुल बजार पूँजीकरण बुधवार ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको हो । यस दिन कारोबारमा आएका सबै समूहगत उपसूचकहरू बढेका छन् । ‘अन्य’ समूहका लगानीकर्ताले सर्वाधिक कमाएको यो दिन चार कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा बढेको छ । इमर्जिङ नेपालको १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ९ दशमलव ९९ प्रतिशत र सामलिङ पावर कम्पनी लिमिटेडको ९ दशमलव ८४ प्रतिशत शेयर मूल्य बढेको हो । बुधवार बढेको बजारमा २ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको ४५ लाख २ हजार ५११ कित्ता धितोपत्र खरीद–विक्री भएको छ । कारोबार अवधिभर २३२ धितोपत्रमध्ये १९९ धितोपत्रको मूल्य बढेर बन्द भएको छ भने २४ धितोपत्रको मूल्य घटेर बन्द भएको छ । बाँकी ९ धितोपत्रको मूल्य भने अघिल्लो कारोबार दिनको तुलनामा स्थिर रहेको छ । मूल्य घटेर कारोबार हुनेमा भने ‘९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६’ शीर्ष स्थानमा रहेको छ । सो डिबेन्चरको मूल्य २ प्रतिशत घट्दा अन्तिम मूल्य रू. ९२१ दशमलव २० मा सिमित छ । समूहगत कारोबार रकमका आधारमा बुधवार जलविद्युत समूहले सर्वाधिक हिस्सा ओगटेको छ । बुधवारको कुल कारोबारमध्ये २० दशमलव ३९ प्रतिशत हिस्सा ओगटेको उक्त समूहको मात्रै रू. ४५ करोड ८७ लाख बराबरको धितोपत्र किनबेच भएको छ । त्यसैगरी वाणिज्य बैंक समूह सर्वाधिक कारोबार गर्ने समूहमध्ये दोस्रो स्थानमा रहेको छ । उक्त समूहको रू. ३१ करोड ८८ लाख बराबरको धितोपत्र किनबेच भएको छ । कारोबारमा आएका १३ समूहकै परिसूचक बढेर बन्द भएको छ । ‘अन्य’ समूहको परिसूचक सर्वाधिक ४ दशमलव १२ प्रतिशत बढेको छ । यस्तै विकास बैंक समूह र वित्त समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बुधवारको बजारमा ब्रोकर नं. ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शीर्ष स्थानमा रहेको छ । उक्त ब्रोकरबाट मात्रै रू. ३२ करोड ३ लाख बराबरको धितोपत्र कारोबार भएको हो । कारोबार अवधिमा उक्त ब्रोकरबाट रू. २१ करोड १५ लाख बराबरको धितोपत्र विक्री भएको छ भने रू. १० करोड ८७ लाख बराबरको धितोपत्र खरीद भएको देखिन्छ । हालको बजारमूल्य बिहीवारको दैनिक पिभटभन्दा माथि छ । तर, यो साताको साप्ताहिक पिभट र चैतको मासिक पिभटभन्दा तल छ ।

एमसीसी अनुमोदनपछिको पूँजीबजार : जलविद्युत्का लगानीकर्ताले धेरै गुमाए

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित भएपछि जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक प्रभाव पर्ने आशाविपरीत सोमवारको कारोबारमा जलविद्युत् समूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये जलविद्युत् समूहको सर्वाधिक ३ दशमलव  शून्य ९ प्रतिशत घट्यो । यस दिन सर्वाधिक मूल्य घट्ने १० कम्पनीमध्ये नौ कम्पनी जलविद्युत् समूहका नै रहे । तेह्रथुम पावर कम्पनी लिमिटेड र सामलिङ पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले घट्यो । समूहगत रूपमा सर्वाधिक रकमको कारोबार हुनेमा पनि जलविद्युत् समूहअन्तर्गतकै कम्पनीहरू रहे । अपि पावर सर्वाधिक रकमको कारोबार हुनेमा पहिलो छ भने अरुणभ्याली हाइड्रोपावर दोस्रो नम्बरमा छ । अपि पावरको १६ करोड ९ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अरुणभ्याली हाइड्रोको १४ करोड ९४ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जलविद्युत् समूहअन्तर्गतका ४५ सूचीकृत कम्पनीको १ अर्ब ६२ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको ३४ लाख ४ हजार ३१३ कित्ता शेयर कारोबार भएको छ । जलविद्युत् समूहको कुल कारोबारमा ४४ दशमलव २९ प्रतिशत अंश रहेको छ । फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन भएको एमसीसी सम्झौताबाट आगामी ५ वर्षभित्रमा विद्युत् प्रसारण लाइन र सडक निर्माण गर्ने कार्यक्रम छ । नेपालले एमसीसीमार्फत प्राप्त गर्ने अनुदानमध्ये करीब ४५ अर्ब रुपैयाँ विद्युत्को अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च हुने मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले जानकारी दिएको छ । एमसीसी सम्झौताअन्तर्गतको अधिकांश अनुदान विद्युत् क्षेत्रमै लगानी हुने भएकाले यसले जलविद्युत् क्षेत्रका कम्पनीहरूको शेयरमूल्यमा सकारात्मक प्रभाव पर्ने अनुमान लगानीकर्ताले गरेका थिए । पछिल्लो समय सर्वाधिक कारोबार हुँदै आएको जलविद्युत् समूहका कम्पनीहरूको शेयरमूल्य एमसीसी पारितपछि बढ्दा यसले समग्र बजार नै माथि लैजाने अनुमान विश्लेषकहरूको थियो । शेयर लगानीकर्ता एवम् नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले एमसीसी पारित भए पनि लगानीकर्ता उत्साहित हुन नसक्नुको पछाडि यसअघिका नीतिगत परिवर्तन रहेको बताए । एमसीसी र यसले बजारमा पार्ने प्रभावका विषयमा धेरैजसो लगानीकर्ता अन्योलमै रहेकाले बजार सकारात्मक बन्न नसकेको उनको प्रतिक्रिया छ । मौद्रिक नीतिको समीक्षा, बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य पूँजीको अभाव र ब्याजदर बढेका कारण उदास बनेका लगानीकर्ता एमसीसी पारित भएपछि पनि उत्साहित बन्न नसकेको रौनियारको विश्लेषण छ । अर्का शेयर लगानीकर्ता केशव कोइरालाले एमसीसी सम्झौतासँग जलविद्युत् कम्पनीको शेयर कारोबारलाई जोड्न नहुने बताउँछन् । केही समयदेखि एमसीसी सम्झौतालाई जोडेर जलविद्युत् कम्पनीको शेयरमूल्य बढाउने काम भएको आरोपसमेत उनले लगाए । पछिल्लो समय कारोबारको सर्वाधिक अंश ओगट्दै आएको जलविद्युत् कम्पनीको शेयर विक्री चाप एकैपटक परेकाले यो समूहका लगानीकर्ताले सर्वाधिक गुमाउन पुगेको कोइरालाको भनाइ छ ।