काठमाडौं । धितोपत्र दोस्रो बजार गत साता पनि घटेको छ । केहि सातादेखि बजार निरन्तर घट्दो क्रममा रहेको छ । अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक ५८ दशमलव १४ अंकले घटेको हो । गत साता चार कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र बढेको छ ।
गत साता एक दिन सार्वजनिक विदा परेकाले चार कारोबार दिन मात्र बजार खुलेको हो । पहिलो कारोबार दिन २९ दशमलव ८१ अंकले घटेको नेप्से दोस्रो कारोबार दिन ७ दशमलव शून्य ४ अंक बढेको थियो । तेस्रो कारोबार दिन ६ दशमलव ४५ अंकले घटेको नेप्से चौथो कारोबार दिन २८ दशमलव ९२ अंकले घटेको हो ।
अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ९० दशमलव ५९ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन १ हजार ९३२ दशमलव ४५ विन्दुमा झरेको छ ।
यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको जानकारी ब्रोकरहरूले दिएका छन् । यतिबेला एक दर्जनभन्दा बढी नयाँ ब्रोकरहरू धितोपत्र बजारमा प्रवेश गरिसकेको अवस्था छ । नयाँ ब्रोकरले बजारको माहोल केहि तताईरहेको भएपनि आम लगानीकर्ता भने तरलता बढेसँगै ब्याजदर घट्ने आशामा रहेको देखिन्छ ।
तरलता बढ्दा ब्याजदर घट्नुपर्ने मान्यता लगानीकर्ता ताराप्रसाद फुल्लेलको छ । यतिबेला बजारमा तरलता प्रयाप्त हुँदा पनि कर्जा लिन सक्ने अवस्था चर्को व्याजदरले गर्दा नभएकाले बजारमा लगानी घट्दै गएको भनाई फुल्लेलको छ । अहिले बजार १ हजार ९०० विन्दु नजिक आईसकेको अवस्थामा ब्याजदर घटे लगानीकर्ता केहि उत्साहित बन्ने अपेक्षा उनले गरेका छन् ।
लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेसँगै बजार सुस्त बनेको हो । नेप्से परिसूचकसँगै गत साता ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १० दशमलव १३ अंक घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ३८१ दशमलव ७१ विन्दुमा रहेको सेक्सेटिभ इन्डेक्स गत साताको अन्तिम कारोबार दिन ३७१ दशमलव ५८ विन्दुमा झरेको हो ।
कारोबार रकम गत साता चार कारोबार दिनमा ४ अर्ब २३ करोड रूपैयाँभन्दा बढी रहेको छ । अघिल्लो साता चार कारोबार दिनमा ४ अर्ब २४ करोड रूपैयाँभन्दा बढीको भएको थियो । अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम १ करोड २९ लाख रूपैयाँभन्दा बढीले घटेको हो । कारोबार कित्ता भने अघिल्लो साता १ करोड ५३ लाखभन्दा बढी भएकोमा गत साता १ करोड ३७ लाखभन्दा बढी कित्ता भएको हो ।
अघिल्लो साताभन्दा गत साता १६ लाख ४० हजार ३५३ कित्ता कम धितोपत्र कारोबार भएको हो । औषतमा अघिल्लो साता १ अर्ब ६ करोड रूपैयाँभन्दा बढीको ३८ लाख ४३ हजार ९८८ कित्ता धितोपत्र कारोबार भएकोमा गत साता १ अर्ब ५ करोड रूपैयाँभन्दा बढीको ३४ लाख ३३ हजार ८९९ कित्ता धितोपत्र कारोबार भएको हो । अघिल्लो साताभन्दा गत साता औसतमा ३२ लाख रूपैयाँभन्दा बढीको ४ लाख १० हजार ८८ कित्ता कम धितोपत्र कारोबार भएको हो ।
घटेको बजारमा गत साता लगानीकर्ताको सम्पत्ति कुल बजार पूँजीकरण ८७ अर्ब ४ करोड रूपैयाँभन्दा बढीले घटेको छ । कुल बजार पूँजीकरण अघिल्लो साताको अन्तिम कारोबार दिन २९ खर्ब ७९ अर्ब ९८ करोड रूपैयाँभन्दा बढी रहेकोमा गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ९२ अर्ब ९३ करोड रूपैयाँभन्दा बढी कायम भएको हो ।