एमसीसी अनुमोदनपछिको पूँजीबजार : जलविद्युत्का लगानीकर्ताले धेरै गुमाए

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित भएपछि जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक प्रभाव पर्ने आशाविपरीत सोमवारको कारोबारमा जलविद्युत् समूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये जलविद्युत् समूहको सर्वाधिक ३ दशमलव  शून्य ९ प्रतिशत घट्यो । यस दिन सर्वाधिक मूल्य घट्ने १० कम्पनीमध्ये नौ कम्पनी जलविद्युत् समूहका नै रहे । तेह्रथुम पावर कम्पनी लिमिटेड र सामलिङ पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले घट्यो । समूहगत रूपमा सर्वाधिक रकमको कारोबार हुनेमा पनि जलविद्युत् समूहअन्तर्गतकै कम्पनीहरू रहे । अपि पावर सर्वाधिक रकमको कारोबार हुनेमा पहिलो छ भने अरुणभ्याली हाइड्रोपावर दोस्रो नम्बरमा छ । अपि पावरको १६ करोड ९ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अरुणभ्याली हाइड्रोको १४ करोड ९४ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जलविद्युत् समूहअन्तर्गतका ४५ सूचीकृत कम्पनीको १ अर्ब ६२ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको ३४ लाख ४ हजार ३१३ कित्ता शेयर कारोबार भएको छ । जलविद्युत् समूहको कुल कारोबारमा ४४ दशमलव २९ प्रतिशत अंश रहेको छ । फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन भएको एमसीसी सम्झौताबाट आगामी ५ वर्षभित्रमा विद्युत् प्रसारण लाइन र सडक निर्माण गर्ने कार्यक्रम छ । नेपालले एमसीसीमार्फत प्राप्त गर्ने अनुदानमध्ये करीब ४५ अर्ब रुपैयाँ विद्युत्को अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च हुने मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले जानकारी दिएको छ । एमसीसी सम्झौताअन्तर्गतको अधिकांश अनुदान विद्युत् क्षेत्रमै लगानी हुने भएकाले यसले जलविद्युत् क्षेत्रका कम्पनीहरूको शेयरमूल्यमा सकारात्मक प्रभाव पर्ने अनुमान लगानीकर्ताले गरेका थिए । पछिल्लो समय सर्वाधिक कारोबार हुँदै आएको जलविद्युत् समूहका कम्पनीहरूको शेयरमूल्य एमसीसी पारितपछि बढ्दा यसले समग्र बजार नै माथि लैजाने अनुमान विश्लेषकहरूको थियो । शेयर लगानीकर्ता एवम् नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले एमसीसी पारित भए पनि लगानीकर्ता उत्साहित हुन नसक्नुको पछाडि यसअघिका नीतिगत परिवर्तन रहेको बताए । एमसीसी र यसले बजारमा पार्ने प्रभावका विषयमा धेरैजसो लगानीकर्ता अन्योलमै रहेकाले बजार सकारात्मक बन्न नसकेको उनको प्रतिक्रिया छ । मौद्रिक नीतिको समीक्षा, बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य पूँजीको अभाव र ब्याजदर बढेका कारण उदास बनेका लगानीकर्ता एमसीसी पारित भएपछि पनि उत्साहित बन्न नसकेको रौनियारको विश्लेषण छ । अर्का शेयर लगानीकर्ता केशव कोइरालाले एमसीसी सम्झौतासँग जलविद्युत् कम्पनीको शेयर कारोबारलाई जोड्न नहुने बताउँछन् । केही समयदेखि एमसीसी सम्झौतालाई जोडेर जलविद्युत् कम्पनीको शेयरमूल्य बढाउने काम भएको आरोपसमेत उनले लगाए । पछिल्लो समय कारोबारको सर्वाधिक अंश ओगट्दै आएको जलविद्युत् कम्पनीको शेयर विक्री चाप एकैपटक परेकाले यो समूहका लगानीकर्ताले सर्वाधिक गुमाउन पुगेको कोइरालाको भनाइ छ ।

सम्बन्धित सामग्री

सातामा ५ कारोबार दिननै घट्यो शेयर बजार, लगानीकर्ताहरूले गुमाए २ खर्बभन्दा बढी

जेठ २१, काठमाडौं । धितोपत्र दोस्रो बजार यो साताको कारोबारमा निरन्तर पाँच कारोबार दिन घटेर २ हजार ७८ दशमलव ७० विन्दुमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार २२३ दशमलव ७८ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १४५ दशमलव शून्य ८ अंक घटेको हो । गत साताको अन्तिम कारोबार दिनदेखिनै बजार निरन्तर घटिरहेको छ । गत साताको अन्तिम कारोबार दिन १५ दशमलव ८२ अंकले बजार घटेको थियो ।  यसै साता सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको थियो । बजेट सार्वजनिक भएको भोलिपल्ट सोमवारको कारोबारमा नेप्से परिसूचक ५० दशमलव ३३ अंकले घटेको हो ।  मंगलवार ३५ दशमलव ५३ अंक, बुधवार ७ दशमलव १९ अंक, बिहीवार १८ दशमलव २६ अंक र शुक्रवार ३३ दशमलव ७६ अंक बजार घटेको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि यो साता घटेको छ । गत साता ४३३ दशमलव शून्य ७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४०३ दशमलव ४८ विन्दुमा झरेको हो ।  निरन्तर घटेको यो साता लगानीकर्ताहरूले रू. २ खर्ब ६ अर्ब ५४ करोड २८ लाख गुमाएका छन् । गत साता रू. ३१ खर्ब ६६ अर्ब २ करोड ९५ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. २९ खर्ब ५९ अर्ब ४८ करोड ६३ लाखमा झरेको हो । यो नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स र कुल बजार पूँजीकरण घटेपनि कारोबार रकम र कारोबार कित्ता भने बढेको देखिन्छ । निरन्तर घटेको बजारमा आत्तिएर शेयर विक्री गर्ने बढ्दा बजारमा नकरात्मक प्रभाव परेको ब्रोकरहरु बताउँछन् ।  बजेटमा पूँजीबजार सुधारका नयाँ विषयको अपेक्षामा रहेका लगानीकर्ता धेरै जसो पुरानौ कुरा दोहोरिदा निराश बनेको ब्रोकरहरुको बुझाई छ । गत साता रू. ५ अर्ब ६९ करोड १७ लाखभन्दा बढीको १ करोड ६१ लख ७८ हजार १४४ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता रू. ६ अर्ब २० करोड ३९ लाखभन्दा बढीको १ करोड ७६ लाख ६१ ह्जार ७३५ कित्ता धितोपत्र खरीदविक्री भएको हो । निरन्तर घटेको बजारमा यो साता सबै समूहगत उपसूचकहरु समेत घटेका छन् । यो साता सर्वाधिक उपसूचक व्यापारिक समूहको घटेको छ । व्यापारिक समूहको उपसूचक सर्वाधिक ११ दशमलव ४३ प्रतिशत घटेको हो ।  त्यस्तै निर्जीवन बीमाको १० प्रतिशत, जीवन बीमाको ८ दशमलव ५१ प्रतिशत, अन्य समूहको ६ दशमलव ९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ६ दशमलव ९० प्रतिशत, बैंकिङको ६ दशमलव ५४ प्रतिशत, लगानी समूहको ५ दशमलव ८९ प्रतिशत उपसूचक घटेको छ । यसैगरी लघुवित्त समूहको ५ दशमलव ५४ प्रतिशत, विकास बैंकको ५ दशमलव ४२ प्रतिशत वित्त समूहको ५ दशमलव २३ प्रतिशत, जलविद्युतको ४ दशमलव ९६ प्रतिशत, होटल्स तथा पर्यटनको ४ दशमलव २२ प्रतिशत र म्युचुअल फण्डको ३ दशमलव ६५ प्रतिशत उपसूचक घटेको छ ।

यो साता ७९.९५ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताले १ खर्बभन्दा बढी गुमाए

चैत २६, काठमाडौं । यो साता नेप्से परिसूचक ७९ दशमलव ९५ अंक घटेको छ । पछिल्लो समय २ हजार ८४८ दशमलव ८४ विन्दुदेखि ओरालो लागेको नेप्से परिसूचक २ हजार ४६४ दशमलव ३५ विन्दुमा झरेको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ५४४ दशमलव ३० विन्दुमा रहेको थियो । अघिल्ला सातासम्म बढ्दै घट्दै गरेको नेप्से परिसूचक गत सातादेखि निरन्तर ओरालो लागेको हो । गत सातादेखि यो साताको अन्त्यसम्मको कारोबारमा नेप्से परिसूचक दुई दिन मात्र बढेको छ । यो साता अन्तिम कारोबार दिन बजार ३५ दशमलव ६९ अंकले बढेर बन्द भएको छ । साताको बजारका सूचकहरुको अवस्था : स्रोत : नेपाल स्टक एक्सचेञ्ज बजार निरन्तर घटेर न्यून विन्दुमा आएकाले सस्तोमा शेयर खरीद गर्ने सक्रिया हुँदा बिहीवार बजारमा सुधार देखिएको ब्रोकरहरुको भनाइ छ । देशको अर्थतन्त्र विग्रदै गएको अवस्थामा सरकारले सुधारको पहल गर्ने आशामा लगानीकर्ता रहेको ब्रोकरहरुको बुझाइ छ । बिहीवार बजार सुधारिनुलाई लगानीकर्ताहरुले भने अब बजार फर्किएको संकेत गरेका छन् । पूँजीबजार विश्लेषक विण्णु प्रसाद बस्यालले अब बजार माथीनै जाने विश्लेषण गरेका छन् । बजार सपोर्ट जोनलाइतिर आइसकेकाले अब पनि तल झर्ने सम्भावना कम रहेको उनको विश्लेषण छ । कम जोखिम मानिने वाणिज्य बैंकको शेयरमूल्य निकै तल आएकाले अवको दिनमा यो क्षेत्रप्रति लगानीकर्ताको आकर्षण बढ्ने अनुमान उनले गरे । बजारको सर्वाधिक हिस्सा ओगटेको वाणिज्य क्षेत्रको शेयर खरीद चाप बढ्दा समग्र बजारलाई सकारात्मक प्रभाव पार्ने तर्क बस्यालले गरेका छन् ।  समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक घटेको यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ७२ अंक घटेको छ । गत साता ४७५ दशमलव ४७ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४६३ दशमलव ७५ विन्दुमा झरेको हो । कारोबार पनि गत साताभन्दा यो साता कम भएको छ । गत साता रू. १३ अर्ब ४२ करोड ५७ लाखभन्दा बढीको २ करोड ६० लाख ६१ हजार ६१५ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता रू. ९ अर्ब ८३ करोड ४१ लाखभन्दा बढीको २ करोड २३ लाख ४९ हजार ५११ कित्ता मात्र धितोपत्र कारोबार भएको हो । गत साताभन्दा यो साता रू.३ अर्ब ५९ करोड १५ लाख बराबरको ३७ लाख १२ हजार १०४ कित्ता कम धितोपत्र कारोबार भएको हो । यो साता लगानीकर्ताहरुले रू. १ खर्ब १३ अर्ब ५१ करोड ११ लाख गुमाएका छन् । गत साता रू. ३६ खर्ब १२ अर्ब २७ करोड २२ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३४ खर्ब ९८ अर्ब ७६ करोड २३ लाखमा झरेको हो । नेप्से परिसूचक ओरालो लाग्दा सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा कमि आउँदा कुल बजार पूँजीकरण घट्न पुगेको हो ।  होटल्स तथा पर्यटन समूह बाहेक सबै समूहको उपसूचक घट्यो  यो साता कारोबारमा आएका १३ ओटा समूहगत उपसूचकहरुमध्ये होटल्स तथा पर्यटन समूहको मात्र उपसूचक बढेको छ भने बाकी समूहको घटेको छ । होटल्स तथा पर्यटन समूहको उपसूचक यो साता १ दशमलव ९१ प्रतिशत बढेको हो । गत साता ३ हजार ८२ दशमलव १४ विन्दुमा रहेको होटल्स तथा पर्यटन समूहको उपसूचक यो साता ३ हजार १४० दशमलव ८६ विन्दुमा पुगेको हो ।  गत साताको तुलनामा यो साता निर्जीवन बीमा समूहको सर्वाधिक ६ दशमलव ५५ प्रतिशत उपसूचक घटेको छ । यस आधारमा यो साता सर्वाधिक गुमाउनेमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरु रहेका छन् । पूँजी बृद्धिको अभियान चर्चामा रहेको अवस्थामा निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा भने खासै प्रभाव परेको देखिदैन ।  यो साता निर्जीवन बीमा समूहपछि वित्त समूहको ५ दशमलव १७ प्रतिशत, ब्यापारिक समूहको ४ दशमलव ५३ प्रतिशत, जलविद्युत समूहको ४ दशमलव १८ प्रतिशत, लगानी समूहको ४ दशमलव १२ प्रतिशतले घटेको छ । यसैगरी जीवन बीमा समूहको ४ दशमलव शून्य ३ प्रतिशत, अन्य समूहको ४ दशमलव शून्य २ प्रतिशत, विकास बैंक समूहको २ दशमलव २५ प्रतिशत, लघुवित्त समूहको २ दशमलव ९८ प्रतिशत, बैंकिङ समूहको १ दशमलव ८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४० प्रतिशत र म्चुचुअल फण्ड समूहको १ दशमलव शून्य ९ प्रतिशत उपसूचक घटेको छ ।  सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई शुक्रवार निलम्बन गरेसँगै पूँजीबजार क्षेत्रका लगानीकर्ताहरुले मिश्रित प्रतिक्रियाहरु व्यक्त गरेका छन् । कतिपय लगानीकर्ताहरुले गर्भनरलाई ढिलै भएपनि निलम्बन गरेर स्वागतयोग्य निर्णय गरेको भनी प्रतिक्रिया दिएका छन् भने कतिपयले आर्थिक संकटको समयमा गभर्नरलाई निलम्बन गरेर गलत कदम चालेको बताएका छन् । ता पनि सरकारको यो कदमप्रति पूँजीबजार क्षेत्रले आगामी दिनमा कसरी हेर्छ र मूल्यांकन गर्छ त्यसमा नै आधारित भएर साताको पहिलो कारोबार दिन आइतवार बजार अगाडि बढ्ने देखिएको छ । साताव्यापी समूहगत परिसूचकमा भएको थपघट : स्रोत : नेपाल स्टक एक्सचेञ्ज