कात्तिक २३, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ९ गुणा अर्थात् २९७ प्रतिशत वृद्धि भएको छ ।
गत आवको पहिलो त्रैमासमा रू. ३ करोड २३ लाख १५ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा रू. १२ करोड ८५ लाख ४१ हजार नाफा कमाएको छ ।
चालू आवको पहिलो त्रैमासमा रू. ४ करोड १९ लाख ५६ हजार खराब कर्जा उठाएको तथा ,खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएकाले कम्पनीको नाफा बढ्न टेवा पुगेको हो ।
चुक्तापूँजी रू. १ अर्ब रहेको उक्त कम्पनीले जगेडामा रू. ९५ करोड ५८ लाख सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. १० अर्ब ८३ करोड १६ लाख सापटि लिएर,रू.२ अर्ब ६७ करोड ५४ लाख निक्षेप संकलन गरेर रू.१५ अर्ब २७ करोड ११ लाख कर्जा लगानी गरेको छ ।
सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५१ दशमलव ४२, मूल्य आम्दानी अनुपात रू.२७ दशमलव शून्य ३,तरलता अनुपात २ दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १९५ दशमलव ५८ रहेको छ ।