साउन ५, चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले आर्थिक वर्ष २०७७/ ०७८ मा करीब ५७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयले गत आर्थिक बर्षमा ५६ करोड ९५ लाख ७४ हजार २ रुपैयाँ संकलन गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६/ ०७७ मा कार्यालयले ४६ करोड ५३ लाख ६९ हजार २०६ रुपैयाँ संकलन गरेको थियो ।
निषेधाज्ञाका कारण कार्यालयले ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने अपेक्षा गरेपनि कर संकलन सन्तोषजनक रहेको बताएको छ । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारीसाधन कर र सवारी दस्तुर शिर्षकबाट कर संकलन गर्दै आएको छ ।
जसअनुसार अघिल्लो आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी सवारी साधन करबाट ४९ करोड ८६ लाख ७४ हजार २९४ रुपैयाँ राजस्व संकलन गरेको छ भने सबैभन्दा कम प्रशासनिक दण्ड जरिवानाबाट ६ लाख ३९ हजार ८६५ रुपैयाँ कर संकलन गरेको छ ।
यस्तै यातायात क्षेत्रको आम्दानीबाट ५ करोड १० लाख ८७ हजार ९६२ रुपैयाँ राजस्व संकलन भएको छ भने सवारी दस्तुरबाट १ करोड ९१ लाख ७१ हजार ८८१ रुपैयाँ संकलन भएको छ । कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले निषेधाज्ञाका कारण वैशाख १६ गतेदेखि असार १६ गतेसम्म दुई महीना कार्यालय बन्द भएकोले कर संकलन अपेक्षित रुपमा नभएको बताए ।
‘दुई महीना त राजस्व संकलन त शून्यनै भयो । कतिपय जिल्लामा गत वर्षबाटनै सेवा कार्यालय पनि स्थापना भए’, उनले भने, ‘जुन प्रदेशमा सवारीसाधन दर्ता भयो, त्यहींमात्र कर तिनुपर्ने नियम लागू भयो ।’
चितवन देशकै केन्द्र विन्दुमा भएपनि नवलपुरको कावासोती, तनहुँको आँबुखैरहनीलगायतका स्थानहरुमा सेवा कार्यालय शुरु भएकोले राजस्व संकलन नबढेको उनले बताए । गत वर्षको अन्तिम महीनाबाट सवारीसाधन दर्ता गर्न पाउने अनुमति पाएपनि त्यो काम शुरु गर्न नसक्दा पनि राजस्व संकलनमा असर परेको उनको भनाइ छ ।