पुस ११, चितवन । चालू आर्थिक वर्ष ०७८/७९ को ५ महीनामा यातायात व्यवस्था सेवा कार्यालय चितवनले झण्डै साढे ३१ करोड संकलन गरेको छ ।
कार्यालयले दिएको तथ्यांक अनुसार चालू आवको साउनदेखि मंसिरसम्म ३१ करोड ४८ लाख ६६ हजार ६२० रुपैयाँ संकलन गरेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड, जरीवाना र जफत, बेरुजु, सवारीसाधन कर र चालक अनुमति पत्र तथा सवारी किताव सम्बन्धी दस्तुरबाट आम्दानी गर्दै आएको छ ।
सबैभन्दा बढी आम्दानी साउनमा, भदौमा कम
कार्यालयले यो ५ महीनाको अवधिमा सबैभन्दा बढी आम्दानी साउनमा गरेको छ भने कम भदौमा गरेको छ । कार्यालयका अनुसार साउन महीनामा ७ करोड ७९ लाख ५ हजार ९३० रुपैयाँ र भदौ महीनामा ४ करोड ३६ लाख १५ हजार ३०४ रुपैयाँ राजस्व संकलन गरेको हो ।
यस्तै असोज महीनामा ६ करोड १४ लाख ५७ हजार ३५९ रुपैयाँ, कात्तिक महीनामा ६ करोड ५२ लाख १ हजार २४८ रुपैयाँ र मंसिरमा ६ करोड ९७ लाख ९६ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालय प्रमुख विनोद पौडेलले आर्थिक वर्षको अन्तिममा राजस्व तिर्न तथा नवीकरण गर्न छूटेका सवारीधनीहरुले साउन महीनामा कर तिर्न आउने हुनाले स्वभाविक रुपमा साउन महीनामा बढी आम्दानी हुने गरेको बताए ।
‘चैत, असार साउनमा तुलनात्मक रुपमा भन्दा अन्य महीना भन्दा बढी राजस्व संकलन हुन्छ पौडेलले भने, भदौ महीनामा १० दिन लगातार निषेधाज्ञा भएकोले कम राजस्व संकलन भएको हो ।’ कार्यालयले यस वर्षमा ६५ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । ‘पाँच महीनामा नै हाम्रो आम्दानी ३१ करोड नाघेको छ, उनले भने, अहिले चालक अनुमतिपत्र नवीकरणबाट पनि थप आम्दानी भएको छ । लक्ष्यभन्दा बढीनै संकलन हुन्छ ।’ कार्यालय प्रमुख पौडेलले भने ।