भदौ १०, चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले चालू आवको साउन महीना ७ करोड रुपैयाँ संकलन गरेको छ ।
कार्यालयले सबैभन्दा बढी सवारीसाधन कर शिर्षकमा राजस्व संकलन गरेको छ भने सबैभन्दा कम चालक अनुमति पत्रबाट कर संकलन गरेको छ । जसअनुसार सवारीसाधन कर शिर्षकमा ६ करोड ४२ लाख ३३ हजार १५० रुपैयांँ र चालक अनुमति नवीकरण र सवारी दस्तुर किताव गरी ३५ लाख ४२ हजार ९४० रुपैयाँ संकलन भएको छ ।
यस्तै कार्यालयले यातायात क्षेत्रको आम्दानीबाट ७० लाख १९ हजार ८४० रुपैयांँ संकलन गरेको छ । प्रशासनिक दण्ड जरीवानाबाट भने साउन महीनामा कुनै रकम असुल भएको छैन ।
कार्यालय प्रमुख सुवास उप्रेतीले साउन महीनामा निषेधाज्ञाका बीच कार्यालय नियमित खुलेकोले अपेक्षित रुपमा कर संकलन गर्न सकिएको बताए । यो वर्ष नियमित कार्यालय खुल्न पाएमा ६५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।
चालक अनुमति पत्र नविकरण गर्ने तयारी
अब चितवनको भरतपुरबाटनै सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण गरिने भएको छ । अघिल्लो साता मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री केशवराज पाण्डेले चितवनलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको शुरुवाती निर्णय गरेका हुन् ।
अनुमतिपत्र नविकरण गर्ने निर्णय भएपनि विभागबाट हालसम्म अनुमति प्राप्त भएको छैन । कार्यालयका प्रमुख उप्रेतीले निर्णय भएपनि सेवा भने शुरु भइनसकेको बताए ।
‘निर्णय चाहीं भयो, तर जनशक्ति व्यवस्थापन र अन्य प्राविधिक पक्षका कुराहरु पनि बाँकी नै छ’, उप्रेतीले भने । निषेधाज्ञाका र सेवाग्राहीको चापका कारण कार्यालयमा भीड बढेपछि कार्यालयले ईटोकन प्रणाली लागू गरेको छ । कार्यालय प्रमुख उप्रेतीले भीडभाड व्यवस्थापन गर्न यो प्रणालीलाई भेटघाट व्यवस्थापन प्रणाली नामकरण गरिएको बताए ।
उनका अनुसार अनलाईनबाट सेवाग्राहीले आफू अनुकुलको मिति र समय लिन सक्ने छन् । र सोही समयमा गएर उनीहरुले सेवा लिन सक्नेछन । ‘यो प्रणालीले भीड व्यवस्थापन पनि हुन्छ, कोरोना जोखिम न्यूनिकरण पनि हुन्छ । समयको सदुपयोग पनि हुन्छ’ उप्रेतीले भने ।