काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन सहकार्य गर्न बैंकरसँग आग्रह गरेका छन् । आइतवार मन्त्रालयमा भएको छलफलमा उनले रेमिट्यान्स बढिरहेको, तरलताको अवस्था सहज भए पनि बैंकहरूले लगानी नगर्दा आर्थिक गतिविधि बढ्न नसकेको भन्दै सहजीकरण गर्न प्रस्ताव गरेका हुन् ।
‘लगानी बढाउन आत्मविश्वास नबढेको पाएका छौं,’ अर्थमन्त्री महतले भने, ‘केही समस्या छ भने सम्बोधन गर्न सकिन्छ, यसमा बैंकिङ क्षेत्रको भूमिका रहोस् । भेटमा बैंकरहरूले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि टास्क फोर्स बनाउन, तरलता सहज बनाउने स्थानीय तहको सञ्चित कोषको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न र सरकारी खर्च बढाउन सुझाव दिएका थिए ।