नेपाल कृषि प्रधान देशका रूपमा चिनिँदै आए पनि यहाँको कृषिक्षेत्रको विकास र उत्थानका लागि सरकारी तवरबाट भएका प्रयासहरूले आशा गरेअनुरूप सफलता मिलिरहेको छैन । तर, पछिल्लो समय निजीक्षेत्रको भूमिका बढ्दै गएको देखिन्छ ।
सरकारले कृषिक्षेत्रकै विकासका लागि स्थापना गरेका नेपाल कृषि अनुसन्धान परिषद् नार्क, कृषि सामग्री कम्पनी लिमिटेड, राष्ट्रिय फलफूल विकास केन्द्रलगायत पछिल्लो समय सञ्चालनमा ल्याएका फलफूल जोन, धान सुपरजोन र पकेट क्षेत्रहरूले पनि कृषिको पुनरुत्थानमा केही सकारात्मक भूमिका त निर्वाह गरे तर सरकारी तवरबाट भएका प्रयासहरू खासै प्रभावकारी हुन नसकिरहेका बेला पछिल्लो समय निजीक्षेत्रबाट गरिएका प्रयासहरूले भने नेपालको कृषिको पुनरुत्थान हुन सक्छ भन्ने आशा जगाएको छ ।
पछिल्लो समय नेपालका ठूला व्यापारिक घरानादेखि पूर्वराजनीतिज्ञलगायत अरूले पनि निजीक्षेत्रबाट कृषिमा ठूलो मात्रामा लगानी गरिरहेका छन् । नेपाललाई हरेक किसिमका कृषि उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ र कसरी भविष्यमा नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न समेत सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको छ । करीब वर्ष दिन अघि शुरू भएको राष्ट्रिय खाद्य बैंक लिमिटेड, दुई पटकसम्म मन्त्री बनेका पूर्वमाओवादी नेता लोकेन्द्र विष्टले शुरू गरेको ड्रागन फलको खेती, रियल इस्टेट, बैंक तथा वित्तीय संस्था र जलविद्युत्लगायत दर्जनौं व्यापारिक क्षेत्रमा लगानी गरेर सफलता हात पार्दै आएको गोल्यान समूह, रियल इस्टेट व्यवसायी दीपक मल्होत्राद्वारा सञ्चालित आईएमएस एग्रो कम्पनी निजीक्षेत्रबाट गरिएका प्रयासका ज्वलन्त उदाहरण हुन् ।
नेपालको ७७ ओटै जिल्लाका ७ सय ५३ ओटै स्थानीय तहमा कृषिक्षेत्रको विकासका लागि काम गर्ने उद्देश्यले २ अर्ब रुपैयाँको लगानीमा सञ्चालनमा आएको राष्ट्रिय खाद्य बैंक लिमिटेड निजीक्षेत्रबाट सञ्चालित कृषि उत्पादक कम्पनी हो । यसमा कृषिक्षेत्रका विज्ञहरू, प्राविधिक, सहकारी संस्थालगायत निजी कम्पनीहरू आबद्ध रहेका छन् । हालै मात्र यस कम्पनीले पाइलट प्रोजेक्टका रूपमा आपैm किसानसँग मिलेर धान, कोदो, फलपूmल र तरकारी उत्पादनमा सरिक भइरहेको छ ।
कम्पनीले हाल झापा, मोरङ, सुनसरी जिल्लामा ५५ बिगाहा जग्गा भाडामा लिएर धान, तरकारी र फलपूmल खेती गरिरहेको छ भने उक्त स्थानका स्थानीय किसानहरूसँग मिलेर ४ सय ५ बिगाहा जमीनमा बासमती धानको खेती गरेको छ ।
त्यसैगरी पोखराको हेम्जामा ३५ रोपनी जग्गा भाडामा र ३ सय १३ रोपनी जग्गामा किसानहरूसँग मिलेर जेठोबूढो नामक स्थानीय धानको खेती गरिएको छ । कम्पनीले दिएको जानकारीअनुसार यस बाहेक बर्दियामा पनि अहिले पाइलट प्रोजेक्टका रूपमा करीब ६० बिगाहा खेतमा धानखेती भइरहेको छ । यसमध्ये झापा र बर्दियामा करीब ५ बिगाहा जमीनमा राइस डक फार्मिङ प्रविधि अर्थात् एउटै जमीनमा हाँस र धानखेती गरिएको छ ।
पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री लोकेन्द्र विष्टले शुरू गरेको ड्रागन फलको खेतीले पनि नेपाली कृषिको उत्थानका लागि भूमिका खेल्न सक्ने देखिएको छ । विष्टले दाङको बिजौरीस्थित घोराही तुलसीपुर सडकको किनारामा करीब २ वर्ष अघिदेखि ३ बिगाहाभन्दा बढी जमीन १५ वर्षका लागि भाडामा लिएर ड्रागन फलको खेती थालेका छन् । सिउँडी जातको भएकाले यो फलको खेती प्रायजसो दक्षिण अफ्रीकातिर हुने गरेको छ । नेपालमा पनि पानी नजम्ने तर सिँचाइ भएको जमीनमा यसको राम्रो खेती हुने भएकाले आपूmले खेती शुरू गरेको उनको भनाइ छ । यस फलको एउटै बोटबाट ६/७ सय रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।
रियल इस्टेटको क्षेत्रमा वर्षौंदेखि स्थापित भएर व्यवसाय गरिरहेका व्यवसायी दीपक मल्होत्रा पनि यतिबेला आईएमएस एग्रो नामक कम्पनी स्थापना गरी कृषिक्षेत्रको पुनरुत्थानमा लागि रहेका छन् । यस अघि उनले सम्हाल्दै आएका अन्य व्यवसायको जिम्मेवारीलाई भन्दा पनि कृषि कर्मलाई बढी समय दिँदै आएका उनले अबको आप्mनो पूर्ण ध्यान कृषिमा हुने बताएका छन् ।
आईएमएस कम्पनीले हाल पूर्वी नेपालको सुनसरी जिल्लामा आपैmले किनेको २५ बिगाहा जमीनमा १० करोड रुपैयाँको लगानीसहित स्ट्रवेरी, कागती, मेवा र तरबुजालगायत फलफूल खेतीको शुरू गरिसकेको छ । कपिलवस्तुको चन्द्रौटामा ८ बिगाहा जमीनमा अम्बा खेती र मनाङमा करीब ६ सय बिगाहा जमीन भाडामा लिएर स्याउ खेती शुरू गर्न लागेको छ । सुर्खेत र डोल्पा जिल्लामा समेत स्याउ र ओखरखेती गर्ने लक्ष्य लिइएको छ । मल्होत्राका अनुसार यस कम्पनीले कृषिक्षेत्रमा कुल ४ अर्ब रुपैयाँसम्म लगानी गर्ने योजना बनाएको छ । आईएमएस कम्पनीले शुरू गरेको यो व्यवसाय पूर्ण रूपमा सञ्चालन भइसकेपश्चात् ६ हजारभन्दा बढी नेपाली युवाले रोजगारी पाउनेछन् ।
नेपालमा हरेक वर्ष ५० अर्ब रुपैयाँको धान र चामल, २० अर्ब रुपैयाँको खानेतेल आयात हुने गर्छ भने आलु, गहुँ, मकै र भटमास गरी १ खर्ब रुपैयाँको आयात हुने गरेको सरकारी तथ्यांक छ । यस्तो अवस्थाको अन्त्य गरी आन्तरिक उत्पादन बढाउन र नेपाली मुद्रा विदेशिन नदिन निजीक्षेत्रले कृषिमा लगानी बढाउनैपर्ने हुन्छ ।
रियल इस्टेट, बैंक तथा वित्तीय संस्था र जलविद्युत् लगायत दर्जनौं व्यापारिक क्षेत्रमा लगानी गरेर सफलता हात पार्दै आएको गोल्यान समूहले पनि पछिल्लो समय माटो ब्रान्ड नाम दिएर अग्र्यानिक कृषिजन्य वस्तुको उत्पादन गर्दै आएको छ । यो समूहले पूर्वी नेपालको झापा जिल्लामा करीब २ सय बिगाहा जमीनमा तरकारी, धान, गहुँखेती गरेको छ । त्यस्तै आँप, लिची, मेवा, स्ट्रबेरीलगायत फलफूलको खेती पनि गरिरहेको छ । कुल लगानी यति बेला ८२ करोड रुपैयाँभन्दा धेरै रहेको समूहले बताएको छ ।
कोरोना महामारीका कारण अन्य व्यवसाय थलिए पनि निजीक्षेत्रबाट कृषिमा गरिएको लगानी सह्राहनीय देखिन्छ । कुनै पनि क्षेत्रको विकास हुनका लागि सरकारी लगानी मात्र पर्याप्त हुँदैन, यसमा निजीक्षेत्रको अहम् भूमिका हुन्छ । सरकारी अधिकारीहरूले पनि यस तथ्यलाई स्वीकारेका छन् ।