काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि स्थानीयले जेठ ९ गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत शेयर विक्री गर्न अनुमति पाएको थियो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत सर्वसाधारणमा १५ प्रतिशत शेयर विक्री गर्नेछ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत दरको ४ लाख ९२ हजार ५०० कित्ता र दोस्रो चरणमा विक्री हुने १५ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको ७३ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो ।
आयोजना प्रभावित स्थानीयमा जारी हुने शेयर खरीदका लागि खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका बासिन्दा र दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ देखि ७ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ता शेयर माग गर्न सकिनेछ ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आयोजना प्रभावित स्थानीयले खोटाङमा रहेको सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक एवं प्रभु बैंकको शाखा कार्यालयबाट आवेदन प्राप्त गर्न र पेश गर्न सक्नेछन् । साथै कम्पनीको आयोजना स्थलको कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तीनका तोकिएको कार्यालयसँगै मेरो शेयर एप प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराईएको रेटिङमा इक्रा नेपालले इक्रा एनपी इस्यूअर बी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
यस कम्पनीले खोटाङ जिल्लामा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल पुस २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । आयोजनाको कुल निर्माण लागत १ अर्ब ३९ करोड रूपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रूपैयाँ रहेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्