बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ जेठ २० गतेदेखि निष्कासनमा

जेठ १३, काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ वैशाख ११ गतेदेखि २७ गतेसम्म विक्री खुला गरेर जेठ ११ गते बाँडफाँट गरिसकेको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।  सर्वसाधारणले यो आईपीओ खरीदका लागि जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असार ३ गतेसम्म आईपीओ निष्कासन खुला रहने छ । तर, पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ छिटो अवधिभित्रै विक्री हुने सम्भावना देखिन्छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले कास्की जिल्लामा ८ दशमलव ८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत् आयोजना र ६ दशमलव ६ मेगावाट क्षमताको रुदि खोला बि जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।  रुदि खोला ए जलविद्युत् आयोजनाको कुल लागत रू. १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बि जलविद्युत् आयोजनाको निर्माण लागत रू. १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ ।