कुमारी र एनसीसीको मर्जरपछिको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को मर्जरपछि कायम शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीवार सूचीकृत भएको छ । मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६१३ दशमलव ५७ कित्ता शेयर बिहीवार कुमारी बैंकको नाममा नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत गर्नुअघि बैंकले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा माघ ४ गते नै दर्ता गराइसकेको छ । साविक कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२ दशमलव ५७ कित्ता र साविक एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर नेप्सेमा कारोबारयोग्य भएको छ ।  कुमारी बैंक र एनसीसी बैंक मर्ज भई कुमारी बैंकको नामबाट गत पुस १७ गतेदेखि एकीकृत कारोबार शुरू भएको छ । एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्ज भएका यी दुई बैंकका शेयरधनीहरूले आगामी कारोबार दिनदेखि कुमारी बैंकको नामबाट शेयर कारोबार गर्न सक्नेछन् । सीडीएससीले मर्जरपछि कायम शेयर स्वाप रेसियोका आधारमा सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा शेयर जम्मा हुने व्यवस्था मिलाइसकेको छ । एकीकृत कारोबारका दिनदेखि रोक्का रहेको दुवै बैंकको शेयर कारोबार फुकुवा गर्ने निर्णय पनि नेप्सेले गरेको छ । पछिल्लो समय जारी मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ । यो बैंक निर्देशिकामा भएको व्यवस्थाबमोजिम नै बढीमा १५ दिनभित्र रोक्का रहेको शेयर कारोबार फुकुवा गर्न सफल भएको छ । गत असोज १० गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका यी बैंकहरूको तीन महीना पूरा हुँदा मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरू भएको हो ।

सम्बन्धित सामग्री

अधिकांश वाणिज्य बैंकको शेयर मूल्य नेटवर्थकै हाराहारीमा

काठमाडौं । पछिल्लो केही समययता शेयर बजार निरन्तर घट्दो ट्रेण्डमा छ । यो बेला अधिकांश वाणिज्य बैंकको शेयर मूल्य नेटवर्थको हाराहारीमा छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ ओटा वाणिज्य बैंकमध्ये १३ ओटाको शेयर मूल्य नेटवर्थकै हाराहारीमा छ । यीमध्ये १० ओटाको शेयर मूल्य नेटवर्थभन्दा करीब ४ रुपैयाँदेखि ४२ रुपैयाँसम्म बढी छ भने ३ ओटाको शेयर मूल्य भने नेटवर्थभन्दा ५ रुपैयाँदेखि २९ रुपैयाँसम्म कम छ ।  शेयर मूल्य नेटवर्थको हाराहारी हुनु लगानीकर्ताका लागि अवसर रहेको जानकार बताउँछन् । लामो समय होल्ड गर्ने लगानीकर्ताले यस्ता कम्पनीमा लगानी गरेर नाफा आर्जन गर्न सक्ने देखिन्छ । तर, लगानी गर्दा कम्पनीको समग्र पक्षलाई ध्यान दिन आवश्यक रहेको उनीहरू सुझाउँछन् ।  बाँकी ६ ओटा बैंकमध्ये दुई ओटाको शेयर मूल्य नेटवर्थभन्दा १०० रुपैयाँभन्दा बढी र चार ओटाको शेयर मूल्य नेटवर्थभन्दा दोब्बर छ ।  वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार अहिले वाणिज्य बैंकको नेटवर्थ न्यूनतम रू. १३६ दशमलव ८२ अधिकतम रू. २०५ दशमलव ५८ देखिएको छ । सबैभन्दा कम नेटवर्थ कुमारी बैंकको रू. १३६ दशमलव ८२ रहेको छ । यस बैंकको शेयर मूल्य बिहीवार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता रू. १४० दशमलव ६ मा कायम भएको छ । जुन नेटवर्थको २ दशमलव ७६ प्रतिशत मात्रै बढी हो ।  सबैभन्दा कम नेटवर्थ भएको वाणिज्य बैंकको सूचीमा दोस्रोमा प्रभु बैंक छ । बैंकको प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ०२ रहेको छ । यस बैंकको शेयर मूल्य बिहीवार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता रू. १४३ रहेको छ ।  सबैभन्दा बढी नेटवर्थ भएको बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकको नेटवर्थ रू.२०५ दशमलव ५८ रहेको छ । यस बैंकको शेयर मूल्य बिहीवार दोस्रो बजारमा प्रतिकित्ता रू. ५२० छ ।  नेप्सेमा सूचीकृत कम्पनीमध्ये धेरै चुक्ता पूँजी भएका कम्पनी यही समूहमा पर्दछन् । अत्यधिक चुक्ता पूँजीका कारण बैंकको शेयर आपूर्ति बढी रहेका कारण अहिले नेटवर्थकै हाराहारीमा कारोबार हुन थालेको जानकार बताउँछन् ।  कम्पनी बन्द हुँदा शेयरधनीले पाउने प्रतिशेयर मूल्यलाई प्रतिशेयर नेटवर्थ चिनिन्छ । नेप्सेमा कम्पनी सूचीकरण भएपछि पहिलो कारोबारका लागि नेप्सेले मूल्य तोक्ने गरेको छ । नेप्सेले कम्पनीको नेटवर्थको १ देखि ३ गुणासम्म उक्त मूल्य तोक्ने गरेको छ ।  बैंकको शेयर मूल्य र प्रतिशेयर नेटवर्थ  स्रोत : नेप्से र दोस्रो त्रैमासिक वित्तीय विवरण ।

वाणिज्य बैंकको शेयरमा छैन लगानीकर्ताको आकर्षण, ६ ओटाको शेयर मूल्य २ सयमुनि

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण छैन भन्दा हुन्छ । बजार पूँजीकरणका हिसाबले बलिया भए पनि पछिल्लो समय वाणिज्य बैंकका शेयर बजारमा सबैभन्दा सस्तामध्येमा पर्छन् ।  पछिल्लो समय बजार १८ सय विन्दुसम्म पुगेर अहिले २ हजार ८८ विन्दुमा छ । बजार बढे पनि वाणिज्य बैंकको शेयर मूल्य भने बढ्न सकेको छैन ।  नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ ओटाको शेयर मूल्य २ सय विन्दुमुनि छ, जसमा कुमारी बैंक, प्रभु बैंक, सिटिजन बैंक इन्टरनेशनल, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र एनएमबि बैंक छन् । यीमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर छ । बैंकको शेयर प्रतिकित्ता रू. १५९ कायम भएको छ ।  त्यस्तै तीन बैंकको शेयर मूल्य मात्रै ५ सयभन्दा माथि छ, जसमा एनआइसी एशिया बैंक, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टड बैंक छन् ।  मर्जर तथा प्राप्तिपछि वाणिज्य बैंकको संख्या अहिले २० मा झरेको छ । मर्जरपश्चात बढेको पूँजी अनुसार व्यापार वृद्धि गर्न नसक्दा बैंकको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकार बताउँछन् । मर्जरपश्चात बनेका कम्पनीका त्रैमासिक वित्तीय विवरण हेर्दा प्रमुख सूचक पनि कमजोर देखिएका छन् ।  शेयर बजारमा सूचकलाई नै उल्लेख्यरूपमा परिवर्तन गराउन सक्ने क्षमता भएका वाणिज्य बैंकका शेयरमा लगानीकर्ताको आकर्षण नदेखिनुका विभिन्न कारण छन् । यसको मुख्य कारण बैंकको आम्दानी खस्किनु हो । यस्तै, वाणिज्य बैंकको शेयर संख्या बढी भएकाले यसको शेयर धेरैसँग छरिएको छ । कमाइको तुलनामा आम्दानी कम हुँदा प्रतिफल घट्दो दरमा छ ।  त्यस्तै धेरै जनासँग शेयर भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था पनि छैन, जसका कारण वाणिज्य बैंकका शेयरमा लगानीकर्ताको आकर्षण देखिँदैन । यसो त पछिल्ला त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा निकै बढेको छ । यस कारण पनि बैंकको शेयर लगानीकर्ताको रोजाइमा नपरेको हुनसक्ने जानकार बताउँछन् ।  कुन बैंकको शेयर मूल्य कति ? स्रोत : नेप्से ।

कुमारी बैंकको ५० लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । कुमारी बैंकको ऋणपत्र बुधवार नेप्सेमा सूचीकृत भएको छ ।  कम्पनीको ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकले  वार्षिक १० प्रतिशत भएको १० % केबिएल डिबेञ्चर २०९० नामक ऋणपत्र सूचीकृत गराएको हो ।

प्रिमियम मूल्यको आईपीओभन्दा दोस्रो बजारको शेयर सस्तो

काठमाडौं । पछिल्लो समय कम्पनीहरूले धमाधम प्रिमियम मूल्यमा शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरिरहेका छन् । प्रिमियम मूल्यको बीमा र हाइड्रोपावर कम्पनीको शेयरभन्दा सस्तैमा धितोपत्रको दोस्रो बजारमा शेयर पाइन थालेको छ । सन नेपाल लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, मान्डू हाइड्रोपावर, सोनापुर मिनरल्सले प्रिमियमसहित प्रतिकित्ता ११६ देखि २५७ रुपैयाँसम्ममा आईपीओ विक्री गरेका छन् । यस्तै सिटिजन लाइफले पनि भदौ १५ गतेदेखि प्रिमियम मूल्यसहित प्रतिकित्ता २४४ रुपैयाँमा साधारण शेयरको सार्वजनिक निष्कासन गर्दै छ ।  प्राथमिक बजारमा प्रतिकित्ता २ सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने आईपीओ विक्रीमा आउँदा पनि लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । हरेक कम्पनीको आईपीओमा १२/१५ लाख जनाले आवेदन दिने गरेका छन् । तर, दोस्रो बजारमा सोभन्दा कम मूल्यमा शेयर पाउँदा लगानीकर्ताको आकर्षण देखिएको छैन । सूचीकृत कम्पनीमध्ये वाणिज्य बैंक र हाइड्रोपावरको शेयर मूल्यमा ठूलो गिरावट आएको छ । अहिले सबैभन्दा सस्तो शेयर मूल्य हुने कम्पनीहरू पनि यी समूहका छन् । पूँजीबजार विज्ञ मुक्ति आर्याल प्रिमियमको आईपीओबाट छोटो समयमै राम्रो प्रतिफल पाइरहेकाले त्यसमा लगानीकर्ताको आकर्षण बढेको बताउँछन् । उनले आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियमसहित प्रतिकित्ता रू.२३६ दशमलव ९१ मा आईपीओ विक्री गरेको उदाहरण दिँदै भने, ‘कम्पनीको पहिलो कारोबार नै प्रतिकित्ता रू.५२९ दशमलव ५० मा भएको थियो । यसले गर्दा लगानीकर्ताले छोटो समयमै राम्रो प्रतिफल पाए ।’ सूचीकृत हुनेबित्तिकै कम्पनीको शेयर मूल्य बढ्ने भएकाले लगानीकर्ताको आकर्षण बढेको हुनसक्ने उनको अनुमान छ । वाणिज्य बैंकको शेयर मूल्य बढे पनि कम बढ्ने र धेरै चुक्ता पूँजी भएकाले लगानीकर्ताको आकर्षणमा नपरेको उनको बुझाइ छ । त्यस्तै मर्जर तथा एक्वीजिशनपछि वाणिज्य बैंकको संख्या अहिले २० मा झरेको छ । मर्जरपछि बढेको पूँजीअनुसार व्यापार वृद्धि गर्न नसक्दा यिनीहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकार बताउँछन् । त्यस्तै धेरै जनाको हातमा शेयर भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था नभएकाले पनि लगानीकर्ताको आकर्षणमा नपरेको देखिन्छ । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकहरूको खराब कर्जा निकै बढेको छ । यसकारण पनि लगानीकर्ताको रोजाइमा उनीहरूको शेयर नपरेको हो ।  समग्र शेयरबजारमा आएको गिरावटका साथै वित्तीय प्रणालीमा देखिएका समस्याले पनि बैंकको शेयर मूल्यमा प्रभाव पारेको देखिन्छ । वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुनु, महँगो ब्याजदर, बढ्दो खराब कर्जालगायत कारणले बैंकको शेयर सस्तिँदै गएको हो ।  नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ ओटाको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । कुमारी, प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा, लक्ष्मी, प्राइम कमर्सियल र सिटिजन्स बैंकको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । यी ६ बैंकमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर मूल्य मंगलवार प्रतिकित्ता रू.१५७ दशमलव ४० मा बन्द भएको छ ।  त्यस्तै प्रतिकित्ता रू.२ सयदेखि २५० दशमलव १० सम्ममा हिमालयन, ग्लोबल आइएमई, एनएमबि र नेपाल बैंकको शेयर पाइन्छ । यी वाणिज्य बैंकबाहेक हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि निकै सस्तिएको छ ।  मंगलवार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१३५ दशमलव ३० र नेशनल हाइड्रोपावरको कम्पनीको रू.१४६ दशमलव ४० कायम भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश जलविद्युत् कम्पनीको नाफा घटेको छ । यसकारण पनि उक्त समूहको शेयरमा लगानीकर्ताको चासो नपरेको अनुमान गरिको छ ।

‘१०.७५% एसबिएल डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत

सिद्घार्थ बैंक र नेपाल स्टक एक्सचेञ्जबीच चार अर्बको १० वर्ष अवधी भएको ‘१०.७५ प्रतिशत एसबिएल डिबेन्चर (ऋणपत्र) २०८९’ को अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको चालिस लाख कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ ।बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुला बिक्री आव्हान गरेको थियो । […]

बोनस शेयरको लिस्टिङ ढिलो हुनुमा कम्पनीकै लापरबाही

माघ ९, काठमाडौं । साधारण सभाबाट पारित भएको चार महीना पुग्दा पनि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण(लिस्टिङ) गराएको छैन । उक्त कम्पनीले गत असोज २३ गते साधारण सभा गरेर २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । बुक क्लोज भएकै दिन मूल्य समायोजन भएपनि आफूले पाउने बोनस शेयर हितग्राही खातामा समयमा नै नआउँदा लगानीकर्ता भने निराश हुने गरेका छन् ।  उक्त कम्पनीले गत असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको थियो । यसै आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले २० प्रतिशत बोनस शेयर प्राप्त गर्ने छन्  । असोजमै साधारण सभा सम्पन्न गरेको नेपाल ल्यूव आयल लिमिटेडले पनि अहिलेसम्म नेप्सेमा बोनस शेयर सूचीकरण गरेको छैन । उक्त कम्पनीले पनि असोज १८ गतेको साधारण सभाबाट ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको थियो । त्यस्तै कात्तिमा साधारण सभा गरेका कतिपय कम्पनीहरुले अझै पनि नेप्सेमा बोनस शेयर सूचीकरण गराएका छैनन् । कतिपयले भने बोनस शेयर सूचीकरण गराएका छन् । बोनस शेयर सूचीकरण नगराउनेमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, शिवम् सिमेन्ट्स, कुमारी बैंक, स्वरोजगार लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्था रहेका छन् । साधना लघुवित्त वित्तीय संस्थाले कात्तिक १३ गते २५ प्रतिशत बोनस शेयर पारित गरेको थियो । त्यस्तै शिवम् शिमेन्ट्सले कात्तिक १६ गते २९ प्रतिशत बोनस शेयर पारित गरेको थियो । कुमारी बैंकले कात्तिक १६ गते ६ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।  त्यसैगरी स्वरोजगार कात्तिक २७ गते २५ प्रतिशत बोनस शेयर पारित गरेको थियो भने सिभिल बैंक लिमिटेडले कात्तिक २८ गते १९ प्रतिशत बोनस शेयर पारित गरेको थियो । ती कम्पनीले अहिलेसम्म बोनस शेयर नेप्सेमा सूचीकरण गराएका छैनन् ।    कात्तिकमा साधारण सभाबाट पारित बोनस शेयर सूचीकरण गराउने कम्पनीहरु :   कात्तिकमा साधारण सभा गराएका सानिमा बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, गुराँस लघुवित्त, कामना सेवा विकास बैंक, माछापुच्छ्रे बैंक र आशा लघुवित्तले बोनस शेयर नेप्सेमा सूचीकरण गराएका छन् । सानिमा बैंकले कात्तिक १४ गते पारित १७ प्रतिशत बोनस शेयर, साग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते पारित १० प्रतिशत बोनस शेयर, सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले कात्तिक १६ गते पारित गरेको १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र गुराँस लघुवित्तले कात्तिक २२ गते पारित गरेको १६ दशमलव ९१ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।  त्यसैगरी कामना सेवा विकास बैंकले कात्तिक २३ गते पारित गरेको १८ दशमलव ५० प्रतिशत बोनस शेयर, माछापुछ्रे बैंकले कात्तिक २६ गते पारित गरेको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र आशा लघुवित्तले कात्तिक २७ गते पारित गरेको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गराइसकेका छन् ।    बोनस शेयर सूचीकरण हुन किन लाग्छ समय ?   एउटै महीनामा साधारण सभा गरेका कम्पनीहरुमा पनि कसैले दुई महीनाभित्र नै बोनस शेयर सूचीकरण गराउने गर्छन् भने कतिपयले भने समय लगाउने गरेका छन् । साधारण सभाबाट बोनस शेयर पारित भएपछि पनि नियमन निकायहरुबाट स्वीकृति लिनुुपर्ने व्यवस्था भएकाले समय लाग्ने गरेको कम्पनीको भनाइ छ ।  डिप्रोक्स लघुवित्तका एक कर्मचारीका अनुसार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड (सेवोन) र नेप्सेमा विभिन्न विवरण बुझाउनु पर्ने भएकाले समय लाग्ने गरेको हो । कोभिडले गर्दा नियमन निकायमा कर्मचारी कम आउने गरेकाले पनि त्यसको प्रभाव पर्ने गरेको ती कर्मचारी बताउँछन् ।  उता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकारी मुराहरी पराजुली भने कतिपय कम्पनीले सबै प्रक्रिया पुर्‍याएर ल्याउने गरेकाले छिट्टै शेयर सूचिकरण हुने गरेको बताउँछन् ।  उनका अनुसार सरकारको स्वामित्व भएका संस्थाले साधारण सभाबाट बोनस शेयर पारित गरेपछि पनि सरकारको अनुमति अनिवार्य लिनु पर्ने भएकाले समय लाग्ने गरेको छ ।  ‘कतिपय कम्पनीले सबै प्रक्रिया पुर्‍याएर बोनस शेयर सूचीकरण गर्न आएका हुन्छन् । ती कम्पनीको बोनस शेयर सूचीकरण हुन समय लाग्दैन । तर, कतिपयले प्रक्रिया नै नपुर्‍याइ आउँदा प्रक्रिया पुर्‍याउँदा समय लाग्ने गरेको छ’, उनले भने ।  बैंक तथा वित्तीय संस्थाको हकमा राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालय र सेवोनको स्वीकृति पत्र अनिवार्य गरिएको छ । त्यस्सैगरी बीमा कम्पनीको हकमा बीमा समिति, विद्युत् कम्पनीहरुको हकमा विद्युत् नियमन आयोगलगायतको स्वकृति अनिवार्य रहेको बताइएको छ ।

चार ओटा वाणिज्य बैंकद्वारा लाभांश प्रस्ताव, कुन-कुन कम्पनीले कति दिने ?

असोज १५, काठमाडौं । नेप्सेमा सूचीकृत २७ ओटा वाणिज्य बैंकमध्ये ४ ओटा वाणिज्य बैंकले शेयरधनीका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । यी चार ओटा कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट यस वर्षका लागि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सानिमा बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र कुमारी बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । कुमारी बैंक बाहेकका तीन ओटा कम्पनीको लाभांश अघिल्लो आवको तुलनामा बढाएका छन् । यी चार  ओटा कम्पनीमध्ये सबैभन्दा बढी सानिमा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसैगरी माछापुच्छ्रे बैंकले १३ दशमलव ३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यी चारओटै कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । यी चार ओटा कम्पनीमध्ये सिटिजन्स बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १५औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस आधारमा असोज २० गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।                                                          स्रोत : कम्पनीद्वारा प्रकाशित नोटिस