अधिकांश वाणिज्य बैंकको शेयर मूल्य नेटवर्थकै हाराहारीमा

काठमाडौं । पछिल्लो केही समययता शेयर बजार निरन्तर घट्दो ट्रेण्डमा छ । यो बेला अधिकांश वाणिज्य बैंकको शेयर मूल्य नेटवर्थको हाराहारीमा छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ ओटा वाणिज्य बैंकमध्ये १३ ओटाको शेयर मूल्य नेटवर्थकै हाराहारीमा छ । यीमध्ये १० ओटाको शेयर मूल्य नेटवर्थभन्दा करीब ४ रुपैयाँदेखि ४२ रुपैयाँसम्म बढी छ भने ३ ओटाको शेयर मूल्य भने नेटवर्थभन्दा ५ रुपैयाँदेखि २९ रुपैयाँसम्म कम छ ।  शेयर मूल्य नेटवर्थको हाराहारी हुनु लगानीकर्ताका लागि अवसर रहेको जानकार बताउँछन् । लामो समय होल्ड गर्ने लगानीकर्ताले यस्ता कम्पनीमा लगानी गरेर नाफा आर्जन गर्न सक्ने देखिन्छ । तर, लगानी गर्दा कम्पनीको समग्र पक्षलाई ध्यान दिन आवश्यक रहेको उनीहरू सुझाउँछन् ।  बाँकी ६ ओटा बैंकमध्ये दुई ओटाको शेयर मूल्य नेटवर्थभन्दा १०० रुपैयाँभन्दा बढी र चार ओटाको शेयर मूल्य नेटवर्थभन्दा दोब्बर छ ।  वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार अहिले वाणिज्य बैंकको नेटवर्थ न्यूनतम रू. १३६ दशमलव ८२ अधिकतम रू. २०५ दशमलव ५८ देखिएको छ । सबैभन्दा कम नेटवर्थ कुमारी बैंकको रू. १३६ दशमलव ८२ रहेको छ । यस बैंकको शेयर मूल्य बिहीवार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता रू. १४० दशमलव ६ मा कायम भएको छ । जुन नेटवर्थको २ दशमलव ७६ प्रतिशत मात्रै बढी हो ।  सबैभन्दा कम नेटवर्थ भएको वाणिज्य बैंकको सूचीमा दोस्रोमा प्रभु बैंक छ । बैंकको प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ०२ रहेको छ । यस बैंकको शेयर मूल्य बिहीवार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता रू. १४३ रहेको छ ।  सबैभन्दा बढी नेटवर्थ भएको बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकको नेटवर्थ रू.२०५ दशमलव ५८ रहेको छ । यस बैंकको शेयर मूल्य बिहीवार दोस्रो बजारमा प्रतिकित्ता रू. ५२० छ ।  नेप्सेमा सूचीकृत कम्पनीमध्ये धेरै चुक्ता पूँजी भएका कम्पनी यही समूहमा पर्दछन् । अत्यधिक चुक्ता पूँजीका कारण बैंकको शेयर आपूर्ति बढी रहेका कारण अहिले नेटवर्थकै हाराहारीमा कारोबार हुन थालेको जानकार बताउँछन् ।  कम्पनी बन्द हुँदा शेयरधनीले पाउने प्रतिशेयर मूल्यलाई प्रतिशेयर नेटवर्थ चिनिन्छ । नेप्सेमा कम्पनी सूचीकरण भएपछि पहिलो कारोबारका लागि नेप्सेले मूल्य तोक्ने गरेको छ । नेप्सेले कम्पनीको नेटवर्थको १ देखि ३ गुणासम्म उक्त मूल्य तोक्ने गरेको छ ।  बैंकको शेयर मूल्य र प्रतिशेयर नेटवर्थ  स्रोत : नेप्से र दोस्रो त्रैमासिक वित्तीय विवरण ।

सम्बन्धित सामग्री

प्रिमियम मूल्यको आईपीओभन्दा दोस्रो बजारको शेयर सस्तो

काठमाडौं । पछिल्लो समय कम्पनीहरूले धमाधम प्रिमियम मूल्यमा शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरिरहेका छन् । प्रिमियम मूल्यको बीमा र हाइड्रोपावर कम्पनीको शेयरभन्दा सस्तैमा धितोपत्रको दोस्रो बजारमा शेयर पाइन थालेको छ । सन नेपाल लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, मान्डू हाइड्रोपावर, सोनापुर मिनरल्सले प्रिमियमसहित प्रतिकित्ता ११६ देखि २५७ रुपैयाँसम्ममा आईपीओ विक्री गरेका छन् । यस्तै सिटिजन लाइफले पनि भदौ १५ गतेदेखि प्रिमियम मूल्यसहित प्रतिकित्ता २४४ रुपैयाँमा साधारण शेयरको सार्वजनिक निष्कासन गर्दै छ ।  प्राथमिक बजारमा प्रतिकित्ता २ सय रुपैयाँभन्दा बढी तिर्नुपर्ने आईपीओ विक्रीमा आउँदा पनि लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । हरेक कम्पनीको आईपीओमा १२/१५ लाख जनाले आवेदन दिने गरेका छन् । तर, दोस्रो बजारमा सोभन्दा कम मूल्यमा शेयर पाउँदा लगानीकर्ताको आकर्षण देखिएको छैन । सूचीकृत कम्पनीमध्ये वाणिज्य बैंक र हाइड्रोपावरको शेयर मूल्यमा ठूलो गिरावट आएको छ । अहिले सबैभन्दा सस्तो शेयर मूल्य हुने कम्पनीहरू पनि यी समूहका छन् । पूँजीबजार विज्ञ मुक्ति आर्याल प्रिमियमको आईपीओबाट छोटो समयमै राम्रो प्रतिफल पाइरहेकाले त्यसमा लगानीकर्ताको आकर्षण बढेको बताउँछन् । उनले आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियमसहित प्रतिकित्ता रू.२३६ दशमलव ९१ मा आईपीओ विक्री गरेको उदाहरण दिँदै भने, ‘कम्पनीको पहिलो कारोबार नै प्रतिकित्ता रू.५२९ दशमलव ५० मा भएको थियो । यसले गर्दा लगानीकर्ताले छोटो समयमै राम्रो प्रतिफल पाए ।’ सूचीकृत हुनेबित्तिकै कम्पनीको शेयर मूल्य बढ्ने भएकाले लगानीकर्ताको आकर्षण बढेको हुनसक्ने उनको अनुमान छ । वाणिज्य बैंकको शेयर मूल्य बढे पनि कम बढ्ने र धेरै चुक्ता पूँजी भएकाले लगानीकर्ताको आकर्षणमा नपरेको उनको बुझाइ छ । त्यस्तै मर्जर तथा एक्वीजिशनपछि वाणिज्य बैंकको संख्या अहिले २० मा झरेको छ । मर्जरपछि बढेको पूँजीअनुसार व्यापार वृद्धि गर्न नसक्दा यिनीहरूको प्रतिशेयर आम्दानीसँगै बजार भाउ पनि निकै तल झरेको जानकार बताउँछन् । त्यस्तै धेरै जनाको हातमा शेयर भएकाले यसलाई अन्य सेक्टरको शेयरजस्तो चलाएर ठूलो पूँजीगत लाभ लिन सक्ने अवस्था नभएकाले पनि लगानीकर्ताको आकर्षणमा नपरेको देखिन्छ । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकहरूको खराब कर्जा निकै बढेको छ । यसकारण पनि लगानीकर्ताको रोजाइमा उनीहरूको शेयर नपरेको हो ।  समग्र शेयरबजारमा आएको गिरावटका साथै वित्तीय प्रणालीमा देखिएका समस्याले पनि बैंकको शेयर मूल्यमा प्रभाव पारेको देखिन्छ । वित्तीय प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुनु, महँगो ब्याजदर, बढ्दो खराब कर्जालगायत कारणले बैंकको शेयर सस्तिँदै गएको हो ।  नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ ओटाको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । कुमारी, प्रभु, नेपाल इन्भेष्टमेण्ट मेगा, लक्ष्मी, प्राइम कमर्सियल र सिटिजन्स बैंकको शेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ । यी ६ बैंकमध्ये सबैभन्दा सस्तो कुमारी बैंकको शेयर मूल्य मंगलवार प्रतिकित्ता रू.१५७ दशमलव ४० मा बन्द भएको छ ।  त्यस्तै प्रतिकित्ता रू.२ सयदेखि २५० दशमलव १० सम्ममा हिमालयन, ग्लोबल आइएमई, एनएमबि र नेपाल बैंकको शेयर पाइन्छ । यी वाणिज्य बैंकबाहेक हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि निकै सस्तिएको छ ।  मंगलवार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१३५ दशमलव ३० र नेशनल हाइड्रोपावरको कम्पनीको रू.१४६ दशमलव ४० कायम भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश जलविद्युत् कम्पनीको नाफा घटेको छ । यसकारण पनि उक्त समूहको शेयरमा लगानीकर्ताको चासो नपरेको अनुमान गरिको छ ।

प्रि ओपन सेसनमा ७.१० अंकले बढ्यो नेप्से

नयाँ वर्षको पहिलो दिन आज आइतबार प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से अंकले बढेको छ । प्रि ओपन सेसनमा सूचक ७.१० अंकले बढेर २४२२.३४ को बिन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा २० कम्पनीको १ हजार १ सय ४८ कित्ता शेयर खरिद बिक्रिबाट ४ लाख १९ हजार १ सय ४५ रुपैयाँको कारोबार भएको छ । प्रि ओपन सेसनमा २ प्रतिशतले शेयर मूल्य बढ्नेमा अधिकांश वाणिज्य बैंक रहेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ ।