साउन २०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको सात मिनेटमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७६१ दशमलव २ मा कारोबार भइरहेको छ ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग २ लाख ३७ हजार ९४८ कित्ता रहेको छ भने र विक्री माग आठ कित्ता मात्र रहेको छ ।
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेका कारण पनि प्राधिकरणको सहायक परियोजनाको रुपमा रहेको उक्त कम्पनीको शेयर मूल्य बढेको हो ।
यसैगरी राष्ट्रिय गौरवको ४५६ मेगावाटको उक्त कम्पनीबाट आगामी साउन २१ गतेबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन हुने समाचार सार्वजनिक भएसँगै कम्पनीको शेयरमूल्य बढेको हो ।
परीक्षणको रुपमा चार ओटा युनिटबाट विद्युत् उत्पादन गरिरहेको आयोजनाबाट साउन २१ गतेदेखि ७६ मेगावाट विद्युत् व्यवसायिक रुपमा उत्पादन शुरु हुने भएको हो ।