मंसिर १३, काठमाडौं । कारोबारको पहिलो दिनमै न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३१० दशमलव ५० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २ लाख ३४ हजार ४६९ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२८२ दशमलव ३ मा शुरु भएको हो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ८ दशमलव १५ प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. ३०५ दशमलव ३० पुगेको हो । कम्पनीको शेयर गत बिहीवार मंसिर ९ गते हुनुपर्नेमा म्याचिङ नभएर हुन सकेको थिएन ।
कम्पनीको १ करोड ५० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू.९४ दशमलव १३ देखि २८२ दशमलव ३९ ओपन रेञ्ज तोकेको थियो ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको २५ लाख ५० हजार कित्ता,उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको १ करोड ९ लाख ५० हजार कित्ता गरेर कुल १ करोड ५० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको सिम्बोल एनवाइएडीआई रहेको छ ।