कारोबारमा आएको पहिलै दिनमै सुपर मादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । कारोबारमा आएको पहिलो दिनमै सुपर मादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ३२८ दशमलव ९० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा पनि कम्पनीको शेयरमा ६४ हजार १६० कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ । कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि आएको स्पेशल प्रि-ओपन सेसनमा प्रतिकित्ता रू. २९९ मा पहिलो कारोबार भएको थियो । कम्पनीको शेयर गत बिहीवार सूचीकृत भएको थियो ।  नेप्सेले पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु. ९९ दशमलव ३० देखि अधिकतम रू. २९९ दशमलव ४० सम्मको मूल्य रेञ्ज तोकिदिएको थियो । सोही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवार कारोबारमा आएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको १० लाख ५० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको २१ लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ७८ लाख ५० हजार कित्ता गरी कुल २ करोड १० लाख साधारण शेयर सूचीकृत गराएको थियो ।