करको विषयले प्यानिक भए लगानीकर्ता, ७ दिनमा लिएको उचाइ ३ दिनमै ढल्यो

काठमाडौं । आगामी आर्थिक वर्षको लागि बजेटमा गरिएका करका विषयमा दुविधा हुँदा लगानीकर्ताहरू प्यानिक भएको देखिन्छ । दुई कारोबार दिनमा नेप्से परिसूचक ४ दशलमव ८ प्रतिशत घटेको छ । सात कारोबार दिनमा १४० अंक बढेको बजार तीन दिनमै १०९ अंक घटेको छ ।  पूँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताले बताएका छन् । बजेटमा लगानीकर्ताले हाल तिरिरहेको पूँजीगत लाभकर अन्तिम नभएको अर्थ लाग्ने भाषा प्रयोग गरिएको छ । बजेट शेयर बजारमैत्री नभएको भन्दै लगानीकर्ताहरू रुष्ट भएको देखिन्छ ।  लगानीकर्ताहरूले सरकारले तत्काल निणर्य नसच्याए आन्दोलनमा उत्रिनेसमेत चेतावनी दिएका छन् । आफूहरूले तिरेको पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता नदिइए आन्दोलनमा उत्रिने लगानीकर्ता संगठनहरूले बुधवार विज्ञप्तिमार्फत जानकारी गराएका छन् । आज लगानीकर्ता संगठनहरूले नेपाल धितोपत्र बोर्डमा गएर विरोध जनाएका हुन् ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत यस्तो आम्दानीमा कर लगाउने घोषणा गरेका हुन् । सरकारले जेठ १५ को बजेटमार्फत बैंक, वित्तीय संस्था र बिमा कम्पनीहरूको मर्जर प्राप्ति र एफपीओ निष्कासनमार्फत भएको नाफामा एकै पटक कर तिर्नुपर्ने बताएपछि लगानीकर्ता झन् प्यानिक भएको देखिन्छ ।  साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक २ दशमलव शून्य ६ प्रतिशत अर्थात् ३८ दशमलव ८३ अंक घटेर १ हजार ८४९ दशमलव ७९ विन्दुमा झरेको छ । यस दिन २६२ धितोपत्रको ८७ लाख ३६ हजार १२८ कित्ता ३६ हजार ८९३ पटकमा रू. २ अर्ब ३१ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ४० पुगेको हो । त्यस्तै दोस्रोमा माई खोला हाइड्रोपावरको शेयर मूल्य ६ दशमलव ४३ प्रतिशत बढेर रू. २९८  पुगेको छ ।  बुधवार युनिभिलर नेपालको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३० हजार ८४ दशमलव ३० मा झरेको छ । त्यस्तै एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ७५ प्रतिशत घटेर रू. ३२७ दशमलव ५० कायम भएको हो ।  यस दिन प्रभु बैंकको संस्थापक शेयर सर्वाधिक रू. ३४ करोड २८ लाख बराबर भएको छ । त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट्सको रू. ११ करोड ६५ लाख बराबर कारोबार भएको हो ।  बुधवार १३ ओटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३ दशमलव ५३ प्रतिशत घटेको हो । यस समूहको कम्पनी युनिभिलर नेपालको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । त्यसैगरी सेन्सेटिभ इन्डेक्स २ दशमलव शून्य २, फ्लोट इन्डेक्स १ दशलमव ९७ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ८५ प्रतिशत घटेका छन् ।