नेपाली समाजमा पहिला धर्मको डर थियो । जसले गर्दा कुलमा दाग लाग्ला भनेर कसैले पनि धर्मको विरुद्धमा गएर केही काम गर्न सक्दैनथे । अहिले समाज निकै स्वार्थी बन्दै गएको छ । नैतिकताको मार्ग देखाउने सत्कर्ममा लाग्न प्रेरणा दिने धर्मबाट केही प्राप्ति नहुने भएपछि कोही कसैको ज्ञानगुनको कुरा सुन्नसमेत चाहँदैन । अहिले धेरैमा जर्ति र फोसा खाने बानीले गर्दा भक्ष्य र अभक्ष्य सबै पाच्य भएको छ । कमाउने उद्देश्यको चस्का सबैमा बसेको छ । त्यो बैध र अबैध के हो भन्ने कसैलाई मतलव छैन । पाँच राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपालको गठबन्धन मिलेर बनेको यो सरकारलाई विश्वासको मत दिँदा १६५ सांसदको बलियो समर्थन रहेकोमा दुईमत छैन । देउवा नेतृत्वको सरकारले पद्धतीय व्यवहार र अन्तरविरोधलाई चिर्दै कठिन परिस्थितिमा लोकतन्त्र जोगाउन यो गठबन्धन बाध्यताको उपज हो । यसमा जस र अपजसको बोझ भने एक्लो काँग्रेसमाथि तेर्सिने गर्दछ । तसर्थ यसबाट एकल नेतृत्वको जस्तो कल्पना गर्न सकिन्न । चाहे भने यो पाँच दलले ‘बयम पञ्चम, बयम पञ्चम, बयम पञ्चम शतानिते’ भएर शतिशालझैँ उभिन सक्दछन् । नेतृत्वले यसमा कसरी फुकीफुकी पाइला चाल्दछ, त्यसको परीक्षण वर्तमान समयमा हुने नै छ । चारै वेदको मन्त्रले तान्त्रिक विधिअनुसार शिवजीलाई पूजा गरेझैँ यी दलको कामलाई जनताले पूजा पनि गर्दछन्, जसरी शिवको पाँच मुहार सद्योजात, वामदेव, तत्पुरुष, अघोर र इशानलाई पुज्दछन् ।