कालमहिमा

२० वर्षअघि अमेरिकाले अफगानिस्तानमा रोपिदिएको प्रजातन्त्र तालिवानले उखेलिदिएको छ । यता ३०औं वर्षदेखि नेपाली जनताले पटक पटक लडेर ल्याएको संसदीय प्रजातन्त्र तिनै जनताले बनाएका तथाकथित नेताहरूले मिलेर उखेल्दै छन् । अरू त अरू आफूलाई संसदीय व्यवस्थाको मसिहा ठान्ने कांग्रेसले पनि संसद्को विशेष अधिवेशनमा हँसिया चलाएर हठात् अन्त्य गरेर अध्यादेशमार्फत शासन गर्न थालिसकेको छ । अध्यादेश ल्याएर शासन गर्न खोजेकै निहुँमा हटाइएका ओलीले अहिले देउवाले अध्यादेशमार्फत शासन गर्न थाले भनेर विरोध गरेका छन् । कहिले सासुको पालो कहिले बुहारीको पालो । प्रकृतिको नियम बदलिन सक्छ, तर नेपाली नेताका चरित्र बदलिँदैन । त्यसैले चितामा जाँदै गर्दा पनि कतै पद पाउने देखियो भने देशको चिन्ता देखाएर नभएको युवाजोश निकालेर वृद्ध नेता सिंहदरबारतिर हाम्फाल्न बेर लाउँदैन । गतवर्ष मात्र संसद्का लागि सवा अर्ब खर्च भएछ । तर संसद्ले एउटा पनि कानून बनाएन । जनताको पसिनाको कमाइबाट सुविधा टन्न लिने, तर काम चैं सिन्को पनि नभाँच्ने हो भने संसद् किन पो चाहिएला र ? सिन्को नभाँचे नि संसद् भवनभित्रको कुर्ची भाँच्न भने अब्बल छन् हाम्रा सांसदहरू ! संसदीय प्रजातन्त्रको जननी बेलायतमा कानून बनाउन संसद्का बैठकहरू बस्छन् । यहाँ कानून बनाउन संसद् बन्द गरिन्छ । बेलायतजस्तो राजतन्त्र भएको प्रतिगामी मुलुकमा पो त्यस्तो हुन्छ । हामी अग्रगामी पो हाैं, बेलायतको जस्तो त गर्नु भए नि । कसो ? बजारमा कि शेयरको कि त सांसदको खरीदविक्री बढेको छ । अरू सबै कुरा ठप्पै छ । राजनीतिमा व्यक्ति पूजा हुन थालेपछि कार्यकर्ता भक्तमा रूपान्तरित हुन्छन् । तपाईं भन्नुहोला– यो कस्तो अन्धायुग आयो ? तर आएको त धन्दायुग हो । धन्दाको बनोट चाहिँ बन्दा जस्तो हुन्छ पत्रैपत्र । धन्दाकारीहरूले जनतालाई वर्षौंदेखि दुई कुरा खुब बेचिरहेका छन्– डर र सपना । यो नेतातन्त्रको मनी मन्त्र हो, सपनाको शोरूम खोलेर डरैडरका सामान बेचिरहने । त्यसो भए नेपालका राजनीतिक दलहरूको वर्षौंदेखिका बखेडाहरू के हुन् त ? सार्थक मुद्दाहरूबाट जनताको ध्यान अन्यत्र मोड्ने निरर्थक विवाद हुन् । सुन्नुभएकै होला नि, चील आयो चील आयो भनेर कुखुरा चोर्न पल्केको छट्टु स्यालको कथा । अहिले तिनै स्यालहरू सांसद बनेर सत्तामा गएर सालासालीसम्मको सपना पूरा गर्न जनतालाई बेवकुफ बनाइरहेका मात्र हुन् । विवाद देश र जनताका मुद्दाको हितमा हुन्थ्यो भने त जनताले थाहा पाइहाल्थे । दलका बखेडा जनताका हितमा हुँदै होइनन्, नेताहरूका सीटका लागि मात्र हुन् । यो नै दुःखको कुरा हो । प्रकृतिको नियम बदलिन सक्छ, तर नेपाली नेताका चरित्र बदलिँदैन । त्यसैले चितामा जाँदै गर्दा पनि कतै पद पाउने देखियो भने देशको चिन्ता देखाएर नभएको युवाजोश निकालेर वृद्ध नेता सिंहदरबारतिर हाम्फाल्न बेर लाउँदैन । त्यसो त नेपालमा क्रान्तिकारी हुँ भन्दै वैकल्पिक दलहरू पनि अस्तित्वमा आएका छन् । सरकारमाथि धुँवाधार हमला पनि गरिरहेका छन् । तर हौसिहाल्नु पर्दैन । किनकि हमला ट्वीटरमा गरिरहेका छन् ! अचम्म त त्यतिबेला लाग्छ, सरकार बाहिर बस्दा सत्तामा बस्नेले गरेका सबै काम श्वेतपत्रमा समेत कालो र अँधेरो देखिन्छ । भ्रष्टाचार जहिले पनि पुरानो सत्ताको विरासत हुन्छ । सत्तामा पुगेको दुई–चार महीनापछि नै आफ्नो शासनमा देशले खुब विकास गरेको डिङ हाँक्न शुरू हुन्छ । अर्थात् आफू सत्तामा पुग्नासाथ रामराज्य शुरू हुन्छ । तर वास्तविकता हेर्न गाउँको त कुरा छाडौं, शहरबाट २–४ किलोमिटर बाहिर पनि पुग्नु पर्दैन, शहरभित्रकै सडक हेरे पुग्छ । २५ रुपैयाँ बोतलमा पानी किन्न पाइन्छ भनेको विकास हो र ? बरु यो त लोकतन्त्रको गालामा थप्पड होइन र ? किनकि यो ३० वर्षमा जनतालाई शुद्ध पानी पनि पिलाउन नसक्नेले बाँकी काम के चैं गर्लान् भनेर आश गर्ने ? त्यसैले सरकारले जतिसुकै विकासको गफ दिए पनि, जतिसुकै डिजिटल डिजिटल भनेर नारा लगाए पनि गुगलबाट दालभात डाउनलोड गरेर खान मिल्दैन क्यारे ! केही अनलाइन पोर्टल, फेसबुक खाता र युट्युबेहरूकोे चर्तिकला देखेर देश पूरै डिजिटल युगमा पुगिसकेको भनेर सरकारले मान्छ भने मेरो भन्नु केही छैन । नेपाली भोटर पनि यस्ता छन् कि बाटामा भेटिने पत्थरलाई देवता बनाउन बेरै लाउँदैनन् । परिणामस्वरूप देशमा जुत्ता सिलाउनेहरू भोकभोकै मरिरहेका छन् । तर जुत्ता खानुपर्नेहरू सत्तामा बसेर तलब, भत्ता खाइरहेका छन् । ‘रौप्दछौं हामी, गोड्दछौं हामी, दाइँ गर्छ अर्कै, पाखाको आई’ भनेजस्तै देशको अर्थतन्त्रको चक्र चलाउन दिनरात मेहनत गर्छन् कोही, तर सत्ताको तर मार्न पुगिरहेछन् कोही । हरेक कुरामा मूल्यवृद्धिले शतक पार गरेको छ र अरू थप वृद्धि हुनेवाला छ । सन्तोष यो कुरामा लाग्छ कि मूल्यवृद्धिको भार हाम्रा नवराजाहरूले पनि झेल्नुपर्नेछ । तर दुःखको कुरा यो छ कि राजाहरूको रथको जुवा हामी प्रजाकै काँधमा टिकेको हुन्छ । राजाका हेलिकोप्टरहरू हामी जनताकै रगत पसिनाकै इन्धनबाटै उड्ने गर्छन् । त्यसैले देउवा पाँचौंपटक प्रधानमन्त्री बन्नुभन्दा पहिले म भाग्यलाई मान्दैनथेँ । अहिले भने मान्न थालेको छु !   हिजो सत्तामा हुँदा ओलीजी कसैको सुन्दैनथे । अहिले देउवा पनि श्रीमतीबाहेक कसैको सुन्दैनन् । तर भन्छन् नि समय बलवान् छ । समयले सबैको एक एक हिसाब लिन्छ नै । हिजो बालुवाटारबाट सुशासनको नारा दिनेहरू पछि बालकोटको बार्दलीमा सीमित हुन पुगे । त्यसो त २०० वर्ष देशमा शासन गर्नेहरू नागार्जुनको डाँडोमा थन्किएका छन् । तर बेलाबेलामा नागार्जुनबाट तल ओर्ले भने मान्छे तर्सिन छाडेका छैनन् । समय लाग्छ, मानिसको स्मृतिबाट कुनै कुरा हराउन पनि । कालचक्रले सबै कुरा नष्ट गर्ने पनि होइन रहेछ । आफ्नै पेटमा राखेर आफूखुशी फेरि प्रकट पनि गरिदिँदो रहेछ । कालचक्र नै सबथोक रहेछ । त्यसैले त कवि शिरोमणिले कालमहिमा लेखेका रहेछन् । काल अर्थात् समयको अगाडि कसैको केही नलाग्दो रहेछ ।