काठमाडौं । साना किसान विकास लघुवित्तले प्रस्तावित लाभांश संशोधन गरेको छ । यसअघि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले संशोधन गरी १५ प्रतिशतमा सीमित गरेको हो ।
यसअघि मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरेकोमा नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले लाभांश संशोधन गरेको हो । मङ्सिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि मात्र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । संशोधित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
यस वर्ष कम्पनीले गत वर्षको भन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।