सरकार र सर्वसाधारणको लापर्वाहीका कारण कोभिड–१९ को महामारी भयावह बन्न सक्ने सम्भावना बढेको छ । २४ घण्टाभित्र २८ जनाको मृत्यु र ३ हजार १२२ संक्रमित भएका छन् जुन हालसम्मकै सर्वाधिक संख्या हो । संक्रमणको क्रम जसरी विस्तार हुँदै गएको छ त्यसले केही दिनभित्रै नेपालको स्वास्थ्य प्रणालीको यो धान्नै नसक्ने गरी भयावह हुने निश्चितप्रायः देखिएको छ । नेपालगञ्जमा भयावह भइसकेको छ भने काठमाडौं उपत्यकामा पनि करीब करीब उस्तै अवस्था आउन लागेको छ । तर, सरकारले यस भयावह समस्यासँग जुध्न र जनतालाई जोगाउन पर्याप्त चासो दिएको देखिँदैन ।
विश्व स्वास्थ्य संगठनले भनेका र जनस्वास्थ्यविद्ले दिएका सुझावलाई गम्भीर भएर मनन नगरी कार्यान्वयन नगरे यो संकट पूरै नियन्त्रणबाहिर नजाला भन्न सकिँदैन ।
हो, कोरोनाको पहिलो लहरसँग सबैजना डराएका थिए । सरकारले अर्थतन्त्रमा गम्भीर क्षति पुगे पनि बन्दाबन्दीजस्तो कडा उपाय अपनाएको थियो । त्यही कारण अहिलेको गतिमा कोरोना फैलन सकेको थिएन । तर, अहिले भौतिक दूरी कायम राख्नुपर्ने कुरालाई सरकारले नै धज्जी उडाएको अवस्था छ, नागरिकको स्वभाव पनि उस्तै छ ।
राजनीतिक विवाद उठाएर त्यसकै नाममा भएका भेला र प्रदर्शनले आममानिसमा स्वास्थ्य सतर्कता नअपनाउन प्रोत्साहित गर्यो । भारतमा कोरोनाको भयावहता देखिँदादेखिँदै पनि प्रधानमन्त्री स्वयंले यो केही होइन भन्ने खालको सन्देश प्रवाहित गर्नुभयो । विभिन्न उद्घाटनका लागि भीडभाड बढाउने कामसमेत उहाँबाट भएको पाइन्छ । यसकै परिणाम अहिले सर्वसाधारण नागरिकले भोग्नुपर्ने अवस्था आएको छ ।
हो, सरकारले भ्याक्सिन ल्याएर अग्रपंक्तिमा खटिने व्यक्तिहरूलाई खोप लगायो । त्यस्तै विभिन्न प्राथमिकता तोकेर केही अंश नागरिकलाई खोपको जोहो गर्नसक्नु राम्रो काम हो । तर, भ्याक्सिनको अविश्वास गरेर प्राथमिकतामा परेका कैयौंले खोप लगाएनन् । सरकारले भ्याक्सिन आयातका लागि गम्भीर कूटनीतिक पहल थाल्नुपर्नेमा त्यसो हुन सकेको देखिँदैन । त्यस्तै भ्याक्सिन लगाउँदा शतप्रतिशत सुरक्षित होइँदैन तर धेरै नै जोगिन सकिन्छ भन्ने सन्देश फैलाउन पनि आवश्यक देखिएको छ ।
तत्कालको समस्या भनेको अक्सिजन, भेन्टिलेटर, अस्पतालको बेड आदिको जोहो गर्नु हो । नेपालका अक्सिजन प्लान्टहरूलाई पूर्ण उत्पादन गराउन लगाइहाल्नुपर्छ । अहिले भारतबाट अक्सिजन सिलिन्डर ल्याउन सम्भव नभएकाले बंगलादेश, पाकिस्तान, चीन आदि मुलुकबाट ल्याउन पहल थालिहाल्नुपर्छ । स्वास्थ्य मन्त्रालयले सम्भावित भयावह अवस्थाको पूर्वानुमान गरिसकेको अवस्थामा त्यो चुनौतीको सामना गर्न तयारी थाल्न ढिला गर्नु हुँदैन । तर, सरकारको काम गराइको शैली हेर्दा अझै पनि नेपालीलाई कोरोनाले केही गर्दैन भन्ने सोच नै छ कि भनेजस्तो देखाएको छ ।
अघिल्लो पटकको कोरोनाको लहरबाट नेपालले पाठ सिक्ने सकेको खासै देखिँदैन । केही भौतिक पूर्वाधार बन्यो । तर, भारतमा संक्रमण डरलाग्दो स्तरमा पुगिसक्दा पनि त्यसबाट पाठ सिकेर तयारी थाल्न पहल भएन । अझै पनि सिमानामा पर्याप्त परीक्षण, आइसोलेशन आदिको काम भएको छैन ।
नेपालले भारतको दुर्दशाबाट पनि पाठ सिक्न सकेको छैन । त्यहाँबाट आइरहेका समाचारले अन्तरराष्ट्रिय रूपमै उसको अवस्थाप्रति चिन्ता प्रकट गर्न थालिएको छ । चुनावमा मात्रै चासो दिएको आरोप संघीय सरकारमाथि लागेको छ । नेपालको अवस्था पनि त्यस्तै खालको देखिन्छ । नेपालले तत्काल अस्थायी अस्पतालहरूको व्यवस्था गर्नुपर्छ । टेन्टहरू राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ पनि सोच राखी तयारी गर्न ढिला थाल्नु हुँदैन । आविष्कार केन्द्रले भेन्टिलेटर मर्मत गरेर सहयोग गरिरहेको छ । यस्तो सहयोग अन्य संस्थाहरूबाट पनि लिन सकिन्छ भने त्यस्ता संस्थाहरू खोजेर सहयोग र सहकार्य थाल्नुपर्छ । युवाहरूलाई कोरोनाले केही गर्दैन भन्ने गलत सोच हटाउन पनि अभियान सञ्चालन गर्नुपर्छ ।
कोरोनाको तेस्रो लहर पनि आउन सक्छ । तर नेपालको तयारी भने निराशाजनक देखिन्छ । विश्व स्वास्थ्य संगठनले भनेका र जनस्वास्थ्यविद्ले दिएका सुझावलाई गम्भीर भएर मनन नगरी कार्यान्वयन नगरे यो संकट पूरै नियन्त्रणबाहिर नजाला भन्न सकिँदैन । कोरोनाबारे धेरै तथ्य अझै थाहा नभएको अवस्थामा यसबाट जोगिन सामाजिक दूरीलगायत सतर्कता अपनाउन कडाइ गर्नुको विकल्प देखिँदैन ।