कुखुराको दानाको कच्चा पदार्थ खरिदका लागि मासिक करिब ७० करोड रुपैयाँ विदेशिइरहेको छ । नेपालमा माग अखुसार कच्चा पदार्थ उत्पादन हुन नसक्दा यो रकम विदेशिएको हो । अहिले देशमा दानाको माग दैनिक १ हजार ६ सय टन छ र दानाको कच्चा पदार्थ ६० प्रतिशतसम्म विदेशबाट आयात भइरहेको छ । दानाको मूल्य प्रतिटन २७ हजार पर्छ । दाना निर्माणका लागि मकै, भटमास तिलको पिना, तोरीको पिना, ढुटो, र बोनमिल आवश्यक पर्छ । यसमा खनिज, भिटामिन तथा अन्य लवण तथा रसायनहरुको मिश्रण गरिन्छ । ‘४० प्रतिशत मकै र तोरीको पिनामात्र नेपलमा उत्पादन हुन्छ अरू सबैका लागि विदेशमै भर पर्नुपर्छ,’ नेपाल दाना उद्योग संघका अध्यक्ष नारायणहरि खत्रीले भने ।
दाना निर्माणमा ५० प्रतिशत भन्दा बढी हिस्सा मकैको हुन्छ । तर यो वर्ष तराईमा मकैको उत्पादन कम भएकाले थप मकै भारतबाट भित्र्याउनुपर्ने खत्रीले बताए । मकै तिलको पिना, भटमासको पिना, ढुटो, बोनमिल भारतबाट ल्याइन्छ । भिटामिन, लवण, खनिज लगायतका रसायन अमेरिका, थाइल्यान्ड, सिंगापुर, चीन, कोरिया, फ्रान्स लगायतका देशबाट आयात गरिन्छ ।
वर्ष ५, अंक ४३, २०६७, असार १४– २०