पाँच दिन आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । चिकित्सक आन्दोलनका कारण पाँचौं दिन मंगलबार देशभरका ओपिडी सेवा ठप्प भए । माग पूरा नभएसम्म अनिश्चतकालीन आन्दोलन जारी राख्ने नेपाल चिकित्सक संघले जनाएको छ । ‘स्वास्थ्यमन्त्रीले हाम्रो माग प्रधानमन्त्रीसमक्ष पुर्याउँछु नभनेसम्म आन्दोलन जारी राख्छौं,’ नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने । बिरामीमाथि लापरबाही भएको खण्डमा त्यसको क्षतिपूर्ति चिकित्सकले तिर्नुपर्ने कानुन बनाउन मन्त्रिपरिषद्ले निर्णय गरेपछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए । चिकित्सक आन्दोलनका कारण उपचारसेवा प्रभावित भएपछि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री आउने बेलासम्मका लागि चिकित्सकलाई आन्दोलन स्थगित गर्न आग्रह गरे ।