केही समययता बजारमा पैसाको अभाव छ । मानिसको हातमा पैसा नहुँदा खुद्रा व्यापारीदेखि उद्योगीसम्म समस्यामा परेका छन् । राष्ट्र बैंकका अनुसार २०७७ कात्तिकमा पौने ७ खर्ब बराबरको नगद चलनचल्तीमा रहेकामा २०७९ फागुनमा ६ खर्ब १५ अर्ब रुपैयाँमा ओर्लेको छ । चालू आवको भदौमा ५ खर्ब ९४ अर्ब रुपैयाँ मात्रै चलनचल्तीमा रहेको छ । यसरी चलनचल्तीमा रहेको नगद कहाँ हरायो त ?
बजारमा चलनचल्तीमा रहेको रकम अकस्मात् हराउनुमा जनताले नगद लुकाएर राखेको हुनुपर्यो तर त्यस्तो भएको पुष्टि हुँदैन । त्यसो नभए त्यो पैसा सरकारले बजारबाट उठाएर आफूले थन्क्याएको हुनुपर्यो । सरकारले जनताबाट पैसा उठाउने भनेको कर वा आन्तरिक ऋण हो । राजस्व नउठेर सरकारको टाउको दुखिरहेको छ । आन्तरिक ऋण उठाइएको त छ तर त्यो हराएको रकमको दाँजोमा निकै कम छ । अर्को पैसा हराउनुमा अत्यधिक आयात बढ्नु पनि हो ।
पक्कै पनि नेपालमा निर्यातको तुलनामा आयात बढी हुने गरेको छ तर यो समस्या अहिलेको मात्र होइन । बरु यसअवधिमा विदेशी मुद्रामा चाप परेपछि आयातमा कडाइ गरिएको छ । डलर बाहिरिँदा विदेशी विनिमय सञ्चितिमा निकै दबाब परेपछि सरकार र राष्ट्र बैंकले आयातमा कडाइ गरे । आयातमा कडाइ गरिएका कारण सरकारलाई कर उठाउन समस्या परेको हो भन्न सकिन्छ । यी कारणले पैसा नहराएको हो भने पैसा सबै राष्ट्र बैंकमा थुप्रिएर बसेको हुनुपर्छ । तथ्यांकहरू हेर्दा नेपाली रुपैयाँ राष्ट्र बैंकमा नै थुप्रिएर बसेको पुष्टि हुन्छ ।
विप्रेषण आयका कारण नेपालीहरूको उपभोग प्रवृत्ति निकै बढेको छ । वैदेशिक रोजगारीमा जानेले पठाएको विप्रेषण रकम उपभोगका लागि वस्तु आयात गर्दा विदेशतिर गइरहेको छ । विदेशबाट सामान आयात गर्दा डलर सटही गरिन्छ । त्यसरी डलर सटही गरेको नेपाली रुपैयाँ नेपाल राष्ट्र बैंकमा थुप्रिएको पाइन्छ । अर्को, विदेश पढ्न जाने विद्यार्थीले ठूलो परिमाणमा विदेशी मुद्रा लगिरहेका छन् । त्यसले पनि मुलुकमा पैसाको अभाव चर्किएको देखिन्छ ।
पैसा अभाव हुनुमा अर्को कारण पनि छ । कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई राहत दिन राष्ट्र बैंकले सस्तो ब्याजदरमा पैसा बजारमा पठायो । राहतका लागि सहुलियत ब्याजदरमा उसले २ खर्ब १० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । त्यो पैसा उत्पादनमूलक क्षेत्रमा प्रयोग नभई घरजग्गा र शेयरबजारमा गएको अनुमान राष्ट्र बैंकको छ । त्यही भएर शेयरबजारमा दैनिक कारोबार २१ अर्बसम्म पुग्यो । घरजग्गा पनि निकै चम्कियो । तर, जुन उद्देश्यले सस्तो ब्याजदरमा कर्जा प्रवाह गरिएको हो त्यो उद्देश्य भने पूरा भएन ।
कोरोना सामान्य बन्दै गएपछि राष्ट्र बैंकले सहुलियत कर्जा दिन रोक्यो जसबाट उसले बजारमा पठाएको पुनर्कर्जाको रकम ढुकुटीमा जम्मा हुन पुग्यो । त्यसपछि बजारमा पैसाको अभाव बढी चर्कन थालेको हो । त्यसमाथि राष्ट्र बैंकले कडा खालको मौद्रिक नीति ल्याएपछि बजारमा पैसा प्रवाह हुन अझै घट्यो । अब बजारमा पैसाको अभाव हटाउने हो भने कि त राष्ट्र बैंकले कोरोनाकालमा जस्तै गरी बजारमा पैसा पठाउन पर्यो । तर, त्यसो गर्दा उही पुरानो समस्या बल्झिन थाल्छ । समस्या समाधानको साटो समस्याले निरन्तरता पाउँछ । त्यसैले बजारमा पैसाको प्रवाह बढाउने हो भने कि वैदेशिक लगानी भित्र्याउन सक्नुपर्छ कि विदेशीहरूबाट ऋण र अनुदान बढी लिन सक्नुपर्छ । यी काम गर्न सरकार चुक्दै गएको देखिन्छ ।
नेपालको वैदेशिक ऋण कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशत पुगिसकेको छ । त्यसैले जथाभावी कर्जा लिनु हुँदैन, विचार गरेर परिणाममुखी कार्यमा मात्रै कर्जा लिनुपर्छ । त्यस्तै अनुदान बढाउन पनि सरकारले पहल गर्नुपर्छ । मुलुकमा लगानीको वातावरण बनाउन सके विदेशी लगानी भित्रिन सक्छ । तर, सरकारको कार्यशैली लगानीमैत्री छैन । नेपाली पैसा विदेश गएको छैन, नेपालमै छ तर त्यसलाई उपयोगमा ल्याउन सक्ने तुल्याउन सरकारले विशेष कार्यक्रम नै ल्याउनुपर्छ । पूँजीगत खर्चलाई तीव्रता दिनुपर्छ । रोजगारी सृजना गर्न सके त्यसले पनि बजारमा पैसा प्रवाह बढाउँछ । अन्यथा अर्थतन्त्र जति नै सही छ भने पनि त्यो संकटमा नै रहिरहन्छ ।