असार १८, हेटौँडा । मकवानपुरको हेटौँडामा अन्तरराष्ट्रिय स्तरको कृषि तरकारी थोक बजार निर्माणको शिलान्यास गरिएको छ ।
वाग्मती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा उपमहानगरपालिकाको वडा नं ११ स्थित थानाभरयाङ्गमा दुई बिगाहा ४ धुर क्षेत्रफलमा निर्माण गरिने अन्तरराष्ट्रिय स्तरको कृषि तरकारी थोक बजारको मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रवार शिलान्यास गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले कृषि क्षेत्रको उत्पादन क्षमता बढाउन, उपयुक्त भण्डारण गर्न, ग्रेडिङ, प्रशोधन गरी प्याकिङसहित शीतभण्डारको व्यवस्थालाइ व्यवस्थित गर्न सरकारले यस्तो योजना निर्माण थालनी गरेको बताए ।
मन्त्रालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा परम्परागत कृषि प्रणालीलाइ रुपान्तरण गरी आधुनिक र व्यावसायिक बनाउन थोक बजारको निर्माण गर्न लागेको जानकारी दिइएको छ ।
यसले बजारीकरण गर्न व्यवस्थित एवम सुविधा सम्पन्न कृषि थोक बजार निर्माण गरी देशको कृषि तथा तरकारी खेतीलाई समय सापेक्ष विकास गर्न योगदान पुग्ने विश्वास लिइएको छ । सो योजनाको लागत २८ करोड ३६ लाख ५६ हजार रहेको छ । साथै २०८१ जेष्ठसम्म निर्माण सक्ने लक्ष्य छ । रासस