काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज भएर फागुन २४ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिइसकेको छ । त्यस्तै नेपाल धितोपत्र बोर्डले पनि फागुन ९ गते मर्जरका लागि स्वीकृति दिएको हो ।
दुवै कम्पनी एक भएपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनी १ः०.८५३५ शेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार शुरू गर्न लागेका हुन् ।
मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ । सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो ।
यसअघि असोज ३० गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए । फागुन २४ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै कम्पनीको सबै सेवा फागुन २३ गते अवरुद्ध हुने कम्पनीले जनाएका छन् ।