सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको शेयर कारोबार फागुन २४ गते देखि रोक्का हुने , यस्तो छ कारण ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फागुन २४ गते देखि लागू हुने गरी १५ दिन रोक्का हुने भएको छ ।   यी दुई कम्पनीले मर्जर प्रकृया पुरा गरी फागुन २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएकाले सोही दिनदेखि १५ दिनका लागि कारोबार राक्का हुने कम्पनीले जनाएको छ ।  फागुन २४ गतेदेखि दुबै कम्पनीले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि दुवै कम्पनीको शेयर कारोबार बन्द गर्न निर्णय गरेको जनाएको छ । दुवै कम्पनी एक भएपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनी १ः०.८५३५ शेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ । सामुदायिक र बीपीडब्लु लघुवित्तबीच मर्जरको लागि कात्तिक २ गते अन्तिम सम्झौता सम्पन्न भएको थियो । यसअघि असोज ३० गते सम्पन्न दुवै कम्पनीको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।