प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो प्रमुख भूमिका र जिम्मेवारी रहेको बताउनुभएको छ । डोटीको सिलगढीमा आइतबार उहाँलाई गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै उहाँले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष न्यायपालिकाको मान्यता अक्षुण्ण राख्दै प्रभावकारी न्याय प्रशासन कायम गर्न लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “न्यायपालिकाको नेतृत्व सम्हालेदेखि नै आफूलाई न्यायिक सुधार र न्यायपालिकाको श्रीवृद्धिमा समाहित गर्दै आएको छु, जस अनुसार न्यायिक सुधारका सकारात्मक सङ्केत र उपलब्धिसमेत देखा पर्दै गएका छन् । बाँकी अवधि पनि म त्यसैमा समर्पित गर्ने वाचा गर्दछु ।” स्वच्छ, निष्पक्ष छिटोछरितो गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन तथा सुशासन र विधिको शासनको प्रत्याभूति गर्दै आमनागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्ने कसरतमा आफू रहेको उहाँले बताउनुभयो ।