अर्थतन्त्रमा पर्यटनको विशिष्टीकरण र मूलधारीकरण

नेपालको अर्थतन्त्रमा धेरै महत्त्व दिइए तापनि गतिशीलता प्राप्त गर्न नसकेको क्षेत्र पर्यटन नै हुनपर्छ । कोभिड महामारीबीच जहाँ सामाजिक दूरीको पालना तथा यातायातलाई वर्जित गरिएको हुन्छ, अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन नै किन ? भन्ने प्रश्न उठ्न सक्छ । तर, यसको जवाफ त्यति सहज छैन । नेपालको बहुआयामिक विकासको निम्ति पर्यटनको विशिष्टीकरण र मूलधारीकरणले अर्थतन्त्रका अरू उद्योग र क्षेत्रलाई पनि गतिशीलता दिन मद्दत गर्छ । हुनत नेपालकै संविधानमा नेपालको पर्यटनसम्बन्धी नीति कुँदिएको छ । विभिन्न सम्पदाको पहिचान, संरक्षण, प्रवर्द्धन एवम् प्रचारप्रसारमार्फत राष्टिय अर्थतन्त्रको महत्त्वपूर्ण उद्योगका रूपमा विकास गरी त्यस उद्योगको लाभ स्थानीय जनतालाई प्राथमिकतामा राखी गरिने भनी उल्लेख छ । नेपालको अर्थतन्त्रमा पर्यटनलाई एउटा सम्मानजनक उचाइ त संविधानले दिइसकेको स्थिति छ । संविधान आउनपूर्व पनि नेपाल सरकारको पर्यटन नीति, २०६५ मा आर्थिक परिवर्तनका लागि पर्यटन प्रवद्र्धनको आवश्यकतालाई पहिचान गरी पर्यटनलाई नयाँ आर्थिक विकासको नीतिको उच्च प्राथमिकतामा राखी यसको विकासका लागि सबै मन्त्रालयका नीति तथा कार्यक्रमहरूलाई पर्यटन प्रवद्र्धनोन्मुख हुने भनी चालू नीतिले अख्तियार गरेको अवस्था छ । पर्यटन नीतिले त अझै संविधानले परिकल्पना गरेभन्दा माथि पर्यटन क्षेत्रलाई मूलधारमा ल्याउन कदम चालिसकेको देखिन्छ । नेपालले अवलम्बन गरेको समाजवाद उन्मुख अर्थतन्त्रमा पर्यटन नै यस्तो एउटा क्षेत्र हो जस्को संवाहक निजीक्षेत्र नै हो । बजार अर्थतन्त्रमा पर्यटन एउटा यस्तो उद्योग हो, जसबाट अर्थतन्त्रका अनेक भनौं या हरेक उद्योगसँग उत्तिकै सम्बन्ध हुन्छ । पर्यटनलाई नेपाली अर्थतन्त्रमा तुलनात्मक लाभको क्षेत्रका रूपमा हेरिन थालिए पनि अर्थतन्त्रका अन्य क्षेत्रहरू जत्तिकैको भूमिकामा नरहेको पाइन्छ । यसको ज्वलन्त उदाहरण हो, कोभिडबाट संकटग्रस्त उद्योगहरूको ऋण मिनाहा तथा ब्याजमा सहुलियतको विषय । यो विषय बजेटमा राखिए तापनि नीतिगत अपर्याप्तताका कारण सोको लाभ पर्यटन तथा होटेल व्यवसायीहरूले लिन सकेनन् । पर्यटनलाई राष्ट्रिय योजनामा समाहित गरी यसबाट पाउने लाभलाई देशको आर्थिक विकासमा डोर्‍याउने पर्याप्त कोशेढुंगे निर्णयहरू भएका छन् । नेपाल एकीकृत व्यापार रणनीति २०१६ मा पर्यटनलाई ट्रेड डिफिसिट अथवा व्यापार घाटा कम गराउने उद्योगको रूपमा अवलम्बन गरी यसको योगदानलाई अझै बढाउने गरी नीति तर्जुमा भएका थिए । सोही रणनीतिमा रहेका प्रायः कार्यनीतिहरूको कार्यान्वयन भएको पाइन्छ । आर्थिक कूटनीतिमा पर्यटनलाई समाहित गर्ने विषयमा भने राज्य प्रणाली चुकेको देखिन्छ । पर्यटनलाई विशिष्टीकृत क्षेत्रका रूपमा व्याख्या गरी मूलधारमा ल्याउनसके पर्यटन देशको आर्थिक विकासको महत्त्वपूर्ण खम्बाका रूपमा स्थापित हुन सक्छ । अन्तरराष्ट्रिय व्यापारमाथि प्रतिपादित तुलनात्मक लाभको सिद्धान्तअनुसार कुनै राष्ट्रले त्यसतो चिज वा वस्तुको निर्यात गर्नु उपयुक्त ठानिन्छ जहाँ त्यो वस्तुको उपलब्धता प्रशस्त मात्रामा रहन्छ र त्यसको उत्पादन गर्न अरू देशभन्दा सस्तो रहन्छ । नेपालको पर्यटन यस्तै हो । नेपालमा रहेको प्राकृतिक सुन्दरता तथा छटाहरू यसको आधार हो । पर्यटनको उत्पादकत्वसँग जोडिएको पर्यटन श्रमशक्ति नेपालमा अरू देशको तुलनामा सस्तो नै रहेको छ । देशले लिएको विप्रेषणको नीतिले गर्दा पर्यटनमा आबद्ध श्रमशक्ति सजिलै विदेश पलायनको स्थितिमा रहेको छ । विदेशमा हुने आकर्षक आम्दानीले गर्दा नेपालमा पर्यटनमा आबद्ध जनशक्ति विदेशिन थालेको छ । नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय स्तरमा निर्यातयोग्य सेवाका रूपमा विकसित गर्न यस क्षेत्रलाई देशको आर्थिक तथा राजनीतिक दस्तावेजहरूमा मूलाधारीकरणमा ल्याउन सक्नुपर्छ । देशभित्र उपभोगपछि मात्र निर्यातका लागि कुनै वस्तुयोग्य हुन्छ भन्ने मान्यता रहेको छ । त्यसैले नेपालभित्रै पनि पर्यटनलाई चलायमान बनाउन सरकारले विभिन्न पहल लिँदै आएको छ । सरकारी कर्मचारीहरूलाई पर्यटन बिदा त पर्यटन क्षेत्रको उत्थानका रूपले अत्यन्तै स्वागतयोग्य नै मान्नुपर्छ र निजीक्षेत्रले पनि यस नीतिलाई अवलम्बन गर्नसकेमा नेपालको पर्यटन थप विस्तार हुनेछ । पर्यटन भ्रमणले समग्रमा अर्थतन्त्रको उपभोगलाई बढाउन सहयोग गर्ने र सोहीअनुरूप राष्ट्रिय उत्पादकत्वमा पनि सकारात्मक प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । यसर्थ, नेपालमा विभिन्न समयमा पर्यटनलाई अर्थतन्त्रमा विशिष्टीकरणमा ल्याउने कदम चालिसकेको पाईन्छ । पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ४ देखि १० प्रतिशतसम्मको अंश ओगटेको पाइन्छ । पर्यटनबाट लाभान्वित हुने घर गृहस्थ, कम्पनीहरू तथा राज्यलाई प्राप्त आम्दानीको सूक्ष्म अध्ययनका निम्ति नेपाल पर्यटन बोर्ड, नेपाल राष्ट बैंक र संयुक्त राष्ट्र विश्व पर्यटन संगठनको सहकार्यमा टुरिज्म स्याटलाइट एकाउन्टिङको विस्तृत अध्ययन र अनुसन्धान भइरहेको छ । यस प्रकारको अध्ययनबाट पर्यटनको सूक्ष्म अध्ययनको खाका तथा प्रतिवेदनमार्फत पर्यटन उद्योग तथा व्यवसायको अर्थतन्त्रमा विशिष्टीकरण एवम् मूलधारीकरणमा विशेष भूमिका खेल्नेछ । र, राष्ट्रिय नीति तथा अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई स्पष्ट महत्त्वका साथ हेरिनेछ । महामारीको अन्त्यसँगै अर्थतन्त्रका सबै क्षेत्रले आफ्नो गति लिने नै छ । प्रायशः उद्योगहरू तथा अर्थतन्त्रका विभिन्न क्षेत्रहरू अपरिहार्यझैं भइसकेका छन् । त्यस कारण स्वतः ती क्षेत्र आफ्नो स्वरूप प्राप्त गरिहाल्नेछन् । तर, पर्यटन नै यस्तो विषय हो जुन नेपालको अर्थशास्त्रका विभिन्न दस्तावेजहरूमा र नेपालको अर्थिक नीतिमा तृतीय क्षेत्रको पनि पुछारमा राखिएको छ । महामारीको विश्राम पछि, अन्तरराष्ट्रिय पर्यटनको उदय हुने नै छ, त्यसकारण नेपालको अर्थतन्त्र, व्यापारघाटाको न्यूनीकरणको उत्तम विकल्प र आर्थिक विकासका साथै मानव विकासलाई पनि टेवा दिने हिसाबले पर्यटनलाई अर्थतन्त्रको मूलधार, राष्ट्रिय नीतिको प्राथमिकतामा राखी अन्य सेक्टरलाई समाहित गरी अगाडि बढाउनुपर्छ । त्यस्तै पर्यटनलाई विशिष्टीकरण गरी अरू क्षेत्रलाई समेत मार्गदर्शन गर्नसक्ने क्षमता अभिवृद्धिमा लाग्नु जरुरी भइसकेको छ । लेखक नेपाल पर्यटन बोर्डका अधिकृत हुन् ।

सम्बन्धित सामग्री

अर्थतन्त्रमा पर्यटन क्षेत्रको टेवा

विश्व पर्यटनको सन्दर्भमा कुरो गर्नुपर्दा सन् २०२२ मा विभिन्न मुलुकका ९ सय ६३ मिलियन मानिसहरू पर्यटक भई घुम्न निस्किएका थिए भने त्यसरी घुम्न निस्किएका मानिसहरूले सन् २०२२ मा ७ दशमलव ७ खर्ब अमेरिकी डलर खर्च गरेका थिए । त्यस्तै गरेर सन् २०२३ मा चाहिँ विश्वका विभिन्न मुलुकमा १ दशमलव ३ बिलियन मानिसहरू विभिन्न मुलुकमा घुम्न […] The post अर्थतन्त्रमा पर्यटन क्षेत्रको टेवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्यटन मन्त्रालयको नेतृत्व सधैं अस्थिर : पर्यटनको विकासमा भएन केही पनि काम

पर्यटन क्षेत्रको विकासका लागि स्थिर नीति र सबल कार्यान्वयन चाहिन्छ । सरकार र निजीक्षेत्रबीच कामको तालमेल मिल्नुपर्छ । तर, नेपालमा पर्यटनमा जति उपलब्धि प्राप्त भएको छ त्यो सबै निजीक्षेत्रको प्रयासमा भइरहेको छ । यसको अर्थ सरकारले केही पनि गरेको छैन भन्ने होइन, तर सरकारको कामले पर्यटन क्षेत्रले गरेको प्रगति निकै न्यून छ । सरकारले विकासका लागि प्रतिबद्धताका साथ काम गर्न नसकेको सही हो । त्यस्तै स्थिरता नभएकाले बनेका कार्यक्रम कार्यान्वयन हुन पाएका छैनन् । यस्तो प्रवृत्तिबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन रहेको छ । एक दशकमा डेढ दर्जन मन्त्री फेरिएका छन् । औसतमा हिसाब गर्दा एउटा मन्त्रीले ६ महीनामात्रै काम गरेको देखिन्छ । यो समयमा उसले यो गर्छु र त्यो गर्छु भन्नु भन्दा बढी केही गरेको देखिँदैन ।  चाँडो मन्त्री फेरिनेमा पर्छ पर्यटन मन्त्रालय । गृह, अर्थजस्ता मन्त्रालयमा पुग्न सांसदहरूबीच मारामार नै हुन्छ तर पर्यटन मन्त्रालय उपेक्षित छ । मुलुकको अर्थतन्त्रमा निकै सहयोगी पर्यटन क्षेत्र नै यसरी लथालिंग पारामा चलेको छ । मुलुकले पर्यटनलाई जति नै प्राथमिकता दिएको छ भने पनि त्यो व्यवहारत: प्रमाणित हुँदैन । धन्न, यस्तो बेथितिमा पनि पर्यटन व्यवसायमा ठूलो लगानी भएको छ र लाखौंले रोजगारी पाइरहेका छन् । गत आर्थिक वर्षमा पर्यटक आगमन संख्या पनि निकै बढ्यो । राष्ट्रिय महत्त्वका दीर्घकालीन योजना, विकासका गुरुयोजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरताका लागि मन्त्रालयको नेतृत्व छिटोछिटो परिवर्तन हुनु हुँदैन । अझ, मन्त्री आएपिच्छे फेरिने नारा, प्राथमिकता र कार्यक्रमले पर्यटनलाई निकै असर गर्छ । यसमा राजनीतिक दलहरूको ध्यान जान सकेको छैन ।  पर्यटन मन्त्रालय सबैभन्दा अस्थिर मन्त्रालय देखिएको छ । मन्त्री छिटोछिटो फेरिने र फेरिएका मन्त्रीले आआफ्नै नारा र कार्यक्रमको गफ लगाउने प्रवृत्तिले पर्यटन क्षेत्रले गति लिन सकेको छैन । स्पष्ट योजना भएको व्यक्ति मन्त्रालयमा आएका छैनन्, आशालाग्दो नेताले पनि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् ।  मन्त्रालय र मातहत निकायको योजना र कार्यक्रमको सेवा प्रवाह, प्रभावकारिता, निरन्तरता मन्त्रालयको नेतृत्वसँग गाँसिएको हुन्छ । तर, छिटोछिटो मन्त्री फेरिँदा पर्यटन क्षेत्रका दीर्घकालीन योजना र प्रवर्द्धनात्मक कार्यक्रम अघि बढ्न सकेका छैनन्, चर्चामा आउने कार्यक्रमको घोषणा मात्र भएका छन् । मन्त्री फेरिए पनि मन्त्रालयको स्थायी संयन्त्र चुस्त रहे समस्या पर्दैन थियो । तर, सरकारी संयन्त्रहरू स्थायी ढंगले काम गर्न सक्ने सामथ्र्यका छैनन् । नेतृत्व परिवर्तन भएपछि काममा स्वाभाविक रूपमा केही सुस्ती आउँछ । नेतृत्व फेरिएसँगै नीति पनि फेरिने गरेको छ, जसले गर्दा सरकारी संयन्त्रहरू नेतृत्वले धकेलेर मात्रै अघि बढ्ने र नेतृत्व उदासीन भएमा टालटुले योजना देखाएर जागीर पकाउने मानसिकतामा देखिन्छ । नेपालमा आफ्नो जिम्मेवारीप्रति जवाफदेही हुनुपर्ने प्रणाली नै छैन । न मन्त्री आफ्नो कामप्रति जिम्मेवार देखिन्छन् न कर्मचारी नै । यसको एउटा उदाहरण हो : २०१३ यता नेपाल यूरोपेली संघको कालोसूचीमा रहिरहनु । एक दशकका डेढ दर्जन मन्त्रीले कालोसूचीबाट हटाउने बताए पनि हट्नका लागि आवश्यक काम भने गरेनन् । कुनै पनि पर्यटनमन्त्रीले नेपाल वायुसेवा निगमको सुधारका लागि बलियो काम गर्न सकेका छैनन् । अध्ययन र नेतृत्व परिवर्तनबाहेक सिन्को भाँच्ने काम भएको छैन । यस्तो अवस्थामा पर्यटन क्षेत्र कसरी अगाडि बढ्छ ?  अलपत्र अन्तरराष्ट्रिय विमानस्थल एउटा मात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका भरमा नेपालमा पर्यटक ल्याउनुपर्ने अवस्था छ । त्यसमा पनि यसको स्तरोन्नतिको काम अझै पूरा भएको छैन । यो विमानस्थलको विस्तार हुन नसकेका कारण पटकपटक विमानहरू आकाशमा होल्ड गर्नुपरेको अवस्था छ । सञ्चालनमा आइसकेर पनि गौतम बुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलले व्यवसाय गर्न सकेका छैनन् । भारतले भैरहवा नजिकको हवाई रूट नदिएका कारण यसो भएको देखिन्छ । यद्यपि चीन, थाइल्यान्ड आदि देशबाट हुने उडान पनि पोखरा र भैरहवा पुर्‍याउन सकिएको छैन । पश्चिम क्षेत्रबाट हवाई प्रवेशमार्ग नपाउनुमात्रै यी विमानस्थल सञ्चालन नहुनुको कारण होइन भन्ने यसले देखाउँछ । यहाँ विमानस्थल नै आवश्यक नभएको अवस्थामा यो बनाइएको हो अथवा सरकारले नयाँ विमानस्थलबाट उडान गर्न वायुसेवा कम्पनीहरूलाई पर्याप्त सुविधा दिन नसकेको हो भन्ने यसले देखाउँछ । कुनै पनि नयाँ विमानस्थल सञ्चालन गर्न केही समय लाग्न सक्छ । तर, यतिका समयसम्म एउटा पनि अन्तरराष्ट्रिय उडान नियमित गर्न नसक्नुको कारण सरकारकै कमजोरी नै हो भन्ने देखिन्छ । कुनै पनि मन्त्रीले धेरै समय काम गर्न नसक्नु पनि यसको एउटा कारण हो भन्ने देखिन्छ । नेवानिको बेहाल निजी वायुसेवा कम्पनीले मालामाल कमाइरहेका बेला सरकारी कम्पनी भने सधैं विवादको घेरोमा मात्रै सीमित देखिन्छ । मन्त्री फेरिएपिच्छे आयोग बनाउने, कार्यकारी प्रमुख र अध्यक्ष फेर्ने, नयाँ कार्यक्रम घोषणा गर्ने अनि कामचाहिँ केही पनि नहुने रोग नेवानिको रहेछ । सरकारी प्रभाव र दबाबबाट मुक्त हुने हो भने यसले पक्कै पनि केही व्यावसायिक योजना बनाउन सक्थ्यो होला । न यसलाई विघटन गर्ने हिम्मत कुनै सरकारको देखिएको छ न निजीकरण नै । यी दुवै काम गर्न नसकेको अवस्थामा सरकारी संयन्त्रलाई चुस्त र उत्तरदायी बनाएर विशेष अभियानका साथ पनि यसलाई चलाउन नसकिने होइन । सरकारी कम्पनी भएर पनि नेपाल टेलिकमले निजीक्षेत्रसँग प्रतिस्पर्धा गरेर नाफा कमाएर टन्न बोनस खुवाउन सक्छ भने नेवानिले किन कमाउन सक्दैन ? किन व्यवसाय गर्न सक्दैन ? सरकार फेरिए पनि टेलिकमको आफ्नै व्यावसायिक योजना छ जसमा खासै परिवर्तन भएको पाइँदैन । त्यही मोडलमा नेवानिलाई चलाउन किन सकिँदैन ? निजीक्षेत्रको प्रवेश गराएर शेयर विक्री गरी नयाँ विमान खरीद गर्ने बाटो पनि खुल्छ । तर, यसलाई कोही पनि किन सुधार्न चाहँदैनन् ? एउटा कारण त मन्त्रालयको नेतृत्व नै बढी समय नटिक्नु हो । निगमको दुरवस्था र त्यसबाट पर्यटनमा परेको असरबारे कुनै पनि सरकारले चासो दिएका छैनन् । मन्त्री फेरिएपिच्छे आयोग बनाउने, कार्यकारी प्रमुख र अध्यक्ष फेर्ने, नयाँ कार्यक्रम घोषणा गर्ने अनि कामचाहिँ केही पनि नहुने रोग नेवानिको रहेछ । निगमको आन्तरिक उडानका लागि गतिलो र पर्याप्त विमान छैनन् । अन्तरराष्ट्रिय उडानका लागि एकातिर भएका विमान उडाउन सकिएको छैन भने अर्कातिर विमान थप्ने निगमको प्रयास पनि सफल भएको छैन । कमिशनको चक्करमा कुनै पनि काम नहुनु नै निगमको ओरालो यात्राको कारण हो । यसमा रोक लगाउन प्रतिबद्ध र केही वर्ष टिक्ने मन्त्रीको आवश्यकता देखिन्छ । चिनियाँ विमानको व्यवस्थापन नेपालले कसको प्रभाव वा दबाबमा परेर चिनियाँ विमान किनेको हो त्यो अझै स्पष्ट छैन । एक पक्षले अर्को पक्षलाई आरोप लगाइरहेका छन् र निर्णयकर्ताले यसबारे स्पष्टीकरण दिएका पनि छैनन् । चिनियाँ विमान कमजोर हुन् वा नेपालका लागि अनुपयुक्त हुन् स्पष्ट छैन । गल्ती त भइसक्यो । ऋणको रकम नतिरी उपाय छैन । यस्तोमा चिनियाँ विमान के गर्ने भन्ने टुंगो लगाउन नसक्दा निगमलाई ठूलो भार छ । कि त यसलाई कबाडीमा बेच्नुपर्छ कि त आपत्कालीन अवस्थामा प्रयोग गर्न नेपाली सेनालाई दिन सकिन्छ । निर्माता कम्पनीलाई फिर्ता गर्ने सामथ्र्य नेपालको छैन भन्ने त स्पष्ट नै छ । त्यसैले यी जहाज निगमको जिम्मेवारीबाट सकेसम्म हटाउनुपर्छ । अनि आन्तरिक उडानका लागि निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी नयाँ विमान ल्याउनुपर्छ । दुर्गममा विमान उडाएर निजीक्षेत्रलाई सुगम क्षेत्रको व्यापार सुम्पिनु कुनै पनि हालतमा राम्रो होइन । सुगममा निगमको उडान प्रशस्त भए प्रतिस्पर्धा भएर आन्तरिक उडान पनि सस्तो हुन सक्छ । अन्तरराट्रिय उडानमा निगमको अंश नबढाउने हो भने पर्यटन क्षेत्रको विकास हुनै सक्दैन भनिदिए पनि हुन्छ । पर्यटक आए पनि अत्यधिक पैसाचाहिँ विदेशी कम्पनीले नै लैजानेछन् । यो अवस्थाको अन्त्य गर्न कुनै पनि मन्त्रीले काम गरेनन् । प्राधिकरणको विभाजन नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामका निकायमा अलग गर्ने काम अघि बढ्न सकेको छैन । नेपाल इयूको कालोसूचीमा पर्नुको एउटा कारण यो पनि मानिएको छ । विश्वभरि नै एउटै संस्था नियामक र सेवाप्रदायक बनाउने चलाउन छैन । त्यसैले यसअनुसार नेपालले प्रक्रिया अगाडि बढाए पनि, कानूनी आधार तय भए पनि त्यसअनुसार काम भने भएको छैन । नागरिक उड्डयनसम्बन्धी अन्तरराष्ट्रिय संस्था आइकाओले पनि यसमा प्रश्न उठाएकै हो । त्यसैले प्राधिकरणको विभाजन ढिलाचाँडो गर्ने पर्ने बाध्यता छ । यसको विभाजनको काम गर्न कुनै पनि मन्त्रीले आँटेका छैनन् ।  पर्यटन नीति नेपालको २० वर्षे पर्यटन नीति बने पनि त्यसअनुसार काम भएको छैन । खासमा पर्यटनका लागि केकस्तो नीति लिने, कस्ता पर्यटन प्रडक्टमा ध्यान दिने, पर्यटनलाई योजनाबद्ध ढंगले कसरी अघि बढाउने भन्ने कुरा पर्यटन नीतिले तय गर्छ । यस्तो नीति व्यावहारिक हुनुपर्छ । व्यवसायी, सरकार र पर्यटनविज्ञ मिलेर सही पर्यटन नीति बनाउन आवश्यक छ । कुनै पनि मन्त्रीले यसका लागि काम गरेको देखिँदैन ।  पर्यटन प्रवर्द्धनका कार्यक्रम मन्त्री फेरिएपिच्छे कसैले भ्रमण बिदा, कसैले आन्तरिक पर्यटन प्रवर्द्धन, कसैले भ्रमण दशकजस्ता कार्यक्रमको घोषणा गरे पनि कुनै पनि कार्यक्रमको शुरुआत भएन । कागजमा बनाइएका यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धन हुने कुरै भएन । पर्यटन प्रवर्द्धनका लागि खडा गरिएको नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन छ । उसले प्रवर्द्धनको कार्यक्रम गर्न सकेको छैन । अहिलेसम्मका पर्यटनमन्त्रीले स्टन्टको काममात्रै गरे भन्दा फरक पर्दैन  नयाँ पर्यटन मन्त्रीले केही गर्लान् ?  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा हितबहादुर तामाङ पुगेका छन् । १३ महीना पर्यटन मन्त्रीको जिम्मा पाएका सुदनका किरातीको बहिर्गमनसँगै तामाङ आएका हुन् । किरातीले पर्यटन क्षेत्रमा खासै उल्लेख्य काम भने गर्न पाएनन् । यद्यपि उनले नेवानिको सुधारका लागि केही कदम भने चालेका थिए । तर, उनको काम परिणाममुखी भने देखिएको छैन । नयाँ मन्त्री तामाङलाई पर्यटन प्रवर्द्धन गर्न भूमिका खेल्ने, नीतिगत सुधारको काम गर्ने, निजीक्षेत्रसँग सहकार्य गर्दै पर्यटनमा व्यावसायिक वातावरण बनाउनेलगायत जिम्मेवारी छन् । त्योभन्दा बढी दीर्घकालीन महत्त्वका काम गर्नु जरुरी छ । तामाङको प्रमुख काम भनेको निगमको सेवा विस्तार गर्न जहाज किन्ने, निगमको संरचनागत सुधार गर्ने, विमानस्थलको सञ्चालन राम्रोसँग गर्ने र ईयूको कालोसूचीमा परेको नेपालको उड्डयन सुरक्षालाई उक्त सूचीबाट हटाउनु नै हो । यी पक्षमा सुधार नगरी नेपालको पर्यटनले गति लिन सक्ने देखिँदैन । त्यसैले पर्यटनमन्त्रीको पहिलो काम भनेको निगमको सुधार र व्यवसाय विस्तार नै हुनुपर्छ । पर्यटन मन्त्रालय मातहतका वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरणमा दीर्घकालीन र लाभदायी सुधारका काम गर्ने हो भने पर्यटन मन्त्रीले काम गरेको मानिन्छ । निवर्तमान मन्त्री किरातीले वायुसेवा निगमका लागि दुर्गम क्षेत्रमा उडान गर्ने तीनओटा ट्वीनअटर जहाज किन्ने प्रक्रिया अगाडि बढाएका थिए । उक्त प्रक्रियामा प्राविधिक त्रुटि देखिएपछि रोकिएको छ । नयाँ जहाज किनेर निगमको उपस्थिति देखाउने गरी आन्तरिक उडान थप्नुपर्ने देखिन्छ ।  नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्दै व्यवस्थापन सुधार गर्नु अहिलको प्रमुख काम हो । निगमले अन्तरराष्ट्रिय उडानका लागि दुईओटा न्यारोबडी भाडामा ल्याउने प्रक्रिया अगाडि बढाएको छ । निगमले ती जहाजसँगै अन्तरराष्ट्रिय उडानमा थप जहाजसहितको क्षमता विस्तार गर्नुपर्ने छ । निगमले जति धेरै गन्तव्यमा उडान गर्न सक्यो त्यति नै बढी पर्यटक ल्याउन सकिन्छ । त्यसैले वायुसेवा निगमका लागि जहाज किन्ने र भएका जहाज नाफामूलक क्षेत्रमा उडाएर ऋण तिर्न सक्ने तुल्याउनु तामाङको सफलता हुनेछ । नेपाली उड्डयनलाई ईयूको कालोसूचीबाट हटाउन सके निगमको उडान यूरोपेली क्षेत्रमा गर्न सकिन्छ । त्यस्तै पर्यटन बोर्डलाई प्रभावकारी बनाएर प्रवर्द्धनात्मक कार्य तीव्र बढाउनु जरुरी छ । त्यसैगरी पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन नीति बनाएर काम गर्नुपर्छ ।  त्यसैगरी गौतम बुद्ध र पोखरा विमानस्थलमा व्यावसायिक उडान गराउनु नयाँ मन्त्रीको चुनौती हो । पोखरामा पनि चीन सरकारबाट ऋण लिएर बनाएको विमानस्थल सञ्चालनमा आएको १ वर्षभन्दा बढी हुँदासमेत एउटा पनि व्यावसायिक उडान हुन सकेको छैन । त्यस्तै हालत गौतम बुद्ध विमानस्थलको पनि छ । निजगढ विमानस्थल निर्माणको विषय अझै अन्योलमा रहेको छ । किरातीको समयमा सार्वजनिक निजी साझेदारीमा चारओटै विमानस्थल सञ्चालन गर्न दिने र कुनै कम्पनीले तीनओटा विमानस्थल सञ्चालनको जिम्मा लिएर निजगढ विमानस्थल बनाउन खोजे उसलाई दिने तयारी भएको थियो । नयाँ पर्यटनमन्त्रीले यसलाई निरन्तरता दिन्छन् वा दिँदैनन् थाहा छैन ।  नेपालमा पर्यटन क्षेत्रले जति गति लिएको छ त्यसमा सरकारको भन्दा निजीक्षेत्रको पहलले नै भएको हो भन्न सकिन्छ । निजीक्षेत्रले ठूलो लगानी गरेको छ र आफ्नो व्यवसायका लागि उसले पर्यटक ल्याउन आफै पहल गरेको छ । गर्ने त यस्तै हो तर पनि नेपालबाट प्रत्यक्ष उडान विभिन्न देशमा हुन सके पर्यटक आगमन बढ्छ । यस्तो उडानले पर्यटकले यात्राका लागि कम पैसा तिर्दा हुन्छ भने समयको पनि बचत हुन्छ । त्यसैले नेपालका प्रमुख बजारमा नेपाल वायुसेवाको उडान बढाउनु नै पर्यटनको दिगो विकासको आधार हो । अहिले आउने पर्यटकले विदेशी वायुसेवा प्रयोग गरिरहेका छन् । त्यसैले पर्यटकले गर्ने खर्चको ठूलो अंश यी नै विदेशी कम्पनीले लगिरहेका छन् । निगम भने विमान किन्दाको ऋणको साँवाब्याज तिर्न नसकेर समस्यामा छ । पर्यटन मन्त्रालय सबैभन्दा अस्थिर मन्त्रालय देखिएको छ । मन्त्री छिटोछिटो फेरिने र फेरिएका मन्त्रीले आआफ्नै नारा र कार्यक्रमको गफ लगाउने प्रवृत्तिले पर्यटन क्षेत्रले गति लिन सकेको छैन । स्पष्ट योजना भएको व्यक्ति मन्त्रालयमा आएका छैनन्, आशालाग्दो नेताले पनि प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् । त्यसैले मुलुकले पर्यटन क्षेत्रलाई नै उपेक्षा गरेको देखिन्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

घाम पर्यटनको सम्भावना: अफसिजनका लागि बन्न सक्छ विकल्प

नेपालमा घाम ताप्नुलाई दैनिक जीवनको अंग मानिन्छ । मानिसको शरीरलाई घाम आवश्यक पनि छ । तर, यही घाम ताप्न चाहने व्यक्तिहरूलाई सेवा दिने घाम पर्यटन अहिले चलनचल्तीमा आउन थालेको छ । समुद्रीकिनारमा बालुवामा पल्टँदै घामको सेवन गर्ने पर्यटन समुद्री मुलुकमा प्रचलनमा रहेको धेरै लामो समयदेखि नै हो । तर, अहिले हिमाली वा पर्वतीय क्षेत्रमा पनि घाम ताप्ने वा सेवन गर्ने पर्यटन बढ्न थालेको छ । गर्मी याममा तराई वा गर्मी प्रदेशका बासिन्दा पहाडी क्षेत्र अर्थात् हिलस्टेशनमा आउने पर्यटन पनि राम्रो सम्भावना बोकेको क्षेत्र हो, नेपालका लागि । तर, अहिले यी हिलस्टेशन नै पनि घाम पर्यटनका लागि उपयुक्त थलो बन्न थालेको पाइन्छ ।  घाम पर्यटन भन्नेबित्तिकै सूर्य, बालुवा र समुद्र (सन, स्यान्ड र सी) भन्ने सामान्य बुझाइ छ । यो क्षेत्रले यूरोपेली पर्यटनमा ६० प्रतिशत अंश ओगटेको छ । अमेरिकामा ४३ प्रतिशत र चीनमा ६८ प्रतिशत रहेको छ । यसका लागि यूरोपेली पर्यटकमध्ये धेरैको रोजाइमा अहिले थाइल्यान्ड पर्न थालेको छ । तर, पहाडी भूभागमा जाडोका दिनमा न्यानो घाम ताप्न रुचाउने पर्यटन पनि शुरू भएको छ । खासगरी भारतमा अहिले हिमाचललगायत हिलस्टेशनमा यस्तो पर्यटन बढ्न थालेको छ ।  नेपाल पनि यस्तो पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ । घामको किरणको बीचमा अग्ला चुचुरा अवलोकन गर्नुको छुट्टै आनन्द छ । त्यसैले घाम पर्यटन पर्यटन उद्योगमा लोकप्रिय प्रवृत्ति बन्दै गएको छ । सुन्दर परिदृश्य, प्रशस्त घामसहितको शान्त वातावरणमा रमाइलो गर्न राम्रो मौसम खोज्ने पर्यटकमाझ यो प्रचलन बढ्दो छ । र, नेपालमा यसको सम्भावना बढ्दो छ ।  घाम पर्यटनले हिमालका चुचुराहरूको अचम्मको सौन्दर्य पान गर्ने अवसर मात्र दिँदैन, घामको स्पर्श पाउने अचम्मको आनन्द पनि दिन सक्छ । घाम पर्यटनका कारण पर्यटक बढ्नुको फाइदा छ । नेपालको पर्यटनमा यसले विविधीकरण गर्न र अफसिजनमा पर्यटक बढाउन पनि मद्दत गर्छ । यसले स्थानीय बासिन्दाको आयस्रोत पनि बढाउँछ । त्यसैले सूर्य पर्यटनको बढ्दो लोकप्रियतासँगै यसले पर्यटकीय सिजनलाई विस्तार गर्न मद्दत गर्छ, जसले स्थानीयहरूलाई मद्दत गर्छ । सूर्यको उत्साहजनक न्यानोसँग मिलेर प्राकृतिक दृश्यहरूको मिश्रण खोज्ने पहाड हेर्न चाहने पर्यटकबीच सूर्य पर्यटन बढ्दो रूपमा लोकप्रिय हुँदै गएको छ । यसले हिमाल प्रेमीहरूलाई बाहिरी गतिविधिहरूको आनन्द लिन मात्र नभई पहाडहरूको घामले चुम्बन गरेको आभासलाई अँगाल्न अनुमति दिन्छ । पर्याप्त घामको आरामदायी अँगालोमा बेरिएर तिनीहरू चुचुरा, शान्त उपत्यका र रमणीय वनहरूको प्राकृतिक सौन्दर्यमा रमाउन सक्छन् । नेपालको मौसम तातो वा चिसो दुवै खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्ने खालको छ । अमेरिका, क्यानडा, आइसल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड आदि मुलुकमा यो बेला निकै चिसो हुन्छ । यसर्थ, त्यहाँका पर्यटकलाई घाम ताप्नका लागि नेपाल ल्याउने पर्यटन प्याकेज बनाउन सकिन्छ । घमाइलो मौसम भएका पहाडहरूमा पर्यटक ल्याएर घाम पर्यटन गराउन सकिन्छ । परम्परागत रूपमा स्कीइङ, स्नोबोर्डिङ र ट्रेकिङजस्ता गतिविधिसँग यसलाई जोड्न पनि सकिन्छ । यसले पर्यटन सिजन विस्तार गरेर, पहिले जाडो गतिविधिहरूमा धेरै निर्भर हुने व्यवसाय, आवास र सेवा प्रदायकहरूका लागि आम्दानी प्रदान गरेर स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ ।  घाम पर्यटनले प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षणको ग्यारेन्टी गर्दै संरक्षण प्रयास, पर्यावरण–मैत्री पूर्वाधार र जिम्मेवार पर्यटन अभ्यासजस्ता दिगो अभ्यासहरूलाई बढावा दिन्छ । यसले पहाडी क्षेत्रहरूमा पूर्वाधार विकासलाई अगाडि बढाउँछ, जसले यातायात, पहुँच र सुविधाहरूमा सुधार गर्छ । यसले पर्यटकीय अनुभवमा वृद्धि मात्र गर्दैन, रोजगारीका अवसरहरू सृजना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई पनि बढावा दिन्छ । पछिल्लो समय यस्ता पर्यटकको संख्या बढेको छ । आफ्नो मुलुक छोडेर अन्य मुलुकमा घुम्न निस्कने पर्यटकमध्ये केही प्रतिशत घाम ताप्नकै लागि निस्कने गरेको पाइन्छ । समुद्रको किनारमा घण्टौंसम्म घाम तापेर बस्ने गरेका विदेशीहरू हामीले देख्ने गरेका छौं । विदेशीहरू घामलाई बढी नै मान्यता दिने भएकाले उनीहरू परिवारसहित घुम्न निस्कन्छन् । नेपालमा छत, आँगन, चउर आदिमा घाम ताप्न मजाले पाइन्छ । त्यसो हुँदा यस्तो पनि पर्यटन हुन सक्छ र भन्ने कुरा आउन सक्छ । तर, नेपालकै तराई क्षेत्रका बासिन्दा घामका लागि पहाड जानुपर्ने अवस्था विगत केही वर्षदेखि देखिँदै आएको छ । तराईमा हुस्सु र शीतलहर चल्न थालेपछि घाम ताप्नकै लागि नजिकको पहाडमा जाने प्रवृत्ति बढ्दो छ । यसलाई आन्तरिक पर्यटनका लागि अवसरका रूपमा प्रयोग गर्न सकिन्छ ।  हिउँदको घाम त्यसै पनि न्यानो र प्यारो हुन्छ । कात्तिकदेखि फागुनसम्म धुम्म चिसोले कठ्याङ्ग्रिने उच्च पहाडमा त हिउँदे घाम मीठो हुने नै भयो । हिउँदका बेला तराईमा पनि हुस्सु र शीतलहरले थर्थरी कमाउँछ । यस्तो बेला घाम बेचेरै व्यवसाय चलाउन सकिन्छ । भेडेटार तराईका लागि गर्मी छल्ने ठाउँमात्र होइन, पारिलो घाम ताप्नका लागि पनि उत्तिकै प्यारो बनेको देखिन्छ ।  घाम पर्यटन घाम ताप्नमा मात्र सीमित हुँदैन । सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य हेर्नु पनि घाम पर्यटनकै अंग मानिन्छ । नेपालमा सूर्योदयकै दृश्य हेर्नका लागि अन्तु डाँडा होस् वा नगरकोट वा साराङकोट आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागिरहेकै हुन्छ ।  घाम पर्यटन घाम ताप्नमा मात्र सीमित हुँदैन । सूर्योदय र सूर्यास्तको मनमोहन दृश्य हेर्नु पनि घाम पर्यटनकै अंग मानिन्छ । नेपालमा सूर्योदयकै दृश्य हेर्नका लागि अन्तु डाँडामा होस् वा नगरकोट वा साराङकोट आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागिरहेकै हुन्छ । त्यतिमात्र होइन, कतिपय रिसोर्टहरू घमाइलो स्थानमा खोलिएका छन् जसको सम्बन्ध घाम पर्यटनसँग नै देखिन्छ । पहाडको थुम्काहरूमा रिसोर्ट खोल्नुको एउटा प्रयोजन घाम पर्यटन नै हो । तर, यसलाई सीधै घाम पर्यटन भन्ने गरिएको छैन । यही नामबाट पर्यटन प्रवर्द्धन गर्ने हो भने यसमा नयाँ प्याकेज बन्न सक्ने देखिन्छ ।  नेपाल बाह्रै महीना घुम्न मिल्ने गन्तव्य बनाउन सकिन्छ । नेपालमा जाडोमा घाम ताप्ने पर्यटक धेरै ल्याउन सकिन्छ । यो बेला चिसो हुने मुलुकका नागरिकलाई नेपालमा भित्त्याउन सकिन्छ । नेपालको मौसम तातो वा चिसो दुवै खोज्ने पर्यटकलाई आकर्षित गर्न सक्ने खालको छ । अमेरिका, क्यानाडा, आइसल्यान्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्यान्ड आदि मुलुकमा यो बेला निकै चिसो हुन्छ । यसर्थ, त्यहाँका पर्यटकलाई घाम ताप्नका लागि नेपाल ल्याउने पर्यटन प्याकेज बनाउन सकिन्छ । जाडो याम नेपालका लागि पर्यटनको अफ सिजन हो । यस्तो अफ सिजनमा छूटका प्याकेज ल्याउन सकिन्छ । यसमा नेपाल पर्यटन बोर्डले प्रवर्द्धनात्मक कार्यक्रम ल्याउन आवश्यक छ । त्यस्तै निजीक्षेत्रले पनि यस्ता प्याकेज बनाएर प्रचार गर्नु जरुरी छ । अहिले पनि घाम पर्यटन नभएको होइन तर त्यसलाई ब्रान्डिङ गरेर बजारीकरण भने भएको छैन । यस्तो नयाँ प्रडक्टप्रति धनाढ्य पर्यटक आकर्षित हुन सक्छन् । त्यसमा घाम ताप्नुमात्र नभई आयुर्वेदिक मसाज र उपचार आदि पनि जोड्न सके अझ बढी प्रभावकारी हुन्छ । घाममा बस्नु शरीरका लागि आरामदायी मात्र होइन, स्वास्थ्यलाभका लागि पनि जरुरी छ ।  हिलस्टेशनलाई गर्मी छल्ने ठाउँका रूपमा मात्र प्रचार गर्ने गरिएको छ । त्यसो हुँदा जाडोमा यिनले कम व्यवसाय पाउँछन् । घाम पर्यटनको प्रचार गर्ने हो भने यिनले जाडो महीनामा पनि राम्रो व्यवसाय गर्न सक्छन् । यही जाडो महीनामा इलाममा प्रशस्त भारतीय पर्यटक देखिए तर भेडेटारमा भने खासै चहलपहल देखिएन । कारण भेडेटारले घामको प्रचार गरेको छैन । त्यसैले भारत र अन्य मुुलुकमा समेत घाम पर्यटनको प्रचारप्रसार जरुरी देखिएको छ । अहिलेसम्म घाम ताप्न नेपाल उत्कृष्ट छ भन्ने सन्देश प्रवाह गरिएको छैन ।  पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को पहिलो महीना जनवरीमा ७९ हजार १ सय पर्यटक नेपाल आएको देखिन्छ । यो संख्या अघिल्लो वर्ष जनवरीको तुलनामा २४ हजार बढी हो । बोर्डको तथ्यांकअनुसार सबभन्दा धेरै भारतबाट २४ हजार १ सय ३९ पर्यटक यो समय नेपाल आएका छन् । यो समय घाम पर्यटनको हो । आएका पर्यटक घाम ताप्नकै लागि वा घमाइलो वातावरणमा विभिन्न पर्यटकीय गतिविधि गर्नकै लागि आएका हुन् वा होइनन् भन्ने तथ्यांक पाइँदैन । त्यसैले नेपालले घाम पर्यटनलाई ब्रान्डिङ गर्न ढिला भइसकेको छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

जीडीपीमा पर्यटनको योगदान

नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान सन् २०२१ मा साह्रै न्यू्न रहेको देखिन्छ । ‘द ग्लोबल इकोनोमी डट कम’ले सन् २०२१ को अध्ययन प्रतिवेदनअनुसार सन् २०२० मा नेपालको समग्र अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान शून्य दशमलव ७१ प्रतिशत मात्रै रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानको आधारमा नेपाल अठासीऔं नम्बरमा रहेको देखिन्छ । ग्लोबल इकोनोमीको सन् २०२१ को प्रतिवेदन अनुसार अरुबा भन्ने सानो टापुका रूपमा रहेको देश कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१ दशमलव २६ प्रतिशतसहित पहिलो नम्बरमा रहेको देखिन्छ । त्यस्तै सार्क क्षेत्रको माल्दिभ्सको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३७ दशमलव ६१ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशतभन्दा बढी पर्यटन क्षेत्रको योगदान भएको देशमध्ये भूगोलका आधारमा धेरै सानो देश बहामास परेको छ । स्मरणीय छ, बहामासको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० दशमलव ३८ प्रतिशत रहेको छ । यो तथ्यांक नेपालका पर्यटन व्यवसायी, सरकार र सरोकारवालाहरूका लागि मननीय देखिन्छ । त्यसो त कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रबाट ५ प्रतिशतभन्दा धेरै योगदान गरेका अन्य देशमा केप भर्डे, कतार, टोंगा, क्रोशिया, सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडा, अल्बानिया, लेबनान, भानुअतु, युनाइटेड अरब इमिरेट्स (यूएई), लक्जेम्बर्ग र फिजी रहेका छन् । सन् २०१७ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति ५४ अमेरिकी डलर खर्च गरेका थिए भने सन् २०१८ घटेर ४४ अमेरिकी डलर पुगेको थियो । यता हाम्रो देश नेपालमा चाहिँ वर्षैपिच्छे पर्यटन क्षेत्रले दिएको योगदानको यस्तो छुट्टै र भरपर्दो तथ्यांक भएको पाइँदैन । पछिल्लोपटक नेपालमा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानको केकति रहेको छ ? त्यस सम्बन्धमा विस्तृतमा अध्ययन गरेर निकालिएको तथ्यांक आइसकेको छैन । विगत ११ वर्षमा पर्यटन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा गरेको योगदान हेर्दा कम्तीमा पनि १ दशमलव ५ प्रतिशतदेखि (आर्थिक वर्ष २०६२–०६३) र बढीमा ३ दशमलव ४ प्रतिशतसम्म (आर्थिक वर्ष २०६०–०६१) रहेको देखिन्छ । बीचका कुनैकुनै वर्ष १ दशमलव ५ प्रतिशतदेखि १ दशमलव ८ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०७१–०७२ मा चाहिँ १ दशमलव ६ देखि १ दशमलव ७ पुग्ने अनुमान गरिएको थियो । साथै त्यसबीचका आर्थिक वर्षहरूमा जस्तै आर्थिक वर्ष २०५९–०६० मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०६६–०६७ मा कुल गार्हस्थ्य उत्पादनमा ४ दशमलव ४ प्रतिशत योगदान रहेको देखिन्छ । भनिन्छ, कुनै बेला नेपाली पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ११–१२ प्रतिशतसम्म योगदान दिएको थियो । पछिल्लो पटकको तथ्यांक हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान साँच्चै नगण्य नै देखिन्छ । अब लागौं, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ अवधिबारे । गत ५ वर्षको अवधिमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि सन् २०१७ मा १२ दशमलव ६ दिन रहेको देखिन्छ । त्यसैगरी सन् २०१८ मा विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइ अवधि १२ दशमलव ४ दिन रहेको थियो । सन् २०१९ मा औसत बसाइ १२ दशमलव ४ दिन नै रहेको देखिन्छ । त्यस्तै गरेर सन् २०२० मा पर्यटकको औसत नेपाल बसाइ अवधि बढेर प्रतिव्यक्ति प्रतिदिन १५ दशमलव १ दिन पुगेको थियो । सन् २०२१ मा चाहिँ अहिलेसम्मकै धेरै भएको तथ्यांक रहेको छ । स्मरण रहोस्, सन् २०२१ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको बसाइ अवधि १५ दशमलव ५ दिन रहेको छ । त्यस्तै नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको पाँचवर्षे अवधिको प्रतिव्यक्ति प्रतिदिन खर्च गराइको अनुपात हेर्दा सन् २०१७ मा विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति ५४ अमेरिकी डलर खर्च गरेका थिए । सन् २०१८ मा त्यो अंक घटेर प्रतिदिन प्रतिपर्यटक औसत खर्च ४४ अमेरिकी डलर रहेको थियो । त्यस्तै सन् २०१९ मा २ डलर बढेर ४८ डलर पुगेको थियो । सन् २०२० मा चाहिँ कल्पनै गर्न नसकिने गरी नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत खर्च बढेको थियो । उक्त वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति औसतमा ६५ अमेरिकी डलर खर्च गरेका थिए । स्मरणीय छ, यो नै हालसम्म नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले औसतमा धेरै खर्च गरेको तथ्यांक हो । उता सन् २०२१ मा फेरि ठूलो कमी आयो । अर्थात् १७ डलरका दरले दैनिक खर्च घट्यो । किनभने सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन ४८ अमेरिकी डलर मात्रै खर्च गरेका थिए । समय क्रमअनुसार डलर सटही र महँगीलगायत कारणले गर्दा पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्चको सीमा वर्षैपिच्छे बढ्दै जानुपर्ने हो । सरकारले पर्यटकको नेपाल बसाइको अवधि र खर्च बढाउने भन्ने नीति लिए पनि यसमा खासै सुधार आएको देखिँदैन । एक त गुणस्तरीय पर्यटकको आगमन उल्लेख्य बढिरहेको छैन भने अर्कातिर पर्यटकले खर्च गर्ने सेवा पनि नेपालमा पर्याप्त उपलब्ध छैन । त्यसैले गुणस्तरीय पर्यटक ल्याएर पर्यटकीय प्रडक्ट बढाउन सकियो भने नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढाउन सकिन्छ । नेपालमा पर्यटनको सम्भावना जति नै छ भने पनि त्यस अवसरलाई उपयोग गर्न नसक्ने हो भने यो अर्थहीन हुन सक्छ । अतः भौतिक पूर्वाधारको निर्माण बढाएर गुणस्तरीय पर्यटनमा लाग्नुपर्ने देखिन्छ ।   लेखक पर्यटन व्यवसायी हुन् ।

पर्यटन प्रवर्द्धनमा स्वर्गद्वारी

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करीब २६ किलोमीटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी क्षेत्रको भौतिक वातावरणको दृष्टिले हेर्दा असीम सम्भावना बोकेको क्षेत्र हो । यो क्षेत्रको अविच्छिन्न पवित्रतालाई कायम राख्दै भौतिक वातावरण र आध्यात्मिक शान्तिलाई जनमानसमा फैलाउन सक्ने ठूलो सम्भावना छ । स्वर्गद्वारी क्षेत्रको जंगल यस्तो खालको छ, जसमा जैविक विविधताले भरिपूर्ण छ । यस जंगलमा देवदारु, गुराँस, बाँस, बाँझ, साज, साल, जामुनो, काफल, पाखरी, कमल, केसर, त्रिपत्री करबीरजस्ता पुष्पका बोट र अनेक प्रकारका लताकुञ्जद्वारा स्वर्गद्वारीको पुण्य जंगल सधैं भरिभराउ रहेको पाइन्छ । जंगलमा कृष्णसागर मृग, हरिण, सिंह, बाघ, चित्तल, भालु, दुम्सी, कयौं चराचुरुङ्गी र स्वर्गद्वारी आश्रममा हजारौं गाईहरू पाइन्छ । यी यहाँका वैभव हुन् । समतल टाकुराबाट हिमशिखरहरू र रमणीय दृश्य अवलोकन गर्ने स्वर्गद्वारीमा पुग्दा साँच्चै स्वर्गको अनुभूति गर्न सकिन्छ । आश्रमभित्र गणेश पञ्चांग, शिव पञ्चांग, देवीपञ्चांग, सूर्यपञ्चांग, विष्णुपञ्चांग गरी ५ कुण्डहरूमा वैदिकविधिपूर्वक दैनिक तीनपटक पूजा गरिन्छ भने आश्रमदेखि माथि पट्टिको डाडामा सिद्धबाबाको मन्दिर रहेको छ र त्यसमा महीनाको पहिलो आइतवार पूजा गर्ने प्रचलन रहेको पाइन्छ । स्वर्गद्वारी क्षेत्रमा मुख्य मेला वैशाख पूर्णिमा, ज्येष्ठ, भदौ, कात्तिक र माघे सक्रान्तिमा लाग्ने गर्छ र यहाँका मुख्य तीर्थयात्रीहरू भारतका उत्तर प्रदेश र विहारक्षेत्रका रहेका छन् भने नेपालका आन्तरिक तीर्थयात्रीहरू रहेका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गको दाङ भालुवाङदेखि प्यूठान जिल्लाको भिंग्रीदेखि स्वर्गद्वारीसम्म नै सडकको राम्रो व्यवस्था रहेको छ । ऋाआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि प्राप्त गर्नुपर्ने अवस्था छ । समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायन रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सृजना गर्नु पहिलो आवश्यकता हो । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्न सकिन्छ । तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पूँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक धार्मिक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक, सामाजिक विकास गरी गरीबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना स्पष्ट देखिन्छ । अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले धार्मिक पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । यसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुुदायको साझा फूलबारी हो । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदाहुँदै पनि उक्त स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट स्पष्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण स्वर्गद्वारी क्षेत्र आन्तरिक एवं बा⋲य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु आवश्यक छ । यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ । स्वर्गद्वारी क्षेत्रमा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आएको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस स्वर्गद्वारी क्षेत्रभित्र देखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पारदर्शिता र इमानदारी

कुनै समय थियो, नेपाली चलचित्र भने पछि नेपालीहरू हलमा गएर फिलिम हेर्ने गर्थे । केही समय यही मान्यतामा नेपाली चलचित्रलाई दर्शकको अभाव रहेन । नेपाली भाषामा बनेको भनेपछि दर्शकहरूले हेरिहाल्छन् नि दर्शकको अभाव हुँदैन भन्ने सोच विकसित हुँदा नेपाली चलचित्र उद्योग आज कुन अवस्थामा छ, त्यो जग जाहेरै छ । भारतमा ‘खायगा भी पछताएगा, नही खाएगा भी पछताएगा र जाएगा भी पछताएगा, नहीँ जाएका भी पछताएका’ भन्ने उखान चलाएका हुन्छन् स्थान विशेषका परिकारका लागि र स्थान विशेषका लागि । ‘बद् अच्छा बदनाम बुरा’ भन्ने उर्दू उखान त्यसै चलेको होइन । एकचोटि कुनै स्थान, क्षेत्र र उद्योगको नराम्रो छाप सृजना भएपछि त्यसलाई मेटाउन निकै सकस पर्छ । एकाध जनाले बासी भात खुवाएको मार आज सिंगो राजमार्गछेउका होटेल व्यवसायीहरूले भोग्नु परिरहेको छ । त्यो नराम्रो छाप मेट्न अचेल यात्रुकै अगाडि खाना पकाएर खुवाउने चलन चल्दा पनि मानिसहरू हिचकिचाउन छोडेका छैनन् । कुनै नयाँ ठाउँमा घुम्न जाँदा कोही एक जना ठगियो भने त्यो पूरै ठाउँ नै ठगहरूको अखाडा लाग्छ, उसका दृष्टिमा । यो छाप उसले आफ्ना भए भरका वृत्तहरूमाफैलाउँछ । कुनै स्थान विशेषमा मानिसहरू यस्ता भनेर चलेका उखानका भरमा ती स्थान विशेषका मानिससँग कारोबार र व्यवहार गर्न मानिस हिचकिचाउँछन् । वर्तमान समयमा नेपालमा पनि आन्तरिक पर्यटनको ठूलो लहर आएको छ । विदेशी पर्यटकको स्थान नेपाली पयर्टकले लिन थालेका छन् । नेपाली पर्यटकका कारण नेपाली पर्यटन व्यवसायीहरूका सुकेका ओठ तालुहरू रसिला हुन थालेका छन् । यस परीस्थितिमा नेपाली पर्यटकले नेपालको आन्तरिक पर्यटन उद्योगलाई ठूलो भरथेग गरेको छ । परन्तु यो पर्यटन गतिविधिलाई नेपाली पर्यटन उद्योगले सदुपयोग गर्न सकेको भने देखिएको छैन । जसरी हिजो चलचित्र उद्योग जुन मानसिकताबाट ग्रस्त थियो, आज नेपालको पर्यटन उद्योग पनि त्यही मानसिकताबाट ग्रस्त छ । नेपालीलाई जस्तो व्यवहार गरे पनि हुने, जस्तो सूचना दिए पनि हुने र जस्तो गुणस्तरको सेवा दिए पनि हुने र जस्तो बोली व्यवहार गरे पनि हुने अचम्मको मानसिकता विकास हुन थालेको छ आन्तरिक पर्यटन उद्योगमा । नेपाली पर्यटकले खर्च गर्ने पैसाचाहिँ पैसा नै होइन, जस्तो व्यवहार गर्ने प्रवृत्ति नेपाली पर्यटन उद्योगमा विकसित हुन थालेको छ । आतिथ्यप्रधान उद्योगले आन्तरिक पर्यटकलाई गर्ने छुद्र व्यवहार सृजित गुणस्तरहीनताले १ दिन नेपालीहरू नेपालभित्र घुम्न जाँदा नेपाली भाषाका चलचित्रहरूले दर्शक नपाएझैं नाक खुम्च्याउनुपर्ने अवस्था सृजना हुन जान्छ । भावनालाई झजाएर उद्योग लामो समयसम्म टिक्न सक्दैन भन्ने तथ्यबाट नेपाली चलचित्र उद्योगझैं नेपाली पर्यटन उद्योगमा पनि लागू हुन्छ । आन्तरिक पर्यटकले भोग्नु परेको अर्को समस्या भनेको कुसूचना (डिसइन्फर्मेशन) हो । कुनै पर्यटक नेपालभित्र घुम्न जान घरबाट निस्केर घर नर्फिकउञ्जेल सम्म संगठित असंगठित कुसूचना प्रवाहको शिकार भइरहेको हुन्छ । यो कुसूचना गुणस्तर, समय र मूल्य, दूरी र आवृत्ति सबैतिर समान रूपमा प्रयोग भई रहेको छ । यात्रुलाई एउटा गुणस्तरको सेवा प्रदान गर्ने वाचाविपरीत न्यून गुणस्तरको सेवा प्रदान गर्ने, एउटा मूल्यको सेवा प्रदान गर्ने वाचा गरिसकेपछि सेवा उपभोग गरिसकेपछि थप मूल्यहरू थोपरेर सेवाग्राहीलाई महँगो मूल्य तिर्न बाध्य पार्नेजस्ता घटना आन्तरिक पर्यटनका क्षेत्रमा आम रूपमा देखा पर्न थालेका छन् । यात्रामा लाग्ने समय, दूरी र आवृत्तिमा पनि आन्तरिक पर्यटकहरू नराम्ररी ठगिने गरेका छन् । एकचोटि आएको ग्राहक हो, फेरिफेरि आउने होइन, यसलाई जति सक्यो अहिल्यै निचोर्नुपर्छ भन्ने सोच आन्तरिक पर्यटन उद्योगमा बलशाली हुँदै गएको छ । सारमा भन्नुपर्दा ‘अतिथि देवो भवः’को मान्यता बोकेको आन्तरिक पर्यटन उद्योग अतिथि कुक्कुटो भवः (अतिथिहरू मुर्गा हुन्) भन्ने मान्यतामा हिँड्न थालेको आभास हुन थालेको छ । लगानीकर्तालाई मुर्गा बनाउने प्रवृत्तिले नेपाली चलचित्र क्षेत्रमा गुणस्तरीय लगानी आउन नसक्दाको परिणाम नेपाली चलचिच उद्योगले हाल भोगिरहेको छ । तर, नेपालको आन्तरिक पर्यटन उद्योग पनि ग्राहकलाई मुर्गा बनाउने प्रवृत्तितर्फ उन्मुख हुँदै जाँदा यस क्षेत्रले गुणस्तरीय पर्यटक पाउन मुश्किल हुँदै जाने खतरा उत्पन्न भएको छ । आन्तरिक पर्यटन उद्योग भन्नासाथ होटेल, रिसोर्ट, पर्यटकीय उत्पादनहरू भन्ने मात्रै हुँदैन । पर्यटन उद्योगको पनि आफ्नै पर्यावरण हुन्छ । यस पर्यावरणमा पर्यटकको स्रोतदेखि गन्तव्यसम्मको समग्र वातावरण भन्ने बुझिन्छ । यातायात, सूचना र स्थानीय जनता तथा व्यवसायी यस पर्यावरणमा तीनओटा महत्त्वपूर्ण खम्बाहरू हुन् । भरपर्दो, सुरक्षित, मर्यादित, युक्तिसंगत मूल्यसहितको यातायात प्रणाली, भरपर्दो सूचना प्रणाली र सहयोगी र सह्दयी स्थानीय जनता र व्यवसायीहरूले आन्तरिक पर्यटनको पर्यटनको जग बलियो बनाउन मद्दत गर्छ । परन्तु पर्यटक वासस्थान नपुग्दै गलत सूचना प्रवाह गरी अनावश्यक भाडा असुल गर्ने, स्थानीय जनताले पनि नवआगन्तुकहरूलाई भ्रमित गर्ने खालका सूचना प्रवाह गर्ने तथा असहयोगी चरित्र प्रदर्शन गर्ने प्रवृत्ति आम रूपमा विस्तार हुँदै गएको छ । एउटा पर्यटक कुनै होटलमा वास बस्न जाँदा प्रत्यक्ष लाभान्वित हुने पनि यातायात व्यवसायी र स्थानीय जनता नै हुन् । परन्तु त्यो पक्षलाई यी दुवै क्षेत्रले महत्त्व दिन सकेको छैनन् । स्थान विशेषको बदनामी भई होटेलमा पर्यटकहरू जान छोडे भने यसको मार होटेलमा मात्रै होइन, त्यस क्षेत्रको समग्र अर्थतन्त्रमा नै पर्न जान्छ भन्ने विषयमा स्थानीयहरूमा अझै चेत पलाउन सकेको छैन । उल्लिखित पक्षहरूलाई दृष्टि गर्दै आन्तरिक पर्यटनलाई स्थायी प्रकृतिकोे व्यवसायको रूपमा विकास गर्न देहायका पक्षमा नेपाली पर्यटन क्षेत्रको ध्यान जानु आवश्यक छ । सर्वप्रथम पर्यटन क्षेत्रमा क्रियाशील व्यावसायीहरूले यस क्षेत्रमा पर्यटकलाई मूल्य, सेवा र आवृत्तिमा सद्व्यहावरको प्रत्याभूति गर्न संगठित प्रयास गर्न जरुरी छ । आचारसंहिताका कडा प्रावधानहरूको तर्जुमा र त्यसको कार्यान्वयन, आचारसंहिताको कार्यान्वयनमा सरकारी निकायको समेत सहभागिता हुन सकेको खण्डमा यस क्षेत्रका तमाम विकृतिहरू एकै साथ समाधान हुने देखिन्छ । यस कार्यमा यातायात व्यवसायीहरूलाई सहमत तुल्याएर अघि बढ्नु आवश्यक छ । त्यस्तै पर्यटन क्षेत्रको स्थानीय पर्यावरणलाई पर्यटनमैत्री बनाउन स्थानीय राजनीतिक नेतृत्व, नागरिक समाज तथा स्थानीय उद्योग वाणिज्य संघलाई पनि यस अभियानमा संलग्न गराउन पनि त्यत्तिकै जरुरी छ । इमानदारी र पारदर्शिता पर्यटन व्यवसायको मूल हो भन्ने विषय सबैले समयमै मनन गर्नु जरुरी छ । सारमा भन्नुपर्दा नेपाली पर्यटन क्षेत्रले ‘आन्तरिक पर्यटनको मूल आधार यथार्थ सूचनाको प्रवाह’लाई मूलमन्त्र बनाउँदै अघि बढ्नुपर्ने देखिन्छ । यसो गर्न सकेको खण्डमा नेपालको आन्तरिक पर्यटन उद्योग साँच्चै नै आकर्षक क्षेत्रका रूपमा अर्थतन्त्रमा उल्लेख्य योगदान दिने निश्चित छ । सभ्य, सुसंस्कृत र पारदर्शी पर्यटन उद्योगको विकास गर्न सकेको खण्डमा यो उद्देश्य प्राप्ति सहज हुने देखिन्छ ।   (लेखक व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन्)

नेपालमा व्यापार पर्यटनको सम्भावना

विश्व पर्यटन संगठनले व्याख्या गरेअनुसार आफ्नो वासस्थानबाट सामाजिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलाप, व्यापार/व्यवसाय निजी प्रयोजनका लागि गरिने अस्थायी स्थानान्तरण पर्यटन हो । त्यसैले व्यापार र व्यावसायका लागि गरिने यात्रा पनि पर्यटनको अभिन्न अङ्ग हो । ‘व्यापार पर्यटन’ परापूर्वकालदेखि नै प्रचलनमा रहेको पाइन्छ । पूर्वीय समाज र पश्चिमा राष्ट्रहरूलाई जोड्ने ‘रेशमी मार्ग’लाई व्यापार पर्यटनको शुरुआत विन्दुका लिइन्छ । व्यापार पर्यटनले अर्थतन्त्रमा योगदान दिन्छ । हाल आएर मिटिङ, इन्सेन्टिभ्स, कन्फरेन्स, इभेन्ट्स (माइस) पर्यटनको अवधारणामा व्यापार पर्यटनलाई परिष्कृत गरिएको छ । सन् ८० को उत्तरार्ध र ९०को दशकदेखि व्यापार पर्यटनलाई माइसको विधाबाट अध्ययन–अनुसन्धान र सेवाप्रदायकहरू पश्चिमी यूरोप र उत्तर अमेरिकी राष्ट्रहरूबाट विस्तारित हुँदै बजारमा आउन थालेका हुन् । नेपालको पर्यटन सम्बद्ध नीति तथा कानूनमा भने व्यापार पर्यटनबारे कतै उल्लेख भएको पाइँदैन । तर, व्यापार पर्यटकलाई लक्षित गरी विभिन्न संरचनाहरूमा लगानी भने भइरहेको छ । साथै, कर्पोरेट हस्पिटालिटी, कन्फरेन्स अर्गनाइजर र मिडिया एन्ड पीआरजस्ता सेवाप्रदायक कम्पनीहरू कानूनी अस्पष्टताका बीच पनि चलिरहेका छन् । व्यापार पर्यटनको बजार तथा सम्भावना व्यापार पर्यटन औद्योगिक विकास भएका राष्ट्र तथा भौगोलिक र रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएका केन्द्रविन्दुहरूलाई मात्र लिएर लक्षित गरिने अन्तरराष्ट्रिय मान्यता रहँदै आएको छ । विश्वव्यापीकरणले नेपालजस्तो आर्थिक र औद्योगिक विकासले पछाडि परेका राष्ट्रमा समेत विस्तारै व्यापार पर्यटनको सम्भावना उजागर गरेको छ । नेपाली प्रवासीहरू (डासपोरा) र वैदेशिक लगानीमा नेपालको संघीय राजधानी र अन्य आर्थिक केन्द्रहरूमा व्यापार पर्यटनलक्षित परियोजनाहरूमा मोटो लगानी हुँदै आइरहेको पनि छ । नेपालमा व्यापार पर्यटन फस्टाउन निम्नअनुसारका सम्भावना छन् । दक्षिण एशियाली राष्ट्रमध्येका महानगर र राजधानीहरूमा काठमाडौं उपत्यका निक्कै सदावहार मौसम भएको गन्तव्य हो । अन्तरराष्ट्रिय/क्षेत्रीय स्तरका कार्यक्रहरू गर्नका निम्ति काठमाडौं र पोखराजस्ता पहाडी शहरहरू उपयुक्त मानिन्छन् । नेपाल सरकार विभिन्न अन्तरराष्ट्रिय/आर्थिक तथा क्षेत्रीय गुटको आबद्धताका कारण नेपाललाई माइस पर्यटन गर्न सकिने गन्तव्यका रूपमा बजारीकरण गर्न सकिन्छ । विगत केही वर्षयता बिम्स्टेक, इन्टरपोल र हालै विश्व स्वस्थ्य सगंठनको क्षेत्रीयस्तरका भेलाका निम्ति नेपाललाई नै चुनियो । यसले विश्व जगत्मा के सन्देश दिन्छ भने नेपाल व्यापार पर्यटनका लागि तयार भइसकेको छ । नेपाल भ्रमण गर्ने प्रतिनिधिहरूलाई नेपालको ‘खास’ पर्यटकीय गतिविधि भनिने पदयात्रामा आकर्षित गर्न र बजारीकरण गर्न सकेमा व्यापार पर्यटनको विस्तारित लाभ लिन सकिन्छ । नेपालभित्रकै व्यापारिक प्रतिष्ठानहरू यस प्रकारको विशिष्टीकृत पर्यटनको खास ग्राहक एवम् उपभोक्ता हुन् । तालीम/प्रशिक्षण, टिम आउटिङ, बैठक व्यवस्थापनजस्ता अनेक मानव व्यवस्थापन कार्यहरू व्यावसायिक ढंगबाट गनुपर्छ भन्ने सोच नेपालमा अझै आइनसकेको स्थिति छ । विकसित राष्ट्रहरूमा भने व्यापार पर्यटन सेवाप्रदायक कम्पनीहरू कुनै पनि प्रतिष्ठानको मानव विकास संसाधन तथा प्रशासन हेर्ने शाखासँग नजिक भएर व्यावसायिक सेवा दिने गर्छन् । कर्मचारी प्रोत्साहनको योजना र खाका निर्माण गर्न यस्ता व्यापार पर्यटन सेवाप्रदायक कम्पनीहरू नै संलग्न रहेका हुन्छन् । नेपालमा बीमा कम्पनीहरू तथा डिलरशिपहरूमा भने विक्रीका आधारमा प्रोत्साहन स्वरूप इन्सेन्टिभ भ्रमण कार्यक्रमहरूको अभ्यास भने भइरहेको छ । साथै, गैरसरकारी संस्थाहरूको विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा होटेलसँग सोझै खरीद गर्ने पनि पुरानो चलन रहँदै आएको छ । व्यापार पर्यटन सेवाप्रदायक कम्पनीले कर्पोरेट हस्पिटालिटीका नयाँनयाँ प्रयोगमार्फत आफ्नो सेवा दिलाउने यथेष्ट सम्भावना रहेको छ । अहिले देशैभरि राजनीतिक दलहरूको महाअधिवेशनको चटारो छ । यस परिस्थितिमा व्यापार पर्यटनको दायरा पनि धेरै रहन्छ । बेलायतमा सन् ८० को दशकमा भएको एक सर्वेक्षणले कुनै एक स्थान या शहरमा गरिने ठूला स्तरका राजनीतिक कार्यक्रमहरूले त्यस ठाउँको अर्थतन्त्रमा अतिरिक्त २५ मिलियन पाउन्ड भित्रिएको देखाएको थियो । नेपालमा यस प्रकारको कुनै मापन नभए तापनि, निर्वाचन आयोगबाटै राजनीतिक कार्यक्रमहरू : विशेषगरी निर्वाचन प्रचार खर्चका निम्ति सिलिङ नै तोकिएको विषय त जगजाहेर नै छ । यसैबाट बुझ्न सकिन्छ कि नेपालमा राजनीतिक संगठनहरू नै व्यापार पर्यटनको प्रमुख बजार बन्न सक्ने आधार रहेको छ । राजनीतिक पार्टीको मूल संगठनबाहेक विभिन्न किसिमका जनवर्गीय संगठनहरूको समयसमयमा सभा, समेलन, भेला, अन्तरक्रिया, प्रशिक्षण कार्यक्रम, चियापान, सम्पर्क–समारोह, गोष्ठीजस्ता विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम भइरहेको हुन्छ । यी सबै व्यापार पर्यटनका सम्भावना हुन् । मित्रराष्ट्र भारतको कुनै पनि राजनीतिक पार्टीको आमसभालाई व्यवस्थापन गर्न इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू नै तोकिएका हुन्छन् । नेपालमा पनि यस प्रकारको अभ्यास गर्न सके व्यापार पर्यटनको बजार अन्य क्षेत्रमा समेत बढेर जानेछ । कुनै ठाउँ विशेषमा हुने ठूला स्तरका राजनीतिक कार्यक्रमले त्यस ठाउँमा हुने अन्य लोकप्रिय पर्यटन समेत फस्टाउने गर्छ । जस्तै चितवनमा कुनै राजनीतिक कार्यक्रम गरेमा स्वतः जंगल सफारीको व्यवसाय बढ्ने गर्छ । व्यापार पर्यटनका खास हितग्राही भने होटेल, स्थान प्रदान गर्ने संस्था र यातायात कम्पनीहरू हुनेगर्छ । यस किसिमको पर्यटन सेवाको परिपूर्ति गर्न चाहिने श्रमशक्ति र अन्य लोजिस्टिकहरू भने स्थानिय तवरबाटै उब्जेको हुन्छ । विलासिताको पर्यायवाचीका रूपमा पनि व्यापार पर्यटनलाई हेर्ने गरिएको पाइन्छ । व्यापार पर्यटक सौखिन हुने कारणले आम पर्यटकभन्दा २ दशमलव ५ गुणा बढी खर्च गर्छन् भन्ने अन्तरराष्ट्रिय मान्यता रहेको छ । व्यवसायमा आयोजक, प्रतिनिधि, अन्तिम ग्राहक, उपभोक्ता विभिन्न पात्र रहन सक्छन् । यसरी, व्यावसायिक रूपमा नेपालमा पर्यटनको यस विधालाई अगाडि बढाउन सर्वप्रथम नीतिगत स्पष्टता आवश्यक छ । विश्वकै व्यापारिक केन्द्र मानिने हङकङ, सिगांपुर, दुबईजस्ता राष्ट्रहरूले ९० को दशकदेखि नै यस विधामा बजारीकरण गरेको पाइन्छ । नेपालमा बढ्दो व्यापारिक गतिविधि र व्यापार पर्यटनलक्षित होटल पूर्वाधारहरूमा भइरहेको लगानीलाई सम्बोधन गर्न विनाविलम्ब यस प्रकारको विशिष्टीकृत पर्यटनको नीतिगत तथा कार्यगत मन्थनको जरुरी भइसकेको छ । लेखक नेपाल पर्यटन बोर्डका अधिकृत हुन् ।

मौलाकालिकामा पर्यटन

मौलाकालिका मन्दिर नवलपरासी जिल्ला, गैंडाकोट नगरपालिकाअन्तर्गत, पूर्व–पश्चिम महेन्द्र राजमार्गको नारायणी पुलबाट उत्तरतर्पm करीब ४ किमी टाडा समुद्र सतहदेखि ५६१ मिटर उचाइ पहाडी वनको धुरीमा रहेको छ । १६औं शताब्दीमा पाल्पाली राजाले देवी कालिकाको नाममा प्रतीकात्मक प्रस्तुति स्थल सृजना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको थियो । मन्दिरलाई स्थानीय स्थानबाट धेरैपटक पुनःस्थापित गरिएको पाइन्छ । मौलाकालिका मन्दिर लोकप्रिय हुनुभन्दा अगाडि गैंडाकोटका स्थानीय मानिसहरूले मौलाकालिका मन्दिरको धेरै दशकदेखि नै पूजा गर्दै आएका थिए । हालको मन्दिर १९९० को दशकमा मात्र बनेको थियो । मौलाकालिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुकबाट हजारौं धार्मिक आस्था राख्ने मानिसहरू पूजा गर्न आउने गरेका छन् । साहसिक र रोमाञ्चक यात्राको अनुभव गर्न धर्मावलम्बीहरू १८८२ ओटा सिँढीहरू पार गरेर मात्र मन्दिरमा पूजा आर्चना गर्छन् । साथै सिँढीको दायाँबायाँको पर्खालहरूमा कुँदिएका विभिन्न मूर्ति, चित्र तथा वरिपरिको मनोरम प्राकृतिक रौनकले धर्मावलम्बी तथा पर्यटकलाई आकर्षित गरेको पाइन्छ । नारायणघाट बजारबाट पैदलयात्राको दूरीभित्र पर्ने र देवीको नियमित दर्शनका कारण व्यायाम हुने भएकाले पनि मानिसहरू मन्दिरमा जान्छन् । सामाजिक तथा धार्मिक संस्थाहरूको अभिभावक नै समाज हो । समाजको स्नेह, सद्भाव, ममता, अपनत्व र योगदान प्राप्त गर्न भगवतीको शक्ति नै मुख्य प्रभावकारी भई धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ । विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पूँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पूँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको शुरूदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पूँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि प्राप्त गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ । आआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि संचालन गरी उपलब्धि प्राप्त गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । उक्त क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । उक्त कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ । समृद्ध गाउँ तथा नगरको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सृजना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भूधरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक, संस्कृतिक र पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदा छुट्टै पनि उक्त स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट स्पष्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण मौलाकालिका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । नगर तथा ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवंम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस मौलाकालिका क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । यस क्षेत्रमा, ट्रेकिङ स्थलको विकास गर्नु आवश्यक छ । यसले स्थानीय स्तरमा रोजगारी सृजना भई वैदेशिक मुद्रा आर्जनबाट जीविकोपार्जनमा ठूलो टेवा पुग्नेछ । समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ । यसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरी नमूनाका रूपमा मौलाकालिका क्षेत्रलाई विकास गर्न सकिन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हाम्रो जन्मभूमि पनि समृद्ध भई यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुग्ने थियो । लेखक डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

गति लिँदै पर्यटन व्यवसाय

हाम्रो देश प्राकृतिक दृष्टिले विश्वमा नै अतुलनीय सौन्दर्यले भरिपूर्ण भएकाले यहाँ पर्यटन व्यवसायको ज्यादा सम्भावना रहेको छ । हावापानीमा विविधता, उचाइमा विविधता, वनस्पति तथा जीवजन्तुमा विविधताजस्ता कारणले गर्दा नेपालमा पर्यटन व्यवसाय ज्यादा फस्टाउने क्षेत्र हो । यसले हाम्रो अर्थतन्त्रमा समेत महत्त्वपूर्ण टेवा दिँदै आएको छ । विश्वमा रहेका अग्ला चौधमध्ये आठओटा त नेपालमानै रहेका छन् । त्यसैगरी निकुञ्ज आरक्षणका दर्जनां क्षेत्र पनि रहेका छन् जसले पर्यटकलाई आकर्षित गरेको छ । कोरोनाको मारमा परेको यो पर्यटन क्षेत्रले विस्तारै गति समात्न थाल्दा सबैमा आशाको सञ्चार गराएको छ जुन सकारात्मक र महत्वपूर्ण पनि छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण नराम्ररी थलिएको यो व्यवसायले अब भने केही गति लिन थालेको सरोकारवालाहरू बताइरहेका छन् । अझै पनि हामीले पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन सकेका छैनौं । उनीहरूले चाहेअनुसारका सुविधा, सेवा र सुरक्षा दिनुका साथै अन्य नवीन गन्तव्यको खोजीमा समेत जोड दिनुपर्ने देखिन्छ । नेपालमा पर्यटक दृश्यावलोकन, पदयात्रा, मनोरञ्जन तथा साहसिक खेलका लागि आउने गर्छन् । मानव जाति स्वभावैले भ्रमणशील हुन्छ । उनीहरूले घुमफिर गर्दै अनेकौं चालचलन तथा रहनसहनसमेत अवलोकन गर्दै आएको वास्तविकता सबैका सामु छँदै छ । हाम्रा हिमनदीमा पर्यटक जलविहार गर्न औधी रुचाउँछन् । साथै बन्जिजम्पिङ, हात्तीपोलो जस्ता रोमाञ्चक खेलका लागि समेत पर्यटक नेपाल भ्रमण गर्न आउँछन् । यहाँको प्राकृतिक तथा जैविक विविधतामा आफूलाई भुलाउन पनि विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेको तथ्यांकले देखाउँछ । खासगरी पदयात्राका लागि अन्नपूर्ण, धवलागिरि र खुम्बुक्षेत्र निकै चर्चित रहेका छन् । यसबाहेक काठमाडाैं उपत्यका नगरकोट धुलीखेलसहित पोखरा, चितवन, लुम्बिनी, जनकपुर, गोर्खा, पाल्पा आदि क्षेत्रका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा पर्यटक ज्यादा रमाइरहेका हुन्छन् । नेपालमा मनाइने विविध खालका चाडपर्व जात्रा तथा महोत्सवका बारेमा विदेशी पर्यटक अध्ययन र अनुसन्धानसमेत गर्न रुचाउँछन् । हाम्रो जातीय संस्कृति वेशभूषा आदिले पनि उनीहरूको मन लोभ्याउने गरेको पाइन्छ । पर्यटन उद्योगले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करीब ५ प्रतिशत अंश ओगटेको पाइन्छ । पर्यटन व्यवसाय वा उद्योग नेपालीहरूका लागि वैदेशिक मुद्रा आर्जनको राम्रो माध्यम पनि हो । यति मात्र नभई रोजगारीको मुख्य आधारसमेत बनेको यस क्षेत्रको महत्त्व ज्यादा रहेको छ । पर्यटकलाई घुमाउने पथ प्रदर्शक, भरिया, होटेल तथा लजका कामदार, पर्यटक बोक्ने सवारीसाधन, उनीहरूलाई आवश्यक सामान बेच्ने व्यापारीलगायत हजारौंले रोजगारी प्राप्त गर्ने क्षेत्र पर्यटन नै हो । हस्तकला, चित्रकला, मूर्तिकला, काष्ठकला आदिबाट पनि धेरैले रोजगारी पाएका छन् । पर्यटन व्यवसायबाट घरेलु उद्योगलाई पनि टेवा पुगेको छ । पर्यटकलाई आकर्षित गर्ने कञ्चनजंघादेखि सैपाल हिमालसम्मका क्षेत्रलाई हिमालयन ट्रेल भनिन्छ । यसअन्तर्गत पूर्वी नेपालमा कञ्चनजंघा सरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज पर्छन् । मध्यक्षेत्रका लाङटाङ, गोसाइकुण्ड र गौरीशंकर हिमाली क्षेत्रलाई पनि यसै ट्रेलअन्तर्गत समावेश गरिएको छ । यसैगरी पश्चिमका मनाङ, मुस्ताङ, मुगु, डोल्पाका पर्यटकीय क्षेत्रहरू यसअन्तर्गत पर्छन् । यस क्षेत्रको पर्यटनबाट ५ हजार मीटरमाथिको क्षेत्रमा हिमाली जनावर र वनस्पतिहरूको अवलोकन गर्न सकिन्छ । नेपाल पर्यटन बोर्डले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिश गरेको छ । नेपाल ऐतिहासिक तथा धार्मिक स्थलका लागि पनि प्रसिद्ध रहेको छ । लुम्बिनी, जनकपुर, मुक्तिनाथ, स्वर्गद्वारी, मनकामना, पशुपतिनाथ आदि मुख्य धार्मिक स्थलहरू हुन् । साथै काठमाडाैं उपत्यकाका प्राचीन दरबारहरू पर्यटकीय गन्तव्यका दृष्टिकोणबाट ज्यादै महत्त्वपूर्ण मानिन्छन् । यहाँ प्रयोग भएका काष्ठकला तथा वास्तुकला ऐतिहासिक र अतुलनीय रहेका छन् । यस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरूले पर्यटकलाई सहजै आकर्षित गराउँछ । यहाँ भिन्न संस्कृति र परम्परा भएका १ सय २५ जातजातिका मानिसहरू बसोवास गर्छन् । प्रत्येक जातिको आफ्नै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्यमान्यता रहेका छन् । यही सांस्कृतिक विविधता अवलोकन गर्न ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउने गर्छन् । साहसिक पर्यटनअन्तर्गत र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जिजम्पिङ हिमाल आरोहण पर्छन् । पर्यटनबाट हामीले धेरै फाइदा लिन सफल पनि भएका छाैं । विदेशी मुद्राको आर्जन, रोजगारीको अवसर, घरेलु तथा साना उद्योगको विकास, राजस्वमा वृद्धि, व्यापार तथा कला संस्कृतिको प्रवर्द्धन र विश्वमा देशको प्रचारप्रसारजस्ता फाइदा हुन्छन् । हामीले थप गन्तव्य स्थलको पहिचान गरी यस क्षेत्रको विकासमा अझै प्रभावकारी पहल गर्नुपर्ने देखिन्छ । यो क्षेत्र हाम्रो आर्थिक विकासका लागि ज्यादै महत्त्वपूर्ण रहेको छ । निजीक्षेत्रको सहकार्यमा पर्यटन प्रवद्र्धनमार्फत पर्यटकको संख्या र राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गर्नुपर्छ । नेपालीका आत्मीयता, मैत्रीभाव, उदारता र विश्वास नै पर्यटकलाई पस्किने व्यञ्जन हुन् । पर्यटकहरूले अझै पनि आफू सुरक्षित अनुभूति गर्न सकेका छैनन् । उनीहरूले चाहेअनुसारका सेवासुविधा उपलब्ध गराउन पनि सकेका छैनाैं । सरकारी कार्यालयबाट प्राप्त गर्ने सेवा पनि झन्झटिलो र प्रक्रियामुखी हुँदा पर्यटकले समस्याको सामना गर्नु परेको वास्तविकता हामीले भुल्नु हुँदैन । पर्यटक लुटिने, ठगिने र उनीहरूका सामान हराउने घटनाहरू पनि यदाकदा घटने गरेका छन् जसले नकारात्मक सन्देश प्रवाह हुने खतरासमेत हुन्छ । नेपालमा धार्मिक पर्यटनको सम्भावना ज्यादा रहेको छ किनभने यहाँ अनेकौं देवदेवीका मन्दिर तथा देवस्थलहरू छन् । मूलतः भारतीय पर्यटक पशुपतिनाथको दर्शन गर्न हजारौंको संख्यामा आउने गर्छन् । त्यसैगरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न देशबाट पर्यटक आउने गर्छन् । हाम्रो अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको पर्यटनको विकासका लागि सरकार तथा अन्य सरोकारवालाहरू मिलेर अगाडि बढ्नुपर्छ । कारोनाको मारमा परेको यो पर्यटन क्षेत्रले विस्तारै गति समात्न थाल्दा सबैमा आशाको सञ्चार गराएको छ जुन सकारात्मक र महत्त्वपूर्ण पनि छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

पर्यटन बिदाले आन्तरिक पर्यटनलाई जोगाउला ?

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने नीति आर्थिक वर्ष २०७८/७९ को बजेटले लिएको छ । त्यस्तै निजीक्षेत्रमा कार्यरत कर्मचारीहरूलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गर्ने भनी बजेट वक्तव्यमा उल्लेख छ । तर, नयाँ आर्थिक वर्ष शुरू भइसकेको छ र यो बजेट ल्याउने सरकार पनि हटिसकेको छ । यस्तोमा यो कार्यक्रम कार्यान्वयन होला कि नहोला वा भएमा कसरी होला भन्ने जिज्ञासा छ । खासगरी आन्तरिक पर्यटनबाट आफ्नो व्यवसाय जोगाउने रणनीतिमा लागेका पर्यटन व्यवसायीहरू यसबारे बढी चासो लिइरहेका छन् । कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रको उत्थान गर्न तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले सातामा २ दिन सार्वजनिक विदा दिने प्रस्ताव गरेका थिए । तर, यो बिदाको दुरुपयोग हुनसक्ने भन्दै आलोचना भएपछि सरकारले निर्णय गरेको थिएन । त्यो कार्यक्रम जस्तै १० दिने पर्यटन बिदा पनि कार्यान्वयनमा आउनेमा आशंका नै छ । यो कार्यक्रम नयाँ पनि होइन । विगतमा पनि ल्याइएको हो । तर, कार्यान्वयन पक्ष फितलो हुनुका साथै त्यो व्यापक भएन । सरकारले छनोट गरिएको कर्मचारीहलाई मात्र पर्यटन बिदामा पठाउने नीति ल्याएको थियो । त्यस्तै गण्डकी प्रदेशले त बिदा पर्यटन कार्यविधि २०७६ नै ल्याएको छ । तर, यी सबैको अवस्था हेर्दा अहिले ल्याइएको नीतिप्रति त्यति सकारात्मक हुन सक्ने अवस्था देखिँदैन । त्यो असफल भएको कुराबाट पाठ सिकेर नीति बनाउँदामात्रै यो कार्यक्रम सफल हुन सक्छ । बिदा पर्यटन नीति कुन निकायले बनाउँछ त्यसमा यो कार्यक्रमको प्रभावकारिता निर्भर हुन्छ । सामान्य प्रशासन वा अर्थ मन्त्रालयले बनाएमा त्यसमा पर्यटन व्यवसायलाई लाभ पुग्ने भन्दा पनि कर्मचारीलाई सहज हुने र लाभ हुने गरी कार्य विधि बन्ने निश्चित छ । विगतमा बिदा पर्यटनका लागि भनेर आफन्तकहाँ बसेर बिलभर्पाइ बुझाएको तथ्य यहाँनेर स्मरणीय हुन्छ । पर्यटन बोर्डले यसको कार्यविधि बनाउन पाएमा भने उसले पर्यटन गतिविधिमा केन्द्रित हुने गरी नीति बनाउँछ । त्यसैले बोर्डलाई यसको मस्यौदा बनाउने जिम्मा दिइनुपर्छ । कार्यविधिमा विदा कसरी दिने, खर्च, भत्ता कसरी दिनेलगायत कुरा समेट्नुपर्ने हुन्छ । साथै कस्ताकस्ता पर्यटन क्षेत्रमा जानुपर्नु हो र त्यसबाट सरकारको कुन लक्ष्य पूरा हुने हो त्यो पनि स्पष्ट हुनुपर्छ । त्यस्तै १० दिन भ्रमणका लागि कति खर्च लाग्छ, भत्ता कति दिए पुग्नेलगायत कुराहरू पनि तोक्नुपर्ने हुन्छ । यसका लागि अर्थ मन्त्रालयको सहमति र राय पनि आवश्यक हुन्छ । आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने मात्र यसको लक्ष्य हो भने खर्च र बिलभपाइबारे नीति बनाए पुग्छ । तर, नक्कली बिल बनाएर बिदाको रकम पर्यटन क्षेत्रमा खर्च भएन भने बजेटको लक्ष्य पूरा हुँदैन, राज्यलाई आर्थिक भार मात्रै थपिन सक्छ । बिदा पर्यटनको उद्देश्य आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउनु नै हो । कोरोनाका कारण पर्यटन क्षेत्र यति नराम्ररी थलिएको छ कि यसमा सरकारले ठूलै नीतिगत र आर्थिक सहयोग गर्नैपर्ने अवस्था छ । अहिले पर्यटन व्यवसायी मुटु माथि ढुंगा राखी हाँस्नु पर्‍या छ भन्ने गीतको अवस्थामा छन् । आन्तरिक पर्यटन बाह्य पर्यटनको पनि जग हो । पर्यटन वैदेशिक मुद्रा आर्जनको माध्यम पनि हो । अहिले शोधनान्तर स्थिति ऋणात्मक बनेको छ भने विदेशी विनियम सञ्चिति पनि घटेको छ । पर्यटनलाई उकास्ने नसके आगामी दिनमा अर्थतन्त्रमा समस्या थपिन सक्छ । त्यसैले आन्तरिक पर्यटनबाट पर्यटन व्यवसाय जोगाउनैपर्छ । विभिन्न राष्ट्रहरूबाट कुनै राष्ट्र वा राष्ट्रहरूमा विभिन्न व्यक्तिहरू अनेक उद्देश्यका साथ भ्रमणमा आउनु बाह्य पर्यटन हो भने एउटै राष्ट्रभित्रका अनेक स्थानहरूबाट भ्रमण उद्देश्यका साथ त्यस राष्ट्रका विभिन्न स्थानहरूमा व्यक्तिहरू पुग्नु आन्तरिक पर्यटन हो । नेपालमा आन्तरिक पर्यटनको अवधारणाको विकास धेरै पछि मात्र भएको हो । नेपालमा बाह्य पर्यटनले मात्र महत्त्व पाएको थियो । त्यसैले ठूलाठूला होटल, सूचनात्मक एवं मनोरञ्नात्मक गन्तव्य स्थल, एवं अन्तरराष्ट्रिय स्तरको विमानस्थलको विकास केवल काठमाडौ–केन्द्रित हुन पुगे नेपाल जस्तो विकासशील मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ डोर्याउन आन्तरिक पर्यटनले उल्लेखनीय भूमिक खेल्न सक्छ । नेपालमा अहिले हुनेले पैसा खर्च गर्नुपर्छ भन्ने धारणाको विकास हुन थालेको छ । त्यसैले आफूसँग रहेको बचत मनोरञ्जन, किनमेल, घुमफिरमा खर्च गर्न थालेका छन् । राम्रो आर्थिक हैसियत हुनेहरू विदेशमा घुम्ने प्रवृत्ति बढेको छ । कोरोनाका कारण विदेश घुम्न मिल्न जाने अवस्था छैन । त्यही वर्ग अहिले नेपालका पर्यटकीय स्थलमा पुग्न थालेका छन् । पर्यटन व्यवसायीले पनि यस्तालाई सेवा दिएर व्यवसायलाई जोगाउने अवसर उपयोग गरिरहेको अवस्था छ । सरकारले ल्याएको विदा पर्यटनले यो प्रवृत्तिलाई व्यापक बनाउनेछ । अन्यलाई पनि घुमघाम गर्न प्रेरित गर्नेछ । अहिले नेपालमा पनि आन्तरिक पर्यटनको विकासको लागि थप अवसरहरू सृजना भएको छ । यो अवसरको प्रयोग दिगो आन्तरिक पर्यटनका लागि हुनुपर्छ । नेपालमा आन्तरिक पर्यटनको व्यवस्थित किसिमले विकास हुने सक्ने सम्भावना चुलिएर गएको छ । यो सम्भावना र अवसरको बलियो उपयोग गर्न बिदा पर्यटन ठूलो सहयोगी हुनेछ । आन्तरिक पर्यटनले यातायातका साधन, होटेल, रेस्टुराँ, पसल, सिनेमा हल आदिको प्रयोग बढ्छ । यी सुविधाहरू स्थानीयले आन्तरिक पर्यटकहरूलाई उपलब्ध गराएछन् जसबाट रोजगारी सृजना हुन्छ । शहर वा केन्द्रको पैसा स्थानीयको हातमा पुग्छ जसले गर्दा राष्ट्रिय आय वितरण कार्य प्रभावकारी हुन पुग्छ । आन्तरिक पर्यटनले गर्दा देशका कुनाकुनामा रहेका स्थानहरूमा पनि व्यापारिक अवसर सृजना हुन्छ । स्थानीय उत्पादनले बजार पाउँछ । त्यसैले आन्तरिक पर्यटनलाई दिगो बनाउ व्यवसायीले नयाँ रणनीति लिनु त पर्छ नै सरकारले पनि प्रोत्साहन गर्नुपर्छ जसका लागि बिदा पर्यटनको सही र उपयुक्त नीति बन्नु आवश्यक छ । लेखक नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।