आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पारदर्शिता र इमानदारी

कुनै समय थियो, नेपाली चलचित्र भने पछि नेपालीहरू हलमा गएर फिलिम हेर्ने गर्थे । केही समय यही मान्यतामा नेपाली चलचित्रलाई दर्शकको अभाव रहेन । नेपाली भाषामा बनेको भनेपछि दर्शकहरूले हेरिहाल्छन् नि दर्शकको अभाव हुँदैन भन्ने सोच विकसित हुँदा नेपाली चलचित्र उद्योग आज कुन अवस्थामा छ, त्यो जग जाहेरै छ । भारतमा ‘खायगा भी पछताएगा, नही खाएगा भी पछताएगा र जाएगा भी पछताएगा, नहीँ जाएका भी पछताएका’ भन्ने उखान चलाएका हुन्छन् स्थान विशेषका परिकारका लागि र स्थान विशेषका लागि । ‘बद् अच्छा बदनाम बुरा’ भन्ने उर्दू उखान त्यसै चलेको होइन । एकचोटि कुनै स्थान, क्षेत्र र उद्योगको नराम्रो छाप सृजना भएपछि त्यसलाई मेटाउन निकै सकस पर्छ । एकाध जनाले बासी भात खुवाएको मार आज सिंगो राजमार्गछेउका होटेल व्यवसायीहरूले भोग्नु परिरहेको छ । त्यो नराम्रो छाप मेट्न अचेल यात्रुकै अगाडि खाना पकाएर खुवाउने चलन चल्दा पनि मानिसहरू हिचकिचाउन छोडेका छैनन् । कुनै नयाँ ठाउँमा घुम्न जाँदा कोही एक जना ठगियो भने त्यो पूरै ठाउँ नै ठगहरूको अखाडा लाग्छ, उसका दृष्टिमा । यो छाप उसले आफ्ना भए भरका वृत्तहरूमाफैलाउँछ । कुनै स्थान विशेषमा मानिसहरू यस्ता भनेर चलेका उखानका भरमा ती स्थान विशेषका मानिससँग कारोबार र व्यवहार गर्न मानिस हिचकिचाउँछन् । वर्तमान समयमा नेपालमा पनि आन्तरिक पर्यटनको ठूलो लहर आएको छ । विदेशी पर्यटकको स्थान नेपाली पयर्टकले लिन थालेका छन् । नेपाली पर्यटकका कारण नेपाली पर्यटन व्यवसायीहरूका सुकेका ओठ तालुहरू रसिला हुन थालेका छन् । यस परीस्थितिमा नेपाली पर्यटकले नेपालको आन्तरिक पर्यटन उद्योगलाई ठूलो भरथेग गरेको छ । परन्तु यो पर्यटन गतिविधिलाई नेपाली पर्यटन उद्योगले सदुपयोग गर्न सकेको भने देखिएको छैन । जसरी हिजो चलचित्र उद्योग जुन मानसिकताबाट ग्रस्त थियो, आज नेपालको पर्यटन उद्योग पनि त्यही मानसिकताबाट ग्रस्त छ । नेपालीलाई जस्तो व्यवहार गरे पनि हुने, जस्तो सूचना दिए पनि हुने र जस्तो गुणस्तरको सेवा दिए पनि हुने र जस्तो बोली व्यवहार गरे पनि हुने अचम्मको मानसिकता विकास हुन थालेको छ आन्तरिक पर्यटन उद्योगमा । नेपाली पर्यटकले खर्च गर्ने पैसाचाहिँ पैसा नै होइन, जस्तो व्यवहार गर्ने प्रवृत्ति नेपाली पर्यटन उद्योगमा विकसित हुन थालेको छ । आतिथ्यप्रधान उद्योगले आन्तरिक पर्यटकलाई गर्ने छुद्र व्यवहार सृजित गुणस्तरहीनताले १ दिन नेपालीहरू नेपालभित्र घुम्न जाँदा नेपाली भाषाका चलचित्रहरूले दर्शक नपाएझैं नाक खुम्च्याउनुपर्ने अवस्था सृजना हुन जान्छ । भावनालाई झजाएर उद्योग लामो समयसम्म टिक्न सक्दैन भन्ने तथ्यबाट नेपाली चलचित्र उद्योगझैं नेपाली पर्यटन उद्योगमा पनि लागू हुन्छ । आन्तरिक पर्यटकले भोग्नु परेको अर्को समस्या भनेको कुसूचना (डिसइन्फर्मेशन) हो । कुनै पर्यटक नेपालभित्र घुम्न जान घरबाट निस्केर घर नर्फिकउञ्जेल सम्म संगठित असंगठित कुसूचना प्रवाहको शिकार भइरहेको हुन्छ । यो कुसूचना गुणस्तर, समय र मूल्य, दूरी र आवृत्ति सबैतिर समान रूपमा प्रयोग भई रहेको छ । यात्रुलाई एउटा गुणस्तरको सेवा प्रदान गर्ने वाचाविपरीत न्यून गुणस्तरको सेवा प्रदान गर्ने, एउटा मूल्यको सेवा प्रदान गर्ने वाचा गरिसकेपछि सेवा उपभोग गरिसकेपछि थप मूल्यहरू थोपरेर सेवाग्राहीलाई महँगो मूल्य तिर्न बाध्य पार्नेजस्ता घटना आन्तरिक पर्यटनका क्षेत्रमा आम रूपमा देखा पर्न थालेका छन् । यात्रामा लाग्ने समय, दूरी र आवृत्तिमा पनि आन्तरिक पर्यटकहरू नराम्ररी ठगिने गरेका छन् । एकचोटि आएको ग्राहक हो, फेरिफेरि आउने होइन, यसलाई जति सक्यो अहिल्यै निचोर्नुपर्छ भन्ने सोच आन्तरिक पर्यटन उद्योगमा बलशाली हुँदै गएको छ । सारमा भन्नुपर्दा ‘अतिथि देवो भवः’को मान्यता बोकेको आन्तरिक पर्यटन उद्योग अतिथि कुक्कुटो भवः (अतिथिहरू मुर्गा हुन्) भन्ने मान्यतामा हिँड्न थालेको आभास हुन थालेको छ । लगानीकर्तालाई मुर्गा बनाउने प्रवृत्तिले नेपाली चलचित्र क्षेत्रमा गुणस्तरीय लगानी आउन नसक्दाको परिणाम नेपाली चलचिच उद्योगले हाल भोगिरहेको छ । तर, नेपालको आन्तरिक पर्यटन उद्योग पनि ग्राहकलाई मुर्गा बनाउने प्रवृत्तितर्फ उन्मुख हुँदै जाँदा यस क्षेत्रले गुणस्तरीय पर्यटक पाउन मुश्किल हुँदै जाने खतरा उत्पन्न भएको छ । आन्तरिक पर्यटन उद्योग भन्नासाथ होटेल, रिसोर्ट, पर्यटकीय उत्पादनहरू भन्ने मात्रै हुँदैन । पर्यटन उद्योगको पनि आफ्नै पर्यावरण हुन्छ । यस पर्यावरणमा पर्यटकको स्रोतदेखि गन्तव्यसम्मको समग्र वातावरण भन्ने बुझिन्छ । यातायात, सूचना र स्थानीय जनता तथा व्यवसायी यस पर्यावरणमा तीनओटा महत्त्वपूर्ण खम्बाहरू हुन् । भरपर्दो, सुरक्षित, मर्यादित, युक्तिसंगत मूल्यसहितको यातायात प्रणाली, भरपर्दो सूचना प्रणाली र सहयोगी र सह्दयी स्थानीय जनता र व्यवसायीहरूले आन्तरिक पर्यटनको पर्यटनको जग बलियो बनाउन मद्दत गर्छ । परन्तु पर्यटक वासस्थान नपुग्दै गलत सूचना प्रवाह गरी अनावश्यक भाडा असुल गर्ने, स्थानीय जनताले पनि नवआगन्तुकहरूलाई भ्रमित गर्ने खालका सूचना प्रवाह गर्ने तथा असहयोगी चरित्र प्रदर्शन गर्ने प्रवृत्ति आम रूपमा विस्तार हुँदै गएको छ । एउटा पर्यटक कुनै होटलमा वास बस्न जाँदा प्रत्यक्ष लाभान्वित हुने पनि यातायात व्यवसायी र स्थानीय जनता नै हुन् । परन्तु त्यो पक्षलाई यी दुवै क्षेत्रले महत्त्व दिन सकेको छैनन् । स्थान विशेषको बदनामी भई होटेलमा पर्यटकहरू जान छोडे भने यसको मार होटेलमा मात्रै होइन, त्यस क्षेत्रको समग्र अर्थतन्त्रमा नै पर्न जान्छ भन्ने विषयमा स्थानीयहरूमा अझै चेत पलाउन सकेको छैन । उल्लिखित पक्षहरूलाई दृष्टि गर्दै आन्तरिक पर्यटनलाई स्थायी प्रकृतिकोे व्यवसायको रूपमा विकास गर्न देहायका पक्षमा नेपाली पर्यटन क्षेत्रको ध्यान जानु आवश्यक छ । सर्वप्रथम पर्यटन क्षेत्रमा क्रियाशील व्यावसायीहरूले यस क्षेत्रमा पर्यटकलाई मूल्य, सेवा र आवृत्तिमा सद्व्यहावरको प्रत्याभूति गर्न संगठित प्रयास गर्न जरुरी छ । आचारसंहिताका कडा प्रावधानहरूको तर्जुमा र त्यसको कार्यान्वयन, आचारसंहिताको कार्यान्वयनमा सरकारी निकायको समेत सहभागिता हुन सकेको खण्डमा यस क्षेत्रका तमाम विकृतिहरू एकै साथ समाधान हुने देखिन्छ । यस कार्यमा यातायात व्यवसायीहरूलाई सहमत तुल्याएर अघि बढ्नु आवश्यक छ । त्यस्तै पर्यटन क्षेत्रको स्थानीय पर्यावरणलाई पर्यटनमैत्री बनाउन स्थानीय राजनीतिक नेतृत्व, नागरिक समाज तथा स्थानीय उद्योग वाणिज्य संघलाई पनि यस अभियानमा संलग्न गराउन पनि त्यत्तिकै जरुरी छ । इमानदारी र पारदर्शिता पर्यटन व्यवसायको मूल हो भन्ने विषय सबैले समयमै मनन गर्नु जरुरी छ । सारमा भन्नुपर्दा नेपाली पर्यटन क्षेत्रले ‘आन्तरिक पर्यटनको मूल आधार यथार्थ सूचनाको प्रवाह’लाई मूलमन्त्र बनाउँदै अघि बढ्नुपर्ने देखिन्छ । यसो गर्न सकेको खण्डमा नेपालको आन्तरिक पर्यटन उद्योग साँच्चै नै आकर्षक क्षेत्रका रूपमा अर्थतन्त्रमा उल्लेख्य योगदान दिने निश्चित छ । सभ्य, सुसंस्कृत र पारदर्शी पर्यटन उद्योगको विकास गर्न सकेको खण्डमा यो उद्देश्य प्राप्ति सहज हुने देखिन्छ ।   (लेखक व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन्)